काठमाडौं । नेपालमा करिब आठ हजार पत्रकार छन् । यी पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ हो । यस महासंघको नेतृत्वको निर्वाचन चैत २५ गते हुँदैछ । यो निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्य, प्रदेश समितिका अध्यक्ष, सदस्य निर्वाचित हुनेछन् भने निर्क्योल पत्रकारले होइन राजनीतिक दलका नेताले गर्छन् । नेपालका मुख्य राजनीतिक दल र राजनीतिक नेताहरूले पत्रकार महासंघको निर्वाचनमा हस्तक्षेप गर्नका लागि टोली नै बनाउँछन् । पत्रकारको नेता बन्न इच्छुक व्यक्ति आफू निकटको राजनीतिक दलको नेताकहाँ गएर आफूलाई समर्थन गर्न रोई–कराई गर्छ, बिन्ति गर्छ, अनेक प्रकारको सहयोगको बाचा गर्छ, सो राजनीतिक दलमा आफूले कति काम गरेको छु भन्ने बेलिबिस्तार लगाउँछ र पत्रकारको नेता बन्नका लागि टिकट लिएर आउँछ ।
यिनै विषयमा केन्द्रित रहेर तयार आजको प्रतिवाद तयार पारिएको छ ।
पत्रकारितामा राजनीति हावी हुँदैन भन्ने होइन । नेपालमा पत्रकारिताको सुरुवात भएकै राजनीतिक कारणले हो । गोरखापत्रको स्थापना राणा शासनको संरक्षणका लागि भए भने विपक्षीहरूले राणाहरूको परिवारवादको अन्त्य गर्न अन्य पत्रिकाको प्रकाशन सुरु गरे । नेपाल पत्रकार संघको संस्थापक अध्यक्ष नै नेपाली कांग्रेसका तत्कालीन नेता स्वर्गीय कृष्ण प्रसाद भट्टराई हुन् । वि.सं. २०१२ साल चैत १६ गते भट्टराईले सुरु गरेको पत्रकार संघ २०५३ सालमा गएर नेपाल पत्रकार महासंघ भयो ।
२०१७ साल पछिको नेपालको राजनीतिमा पत्रकारको ठूलो भूमिका रह्यो । पञ्चायत समर्थक पत्रकार र पञ्चायत विरोधी पत्रकार ।
२०४६ सालको परिवर्तन ल्याउनका लागि पनि पत्रकार र पत्रकारिताको ठूलो भूमिका रह्यो । तर प्रजातन्त्र पश्चात पनि पत्रकारलाई लगाम लगाउन चाहने राजनीतिज्ञ र राजनीतिक लाभको पदको आशा गरेर पत्रकारिता गर्ने पत्रकारका कारण व्यावसायिक पत्रकारिता अघि बढेन ।
पत्रकार राजनीतिक कार्यकर्ता वा राजनीतिक कार्यकर्ता पत्रकार हुनु नहुने होइन । तर, जुन कर्म क्षेत्रमा आइन्छ त्यसैको आचार संहिता र व्यावसायिकतामा अडेर काम गर्नुपर्छ । केहीले गरेका पनि छन् । तर अधिकांशले गरेका छैनन् । पत्रकारबाट राजनीतिज्ञ बनेकाले पत्रकारितामा राजनीति गर्छन् । राजनीति छाडेर पत्रकार बनेका घटना बिरलै छन् ।
हेरौं, यही विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद :