काठमाडौं । निर्देशक मुकुन्द भट्टले सोमबार आफ्नो चलचित्रको टिजर सार्वजनिक गर्दै अभिनेता सौगात मल्ललाई ‘सुपर स्टार’ को उपाधि दिए । टिजर हेर्नेले देख्न सक्छन्– सौगातलाई सुपरस्टार लेखिएको ।
अघिल्लो साता करिष्मा मानन्धरलाई आरके इन्टरटेन्मेन्ट ग्रुपले महानायिकाको उपाधिले सम्मान गर्यो । राजेश हमालाई कान्तिपुर टेलिभिजनको तत्कालीन कार्यक्रम ‘रजतपट’ले महानायक भनेको थुप्रै वर्ष भइसक्यो ।
निर्देशक तथा कलाकार झरना थापाले आफ्नो चलचित्र ‘ए मेरो हजुर–३’ मार्फत अनमोल केसीलाई मेगा स्टारको पदावली दिइन् । भुवन केसीका नामका अगाडि सुपर स्टारको उपाधि झुन्डाउन थालेको दशक नाघिसक्यो । नामका अगाडि विशेषण झुन्डाउने सिलसिला जारी छ । तर, ज्ञानेन्द्र शाही शासनकालको सरकारले कवि माधवप्रसाद घिमिरेलाई राष्ट्रकविको उपाधि दिएकोबाहेक आजसम्म कुनै पनि कलाकार तथा साहित्यकारलाई कुनै उपाधि सरकारले दिएको छैन ।
कलाकारको नामका अगाडि विशेषण झुन्ड्याइदिइनुको केही अर्थ नरहेको निर्देशक तथा समीक्षक मनोज पण्डित बताउँछन् । निहित स्वार्थका लागि कुनै व्यक्ति वा संस्थाले कसैलाई कुनै विशेषण दिने गरेको उनी बताउँछन् ।
“जसले विशेषण वा पदावधि दिन्छन्, त्यो उनीहरूले आफ्नो निश्चित स्वार्थका लागि गरेका हुन् । व्यक्तिको सोचको परिधि र अध्ययन र मूल्यांकनको सीमाको उपज पनि हो,” मनोज भन्छन्, “राजेश हमाललाई महानायकभन्दा र नभन्दामा केही फरक पर्दैन । कोही व्यक्तिलाई महानायक र महानायिका वा सुपरस्टार भन्दैमा त्यसले हाम्रो समाजमा केही अर्थ राख्दैन ।”
राज्यले कसैलाई विशेषण वा पदावली दिन थालेको अवस्थामा भने यो बहसको विषय हुन सक्ने अन्यथा यसमा खासै चासो वा बहस गर्नु नपर्ने मनोज बताउँछन् । कुनै व्यक्ति विशेषलाई पदावली दिने व्यक्ति वा संस्थाको विश्वस्नीयता कति छ ? त्यो आमनागरिकले मूल्यांकन गर्ने भन्दै यसलाई गम्भीर रूपमा लिन नहुने उनको दृष्टिकोण छ ।
“यो बहसको विषय नै होइन । यसलाई सञ्चारमाध्मले लेख्न थालेपछि त्यो स्थापित हुन्छ । त्यसैले यसलाई सञ्चारमाध्यमले नजरअन्दाज गर्दिनुपर्छ,” मनोज भन्छन्, “राज्यले यदि कसैलाई कुनै पदावलीमार्फत सम्मान गर्छ भने त्यसका लागि उक्त व्यक्ति सही हो कि होइन भनेर बहस गर्नुपर्छ ।”
निर्देशक नवीन सुब्बा यस्ता पदावली र विशेषणले चलचित्र उद्योगलाई थप संकीर्ण र पश्चगमनतर्फ लैजाने बताउँछन् । यस्तो प्रवृत्तिले चलचित्र उद्योगमा हाइरार्की सिर्जना गर्ने र यसको नराम्रो असर पर्ने उनको बुझाइ छ ।
“कोही महानायक वा महानायिका र को अनायक भन्ने नै हुँदैन । कलाकार त कलाकार हो । प्राथमिकता दिनुपर्ने कलाकारितालाई हो,” नवीन भन्छन्, “चलचित्र उद्योगभित्र राजनीति भइरहेको छ, यसलाई चलचित्र उद्योगले बुझ्नुपर्छ ।”
नेपाली चलचित्र उद्योगमा फासिजम प्रतिबिम्बित भइरहेको उनको भनाइ छ । नेपाली समाज फासिजमतर्फ उन्मुख भइरहेको र त्यसको प्रभाव चलचित्रमा पनि परिरहेको उनी बताउँछन् । यसलाई समयमै बुझ्न नसके अन्ततः त्यसको असर चलचित्र उद्योगमै पर्ने भन्दै यसबाट समयमै सचेत हुनुपर्ने उनको भनाइ छ ।
“महानायक–महानायिका भइसकेपछि उनीहरूलाई हेरेर चलचित्रको कथा लेखिन थाल्छ । उसले त यस्तो खालको रोल गर्छ भन्ने भएपछि कथामा विविधीकरण हुँदैन,” हाइरार्कीले चलचित्रलाई सूत्रबद्ध बनाउँदै लैजाने भन्दै नवीन भन्छन्, “कथामा विविधीकरण नहुनु भनेको एकैखालका चलचित्र बन्नु हो ।”
समानता र समतामूलक समाजका कुरा गर्नेले पहिला आफैंबाट त्यसलाई लागु गर्दै जानुपर्नेमा नवीनको जोड छ । “मैले नबुझेको कुरा महानायकले जातको प्रश्न भन्ने टेलिभिजन कार्यक्रम गर्दै ठूलो, सानो, छुवाछूत विभेद हुनु हुँदैन भन्ने अनि आफैं महानायक भनेर कसैले भन्दिए दङ्ग पर्ने मनोविज्ञान छ । यसले हाइरार्की सिर्जना गर्न बढावा दिन्छ । अनि कसरी समानता र विभेदमूलक समाज निर्माणको सन्देश जान्छ ।”
दोहोरो चरित्र देखाउने क्रम बन्द गरिनुपर्नेमा उनको जोड छ । उद्यपि यो तत्काल सम्भव नरहेको उनी बताउँछन् ।
बलिउडका कारण नेपालमा पनि स्टार सिस्टम रहेको भन्दै नवीन स्टारडमलाई रचनात्मक पक्षमा उपयोग गर्नुपर्ने बताउँछन् ।
“हलिउडमा स्टारडम पनि हुन्छ, फ्यानफ्लोइङ ठूलो भएका कलाकार तथा चलचित्रकर्मीले पनि आफूलाई समाजभन्दा अलग ठान्दैनन्,” नवीन भन्छन्, “इन्डस्ट्रीमा स्टारभन्दा पनि कथालाई प्रधानता दिने संयन्त्र नै बनाएर काम गरिन्छ । कथा र विविधतालाई प्राथमिकता दिइन्छ ।”
हलिउडमा भन्दा युरोपमा कलाकार तथा चलचित्रकर्मीले स्टारडमलाई रचनात्मक पक्षमा अझ बढी उपयोग गर्ने गरेको पाइन्छ । स्टार सिस्टमले चलचित्र उद्योगलाई संकीर्ण गर्छ भनेर त्यसबाट युरोप सधैं सचेत रहँदै आएको छ ।
नेपाली चलचित्र उद्योग भने थप उल्टो बाटोमा हिँडिरहेको नवीनको मूल्यांकन छ । टेलिभिजन र युट्युबका हँस्यौली–ठट्यौली कार्यक्रममा रमाइरहेको कलाकारको मनोविज्ञानले पनि यसलाई पुष्टि गर्ने उनी बताउँछन् ।