दाङ । ‘म महाधिवेशन प्रतिनिधिमा, म जिल्ला उपसभापतिमा, म जिल्ला सदस्यमा उठ्ने सोचमा छु’, यस्तै उत्साहित अभिव्यक्ति लिएर संविधान दिवसका अवसरमा दुधरास चोकको सडक किनारामा टेण्टमा रक्तदान भइरहँदा महिलाको एउटा समूह प्रवेश भयो । नमस्कार भन्दै उनीहरुले आफूलाई परिचय गराइरहँदा दुधरास चोकको माहोल निर्वाचनमय देखियो ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत अघिल्लो साता भएको वडा अधिवेशनमा पश्चिम दाङबाट एकजना मात्र महिला वडा सभापतिको जिम्मेवारीमा चुनिँदा उनको समाचारले सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा ठूलो स्थान पायो । कारण एकसय वडामा उनी एक्ली महिला थिइन् ।
क्षेत्रीय प्रतिनिधि त पार्टीको विधानबमोजिम नै आए, केही वडामा खुलातर्फबाट पनि कोटाभन्दा बढी पनि आउन सफल भए तर वडा अधिवेशनको प्रतिनिधित्त्व हेर्दा नेपाली कांग्रेसको विधानमा उल्लेख भएबमोजिम ३३ प्रतिशत पुग्नै मुस्किल देखिएको छ । आधा आकासको परिकल्पना सायद होला नहोला तर महिलाहरुमा पनि राजनीतिमा आउने उत्साह भने अघिल्लो महाधिवेशनमा भन्दा बढी देखिएको दुधरासका स्थानीय कांग्रेस नेता कृष्णबहादुर डाँगीले सुझाए ।
“अझै अन्तिम निर्णय भएको छैन, टिमको पनि कुरा आउन सक्छ, तर आकांक्षा भएकाले अधिवेशनमा मत माग्न दौडधुप भने सुरु भएको छ”, दुधरास चोकमा परिचय साट्दै महिला नेतृ देवा डाँगीले भनिन् । उनको आकांक्षा जिल्ला सदस्यमा थियो । सधैं चुलोचौकोमा सीमित रहेर मात्रै महिला अधिकार स्थापित हुन सक्दैन, आधा आकाशको मतलव बराबरी प्रतिनिधित्वका लागि पनि आफूहरु राजनीतिमा पनि जोडिनुको विकल्प नभएको उनको अभिव्यक्ति थियो ।
सावित्रा राना पनि त्यही समूहमा थिइन् । उनको परिचयसँगै आउने कांग्रेस नेतृत्वमा सहभागी हुने आकांक्षा पनि एकैपटक जोडिएको थियो । किनकी करिब ६ वर्षपछि भएको वडा अधिवेशनमा नयाँ दिदीबहिनीहरु पनि क्षेत्रीय प्रतिनिधि चुनिएकाले सबैसँग परिचय साट्दै आफ्नो नेतृत्वको आकांक्षा पनि व्यक्त गर्न दौडधुप सुरु भएको सावित्रा रानाको अभिव्यक्ति थियो ।
पार्टीको विधान र नेपालको नयाँ संविधानले पनि महिलाहरुको समान अधिकारलाई स्थापित गरेको भए पनि अझै पनि महिलाहरु नेतृत्वमा आउन नसक्नाले आधा आकाशको मान्यता समग्र व्यवहारमा लागु हुन नसकेको पनि उनको अभिव्यक्ति थियो । सावित्रा यसअघि नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कोषाध्यक्ष चुनिएकी थिइन् । परिचयका क्रममा उनी आगामी जिल्ला अधिवेशनमा नेपाली कांग्रेस दाङको उपसभापतिको आकांक्षी भएको रुपमा प्रस्तुत् भइन् । “तपाईंहरुकै साथ र सहयोगले राजनीतिमा एक खुड्किलो माथि उक्लने प्रयास गरेकी छु”, मत माग्दै सावित्राले भनिन् । उनी आसन्न जिल्ला अधिवेशनमा सर्वसम्मत बनिन् वा चुनावमै प्रतिस्पर्धा गरेर विजयी बनिन् भने सम्भवत नेपाली कांग्रेस दाङको पहिलो महिला उपसभापति बन्नेछिन् ।
विमला योगी, एउटा सामाजिक अभियन्ताको पर्याय हुन् । लामो समय महिलाको सीप विकास, महिलाहरुलाई स्वावलम्बी बनाएर स्वाभिमान बनाउने तथा महिलालाई स्वरोजगार बन्न प्रेरित गर्दै आएकी विमला योगीको पनि आसन्न महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्नुपर्छ भन्ने हो । सवथोकको परिवर्तन गर्नका लागि राजनीतिबाहेक अरु गौणजस्तै लाग्छ, सबैलाई । शैक्षिक योग्यताका हिसावले पनि विमला स्नातकोत्तर उत्तीर्ण कुशल महिला हुन् ।
उनीजस्ता महिलाहरु नीति निर्माण तहमा पुग्न सके भने मुलुकमा महिला अधिकार र लैगिक समानताका विषयमा पनि धेरै सहजता आउन सक्ने महिलाहरुकै चाहना देखिन्थ्यो । विमलाको मन पनि महाधिवेशन प्रतिनिधिमा थियो, यद्यपि सबै साथीभाइ र अग्रज नेतृत्वसँग थप छलफल भएपछि मात्रै आफू राजनीतिमा कहाँ एड्जस्ट हुने भन्ने टुंगो लाग्ने अभिव्यक्ति दिइन् ।
अग्रज महिला नेतृहरु गोमा रावत, कृष्णा राना, जनप्रतिनिधिसमेत बनिसकेकी साविधा गुरुङ, यमुना शाहलगायतका महिलाहरु दुधरासमा मत मागिरहँदा महिलाहरु पनि आफ्नो अधिकारका लागि अत्यन्तै संवेदनशील बनेका छन् भन्ने झल्को दिन्थ्यो । चुलो चौको सम्हाल्दै पनि उनी दिउँसोको समय पारेर निजी सवारी साधनको व्यवस्थापन गरी मत माग्न दाङ दौडाहामा लागेका छन् । सबैका हातमा निर्वाचित क्षेत्रीय प्रतिनिधिहरुको मोबाइल नं. सहितको लिष्ट पनि देखिन्थ्यो ।
त्यसैले राजनीतिमा माथि उठ्दै नीति निर्माण तहसम्म पुग्ने महिलाहरुको यो उत्साहलाई सकारात्मकरुपमा लिन सकिने त्यहीँकै स्थानीयवासी तथा शैक्षिक अभियन्ता डिल्ली अधिकारीको बुझाइ थियो । असोज ९ गते गाउँ/नगर अधिवेशन हुँदैछ । यी अधिवेशनमा समेत महिलाहरु कार्यसमितिमा उत्साहजनक सहभागिता जनाउने अभ्यासमा जुटेका छन् ।
कहिँकतै निर्वाचन हुने अवस्था आएमा पनि आफ्नो कार्यसमितिको मत सुरक्षित गर्न महिलाहरुको चुनावी अभियान सुरु भइसकेको छ ।
‘नशा हो राजनीति’
गाउँनगर अधिवेशन नजिकिँदै जाँदा उमेरले ८० पुग्न लागेका बृद्धा पनि नेतृत्व लिन तम्तयार छन् । राजनीति मुलुकलाई परिवर्तन दिने एउटा माध्यम र साधन मात्र होइन, एउटा निरन्तरताको नशा पनि हो । यसैलाई प्रमाणित गरेको छ, लमही नगरको अधिवेशनमा आकांक्षी उम्मेदवारहरुको चर्चाले । असोज ९ गतेका लागि तय भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा दाङको लमही नगरमा लमही नगरका पूर्व सभापति शिबु चौधरी र नेपाल तरुण दलका अध्यक्ष सन्तोष बुढाथोकी नगर सभापति पदमा आमने–सामने उभिएका छन् ।
यी दुई बीचको उमेर हेर्दा हजुरबा र नातिको जस्तै छ । उमेरले चौधरी ७९ वर्ष र बुढाथोकी ३० वर्षका छन् । आकांक्षी चौधरीले आफू कुनै ब्यक्ति विशेषको नभई नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेको बताए । ७९ वर्षको उमेरमा पनि उनलाई कांग्रेस बलियो बनाउने नशा लोभ छ । त्यसैले नाति उमेरका आकांक्षीसँग प्रतिस्पर्धा गर्दैछन् । चौधरीको प्रतिस्पर्धा उमेरले ३० वर्षका सन्तोष बुढाथोकीसँग हुने चर्चा लमहीमा चलेको छ । बुढाथोकी तरुण दलका नगर अध्यक्ष हुन् ।