site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अनुमति पाए पनि खोप ल्याउन सकेन निजी क्षेत्रले

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति दिए पनि अहिलेसम्म खोप आयात गर्न सकेको छैन ।

अनुमति पाएका कम्पनीले अझैसम्म खोप ल्याउन सकेका छैनन् । औषधि व्यवस्था विभागले भारतमा बनेको कोभ्याक्सिन र कोभिसिल्ड एवम् रसियामा उत्पादित स्पुतनिक भी आयात गर्न निजी क्षेत्रलाई अनुमति दिएको छ । तर, अनुमति पाएको निजी क्षेत्रले खोप ल्याउन सकेको छैन ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्षेत्रले खोप ल्याउन नसकेपछि पाँचवटा मुलुकबाट किनेरै भए पनि खोप ल्याउन सरकारले पहल गरिरहेको जनाएको छ । तर पनि खोप कहिले, कसरी आउँछ कुनै टुङ्गो छैन ।

Argakhachi Cement Island Ad

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अमेरिका, बेलायत, चीन, भारत, रसियाबाट खोप ल्याउन उच्चतहबाट छलफल भइरहेको बताए । “किन्नकै लागि भए पनि खोप देऊ भनेर हामीले माग गरिरहेका छौँ । किन्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ, अनुदानै दिए भने झन् राम्रै भयो,” उनले भने, “खोप नआइकन यहाँबाट आउँदैछ भनेर भन्दैनौँ ।”

यी पाँच मुलुकबाट खोप खरिद गर्न मन्त्रीसहित उच्च तहका अधिकारीहरूसँग कुराकानी भइरहेको उनले बताए ।

रसियामा उत्पादित स्पुतनिक भी आयात गर्न अनुमति पाएको लोमस फर्मास्युटिकल्सले खोप आयात गर्ने प्रक्रिया अगाडि नबढेको जनाएको छ । लोमस फर्मास्युटिकल्सका प्रज्वलजंग पाण्डेले खोप ल्याउने विषयमा अहिलेसम्म प्रक्रिया अघि बढ्न नसकेको बताए । “खोप ल्याउने प्रक्रिया अझै अघि बढ्न सकेको छैन,” उनले भने ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीकाअनुसार विभागले स्पुतनिक भी, कोभ्याक्सिन र कोभिसिल्ड आयात गर्न निजी क्षेत्रलाई अनुमति दिएको छ । तर, उनीहरूले खोप कहिले, कसरी ल्याउँदैछन् भन्ने जानकारी नदिएको उनले बताए ।

“यी तीन प्रकारका खोप ल्याउन हामीले निजी क्षेत्रलाई पनि अनुमति दिएका छौँ । तर उनीहरूले कसरी र कहिले ल्याउँछन् भन्ने जानकारी दिएका छैनन्,” उनले भने ।

यता भारतको कोभिसिल्ड खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट इन्डिया प्रालिको नेपाल एजेन्ट कम्पनी हुकुम डिस्ट्रिब्युटर्सले पनि खोप ल्याउन सकिरहेको छैन । कमिसनका कारण सेरमबाट खोप नल्याइएको भन्ने आरोप लागेपछि सुरज वैद्यले हात झिकेका छन् ।

अहिलेसम्म कति आयो खोप ?

अहिलेसम्म नेपालमा ३२ लाख ४८ हजार डोज खोप आएको छ । सुरुमा भारतले १० लाख डोज सहयोग स्वरूप नेपाललाई दिएको थियो । 

त्यसपछि १० लाख डोज खरिद गरिएको थियो भने ८ लाख डोज खोप चीन सरकारले सहयोग गरेको थियो । 

यस्तै विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमबाट ३ लाख ४८ हजार डोज खोप नेपालले पायो भने भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज सहयोग गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्