सुदूरपश्चिम नेपालमा छाउपडीका समाचार र लेख संचार माध्यममा आइरहन्छन् । अन्धविश्वासको चपेटामा नेपाली महिलाले भोग्नुपरेको पीडा लेख्नेलाई भन्दा भोग्नेलाई बढी थाहा हुन्छ । त्यस्तो प्रथा नभएका नेपालको अन्य ठाउँका मानिसले सुन्दा पनि दिक्क लाग्ने र आङ्ग जिरिङ्ग हुने स्थिति छ छाउ गोठमा बस्ने महिलाको - रातको सन्नाटामा एक्लै असुरक्षित स्थानमा सुत्नुपर्ने अवस्था । तर, यस्तो अत्याशलाग्दो परिस्थिति जीवनको नियमित चक्र बन्छ त्यो समाजमा । पीडामा पिल्सिएका ती महिलाको मुक्तिका लागि छाउ गोठ भत्काउने गरियो भनेर बेला बेलामा पढ्न, सुन्न पाइन्छ तर सो प्रथा ज्युँकात्युँ रहेको समाचार आउँछ । छाउगोठ भत्काइन्छ कुनै अभियानमा र फेरि ती ठडिन्छन् ।
वर्षौंसम्म यो क्रम चलिरहेको छ । तर, छाउपडी बस्ने प्रथा अन्त्य गर्ने अभियन्ताले एक छिन गमेर लिएर सोच्नुपर्ने देखिन्छ । के गोठ भत्काउनुमात्र समाधान हो र ? मासिक धर्म भएकी एक महिलालाई घरमै सुत्न दिँदा पनि तिनी सायद ढुक्कसँग निदाउन सक्तिनन्। परिवार वा गाउँमा अनीष्ठ हुने हो कि देउता रिसाएर? अनि मलाई गाल पर्ने पो हो कि ? अनि परिवारजनमा पनि त्यही डर हुँदो हो । त्यसैले फेरि गोठ खडा हुन्छ र विवश महिला त्यसमा रात बिताउन राजी हुनुपर्छ । दुःखद घटना भइरहे पनि छाउपडी प्रथा जारी नै छ र उत्तिकै सशक्त पनि । गोठ भत्काउनुभन्दा पहिला जरुरी हुन्छ मानिसका मनबाट दण्ड दिने भनिएका देउताको डर हटाउन । तर, ती देउता आजका होइनन् । ती देउता उनीहरूका अभिन्न अंग बनेर बसेका छन् सदियौंदेखि र ती भौतिक देहभन्दा बलिया छन् । त्यसैले एक नारी र तिनका परिवार ती बलिष्ठ देउताका सामु लाचार छन् र सधैँ लम्पसार पर्न बाध्य छन् । ती देउता उनीहरूका संस्कारका प्रतीक हुन् र ती देउताहरू एक दुई दिनको वा एकदुई महिनाको अभियानले आफ्ना अबोध भक्तलाई सजिलै छाडेर जानेवाला छैनन् ।
नयाँ चेतनाको लहरले ती ठाउँलाई ननुहाएसम्म यो समस्या समाधान होलाजस्तो लाग्दैन । त्यसका लागि समय लाग्छ । नेपालको कानुनले छुवाछुतमा रोक लगाएको ५० वर्षभन्दा बढी भयो । के त्यो अझै निमिट्यान्न भएको छ? मानौं साठी वर्ष लागेका बाउआमालाई पढेलेखेको छोराले - "अब बा आमाले आफ्नो बिचार बदल्नु पर्छ । तपाईँहरूको विचार र संस्कारमा खोट छ" भनेर मनाउन सक्छ? अनि एउटा समाजलाई नै बदल्न छोटो समयमा असम्भव छ । त्यो पनि यथास्थितिमा !
त्यसका लागि त नयाँ योद्धा आउनुपर्छ । तिनले पुराना संस्कारलाई कमजोर पारेर नया संस्कारको थालनी गर्नुपर्छ । त्यसका लागि समय र दिगो प्रभाव चाहिन्छ । पहिले त विकासको हावा मज्जासँग चल्नु पर्यो जस्ले पुराना देउताको जगलाई हल्लाउन सकोस् । अनि बिस्तारै सामान्य मानिसमा परिवर्तन आउला । "पल्ला गाउँमा त छाउ गोठमा सुत्ने चलन गइसक्यो हाम्रोमा किन?" भन्ने स्थिति आउनु पर्यो । तर त्यसका लागि समय लाग्छ । बरु तत्कालका लागि ती देउताका अधीनमा परेका लाचार महिलाका लागि व्यवस्थित (सुरक्षित झ्यालढोका भएको, भित्रै शौचालय भएको ) छाउ घर बनाइदिए हुन्थ्यो अभियन्ताहरूले । अनि लडे हुन्थ्यो ती देउता विरुद्ध एउटा युद्ध रणनीति तय गरेर ।