site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
बिदा प्रयाग दाइ !

मैले प्रयागराज सिंह सुवाललाई दोस्रो भेटमै दाइ भनेकाे थिएँ । उमेरले काका भने हुनेहरूलाई पनि कांग्रेसीहरू प्रायः दाइ भन्ने गर्छन् । तिनैकाे संगतले लागेकाे बानी थियाे । मैले उनलाई पहिलाेपटक भेट्दा उनी राष्ट्रिय पञ्चायतका सदस्य र मन्त्री थिए । म गाउँ पञ्चायतकाे प्रधानपञ्च । दुवै आधिकारिक कांग्रेस थिएनाै । तर, दीक्षा त कांग्रेसी नै थियाे । यसैले मुखबाट ‘मन्त्रीज्यू’ काे सट्टा दाइ निस्केकाे हुनुपर्छ । उनले पनि त्यसलाई रुचाएजस्तै लाग्याे । पछि त मैले उनलाई सधैँ नै दाइ भने ।
 
उनीसँग पछि केहीपटक विभिन्न सन्दर्भमा भेट भएकाे थियाे । नामले बाेलाउन थालेका थिए । विशेषगरी श्रीभद्र शर्माकाे स्वकीय सचिव भएपछि प्रयाग दाइसँगकाे सम्पर्क बढेकाे थियाे । उनी पराेपकारकाे अध्यक्ष हुँदा पनि केही सहकार्य भयाे । 
 
काठमाडाैं कांग्रेसका नेता प्रयागराज सिंह सुवाल स्नातक निर्वाचन क्षेत्रबाट राष्ट्रिय पञ्चायतमा चुनिएका थिए । अनि यातायात मन्त्री भए । भद्र तर दृढ स्वभावका प्रयाग दाइ मैले सम्मान गर्नेहरूमध्येका हुन् । उनीसँग सम्बन्धित बाह्रखरीमै पूर्वप्रकाशित लेखकाे अंश :    
 
बेहोरा सत्य हो भने
 
पृथ्वी राजमार्ग बनाउँदा सडकमा रातोमाटो ओछ्याएर पेलिएको थियो । रातोमाटो कसैको जग्गाबाट ल्याउँदा क्षतिपूर्ति माग्ने गर्थे । बाटो त क्षतिपूर्ति नदिई बनाइएको बेला सकेसम्म जनतालाई पैसा नदिने र नसके आलटाल गरेर कागज बनाइदिने गर्थे परियोजनामा खटिएका नेपाली कर्मचारी । तनहुँको आँबुखैरेनी गाउँमा पर्ने रातोमाटे भन्ने ठाउँबाट पनि त्यसरी नै माटो ल्याइयो । रंघाली बूढाको जमिन थियो त्यो । उनले रोइकराई झगडा गरेर पैसा पाउने कागज लिएका रहेछन् । सडक निर्माण सकिएपछि पृथ्वी राजमार्गको क्याम्प उठ्यो । 
 
म गाउँपञ्चायतमा भर्खर उपप्रधानपञ्च चुनिएको के थिएँ बूढाले अलिकति घुर्की अलिकति अनुरोध मिसाएर पैसा दिलाउने जिम्मा लगाए । दमौलीमा जिल्ला प्रशासनमा सोधेको सडक विभागबाट निकासा आउनुपर्छ भने । 
 
काठमाडौं जाँदा रंघाली बूढाको कागज पनि सँगै लिएर गएँ । उमाभद्र खनाल राष्ट्रिय पञ्चायत सदस्य थिए । प्रयागराज सिंह सुवाल यातायात मन्त्री । बबरमहलमा थियो मन्त्रालय । भेट्यौँ त्यहीँ गएर । उमाभद्रजीले मन्त्रीलाई मेरो काम गर्नै पर्छ भने । पृथ्वी राजमार्ग निर्माणसम्बन्धी कार्यालयका कुनै सामान्य कर्मचारीले एक ट्रिप रातोमाटोको एक रुपियाँका दरले ७५० ट्रिपको पैसा दिने भनेर हातैले लेखेर दिएको एक पाने कागज थियो मसँग । मन्त्री सुवालले मलाई पहिले त्यो कागज सार्न लगाए । अनि निवेदन लेख्न भने र आवश्यक कारबाहीका निम्ति सडक विभाग पठाउनु भन्ने तोक लगाइदिए ।

फुरुङ्ग परेर तोक लगाएको कागज मन्त्रीका पीएलाई दिएँ । मन्त्रीले चिया खुवाए । अनि पञ्चायतमा चुनाव किन लडेको भनेर सोधे । उमाभद्र जीले हामी पञ्चायतभित्रका कांग्रेस भने । प्रयागराज सिंह सुवालका बारेमा केही थाहा पनि थियो । उनी स्नातक निर्वाचन क्षेत्रबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित पुराना कांग्रेसै थिए ।
 
म तीन दिनपछि बबरमहल गएँ । मेरो निवेदन टुंगो लागेको रहेछ । तर, सडक विभागका महानिर्देशकले सदर गरेको टिप्पणीमा त ‘बाली वा जमिनको क्षतिपूर्ति दिने व्यवस्था भएको तर माटोको पैसा दिने प्रावधान नभएकाले पैसा दिन नमिल्ने’ पो लेखिएको रहेछ । एकातिर झोँक चल्यो अर्कोतिर रंघाली बूढाको अनुहार सम्झेँ । मन्त्रीलाई भेट्न भनेर गएँ । मन्त्रीले सजिलै भेट दिए । सबै बेलिविस्तार लगाएँ र भने – माटो खनेर लगेपछि बारी डाँडो भएको छ । बाली त नोक्सान भइहाल्यो नि ! 
 
मन्त्री सुवाल एक छिन चुप लागे र मलाई अर्को निवेदन यही बेहोराको लेख्न भने । निवेदन पढे अनि तोक लगाए – निवेदनमा लेखिएको बेहोरा सत्य हो भने तुरुन्त भुक्तानी दिनु । म विजयी मुद्रामा बाहिर निस्केँ । मन्त्रीले पीएलाई फाइल आफैँ तल ओर्लेर महानिर्देशकलाई बुझाउन भने । मसँगै गएँ । दीप्तजंग थापा थिए सडक विभागका महानिर्देशक । उनले मन्त्रीको तोक हेरे, मलाई हेरे र आफ्नो पीएलाई बोलाए । तुरुन्त टिप्पणी पेस गर्न भन्नु पनि भने । 
 
टिप्पणी पेस भयो – ‘अन्न बाली र जमिनको क्षतिपूर्ति दिने प्रावधान भएकाले माटो खन्दा बालीलगाउन नमिलेको भन्ने निवेदन र सडक विभागअन्तर्गतको कार्यालयको पत्रसमेतका आधारमा लेखिएबमोजिमको रकम निज रुपनारायण श्रेष्ठलाई भुक्तानी दिन जिल्ला प्रशासन कार्यालय तनहुँलाई निकासा दिने’ लेखिएको । रम्घाली बूढाको पैसा आयो । तिनताका त्यो पैसा पनि निकै पो हुन्थ्यो त !

ती भद्र सज्जनप्रति हार्दिक श्रद्धाञ्जलि !
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro