site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारी रकम सरकारलाई नै जिम्मा लगाउन दौडधुप 
आफ्नै कार्यकक्षमा प्रजिअलाई लेखेको निवेदन हेर्दै उद्योगी ताराचन्द खेतान ।

विराटनगर । विराटनगरका पुराना उद्योगी ताराचन्द खेतान (वर्ष ८४) को सक्रिय दिनचर्या छ । पहिलेजस्तो धपेडी छैन, तर व्यस्त भने छन् । जीवन भोगाइका उनको अनुभव प्रकाशोन्मुख पुस्तकको पाण्डुलिपिका केही पृष्ठमा भर्खरै उतारिएका छन् ।

हिजोआज फुर्सद मिल्यो कि उनी सुटुक्क कार्यकक्ष छिर्छन् । घर्रा तानेर ‘एफोर साइज’को कागजमाथि घोत्लिन्छन् । दोहोर्‍याइतेहेर्‍याइ ‘२० फन्ट साइज’का अक्षर सरसर्ती पढ्छन् । फरक परेका हरफ पुनर्लेखन गर्छन् । नमिलेका हिज्जे, मिति र दिनहरू भएका ठाउँमा रातो कलमले कोर्छन् । सच्याउनुपर्ने विषय थपिदिन्छन् ।

त्यही घर्राको अर्को छेउमा एउटा निवेदनको प्रतिलिपि बडो जतनले राखेका छन् । तर, त्यसको कार्यान्वयन हुने/नहुने विषयले भने उनको मन पोलिरहन्छ ।

Dabur Nepal

साबिक बालकल्याण गृह व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हुन् खेतान । त्यति बेला सरकारले विराटनगरमा समितिको भवन बनाउने निर्णय गर्‍यो । इमानदार सामाजिक व्यक्तित्वको खोजी भयो । खेतानलाई समितिको अध्यक्षको जिम्मेवारी दिन सिफारिस गरियो । भवन निर्माणको रेखदेख उनैको जिम्मेवारीमा आयो ।

तत्कालीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पम्फा भुसालले खेतनालाई त्यो जिम्मेवारी दिएकी थिइन् । सरकारको प्रस्ताव सहज ढंगले स्वीकार गरेर जिम्मेवारी सम्हाले । यो २०६४ सालको कुरा हो ।

“मन्त्रीज्यू, भवन निर्माण गर्न हामी सामाजिक र निजी क्षेत्रबाट समेत सहयोग जुटाउन सक्रिय हुनेछौँ, तर सरकारी झन्झटिलो प्रक्रियाभन्दा सहज रूपले अनुदान रकम उपलब्ध गराइदिनु हुन अनुरोध छ,” खेतानले मन्त्री भुसालसमक्ष आग्रह गरे । भयो पनि त्यस्तै, मन्त्रालयले समितिलाई रकम निकासा गरिदियो । अरू सहयोग पनि जुट्यो । सरकारी नियम र प्रक्रियाअनुसार भवन निर्माण थालियो । काम पनि सकियो ।

रेखदेखको जिम्मेवारी खेतानकै नेतृत्वको समितिले लियो । सरकारी पहल, बजेट र सामाजिक सहकार्यमा विराटनगरमा बालकल्याण गृहको नयाँ भवन बन्यो । अहिले यो भवनमा प्रदेश नम्बर–१ का प्रदेश प्रमुखको कार्यालय बसेको छ ।

मुलुक नयाँ संरचनामा गएपछि जिल्लामा रहेको बालकल्याण समिति भंग हुन पुग्यो । व्यवस्थापन समिति अहिले निस्क्रिय भइसकेको छ । संघीय संरचनामा जानुअघि बालकल्याणको भवन निर्माण गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त २० लाख रुपैयाँ बचत भयो । बचत रकम बढेर ३६ लाखभन्दा धेरै भइसकेको छ ।

“म वृद्ध भइसकेँ, अब यो बैंकमा बचत खातामा रहेको रकम सरकारलाई कसरी र कुन प्रक्रियाबाट फिर्ता गरिदिउँ भन्ने चिन्ताले पिरोलिएको छु,” खेतानले भने, “अनुदानस्वरूप प्राप्त त्यो रकम समितिका पदाधिकारीले बिल मिलाएर पच पनि गरिदिन सकिन्थ्यो, तर हामीले बैंकमा बचत गरेर सरकारी सम्पत्ति अझ बढाइदिएका छौँ ।”

खेतानका अनुसार सिद्धार्थ बैंक विराटनगर शाखाको खाता नम्बर ००३०२१७५१६० मा जम्मा रहेको २० लाख ब्याज थपिएर ३६ लाख ८३ हजार २७८ रुपैयाँ ९५ पैसा पुगिसकेको छ ।

रकम कहाँ कसरी फिर्ता गर्ने भनेर मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई भेटेर खेतानले निवेदन पनि दिए । “रकम जिम्मा लिइदिन अनुरोध गरेँ, तर कुन निकायले लिने भन्ने तय नभएको भन्ने प्रजिअले जवाफ दिनुभयो,” खेतानले भने, “सरकारी रकम सरकारलाई नै जिम्मा लगाउन दौडधुप गरिरहेको छु ।”

खेतानलाई विश्वास गरेर जिम्मेवारी दिने भुसाल अहिले चौथोपटक मन्त्री पदमा रहँदा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छिन् ।

काठमाडौंका रैथाने व्यवसायी पिताका छोरा ताराचन्द जुटको व्यपार र उद्योग गर्न २०२५ सालमा विराटनगर आएका थिए । व्यापार र उद्योग क्षेत्रमा नैतिकवान् र कर्तव्यनिष्ट व्यक्तिको रूपमा उनले पहिचान बनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro