site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पार्टी प्यालेसलाई विवाहको सिजनमै धक्का, बुकिङ रद्द बढ्यो

काठमाडौं । पहिलो चरणको लकडाउनका कारण थला परेको पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय पुनः प्रभावित भएको छ ।

कोरोनाको दोस्रो लहरका कारण विवाहको मुख्य सिजनमा नै पार्टी प्यालेसहरु फेरि बन्द गर्नुपर्ने अवस्था आएपछि व्यवसायीहरुले अर्को धक्का व्यहोर्नुपर्ने भएको हो ।

गत वर्षको विवाह सिजनसँगै तीज, दसैँलगायत चाडपर्वमा हुने कार्यक्रमको आम्दानी पनि गुमाएका थिए । लयमा नफर्कँदै पुनः कोरोना संक्रमतिको संख्या बढ्दै गएको भन्दै सरकारले पार्टी प्यालेसहरू बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, विवाह, व्रतबन्धलगायत कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन सरकारले रोक लगाएको छ । २५ जनाभन्दा बढी सहभागी हुने गरी पार्टी प्यालेस प्रयोग गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्नेछ ।

Argakhachi Cement Island Ad

सरकारले २५ जनाभन्दा बढी सहभागी हुन नपाउने भनेपछि विवाहका लागि बुकिङ गरिएका पार्टी प्यालेस धमाधम रद्द गर्न हुन थालेको भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघका अध्यक्ष सचिन्द्र श्रेष्ठ बताउँछन् । “२०७६ को विवाहको मौसममा भन्दा योपटक धेरै बुकिङ आएको थियो । तर, सरकारको निर्णयपछि धमाधम पार्टी प्यालेस बुकिङ रद्द गरिएको छ भने धेरैले संख्या घटाएका छन्,” उनले भने ।

गत वर्ष सञ्चालनमा आउन नपाएपछि भक्तपुरमा मात्रै दुईवटा पार्टी प्यालेस र तीनवटा क्याटरिङ बन्द भएको र यो वैशाखको सिजनमा पनि कारोबार गर्न नपाए थप चार÷पाँचवटा पार्टी प्यालेज बन्द हुने उनले बताए ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले होटेल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म खुला गर्न दिएको तर पार्टी प्यालेसलाई रोक लगाएको भन्दै सीसीएमसीको ध्यानाकर्षण गराएको छ । “हामी उस्तै प्रकृतिका व्यवसायी हौँ । कुनै व्यवसाय सञ्चालन गर्न दिने, कुनै नदिने भन्ने सरकारको दोहोरो नीति भयो । हामीले हिजो उपप्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका छौँ । सरकारले छिट्टै निर्णय गर्छ भन्ने विश्वासमा छौँ,” उनले भने ।

पार्टी प्यालेसहरूका लागि विवाहको सिजन नै कमाउने समय हो । पार्टी प्यालेस वर्षमा करिब १५० दिन मात्र चल्ने व्यवसायी बताउँछन् । महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले पार्टी प्यालेसहरूलाई महामारीले ठूलो जोखिममा पारेको बताए । गएको वर्षको जस्तै अवस्था आए यो वर्ष ७० प्रतिशत व्यवसाय बन्द हुने र सडकमा आउने अवस्था सिर्जना हुने उनले बताए ।

पार्टी प्यालेस बन्द हुँदा यससँग सम्बन्धित अन्य व्यवसाय दूग्धजन्य पदार्थदेखि माछामासु, फलफूल र तरकारी समेत प्रभावित हुने उनले बताए । “अब घर भाडा तिर्न सक्ने स्थिति छैन । कर्मचारीलाई तलब खुवाउने अवस्था पनि हुँदैन ।  सरकारलाई राजस्व पनि तिर्न सक्ने अवस्था रहँदैन,” उनले भने । उनका अनुसार वैशाख महिनाका लागि २० दिनसम्म पार्टी प्यालेस बुकिङ भइसकेका थिए । “बुकिङ भएको समयसम्म मात्रै पनि सञ्चालन गर्न पाए भाडा तिर्न पाउँथ्यौँ, अलि सहज हुन्थ्यो,” उनले भने । 

मापदण्ड मान्न तयार

प्रवक्ता पाण्डेका अनुुसार व्यवसायीहरु क्षमताको ३५ प्रतिशतसम्म मात्रै भए पनि व्यवसाय सञ्चालन गर्न तयार छन् । “एक हजारजना अट्ने क्षमताका पार्टी प्यालेसमा ३०० जनालाई सेवा दिँदा के आपत्ति भयो र ? स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गरिरहँदा हामीलाई बन्द गराउनु पर्दैन,” उनले भने । उनले राज्य पक्षले भिडभाड गरेर कार्यक्रम सञ्चालन गरिरहँदा व्यवसायीहरुलाई भने २५ जनाको सीमा तोक्नु गलत भएको बताए ।

“हाम्रो पार्टी प्यालेसलाई मात्रै बन्द गराएर संक्रमण नफैलने हो ? हामी पनि त उपभोक्ताको स्वास्थ्यसँगै हाम्रो स्वास्थ्यप्रति पनि गम्भीर छौँ नि,” उनले भने ।

देशभर करिब सात हजार पार्टी प्यालेस तथा क्याटरिङ रहेको महासंघले जनाएको छ । यसबाट करिब ६० हजारजनाले रोजगारी पाएका छन् भने यो व्यवसायबाट राज्यले वार्षिक तीन अर्बभन्दा बढी राजस्व संकलन गर्दै आएको जनाइएको छ ।

महासंघका अनुसार ८० प्रतिशत पार्टी प्यालेस सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् । १० प्रतिशतले आफ्नो जग्गामा चलाएका छन् भने १० प्रतिशतले भाडामा प्यार्टी प्यालेस चलाएका छन् । यो व्यवसाय चल्दा कृषिजन्य वस्तुको २५ देखि ३० प्रतिशत यही व्यवसायले खपत गर्ने गरेको व्यवसायीको दाबी छ । यो व्यवसाय बन्द हुँदा माछा, मासु, दूध, दही, पनिर, ताजा तरकारीको व्यापार–व्यवसाय पनि प्रभावित हुने पाण्डे बताउँछन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्