site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दम नभएकै हो ‘दनक’मा !
SkywellSkywell

हास्यव्यंग्यको चर्चा चल्नासाथ हरेकले सम्झिने नाम हो, भैरव अर्याल । लेखनका यी महारथीद्वारा रचना गरिएका व्यंग्यात्मक निबन्ध आज पनि उत्तिकै लोकप्रिय छ । मौका पाउनासाथ हरेकले अर्यालका व्यंग्यकृति पढ्ने गरेको कसैबाट लुकेको विषय पनि होइन ।

उस बेला पञ्चायतकालीन समय थियो ! मानिसले बोल्नलाई पनि डराउनुपर्ने अवस्था थियो । अभिव्यक्ति स्वतन्त्रतामा एक किसिमको बन्देज नै थियो । तथापि, भैरव अर्याल, केशवराज पिँडाली, श्याम गोतामे, घटोत्कच शर्मा, रामकुमार पाँडेगायत व्यंग्यकारहरूले व्यंग्य लेखनमा आफ्नो कलमको जादु देखाउँदै आएका थिए । आज पनि तिनका व्यंग्य रचना र कृतिबाट पाठकहरू मन्त्रमुग्ध छन् ।

त्यसपछिका दिनमा व्यंग्य लेखनमा धेरै लेखकहरू थपिँदै गए । कथा÷कवितामा कलम चलाउने स्रष्टाहरू पनि बेलाबखत व्यंग्य लेख्थे । अनि, देखापर्न थाले अर्को पुस्ताका व्यंग्य लेखकहरू ।

KFC Island Ad
NIC Asia

२०४७ सालको राजनीतिक परिवर्तनपछि दैनिक पत्रपत्रिकाहरूको प्रकाशनमा व्यापकता आयो । त्योसँगै दैनिक पत्रपत्रिकाहरूले व्यंग्य निबन्धलाई पत्रिकामा स्थान दिँदै गए । गोरखापत्रको शनिबारीय परिशिष्टमा यदाकदा छापिने व्यंग्य निबन्धले नयाँ–नयाँ पत्रिकामार्फत दैनिकजसो यात्रा गर्न थाल्यो ।

व्यंग्य लेखकहरूले पनि विभिन्न स्तम्भ शीर्षक (कटाक्ष/चटनीजस्तो)को एउटा निश्चित आयतनमा शाब्दिक घोचपेच गर्न थाले ।

Royal Enfield Island Ad

सम्भवतः सोही अवधिमा व्यंग्यका साथ देखिएका हुन्, नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे, मुन पौडेल, धर्मराज बराल, चट्याङ मास्टर, भरत भुर्तेल, मनोज गजुरेल, नरमेन्द्र लामा, विमल भौकाजी, धीरेन्द्र प्रेमर्षि, घिमिरे मैदेली, विनोद नेपाल, शिखण्डीलगायत थुप्रै व्यंग्य लेखकहरु । जो त्यसपछिको समयमा निरन्तर व्यंंग्य लेखनमा सक्रिय रहे । तिनको लेखनले पाठकलाई हास्यव्यंग्यको खुराक मज्जैले दिएको थियो ।

तर, आज त्यो अवस्था छैन । न त दैनिक पत्रपत्रिकाहरूमा नै हास्यव्यंग्य निबन्ध रचनाका लागि कुनै ‘स्पेस’ छ । लाग्छ, व्यंग्य लेखन ओइलाएर गएको छ । सेलाएर गएको छ । कुनै समय दह्रो दनक दिने हास्यव्यंग्यको दम नै खतम भएर गएको छ ।

के साँच्चि दनकमा दम नभएकै हो ? त्यसैले पनि दनक अर्थात् व्यंग्य दनक लेखन हराउँदै गएको हो ? यो प्रश्न उठनु अस्वाभाविक हैन पनि ।

आज पनि पाठक व्यंग्यात्मक दनक चाहन्छन् । आज पनि पाठक व्यंग्य निबन्ध पढ्ने चाहना राख्छन् । तर, आश्चर्यजनित रूपमा व्यंग्य लेखन मुर्झाएर गएको छ । किन यस्तो भयो त ?

यसै सेरोफेरोमा केन्द्रित रही धुरन्धर व्यंग्य शिल्पी भैरव अर्यालका मित्र भैरव अर्याल पुरस्कार गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, चट्याङ गीतकार चट्याङ मास्टर,  सिस्नुपानी नेपालका लक्ष्मण गाम्नागे, साहित्यिक पत्रकार रमण घिमिरे र मोफसलमा बसेर व्यंग्य लेखनमा सक्रिय हेटौँडाका आरसी रिजालसँग कुराकानी गरिएको थियो । उनीहरू के भन्छन् त ? प्रस्तुत छ, ती स्रष्टाका विचार :

रोचक घिमिरे 
पक्कै पनि कमी आएको छ हास्यव्यंग्य लेखनमा । व्यंग्य लेखनमा हास्यव्यंग्यको सन्तुलित मिश्रण हुनु अनिवार्य छ । तर, अहिले त्यो सन्तुलन पाइँदैन । एउटा ठोस व्यंग्य निबन्धका लागि मिश्रण महत्वपूर्ण हुन्छ ।

आजको अवस्था हेर्ने हो भने भैरव अर्यालको उँचाइलाई कसैले तोड्न सकेको छैन । भैरव नै एक शाश्वत व्यंग्य शिल्पी थिए । उनी नै रहेका छन् ।

पछिल्लो कालमा व्यंग्य लेखन नफस्टाएको होइन । एक समय दैनिक र साप्ताहिक पत्रपत्रिकाले पनि व्यंग्य निबन्धलाई स्थान दिएका थिए । नयाँ पुस्ताका धेरै व्यंग्य लेखक त्यही समयमा जन्मिए । तर, खै ती पनि किन हराए हराए !

यतिखेर कतिपय संस्थाहरू पनि क्रियाशील छन्, व्यंग्य क्षेत्रमा । जस्तै, भैरव पुरस्कार गुठी, सिस्नुपानी नेपाल, वासुदेव लुइँटेल पुरस्कार, हासने समूह आदि । तर, व्यंग्य लेखन जुन रूपमा फस्टाउनुपर्ने हो, फस्टाउन सकेको छैन । यसले के पनि देखाउँछ भने आजको समयमा सार्थक हास्यव्यंग्य लेख्ने लेखककै अभाव छ । त्यसैले पनि व्यंग्य निबन्ध लेखनको समुचित विकास हुन सकेको छैन । न त हास्यव्यंग्यको गरिमा नै बढ्न सकेको छैन ।

वास्तवमा दनकमा दम छैन । एउटा कुरो प्रष्ट के छ भने आज पनि व्यंग्य लेखनको क्षेत्रलाई भैरव अर्यालकै व्यंग्यहरूले नै धानिरहेको छ ।

अब प्रतिभा हुनेले व्यंग्यमा कलम चलाउनुपर्छ । सुतेका व्यंग्य लेखकहरू पनि जाग्नुपर्छ । व्यंग्यका पाठक घटेका छैनन् । पाठक सार्थक व्यंग्य रचनाको खोजीमा छन् ।

चट्याङ मास्टर (कृष्णमुरारी गौतम)
सही हो, अहिले व्यंग्य लेखन मुर्झाएर गएको छ । सुस्ताएको छ । म पनि तर्सिएको छु, किन यसरी मुर्झाएर गएको होला व्यंग्य लेखन !

मलाई के लाग्छ भने, अहिलेको वातावरण, सत्तामा रहनेहरूको व्यवहारले व्यंग्य क्षेत्रमा नराम्ररी प्रहार गरेको छ । व्यंग्य लेखकले अलिकति कडा केही लेख्यो कि त्यो लेखकमाथि ‘अरिंगाल’को गोलो लागिहाल्ने । लेखकलाई लछारपछार गरिहाल्ने । सत्तामा रहनेको खालि जयजयकार मात्रै गर्नुपर्ने ! विरोध त अलिकति पनि गर्न नहुने ! त्यसैले पनि धेरैजसो व्यंग्य लेखकहरूले व्यंग्य लेख्नै छाडेका हुन कि !

अर्को कुरो, लेखकहरू पनि कित्ता–कित्तामा बाँडिए ! नेपाली मात्रै भएर कोही लेखक भएनन् । सबै कुनै न कुनै वाद र वादीको लेखक भइदिए ! मेरा धेरै साथीहरूलाई यो खोलोले बगाएको छ । समाज नै वाद र वादीमा अल्झियो । र, वाद वादीमा लागेपछि खरो लेख्न नहुने ! त्यसैले पनि व्यंग्य लेखन ओझेलमा पर्दै गएको हो । कसैलाई देउता नमानीकन समाजमा टिक्नै गाह्रो भयो । स्वतन्त्र भएर कसैले लेख्नै सकेनन् । अरिंगाल र वादी प्रवृत्तिले व्यंग्य विधालाई नै खायो ।

विदेशमा व्यंग्य लेखकहरूलाई विभूषित गरिन्छ । भारतमै पनि पद्मभूषण पाएका व्यंग्य लेखकहरू छन् । तर, हामीकहाँ राज्यले व्यंग्य लेख्ने लेखकलाई अरिंगाल छोड्छ । कहाँको विभूषण !

सत्तामा रहेकाले मात्र होइन, प्रशासनमा बस्नेले पनि सत्तासिनको नै विचार बोकेर बसेका छन् । भैरव अर्याल, केशवराज पिँडाली, श्याम गोतामेहरूको पालामा राजतन्त्र थियो । तर, तिनले कति मिठो–मिठो व्यंग्य सिर्जना गरेका छन् ।

त्यस बेला सोझै ‘सराप्न’ पाइन्नथ्यो । कलात्मक रूपमा तिनले आफ्नो विचारको अभिव्यक्ति गर्थे । राणााकालमै पनि आदिकवि भानुभक्तले व्यंग्य कविताहरू लेखेका थिए । तर, आज त कस्तो डरलाग्दो भयो भने...।

अहिले त कतिपय शब्दहरू नै प्रतिबन्धित भएका छन् । आफूले रोजेको खोजेको भाषा लेख्नै पाइन्न । लेख्यो कि हामीलाई होच्याउने भन्नेहरू आइपुग्छन् । जबकि, व्यंग्यमा त्यस्ता भाषाको प्रयोग गरेरै पाठकलाई बाँध्नुपर्ने हुन्छ ।

कतिपय उखान–टुक्का पनि उल्लेख गर्न पाइँदैन । चलनचल्तीका कतिपय शब्द व्यंग्य रचनामा उन्न पाइन्न । जात, थर उल्लेख गर्नै सकिन्न । त्यसैले भाषाका कारण पनि व्यंग्य लेखकहरू हतोत्साही हुँदै गएका छन् ।

यस्तै हो भने भोलिको व्यंग्य लेखन मौलाउने होइन, ओइलाएर जाने निश्चित छ । यिनै कारणले गर्दा अहिलेको व्यंग्य दनकमा दम नभएको हो । त्यसैले दम दिन खोज्नेहरू सबै मौन भएर बसेका छन् ।

समाज विकृतितिर उन्मुख छ । विकृतिको महारोगले सबै पक्ष सडेर गएको छ । यसरी सामाजिक विकृति, सांस्कृतिक विकृति, राजनीतिक विकृति फस्टाउँदै जाने हो भने व्यंग्य लेखन मात्रै होइन, सिर्जनात्मक विधा सबै ओइलिएर जाने देखिन्छ । यसले कलमको स्वतन्त्रतामा नै बन्देज लगाउने देखिन्छ । 

लक्ष्मण गाम्नागे 
पछिल्लो समय व्यंग्य लेखन अलिकति खस्किएको नै हो । हाम्रो राजनीतिक वातावरणले गर्दा पनि व्यंग्य लेखकहरूमा निराशा छाएको हो कि भन्न सकिन्छ । अहिले कस्तो भयो भने मुलुकको राजनीतिमा नै गाईजात्रा मौलाएको छ । सायद, त्यसका अगाडि व्यंग्य लेख्नेहरूका लेख रचना फिक्का भएका हुन कि !

व्यंग्य छाप्नेहरूमा पनि वितृष्णा पैदा भएको हो कि भन्ने लाग्छ । किनभने, एक समय थियो, धेरै पत्रपत्रिकाले व्यंग्यलाई ठाउँ दिएका थिए । आज पत्रपत्रिकाले व्यंग्यलाई त्यो स्थान दिएका छैनन् ।

अर्को कुरो के पनि भने, व्यंग्य लेख्न सजिलो छैन । सजिलो नभएकै कारण व्यंग्य लेख्नेहरू कम छन् । अहिले त राजनीतिक माहोल र तिनको गाईजात्राले गर्दा धेरै लेखक व्यंग्यबाट पलायन हुँदै गएका छन् ।

हास्यव्यंग्यका किताब प्रकाशन गर्ने वातावरण पनि छैन । कथा÷उपन्यास र जीवनीका पुस्तक प्रकाशित हुन्छन् । तर, कविता र व्यंग्य लेखनमा त्यति ध्यान प्रकाशकहरूको गएको देखिँदैन । व्यंग्यको बजार त पक्कै छ ।

व्यंग्य सामग्रीको पठनमा पाठकबाट राम्रो रेस्पोन्स आउने गरेको थियो । तर, पाठकलाई समाउने गरी लेख्नु आफैँमा गाह्रो विषय हो । विषयवस्तु भएर मात्र हुन्न, त्यसलाई कलात्मक बनाई, भाषाशैलीमा मिठास भरेर प्रस्तुत गर्न सक्ने क्षमता व्यंग्य लेखकमा हुनुपर्छ ।

राजनीतिलाई मात्र व्यंग्यको विषय बनाउने, केही तत्कालीन घटना र व्यक्तिको प्रवृत्तिलाई लिएर व्यंग्य लेख्ने कारणले गर्दा पनि पछिल्लो समय व्यंग्य लेखन खस्किएको हो कि भन्ने लाग्छ । जबकि, व्यंग्यरचना त कालजयी हुनसक्छ भन्ने हामीले भैरव अर्याल, श्याम गोतामे, केशव पिँडालीलगायत पुराना व्यंग्य लेखकहरूको व्यंग्य पढ्दा नै थाहा पाउँछौँ ।

यस विधामा गम्भीरतापूर्वक लागेर अगाडि बढ्ने हो भने कालजयी व्यंग्य निबन्धहरू दिन नसकिने होइन । अवश्य सकिन्छ । बस्, व्यंग्य लेखकहरूले यतातिर विशेष ध्यान दिनु जरुरी छ ।  

रमण घिमिरे 
हास्यव्यंग्य लेखनमा अहिले शिथिलता आएको निश्चित हो । यसको खास कारण भनेको देशको राजनीतिक अवस्था नै हाँसोमय भएर पनि हो । पहिले–पहिले गाईजात्रा गरिन्थ्यो । त्यसमा राजनीतिक र प्रशासनिक क्षेत्रमा देखिएका बेथितिमाथि खरो व्यंग्य गरिन्थ्यो । सामाजिक क्षेत्रका कुरीतिहरूमाथि कडा लेखिन्थ्यो । बोलिन्थ्यो ।

तर, त्यस्तो गाईजात्रा अहिले दिनहुँ सडकमा भइरहेका छन् । त्यसलाई जित्न सायद सम्भव छैन भन्ने व्यंग्य लेखकहरूले बुझे कि ! मुख्य कुरो नै यही हो भन्ने मलाई लाग्छ । त्यसैले कलात्मक हास्यव्यंग्यको क्षेत्रमा खडेरी परेको हो ।

अहिले पत्रपत्रिकामा व्यंग्य कम छापिएको पक्कै हो । अहिलेको राजनीति नै सबैभन्दा ठूलो व्यंग्य भएकोले पनि अहिलेका लेखकहरूमा व्यंग्य निबन्धतिर लाग्ने सोचमा तगारो लगाएको हो कि !

भैरव अर्यालहरूको पुस्तापछिका केही युवा लेखकहरूले व्यंग्यमा कलम चलाए । पत्रपत्रिकाहरूले तिनलाई ठाउँ पनि दिए । व्यंग्यका पाठक पनि थिए । तर, देशको परिस्थितिले गर्दा भएका लेखकहरु पनि सुस्ताए । गाम्नागे, भरत भुर्तेल, धीरेन्द्र प्रेमर्षि, मनोज गजुरेललगायतले नलेखेका त हैनन् नि ।

व्यंग्य निबन्ध लेखनलाई ओइलाउन दिनु हुँदैन । यसको विकास र विस्तारका लागि अहिलेका पुस्ता अगाडि बढ्नैपर्छ । व्यंग्यात्मक दनकमा दम भर्नैपर्छ । र, यसका लागि आम सञ्चारका माध्यमहरूले व्यंग्यलाई स्थान दिनु्पर्छ । यसको विकासमा मिडियाहरूको ठूलो हात रहन्छ ।

कुनै समय वात्सायनले सुरु गरेको व्यंग्यात्मक कार्टुन लेखन आज धेरै माथि पुगेको छ । तर, हास्यव्यंग्यको मूलधार सुस्ताएको छ । यसलाई जागरुक बनाउने काम मिडियाकै हो भन्ने लाग्छ ।

पहिले अनेक किताब पनि प्रकाशन हुन्थ्यो । जय भुँडी, खै खै, मपाईंजस्ता किताब निस्किएका हुन् । ती किताब आज पनि खोजिन्छन् । तर, आजका नयाँ किताबको खोइ खोजी भएको !

२०१७ सालको राजनीतिक अवस्थालाई लिएर भैरव अर्यालले लेखेको ‘नेता नम्बर एक सय एक’ व्यंग्य आज पनि सान्दर्भिक छ । युग युगान्तर बाँच्ने रचना हो त्यो ।

हास्यव्यंग्य लेख्नेहरूले समाज र समग्र देशलाई समातेर युग युगान्तर बाँच्ने व्यंग्य निबन्ध लेख्नुपर्छ । पाठकले स्तरीय हास्यव्यंग्य आज पनि खोजिरहेका छन् ।

आर.सी. रिजाल
अहिले हास्यव्यंग्य लेखन कम भएर जानुमा पत्रपत्रिकाले पहिलेजस्तो ठाउँ नदिएर पनि हो कि भन्ने मलाई लाग्छ । यदि, पत्रपत्रिकाले ठाउँ दिने हो भने फेरि पनि व्यंग्य लेखनमा सबै सक्रिय हुने थिए ।

व्यंग्य लेखकहरूले पनि यतातिर ध्यान नदिएका हुन कि ? भन्नलाई त व्यंग्य लेखन गाह्रो विधा मानिन्छ । तर, यसको प्रस्तुति, शैली गाह्रो छ । भाती पुर्याएर, शैली मिलाएर गर्न खोजेको कटाक्ष लेख्नुपर्छ । कसैलाई दनक दिनु छ भने सिधै नदिएर घुमाएर भन्न सक्नुपर्छ । तर, अहिले हास्यव्यंग्यको धर्मको पालना भएको नै छैन ।

गाली, नारा र व्यक्तिगत आक्षेपलाई व्यंग्य भन्न सकिँदैन । तर, एक समय त्यस्तो मात्रै पनि लेखियो । त्यसैले पनि व्यंग्य निबन्ध लेखन ओइलाउँदो छ भन्न सकिन्छ ।

राजनीति परिस्थितिले पनि व्यंग्य लेखनलाई धरमरमा पारेको छ । अनि, लेखकहरू विभिन्न पार्टीमा संलग्न भएकोले पनि व्यंग्यमा दम नभएको हो । व्यंग्य लेख्नेले स्वतन्त्र भएर लेख्नुपर्छ ।

राजनीतिलाई व्यंग्यको विषय बनाइएकोले पनि यसको स्तर खस्किँदै गएको हो भन्ने लाग्छ ।

मोफसलमा बसेर व्यंग्य लेख्न झनै गाह्रो छ । मोफसलका लेखकले त्यति अवसर पाउँदैनन् । जबकि, राजधानीमा बस्नेलाई अवसर नै अवसर मिलिरहेको हुन्छ । हामीले स्पेस पाइरहेका हुँदैनौँ ।

अब त हेटौँडा पनि राजधानी भइसक्यो, प्रदेशको राजधानी भए पनि । अब राम्रै होला ।

नयाँ–नयाँ युवा व्यंग्य लेखकहरूलाई प्रोत्साहित गर्नुपर्ने समय आएको छ । नयाँ प्रतिभाको खोजी गरेर तिनलाई अभिप्रेरित गर्न विभिन्न संस्थाहरू लाग्नुपर्छ । र, पत्रपत्रिकाले व्यंग्यलाई विशेष स्थान दिनुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २, २०७८  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro