राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी (२०१७ साल पुस १) प्रथम जननिर्वाचित बीपी कोइरालालाई जेल हाले पछिको कुरा हो । वेलायतकी महारानी एलिजाबेथ द्वितीयाको नेपाल भ्रमण फागुन १५ हुने तय भइसकेको थियो । कांग्रेसका सबै जसो शीर्ष नेता कि त जेलमा थिए कि प्रवासमा । कुअघि कलकत्ता पुगेका उपप्रधानमन्त्री सुवर्णशमशेर राणाले प्रजातन्त्र माथि कु भएका बेला प्रजातन्त्रको जननी मानिने बेलायतकी महारानीको भ्रमण स्थगित गर्दा उचित हुने सुझावसहित बेलायत सरकारलाई ज्ञापनपत्र बुझाउने व्यवस्था मिलाए ।
पत्रमा नेपालमा प्रजातन्त्र फर्काउनका लागि दबाब दिनसमेत आग्रह गरिएको थियो । तर, बेलायती परराष्ट्रमन्त्री लर्ड ह्युमले अशान्तिको अवस्था नभएकाले भ्रमण स्थगित नहुने आशयको वक्तव्य दिए ।
राजाविरुद्ध कांग्रेसजनमा आक्रोश चुलिएको थियो । महारानीको भ्रमणको पूर्व सन्ध्यामा ‘एक्सन’ गर्ने कार्यक्रम बनाइए । पूर्वसभामुख तारानाथ रानाभाटले आफ्ना बाबु नारायणदत्तले त्यहीताका कलकत्ता पुगेर सुवर्णशमशेरलाई भेटेको प्रसंग सुनाउँदै लेखकसँग भनेका छन् – ‘मेरो बुबाले जोसिएर भन्नु भएछ । अब मलाई बन्दुक दिनुहोस्, सारालाई खत्तम गरेर म मर्न पनि सक्छु । प्रजातन्त्र ल्याउनुपर्छ । जेलका साथीहरुलाई मुक्त गर्नुपर्छ ।’
तिनैताकाको कुरा हो सुवर्णका विश्वासपात्र पाटनका तेजनन्दन जोशी र विश्वनाथ उपाध्यायसहितका मानिस मिसनका लागि कलकत्ताबाट काठमाडौं आए । ‘सुन्दरीजल पावर हाउस उडाउने तयारी गरिरहँदा करेन्ट लागेर रामबहादुर क्षेत्रीको मृत्यु भयो । अनि योजना कार्यान्वयनमा आउन सकेन ।
त्यही टोलीले सिनामंगल र पुरानो वानेश्वर जोड्ने वाग्मतीको पुल उडाउने अर्को योजना बनायो । पुलमुनि बालुवामा डाइनामाइट बिछाएर बम पड्काइयो तर त्यसले खासै असर गरेन । अन्यत्र पनि पडकाउने तयारी भइरहेको थियो । तर, आफूभित्रबाट सूचना चुहिएपछि त्यो योजना सफल भएन । बम पड्काउन खटिएका पूर्व सांसद लेखनाथ न्यौपाने लेख्छन् – ‘पछि हाम्रै समूहका सदस्य बलराम प्याकुरेलले गद्दारी गरेकाले धेरै साथीहरु पक्राउ परे । हाम्रो जिम्मेवारी पूरा हुन पाएन ।’
महारानीको भ्रमणपछि पनि एक्सनका कार्यक्रम भए । पुस १ को कदमपछि जेल परेका कांग्रेस नेता श्यामलाल श्रेष्ठ छुटेपछि सुवर्णलाई भेट्न कलकत्ता पुगे । उनीसँग सुवर्णले भनेका थिए – ‘राजधानीमा कुनै एक्सन गर्नु पर्यो । अन्यत्र भएका एक्सनले अन्तर्राष्ट्रिय जगतमा खासै असर गर्दैन । यो तपाईँहरुका लागि अन्तिम मिसन हुनेछ । सफल भयो भने देशमा प्रजातन्त्र पुनःस्थापना हुन्छ ।’ सुवर्णलाई भेट्ने युवा आफूले त्याग गरेर प्रजातन्त्र आउँछ भने जस्तोसुकै बलिदान दिन तयार रहने वचन दिँदै भन्थे – ‘तर पड्काउने समान चाहीँ सक्कली हुनुपर्छ ।’ सुवर्ण उनीहरुलाई भन्थे – ‘सामान बारे तपार्इँहरुले चिन्ता लिनु पर्दैन ।’ श्यामलाल कलकत्ता पुगेको केही दिनमै विस्फोटक पदार्थ आइपुग्यो । डाबर कारखानाको कम्पाउन्डभित्र जमिनमुनि लुकाएर त्यसलाई राखियो । अनि कसैले थाहा नपाउने गरी परीक्षण गर्दा ठूलो आवाजमा विस्फोट भयो । अब कांग्रेसका तरुणहरु विस्फोटक पदार्थ लिएर नेपाल फर्कन तयार भए । त्यसअघि सुवर्णको सिफारिसमा उनीहरु एउटा अंग्रेजी फिल्म हेर्न गए । उत्साहित भएर फर्किए ।
कलकत्ताबाट फर्किएपछि नारायणहिटी दरबारको दक्षिण ढोका, सिंहदरबार, रेडियो स्टेसन, वाग्मती पुल, गोरखापत्र संस्थान, प्रहरी हेडक्वाटरलगायत राजधानीका २६ स्थानमा एकै पटक विस्फोट गराउने मिसनमा खटिएका श्यामलाल श्रेष्ठले भनेका छन् – ‘माथिबाट ‘ओके’ भएपछि सुवर्णजीले भन्नुभयो । तपार्इँहरु जानुस् । विस्फोटक पदार्थ विश्वासिलो च्यानलबाट पठाइनेछ ।’
पटनाबाट उडेको शाही नेपाल वायु सेवा निगमको जहाजबाट फलफूलको टोकरीमा लुकाएर रुपचन्द्र नाहटाले काठमाडौंमा बम भित्र्याए । त्यही दिन उनी विस्फोटक पदार्थसहित पक्राउ परे । लगत्तै मुकुन्द शर्मा, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र श्रीकृष्ण वैद्य पनि पक्राउ परे । उनीहरुमाथि चलाइएको राजकाज अपराधअन्तर्गतको मुद्दामा २०१९ साल कात्तिक १९ गते विशेष अदालतले जन्मकैदको सजाय सुनायो । अराष्ट्रिय तत्त्वसँग सम्पर्क राखी राजदरबार, पावर हाउस, सिंहदरबारलगायतका घरहरुमा बम पड्काई ध्वस्त पार्ने मनसायले टाइमिङ घडी तारसमेतका सामान ल्याएको अभियोग उनीहरुमाथि थियो । मुद्दामा भनिएको थियो – ‘सुवर्णशमशेरका छोरा कञ्चनशमशेरले फलफूलको टोकरीभित्र हाली काठमाडौं पठाएका बमहरु ल्याई लुकाई राख्न लगाएको अवस्थामा रुपचन्द्र पक्राउ परेका थिए ।
यसरी ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार, सुन्दरीजलस्थित विद्युत् गृहसहित काठमाडौंका विभिन्न स्थानमा बम विस्फोटन गराउने योजना तय भयो । तर सफल भएन ।’ पञ्चायती सरकारले सेना, प्रहरी र गुप्तचर परिचालन गरी कांग्रेसको योजना विफल बनायो ।
सशस्त्र क्रान्तिमा सहभागी पूर्वप्रधानमन्त्री सुशील कोइरालाले बम बोकेर आफू विमानस्थल हुँदै काठमाडौं आएको घटना २०७० साल मंसिर दोस्रो साता लेखकलाई सुनाएका थिए । पहिलो संविधान भसभामा पराजित भएका उनी मैले भेट्दा बा“के र चितवनबाट निर्वाचित भई संविधान सभाको ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री हुने पक्का भइसकेको थियो । कोइरालाले सुनाए – ‘एकपटक म आफैँ टाइम बमसहित त्रिभुवन विमानस्थलबाट काठमाडौं उत्रिए । झोलाको तल्लो भागमा टाइम बम थियो । बारुदले भरिएको हर्लिक्सको सिसा पनि ल्याएको थिएँ ।’
त्यस बेलासम्म विमानस्थलमा एक्सरे मेसिनले चेक जा“च गर्ने चलन थिएन । झोला छामछुम गरेपछि सुरक्षाकर्मीले हर्लिक्सको सिसा खोल्यो र सोध्यो – ‘यो के हो’ ? हर्लिक्स हो, बिरामी छु । खानल्याएको ।’ भने सुशीलले । ‘धन्न झोला खोलेन र म बाचेँ । त्यसपछि जहाजबाट कहिल्यै त्यसरी यात्रा गरिन ।’ त्यस दिन कोइराला एकदमै हर्षित मुडमा थिए । कार्यवाहक सभापति हुँदा पहिलो संविधान सभा (२०६४) मा आफैँ पराजित भएका थिए । पार्टीको साइज खुम्चिएको थियो तर २०७० सालमा आफ्नै नेतृत्वमा कांग्रेस पहिलो दल बनेको थियो । त्यही कारण उनी हर्षित मुद्रामा हुने नै भए ।
उनले सशस्त्र क्रान्तिका कथा सुनाउँदै गर्दा लेखकका साथ कांग्रेसका तत्कालीन प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, उनका छोरा र पत्रकार हरहरी उपाध्याय पनि थिए । कोइराला कथा सुनाउँदै थिए । त्यहीबीच एक जना चर्चित पत्रकार – ‘सुशील दाइ जय नेपाल ! धेरै धेरै बधाई छ । तपाईको नेतृत्वले कांग्रेस पहिलो दल भएको छ ।’ भन्दै आइपुगे । त्यसपछि सुशीलले त्यस विषयमा मुख खोलेनन् । उनको मुखबाट सशस्त्र क्रान्तिका कथा सुन्ने अवसर मलाई मिलेन ।