site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा चार लेन परियोजनाका प्रतिनिधि फेरिए, अब ‘समयमै काम सकिने’
फाइल तस्बिर ।

दाङ । तोकिएको समयमा लक्ष्यानुसारको काम गर्न नसकेपछि लमही–घोराही–तुलसीपुर सडक स्तरोन्नति परियोजनाबाट निर्माण कम्पनीका नेपाल प्रतिनिधि अनुप पाण्डे बाहिरिएका छन् । उनको स्थानमा निर्माण कम्पनीले अर्का प्रतिनिधि दोर्ण दुलाललाई खटाएको छ ।

नयाँ प्रतिनिधि दुलालले जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुमाझ आफूले सरकारले तोकेको समयावधिभित्र चार लेन सडक स्तरोन्नतिको काम पूरा गरी सक्ने बताए । दाङ जिल्लाकै सबैभन्दा ठूलो गौरवको योजनाका रुपमा रहेको सो परियोजना विगत एक वर्षदेखि व्यवस्थापकीय कमजोरीका कारण ठप्पप्रायः रहेको छ ।

घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्म विभिन्न स्थानका सडकलाई चार लेनका रुपमा स्तरवृद्धि गर्न भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फा प्रोजेक्ट प्रालिसँग ठेक्का सम्झौता भएको थियो । सन् २०२१ अगस्त ११ मा निर्माणको काम सक्ने सम्झौता भए पनि विभिन्न कारणले परियोजनाको म्याद थपिएको छ ।

“निर्माणका लागि आवश्यक साधनहरुको स्वामित्व लिइसकेका छौँ, केही ‘गाडी–घोडा’ थप गरेपछि दसैंसम्म तपाईँहरुले कामको प्रगति अनुभव गर्न सक्नुहुनेछ,” प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहितको उपस्थितिमा नयाँ प्रतिनिधि दुलालले भने । उनले दसैंसम्म कम्तीमा आठ किमि सडकको वेसमेन्ट तयार गरी कालोपत्रको कामसमेत सुरु गरिने बताए ।

भारतको एक्जिम बैंकको एक करोड २१ लाख अमेरिकी डलर लगानी रहने सो सडक स्तरोन्नतिको काम करिब २८ किमि हुने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार कुइरेपानीदेखि हात्तीखौवा चोकसम्म चार लेन हुनेछ । कटुवाखोलादेखि डीके पम्पसम्म यसअघि नै चार लेन भइसकेको छ ।

डीके पम्पदेखि सर्रा चोकसम्म, नारायणपुरको झारबैरा चोकदेखि खैरा चोकसम्म र दूधरासदेखि तुलसीपुरको हात्तीखौवा चोकसम्म मात्र चार लेन सडक हुनेछ । बाँकी भाग भने दुई लेन नै रहने बताइएको छ ।

चार लेन सडक स्तरोन्नति परियोजनाका कन्सल्टेन्ट इन्जिनियर आशिष कँडेलले विगत १० महिनादेखि सडक स्तरोन्नतिको काम पूर्ण रुपमा ठप्प रहेको बताए । यसअघिका प्रतिनिधि पाण्डेले व्यवस्थापनको काम लक्ष्यआनुसार गर्न नसक्दा आयोजनाको म्याद पटक–पटक थपिँदै गएको उनले उनले जानकारी दिए ।

सन् २०२१ अगस्टमै सकिने भनिएको काम विद्युत् पोल हटाउन समस्या भएको कारण देखाउँदै १४५ दिन थपिएको थियो । त्यसपछि ‘लकडाउन’लाई कारण देखाएर फेरि १०३ दिन समय थपिएको छ । अब २०२२ जनवरी १९ सम्ममा परियोजनाका सबै काम सम्पन्न गरिने सम्झौता भएको छ ।

अक्सपाल प्रविधिमा कालोपत्र हुने सो सडक कम्तीमा १० वर्षसम्म केही नहुने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला सहयोगको घोषणा गरेसँगै कपिलवस्तुको चन्द्रौटादेखि कृष्णनगरसम्म, भालुवाङदेखि प्युठानको बाग्दुला, भीमगिठी र लमहीदेखि तुलसीपुरसम्म चार लेन सडक स्तरोन्नतिको काम गर्ने गरी लमहीमा परियोजना कार्यालय सञ्चालनमा छ । लमहीदेखि घोराहीसम्म चार लेन बनाउने क्रममा बजेट पनि थोरै र वातावरणीय विनाश पनि धेरै हुने भएपछि वन क्षेत्रमा दुई लेनमै सडक सीमित राखी कुइरेपानीस्थित बबई पुलबाट मात्र काम सुरु गरिएको हो ।

कुनै पनि कारणले निर्माणको काममा अवरोध हुँदैन :  प्रजिअ
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कुनै पनि अवस्थामा चार लेन सडक स्तरोन्नतिको काममा स्थानीय प्रशासनका तर्फबाट अवरोध नहुने बताए ।

“नर्मल अवस्थामा होस् वा लकडाउनकै अवस्था, कुनै पनि समयमा तपाईंहरुको काममा अवरोध हुने छैन,” उनले भने ।

विकास निर्माणको सहजताका लागि आवश्यक परे जुनसुकै बेला पनि पास उपलब्ध गराउने र निर्माणमा संलग्न श्रमिकलाई कोरोनाविरुद्धको खोपसमेत व्यवस्थापन गर्न आफू लागिपर्ने उनको भनाइ छ ।

“तर, निर्माण कम्पनीका तर्फबाट देखिने गरी काम भइरहेको हुनुपर्‍यो । ‘फोर लेन सडक दाङको महत्वाकांक्षी एवं गौरवको योजना हो, फोर लेनलाई ट्रयाकमा ल्याउन सकिनँ भने म यहाँ बसिरहेको अर्थ रहँदैन,” उनले भने ।

चार लेन सडकका लागि भारतबाट ल्याउनुपर्ने कच्चापदार्थ होस् वा यहीँबाट प्राप्त हुने नदीजन्य पदार्थ आपूर्तिका लागि आफ्नो विशेष पहल हुने पनि उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro