मुना चौधरी
टोलका सोल्टा–सोल्टी पर्ने साना ठिटा–ठिटीहरूले बिहानैदेखि फुच्चुक्कामा रङ भरेर लुकीलुकी सबुरीलाई रङ छ्यापिरहेका थिए । उनले पनि बाल्टिनमा रङ घोलेर राखेकी थिइन् । ती सोल्टा–सोल्टीलाई उनले लुकेर रङ घोलिएको पानी लोटाले फाल्दै छ्यापिरहेकी थिइन् ।
दिउँसो, रङ घोलिएको एक बाल्टिन पानी सबुरीको जिउमा खन्याउँदा लगाएको कुर्था–सलवार उनको जिउमा पूरै टाँस्सियो । सलक्क परेको जिउ, पेटभन्दा माथि उचालिएर मिलेका छाती, बलिष्ट हात–खुट्टा, लाम्चो–गोलो अनुहार, छिनेको कम्मर भएकी उनी हत्पत् कुर्ता मिलाउँदै जतिसक्दो पछ्यौरी फैलाउँदै पुष्ट छातीहरू छोपिरहेकी थिइन् । अगाडि–पछाडिको कम्मरमुनिको भागतिर उनी कुर्था फिँजाउँदै, ‘भेलै’ भन्दै सोल्टाहरूलाई रङ नखन्याउन आग्रह गरिरहेकी थिइन् ।
तर, दिदीको गाउँका छ/सातजना देवरहरू अर्थात् सोल्टाहरू मिलेर उनलाई रङ, पानी छ्यापिरहेका थिए । उनी नाइँ भन्दै छट्पटाइरहेकी थिइन् । तर पनि उनलाई रङ छ्यापेर केटाहरू आनन्द उठाइरहेका थिए ।
उनको कपाल र अनुहार सातै रङले भिज्यो । उनको कम्मरमुनिको पछाडिको भाग र अगाडि छातीमा कुर्था यसरी टाँस्सिएको थियो कि उनी एउटा मूर्तिझैँ देखिएकी थिइन् !
सबैले उनलाई रङ छ्याप्दै गर्दा टोलकै एक सोल्टा सुन्दरले पछाडिबाट उनको छातीमा दुवै हात राख्दै उनलाई च्याप्प समात्दै भने, “ले... हम साइर के पकरै चियौ । तोरौ के रङ दहै ।” उनले सबुरीलाई अँठ्याएर अरू केटाहरूलाई उनको अनुहार र जिउमा रङ छ्याप्न अह्राए ।
उनको स्पर्श सबुरीलाई नराम्रो लाग्यो । पहिलोपटक केटा मान्छेले उनको छाती स्पर्श गर्दा उनलाई आक्रोश पैदा हुनुका साथै अनौठो अनुभव भयो । केटाहरू चारैतिरबाट उनलाई रङले नुहाइरहेका थिए । सुन्दरले यति कसेर सबुरीलाई समातेका थिए कि उनी हलचल गर्न सकिरहेकी थिइनन् ।
रङ दल्ने केटाहरूलाई लाग्यो, उनलाई सुन्दरले सामान्य रूपमा अँठ्याएका छन् । तर, उनले सबुरीलाई अँठ्याएको सामान्य थिएन । अनैतिक तरिकाले उनलाई अठ्याएका थिए । सुन्दरको हात सबुरीलाई साह्रो लाग्यो । सबैको आँखा छल्दै सुन्दरले उनलाई झन्–झन् कसेर समातिरहेका थिए । उनी जति कसेर समात्थे, सबुरी छटपटाउँदै विरोध जनाइरहेकी थिइन् । उनी फुत्किन खोजिरहेकी थिइन्, सुन्दरको हातबाट । तर, जति बल लगाए पनि सुन्दरको अँठ्याइँबाट उनी फुत्कन सकिनन्् ।
दिदी सुत्केरी भएकीले दिदीको स्याहार–सुसार गर्न र खाना पकाइदिन सबुरी दिदीको घर आएकी थिइन् । होलीको बेला थियो । केटाहरू भाउजू अर्थात् उनकी दिदीलाई रङ दल्न आएका थिए । तर, उनकी दिदी सुत्केरी भएकीले रङ दल्न पाएनन् । दिदीको सट्टा सबुरीलाई आँगनमा देखेपछि केटाहरू झन् खुसी भए । र, सोल्टिनीलाई रङ दल्न थाले ।
सबुरी दुवै हातले अनुहार छोपिरहेकी थिइन् । तर, सोल्टाहरू धेरैजना भएकाले उनी भाग्न सकिनन् । होली देवर–भाउजूको सबैभन्दा महत्त्वपूर्ण चाड हो । केटाहरूले धेरै दारू पिएकाले उनकी दिदी बच्चालाई लिएर ढोका लगाएर घरभित्र लुकिन् ।
सबुरीको जिउ र अनुहारमाथि रङ खन्याउँदा उनलाई हेर्न पनि गाह्रो भइरहेको थियो । राम्ररी हेर्न सकिरहेकी थिइनन् । त्यसमाथि पछाडिबाट उनको जिउमा सुन्दर यसरी टाँसिएका थिए कि उनको गुप्तांग सिधै पछाडिबाट घोचेको अनुभव भयो, सबुरीलाई ।
उनलाई समातिरहँदा टोलको लटुवा भन्ने केटोले उनको गालामा यसरी रङ दले मानौँ, उनलाई रङ दलिरहेका हैनन्, गाला मुसारीरहेका हुन् ! विस्तारै उनको गाला सुम्सुम्याउँदै रङ दलेको देखेर जिउ बंग्याउँदै सबुरी, “हमरा छोरु” भनेर विरोध गरिरहेकी थिइन् । उनको स्वरमा पीडा थियो । विरोध थियो । आक्रोश थियो । यद्यपि, पछाडिबाट उनी यसरी बाँधिएकी थिइन्, उनी चाहेर पनि हलचल गर्न सकिरहेकी थिइनन् ।
सबुरीको विरोधलाई कसैले बुझ्न सकेनन् । सुन्दरको हात यति साह्रो लाग्यो, उनी निस्सासिएजस्तै भइन् । उनको छातीमा सुन्दर चिमोटिरहेका थिए । उनलाई दुखिरहेको थियो । उनी चिच्याइरहेकी थिइन् । छटपटाइरहेकी थिइन् ।
उनी चिच्याएको देखेर उनकी दिदीले ढोका खोल्दै केटाहरूमाथि कराइन्, “रङ दैले नै पुगल ? छोइर दियौ सबुरी के ।” उनकी दिदीको आवाज सुनेर केटाहरू ‘भौजी’ भन्दै उनैलाई रङ दल्न दौडिए । रङ दल्न आएको देखेर उनले फेरि ढोका बन्द गरिन् ।
अरू केटाहरू उनकी दिदीलाई रङ खन्याउन जाँदा सुन्दर भने एक्लै उनलाई समातिरहेका थिए । सबुरी सुन्दरको हातबाट फुत्केर भाग्न खोजिन् । तर, उनी फुत्किन खोजेको थाहा पाएर सुन्दरले उनलाई झन् बेस्सरी अँठ्याए ।
सबै केटाहरूले दारू र भाङ खाएका थिए । सुन्दरको मुख दारू मात्र गन्हाइरहेको थियो । उनलाई सुन्दरको मुख गन्हाएको मन परेको थिएन । तर, उनले खुलेर केही भन्न पनि सकिनन् । टोलका सोल्टाहरूलाई राम्ररी नचिनेकी उनले अनौठो अनुभव गरिरहेकी थिइन् । उनी अविवाहित केटी भएकीले बोल्न पनि धकाइरहेकी थिइन् ।
उनको छातीमा सुन्दरको स्पर्शले उनलाई सुन्दरप्रति मात्र आक्रोश पैदा गराइरहेको थियो । केही सीप नलागेपछि उनले पछाडिको खुट्टाले सुन्दरलाई एक लात हानिन् । हानेको देखेर सुन्दरले उनलाई छोडे । उनी दौडिएर घरभित्र जान खोज्दै थिइन् ।
केटाहरू पछि लाग्दै गएर फेरि उनको हात समातेर आँगनमै ल्याए । उनको अनुहारमा ‘होली हो, होली, जोगिरा सररर...’ भन्दै उनीहरूले सबुरीलाई रङ दल्न थाले । उनी रङ, पानीले लछप्पै भिजेकी थिइन् । आँखा राम्ररी हेर्न सकिरहेकी थिइनन् । एक–एक गरी सबैले उनको गालामा रङ दले । उनलाई आफ्नो गालामा रङ दलेकोमा केटाहरूप्रति घृणा मात्र लाग्यो । उनलाई मन नपरे पनि जबर्जस्ती केटाहरूले उनको अनुहारमा रङ दलिरहे ।
उनी बल लगाउँदै केटाहरूको हातमा दाँतले टोक्दै जसोतसो फुत्केर दौडिँदै पूर्वरिया घरभित्र छिरिन् । आग्लो लगाइन् । आग्लो लगाएर एउटा कुनामा बसिन् । उनी लगलग कामिरहेकी थिइन् । यथार्थमा, उनी त्यस्तो स्पर्शबाट विरक्तिएकी थिइन् । घिनलाग्दो स्पर्शका कारण उनी हाँस्न सकिरहेकी थिइनन् । रून पनि सकेकी थिइनन् । दिदीलाई केही भन्न सक्ने अवस्थामा पनि थिइनन् ।
त्यस्तो गोप्य अंगमा सुन्दरले चिमोटेको कुरा उनले कसरी कसलाई भन्ने ? खुलेर कसरी बताउने ? रङ दल्ने बहानामा केटाहरूले उनको गाला घिनलाग्दो पाराले मुसारेका थिए भनेर कसरी दिदीलाई सुनाउने !
उनले दिदीलाई लाजले गर्दा केही भन्न सकिनन् । सबुरीले सुन्दरको त्यो स्पर्श सम्झिन खोजेकी थिइनन् । तर, उनी त्यो स्पर्शलाई बिर्सन पनि सकिरहेकी थिइनन् !
उनले ढोकाको कापबाट चियाइन् । केटाहरू गइसकेका थिए, आँगनबाट । उनी ढोका खोलेर नुहाउन गइन् । उनले सबै लुगा फुकालिन् । उनको छाती दुखिरहेको थियो । उनले ब्रा खोल्दै हेरिन् । तर, रङ छ्यापिएकोले उनले केही देख्न सकिनन् । जिउभरि पानी खन्याइन् । साबुन दल्दै जिउ रगड्दै नुहाइन् । उनको जिउ सफा भयो । अनि, उनले टाउको निहुराउँदै छातीतिर हेरिन् । सुन्दरले चिमोटेर उनको छातीमा रातो डामै बसेको थियो ।
उनलाई दुःखेको अनुभव भयो । उनले चिमोटेको ठाउँमा हात राखिन् । थोरै भए पनि दुःखेको कम अनुभव भयो । गोप्य अंगमा चिमोटेर आखिरमा सुन्दरले कस्तो तृष्णा मेटेको होला ! उनले चिमोटेर के पाए ?! उनले सोचिन् ।
दिउँसो सुन्दरको स्पर्शले आक्रोशित भएकी उनी एकाएक परिवर्तित भइन् । उनले राति कोठामा सबै लुगा फुकालिन् । यति बेला उनी सेतो डम्बेलजस्तै देखिएकी थिइन् । उनी अवर्णनीय, चन्द्रमाझैँ शान्त, चम्किलो, अनुरागले भरिपूर्ण देखिएकी थिइन् ।
उनी कोठामा भएको ऐनाअगाडि उभिन्, नांगै । उनका दुई तनक्क परेका छाती । जवानीले भरिपूर्ण गाला, मिलेका ओठ, नाक, तल धसेको पेट, छिनेको कम्मर । ऐनाले उनको वास्तविक रूप देखायो । ऐनाले पनि उनलाई ढाट्न सकेन । आफ्नो नांगो जिउ हेरेर उनी लजाइन् । उनको जवानीको ज्वारभाटा फुटिरहेको थियो । एउटा बन्द कोठामा आफूलाई रोक्न उनी सक्दो प्रयास गरिरहेकी थिइन् । तर, आफैँ त्यसको गहिराइमा बग्दै गइरहेकी थिइन् ।
उनी सुन्दरदेखि आक्रोशित भए पनि पुरुषस्पर्शले उनको जिउ अहिलेसम्म तरंगित भइरहेको थियो । उनको शरीरमा सरगमको धुन थियो । जुन धुनलाई उनले मात्र सुनिरहेकी थिइन् । उनको जिउको ताप बढ्न थाल्यो । उनी एकान्त कोठामा तातिन् । ऐनाअगाडिबाट हटिन् । ओछ्यानमा पल्टिन् । उनको मनमा पुरुषप्रतिको तृष्णा बढ्दै गइरहेको थियो ।
सबुरी एक्लै ओछ्यानमा यसरी पल्टेकी थिइन् कि उनलाई संसारदेखि कुनै वास्ता थिएन । उनी जुनसुकै पुरुषसँग पनि कौमार्यकालको त्यो क्षणमा हराउन चाहन्थिन् । उनलाई त्यही मायाको भोक लागेको थियो, जुन मायामा हल्का खिचातानी, थोरै बदमासी, आँत नअघाउने थकाइ र आह्लादित निद्राले भरिएको स्वप्न सिर्जना हुन्छ ।
मनको यस्तो गोप्य कुरा उनले भन्ने कसलाई ? बुझिदिने कसले ? उनको रगत ताजा थियो । जवानी स्फूर्त थियो । चाहना स्वादिलो थियो । रंगीन सपना थियो । मनको तरंग अदृश्य थियो । पूरा गर्ने इच्छा प्रवल थियो । उनी अनुभव गर्न चाहन्थिन् केटाको त्यो पहिलो स्पर्श, जुन स्पर्श उनलाई सुन्दरले गरेका थिए ।
उनी भर्खर जवान भएकी कुमारी केटी । उनका बाआमाले ‘बिहे गर्ने उमेरकी भइस् । तेरो बिहे गरिदिन्छु’ भन्दा ‘म अझै पढ्न चाहन्छु । पढाइ पूरा गरेर बिहे गर्छु’ भनेकी थिइन् । त्यही कुरा आज सम्झँदा उनी पछुताइन् । उनी ओछ्यानमा पल्टिन् । घोप्टो परिन् । सिरानी छातीमुनि राखिन् ।
अहँ ! उनलाई सिरानी मन परेन । सिरानी उनलाई निर्जीव लाग्यो । उनको यो रात यस्तो भयानक रात थियो । उनी छटपटाउँदै निदाइन् ।
बिहान उनकी दिदीले बच्चालाई घाममा सुताइन् । उनकी दिदी घरको काम गर्नमा व्यस्त भइन् । जब सबुरीले दिदीको छोरोलाई बोकिन्, उनले बच्चालाई कसेर समातिन् । आफ्नो छातीमा टाँसिन् । उनको मुटु ढुक्ढुक् भइरहेको थियो । उनको मुटु यति बेजोडले धड्किरहेको थियो कि उनको छेउमा बसेको मान्छेले ढुक्ढुक्को आवाज सजिलै सुन्न सक्थ्यो !
उनले फेरि पनि बच्चालाई आफ्नो छातीमा टाँसिन् । जोडले कसिन् । बच्चा रून थाल्यो । दिदीले सुन्छिन् भनेर उनले बच्चालाई च्याप्न छोडिन् । बच्चाको ओठमा म्वाई खाइन् । चुम्बन गर्दा उनलाई बच्चाको ओठ सारै नरम र कोमल लाग्यो ।
बच्चालाई फेरि कसेर समातिन् । कसेर समातेकीले बच्चा फेरि रून थाल्यो । उनकी दिदीले भान्साबाट कराउँदै भनिन्, “बौवा के कथिले कनाइचिही ?” उनले दिदीको आवाज सुनेर आफ्नो हात खुकुलो पारिन् । बच्चातिर हेरिन् । उनलाई बच्चा निर्दोष लाग्यो । उनले बच्चालाई टालोमा राखिन् । र, बच्चा बोकेर भान्सामा छिरिन् । बच्चा दिदीलाई दिइन् । दिदीलाई बच्चा बोक्न लगाएर उनी खाना पकाउन व्यस्त भइन् ।
दुई वर्षपछि सबुरीको बिहे भयो । ससुरालीमा उनी होलीको दिन रङ किनेर राख्छिन् । होली चाड भएकोले खेल्नुपर्छ । तर, संस्कृतिको नाममा विकृति फैलाउनु हुँदैन भन्ने उनलाई लाग्छ ।
होलीको दिन उनको घरमा होली खेल्न आएका टोलका देवर र नन्दहरूलाई रङको टीका निधारमा लगाइदिएर त्यहाँबाट बिदा गर्छिन् । जबर्जस्ती उनको अनुहारमा रङ दल्न खोज्ने र जिउमा पानी खन्याउन खोज्नेलाई उनी रोक्छिन् । “हमरा रङ नै दे । मन नै परै छै ।” भन्दै उनी रिसाउँछिन् । निधारमा टीका लगाउन मात्र दिन्छिन् । अनुहारमा रङ दल्न दिन्नन् ।
जबर्जस्ती अनुहारमा रङ दल्न खोज्ने देवरहरूलाई बल लगाएर जबर्जस्ती पर धकेल्दै उनी घरभित्र छिर्छिन् । आग्लो लगाएर बस्छिन् । अनुहारमा रङ दल्न र जिउमा रङ, पानी खन्याउँदै होली खेल्न देवर र नन्दहरूलाई नदिएकीले सबैजना रिसाउँदै उनको आँगनबाट भन्दै निस्किरहेका हुन्छन्, “यी सार मौगी, ठिक नै छै । रङ से कतहेक डराइ छै ?”