पोखरा । २ वर्षे बालक रोइरहेका थिए । बन्द आँखाको चेपबाट आँसु बगिरहेको थियो । बच्चा रोएको देखेर आडैमा रहेकी आमाको पनि आँसु थामिएन । बच्चाको आँखा हेर्न खोजिरहेका चिकित्सक नतमस्तक बने । दुधे बालकको आँखा जँचाउन आएकी आमा र बिरामी छोराको यो कारुणिक दृश्य हिमालय आँखा अस्पतालको हो ।
हिमालय आँखा अस्पतालले आँखामा लाग्ने रोगको निदान गर्दछ । पछि चिकित्सकले भने, “बच्चाको आँखाको नानीमा झुस भरिएको छ ।”
अहिले पोखराका सार्वजनिक, सरकारी कार्यालयदेखि निजी क्षेत्रका कार्यालय, घरका भित्तादेखि बिजुलीका पोल यत्रतत्र रुपमा सेतो पुतलीको बिगबिगी देखिन्छ ।
त्यही सेतो पुतलीको झुस ती बालकको आँखामा परेको थियो ।
यही पुतलीकै कारण आँखाको ज्योती नै सदाका लागि गुम्न सक्ने भएका कारण यसलाई सापु (सिजनल हाइपरएक्युट पन्युवाइटिस (एसएचएपीयू–सापु) भनेर चिनिएको छ ।
सेतो पुतलीको प्रजननको सिजन पनि भएका कारण यो समयमा अघिल्ला वर्षभन्दा बढी मात्रामा पुतली देखिएका छन् भने बिरामीको संख्या पनि उत्तिकै बढेको हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एलिया श्रेष्ठले जानकारी दिइन् ।
सामान्यतया सेतो पुतलीको झुस आँखामा पर्दा बिझाउँदैन, दुख्दैन पनि ।
तर, दुखाई सहनै नसकेर म्याग्दी बेनीका अमृत पुन भदौ १३ मा अस्पताल आइपुगे । ४ दिन पश्चात अस्पताल आएका पुनलाई सापुको संक्रमण देखियो । ढिला आएका कारण उनको रेटिना पूर्ण रुपमा खतम भइसकेका कारण ज्योती नै गुम्न पुग्यो ।
दुखाईसहितको संक्रमण र यो सिजनमा सापुको पहिलो केस नै उनै पुनको थियो । त्यसयता यो सिजनमा मात्रै ३० जना सापुबाट संक्रमित बन्न पुगेको डा. श्रेष्ठले बताइन् ।
उनै श्रेष्ठले सेतो पुतलीबाट सकेसम्म जोगिन र त्यसलाई नछुन सुझाव दिइन् ।
पछिल्लो तीन वर्ष यताकै तथ्यांकअनुसार पनि एक महिना नपुग्दै ३४ जनामा संक्रमण देखिएको यो पहिलोपटक हो । अगस्ट, सेप्टेम्बर, अक्टोबर सापुको सिजन भएको हुँदा यो संख्या अझै बढ्न सक्ने उनले बताइन् ।
सन् २०१९ मा हिमालय आँखा अस्पतालमा १६ जना सापुका संक्रमित उपचारका लागि आएका थिए । गतवर्ष भने यो संख्या ४ मात्र थियो ।
हरेक २ वर्ष बिराएर देखिने यो रोग गत वर्ष पहिलोपटक एक वर्षमा नै दोहोरिएको थियो । यसवर्ष भने अघिल्ला वार्षिक संख्याभन्दा दोब्बर केस एक महिनामै देखिएको उनले जानकारी दिइन् ।
अस्पतालको तथ्यांकअनुसार २ वर्ष देखि ६५ वर्षसम्मका वृद्धसमेत सापुबाट संक्रमित भएका छन् ।
यो सिजनमा मात्रै म्याग्दीका पुनसहित अन्य चारजनाले आँखाको ज्योती गुमाइसकेका छन् ।
सन् १९७५ (२०३२) मा पोखरामै देखिएको यो रोगबाट अहिले सबैभन्दा बढि कास्कीका संक्रमित छन् । कास्कीसहित पहाडी जिल्ला बागलुङ, म्याग्दी, स्याङ्जामा संक्रमण देखिएको छ ।
यी जिल्लामा आँखा अस्पतालको क्लिनिक पनि छ । त्यहाँबाट बिरामीहरु पोखरा आउने र काठमाडौं पनि उपचारका लागि जाने गरेका छन् ।
के हो सापु ?
सापु नेपालमा पहिलो पटक सन् १९७५ मा पोखरामै देखिएको थियो । आँखा रोग विशेषज्ञ डा. मदन उपाध्यायको टोलीले त्यसको अध्ययन समेत गरेको थियो । त्यसपछिको २० वर्ष कतै सेतो पुतलीको समस्या देखा परेन । अध्ययन पश्चात ०५७ साल तिर सेतो पुतलीबाट समस्या देखिएको थियो ।
सुरुमा ’ट्युमर’ भनिएको समस्यालाई पछि टोलीको अध्ययनले सिजनल हाइपरएक्युट पानुभिआइटिस (सापु) नाम दिएको हो ।
भदौदेखि मंसिरसम्म सेतो पुतलीको प्रजनन् अवधि भएकाले वर्षायाम सकिने बेलामा सापुले बढी सताउने गर्छ । खासगरी पहाडी जिल्लामा देखिएको यो रोग ब्याक्टेरिया वा के कारणले लाग्छ भने हालसम्म पत्ता लाग्न सकेको छैन । सेतो पुतलीको सम्पर्कमा आएका मानिसमा यो रोग देखिएको पाइएकाले पुतली पनि एउटा कारण भएको अनुमान गरिंदै आएको छ ।
संक्रमण र लक्षण
सेतो पुतली छोएर वा अन्य माध्यमबाट यसको रौं आँखासम्म पुगेमा सापुको संक्रमण फैलिन सक्छ । संक्रमण भएमा आँखा दुख्ने, रातो हुने तर चिप्रा नआउने, आँखाको नानी सेतो हुँदै जाने जस्ता लक्षण देखिन्छन । उपचारमा ढिलाइ भए क्रमशः आँखा कम देख्दै दृष्टि नै पूर्णरूपमा गुम्न सक्ने डा. श्रेष्ठले बताइन् ।
प्रायः एउटा आँखामा मात्रै देखिने यो रोगले तीव्र रूपमा असर गर्छ । यो सरुवा रोग भने होइन । यो रोगले जुनसुकै उमेर समूहका मानिसलाई सताए पनि बालबालिकालाई बढी आक्रमण गरेको पाइन्छ ।
रोकथाम र उपचार
डा. श्रेष्ठ भन्छिन्, “४८ घण्टाभित्र अस्पताल पुगे आँखाको ज्योती गुम्नबाट बच्न सकिने सम्भावना प्रबल रहन्छ ।”
त्योभन्दा ढिला भए संक्रमण फैलिने भएका कारण आँखाको ज्योति बचाउने सम्भावना निकै कम हुने गर्दछ । सबै उमेरसमूहमा संक्रमण भएतापनि बालबालिकामा यो बढिमात्रामा फैलिने गरेको पाइएको छ ।
सेतो पुतली भएको ठाउँमा जान नहुने र आफू बसेको ठाउँमा त्यस्तो पुतली आए सजग हुनुपर्ने उनको सुझाव छ ।
हात वा शरीरका अन्य भागमा पुतली बसेमा वा छोइएमा सफा पानीले पखालिहाल्नुपर्छ, झ्याल बन्द राख्ने, झुल प्रयोग गर्ने र बच्चालाई सुरक्षित राख्न ध्यान दिनुपर्ने उनले सुझाव दिइन् ।
मेसिन मर्मत गर्दै चलाउँदै
सापु संक्रमण भएपछि आँखामा पीप जमेको छ, छैन ? पुतलीको झुस छ, छैन ? पत्ता लगाउने मेसिन नै बारम्बार बिग्रँदै आएको छ । यो मेसिनलाई बि–स्क्यान मेसिन भनिन्छ ।
यही मेसिन बिग्रिँदा उपचारमा समस्या आएको डा. श्रेष्ठले बताइन् ।
मेसिन बिग्रिएकै कारण हिमालयनले दुई हप्ताअघि तिलगंगा आँखा अस्पताल रेफर गरेको थियो ।
एक दशकअघि किनिएको मेसिनमा समस्या भएकोबारे यही हप्ता आँखा जँचाउन अस्पताल पुगेका प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि सुनाइन् ।
“पुरानो मेसिन बेलाबेलामा बिग्रिन्छ । बिग्रेपछि मर्मत गर्दै चलाएका छौँ । बिरामीको उपचार छिटोछिटो गर्नुपर्ने भएकाले यो मेसिन एकदम आवश्यक छ,” उनले भनिन् ।