काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक ढंगले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा गरेसँगै देखिएको राजनीतिक संघर्षको रणभूमि काठमाडौंका सडक हुन थालेका छन् । दैनिक जीवनमा नकारात्मक असर गर्ने बन्द, हड्ताल र जुलुसबाट केही समयदेखि मुक्ति पाएका काठमाडौंबासीले फेरि त्यस्तो पीडा भोग्नु परेको छ ।
आजको कार्यक्रममा हामी सडक अवरोध गरेर देखाइने सबै प्रकारका तमासाको प्रतिवाद गर्दैछौं ।
माघ २८ गते बुधबार प्रचण्ड–नेपाल समूहले काठमाडौंमा अत्यन्त ठूलो प्रदर्शन गरे । उक्त प्रदर्शनका क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घोष गरे– नेपालका ‘बेस्ट ब्रेन’ सबैको समर्थन प्रतिनिधि सभा विघटनमा भइरहेको आन्दोलनको समर्थनमा छ ।
वास्तवमा प्रचण्ड गलत छैनन् । तपाईं कुनै पनि रेडियोमा बजेको अन्तर्वार्ता सुन्नुहोस्, कुनै पनि आफूले विद्वान भनेर मानेको व्यक्तिको अन्तर्वार्ता पढनुहोस्, टेलिभिजनमा प्रसारण हुने राजनीतिक छलफल हेर्नुहोस्, अधिकांशले संविधानको घाँटी निमोठ्ने ओली सरकारको समर्थन गरिरहेका छैनन् ।
अनि, यस्तो उच्च नैतिक अवस्थामा रहेको समयमा पनि किन नेकपा गलत प्रकारको आन्दोलनमा उत्रेर यिनै बुद्धिजीवी वा प्रचण्डका ‘बेस्ट ब्रेन’ ले नचाहने जनतालाई सास्ती हुने प्रकारका आन्दोलनमा उत्रन उत्सुक छन् ?
आफूलाई हिनताबोध भएको, सबैतिरबाट अपहेलित मानेका र आफूले गरेको कामका कारण आफैँ लज्जित हुँदै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्नु आफैँमा अनौठो होइन ।
समाजमा एउटा मर्यादा कमाएको, लोकतन्त्रवादी, विद्वान भनेर गनिएको व्यक्तिहरू उनको पक्षमा उभिएका छैनन् ।
यस्तो अवस्थामा ओलीले कसैले कहिल्यै नदेखेको ठूलो आमसभा भनेर पुरानो राजदरबार अगाडि उभिएर आफूलाई राजा ठानेर आमसभा गर्नु स्वाभाविक हो ।
उनका चुट्किलाहरूमा जनता थपडी लगाउँछन्, हाँस्छन् । उनी बुझ्दैनन् जनता एक प्रकारले उनकै अल्पदृष्टिमा हाँसेका हुन् । उनले खर्च दिएर, बस चढाएर, दुई छाक खाना खुवाएर त्यही चुट्किला मात्र सुनाएकोमा जनता छक्क पर्दै उनको मन्द बुद्धिमा हाँसेका हुन् ।
तर ओलीको माघ २३ गतेको आमसभाको अघिल्लो दिन माघ २२ गते देशव्यापी आम हड्ताल गर्नु प्रचण्ड–नेपाल समूहको गलत कार्य थियो ।
यसै पनि देशको अर्थतन्त्र अत्यन्त जर्जर अवस्थामा पुगेको वर्तमान अवस्थामा आम हड्ताल, बन्द आदिको आयोजना गर्नु हुँदैन । राजनीतिक रुपमा परिपक्व निर्णय गरेर संविधानको मर्यादा पालना गराउन लागेको समूहबाट यस्तो कार्यको अपेक्षा गरिएको छैन ।
माघ २८ गते सम्पूर्ण काठमाडौंको ट्राफिक छिन्न भिन्न बनाएर पाँच लाख मानिस किन ल्याउनु परेको थियो ? केपी ओलीसँग प्रतिस्पर्धा गर्न ? उनी त गलत बाटोमा गइसकेका छन् । उनका सबै कार्य गलत हुन् भने उनीसँग प्रतिस्पर्धा गर्ने कि नयाँ ढंगले विरोध गर्ने ?
माघ २८ गते दुई लाख मानिस मात्र सडकमा आएका थिए भने तिनीहरू सबैले हाते साङ्लो बनाएको भए कति लामो साङ्लो हुन्थ्यो होला ? एउटा मानिस बराबर दुई मिटर मान्ने हो भने पनि चार लाख मिटर लामो हाते साङ्लो हुन्थ्यो ।
यसको मतलब चार सय किलोमिटर लामो हाते साङ्लो बन्थ्यो । कुनै पनि बन्द वा सेवा अस्त व्यस्त नगरी यति लामो हाते साङ्लो बनाएको भए कति राम्रो सन्देश जान्थ्यो ?
केपी ओलीले गरेको कार्यको विरोधमा धेरै नेपाली जनता छन् । विपक्षी समूहले तिनको विरोध प्रकट गर्ने माध्यम रचनात्मक, सृजनात्मक ढंगले सोच्नु पर्यो । सबैले दिउँसै मोटर र मोटरसाइकलको हेड लाइट बाल्ने हो कि ? बालुवाटार, शीतल निवास र सिंहदरबार निकट पुग्दा थम्ब डाउन गर्ने चलन चलाउने कि ? देशभरिका जनताले कुनै एक समयमा बत्ति निभाएर रोष प्रकट गर्ने कि ? इन्टरनेट वा सामाजिक सञ्जालमा विरोधमा ऐक्यवद्धता जनाउन विरोध पत्रमा सहि गर्ने कि ? यस्ता अनेक उपाय हुन सक्छन् एक तानाशाहसँग लड्नका लागि । यति सबै गर्दा पनि सुधार्न सकिएन र सरकार क्रमशः निरंकुश हुँदै गयो भने हरेक स्थानबाट जनता आफैँ आफ्नो अधिकारका लागि सडकमा आउँछन्, कसैले पैसा खर्च गरेर बसमा ओसारेर भात खुवाएर एक दिनको पाँचसय वा एक हजार दिनु पर्दैन ।
अनि नागरिक समाज वा अरु कुनै पनि सरोकार समूहले धेरै देखिन वा आफ्नो प्रभाव बढी देखाउन सडक नै छेकेर हिँडनु पनि सही होइन । यदि आफूले उठाउन खोजेको विषय सशक्त छ भने जनताको समर्थन पाउन बाटो छेकेर सबैलाई ढिलो पार्नुको कुनै कारण देखिँदैन । बरु पेटीमा हिँडेर जनतालाई सास्ती नदिइकन गरेको आन्दोलन बढी जनप्रिय र प्रभावकारी हुन्छ ।
त्यस्तै, मोटरसाइकल र मोटर र्यालीमा सबैले हर्न बजाएर विरोध जनाउनुको पनि कुनै अर्थ छैन । यस विषयमा एकपल्ट प्रचण्ड–नेपाल समूहले आफूले मानेको ‘बेष्ट ब्रेन’सँग छलफल गरे हुन्छ, सल्लाह मागे हुन्छ । सडकमा जथाभावी तमाशा देखाउने कार्य कम्तिमा जिम्मेवार समूहले नगरोस् ।