site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्यो खुसी, भय र सत्कार !

वि. सं. २०५६ सालमा सरकारी विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण हुनु चानचुने कुरा थिएन । अहिलेको ‘एप्लस‘ भन्दा त्यो प्रथम श्रेणीले बढी महत्व राख्थ्यो ।

एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि परिवार, आफन्त र टोलछिमेकले मैले थेग्नै नसक्ने अपेक्षा राख्यो मबाट । कसैले डाक्टर, कसैले इन्जिनियर, कसैले पाइलट, कसैले वकिल, सबैले आआफ्नो रुचि र इच्छाअनुसार अपेक्षा राखे । विभिन्न छलफलपछि विज्ञान लिएर पढ्ने निधो गरियो । 

विज्ञान पढ्ने निधो पश्चात कहाँ पढ्ने भन्ने खोजीले अझ २/४ दिन गाउँ तताएपछि अन्ततः आफ्नै नजिकैको मेची बहुमुखी क्याम्पसमा पढ्ने निधो गरियो । त्यसपछि प्रवेश परीक्षा दिन गइयो मेची बहुमुखी क्याम्पस । बीचतिरको क्रममा नाम निस्किएर अध्यययन सुरु गरेपछि मात्र थाहा भयो – विज्ञान संकाय केलाई भन्दा रहेछन् र यो यसरी पढ्नु पर्ने रहेछ ? 

सरकारी विद्यालयको पढाइ बल्लतल्ल रटेर अंग्रेजी पास गरेको । विज्ञान संकायमा नेपालीबाहेक सबै विषय अंग्रेजीमा पढ्नुपर्दा अत्यन्तै कठिन भयो । आफ्नो रुचि सामाजिक संकायतिर थियो । पढियो विज्ञान । प्रथम र दोस्रो दुवै वर्षमा ३/३ विषय फेल गरेर ३÷३ चोटीमा आईएससी उत्तीर्ण गरियो । विसं २०५९ मा आईएससी पढेर सिध्याए पनि पास भने गरिसकिएन । ब्याक पेपर दिएर बस्नु पर्‍यो ।

तिनताका केदार खड्काले चलाउने कार्यक्रम ‘असल शासन‘ खुबै चर्चित थियो । उक्त कार्यक्रम सञ्चालनका क्रममा श्रोता क्लब खोल्ने चलन थियो । भ्रष्टाचार न्यूनीकरणका लागि तयार पारिने कार्यक्रम भएको र पत्रिका पनि पढ्न पाइने भएकोले मेरो नेतृत्वमा असल शासन रेडियो श्रोता क्लब गठन गरियो । 

किशोर अवस्थामा प्रवेश गर्दै गरेको जोस । समाजमा आफ्नै परिचय स्थापना गर्ने हुटहुटी र भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने बुझाइले उक्त क्लबमार्फत भष्टाचार न्यूनीकरणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरियो ।

कार्यक्रम सञ्चालनका क्रममा हाम्रो क्षेत्रमा रहेका सामुदायिक वनहरुमा अनियमित तरिकाले गरिएको बन फडानी र त्यसमा सेनाको संलग्नताले सामुदायिक वन र सेनाप्रति जनता आक्रोशित थिए ।

यही मामिला उठाएर सार्वजनिक सुनुवाइ गर्ने जमर्को गरियो ।  पूर्ण तयारीका साथ गरिएको कार्यक्रमले राम्रो हलचल मच्चायो ।

त्यतिबेलाका चारआली ब्यारेकका कर्नेल ध्रुव शाहको समेत कार्यक्रममा उपस्थितिले केही जोस र केही भय स्थापना गरिदियो । 

माओवादी द्वन्द्वले चरममा पुग्न लागेको बेला सेनाका कर्नेलको उपस्थितिमा कार्यक्रम गर्नु जोखिमपूर्ण थियो । सामुदायिक वनमा सेनाको प्रवेशले गराएको अनियमितता बारे कर्नेल ध्रुव शाहले जनताले खोजेजस्तो उत्तर दिन सकेनन् र उनी कार्यक्रम बीचैमा छोडेर बाहिरिँदा भयको वातावरण व्याप्त भयो । माओवादी पक्षले त स्याबासी दियो तर सेनाले के भन्ने हो भन्दाभन्दै कर्नेललाई भेट्न जाने भनेर उताबाछ खबर आयो । 

भखर्र २०/२१ वर्षका युवा । कार्यक्रममा अनुत्तरित भएर गएका कर्नेल । अनि ब्यारेकभित्र तिनै कर्नेलको बोलावट । कर्नेलले बोलाएको ठाउँमा नजाऊँ भने माओवादी भन्लान् भन्ने डर । जाऊँ भने माओवादीले सुराकी भन्ने डर । डरैडरका बीच कर्नेलले बोलाएको ठाउँमा जानुपर्ने निष्कर्षमा पुगियो । 

कर्नेलसँग परिचय भएका अग्रजहरुलाई सँगै गइदिन अनुरोध गरियो । कसले पो अर्काका लागि ज्यानको बाजी थाप्थ्यो र ? कोही पनि अग्रज र सहकर्मीबाट साथ नपाइरहेको अवस्थामा मेरा सहकर्मी अर्थात् म अध्यक्ष रहेको क्लबमा सचिव रहेका मेरा मित्रले हिम्मत गरे र भोलीपल्ट हामी ब्यारेक जान तयार भयौँ । उनी पनि आमाबाबुका एउटा छोरा म पनि एउटै । अभिभावकले थाहा पाउँदा जान दिँदैनन् भन्ने भएपछि कसैलाई नभनी उनी र म चारआली ब्यारेकतर्फ हानियौँ । 

हामीले बाहिरबाट देखेको व्यारेक भन्दा धेरै ठूलो क्षेत्रफल रहेछ चारआली व्यारेकको । निकैबेरको हिँडाइपछि हामी कर्नेलको आगन्तुक प्रतीक्षालयमा पुग्यौँ । केही बेरको कुराइपछि कर्नेल ध्रुव शाह आइपुगे । कर्नेल आएर सुरुबाट नै हाम्रो कार्यक्रमको पशंसा गरेपछि अघिसम्म लागेको डर बिस्तारै कम हुँदै गयो । करिब २ घन्टाको बसाइमा उनले हाम्रो धेरैपटक प्रशंसा गरे ।

प्रशंसाले खुसी हुँदै गर्दा कता कता डर पनि बाँकी थियो । तर, डरभन्दा पनि प्रशंसाले पुलकित भएका हामी अब घर फर्कन चाहिरहेका थियौँ । हाम्रो चाहना बुझेर कर्नेलले चिया नास्ता गराएपछि ¬– “तपाइँहरुको कार्यक्रममा मेरो सहभागिता रहेको एउटा प्रमाणपत्र दिनु होस्, त्यो प्रमाणपत्र म विशेषरुपमै सजाएर राख्छु“ भने । उनले भने – म देशविदेशका धेरैवटा कार्यक्रममा गएको छु । तर, यो कार्यक्रममा जाँदा जति खुसी कतै पनि लागेको थिएन । कर्नेलले त्यति भनेपछि हामीलाई पुगिहाल्यो ।
कर्नेलले हामीलाई आफनै गाडीमा ब्यारेकको गेटभन्दा केही तल छोडी दिएपछि हामी त्यहाँबाट निस्किएर हिड्यौँ । त्यसको भोलिपल्टै हामीले क्लबको प्रमाणपत्र कर्नेलकहाँ पुर्‍यायौँ । 

कर्नेलको कार्यक्रममा उपस्थितिको खुसी, दकस, उनले कार्यक्रमको बीचैमा रिसाएर जाँदापछिको भय, भोलिपल्टको बोलावटपछि बढेको ढुकुढुकी र कर्नेलले गरेको प्रशंसाले बेलाबेला अझै पनि मन पुकलित हुने गर्छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro