site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
पोखरा विदेशी पर्यटकलाई स्वागत गर्न आतुर छ

पोखरा । कोभिड १९ को परीक्षणको रिपोर्टसहित नेपालमा आउन चाहने विदेशी पर्यटकलाई सहजरुपमा आउन दिने व्यवस्था संघीय सरकारले तत्कालै गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 

बाह्रखरी मिडियाले पोखरामा बुधबार आयोजना गरेको ‘एनसेल–बाह्रखरी पहल, कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास’ विषयक अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले कोभिडसँग जुध्दै अर्थतन्त्रलाई चलायमान बनाउन विदेशी पर्यटकलाई सहज रुपमा नेपाल आउन दिनुपर्ने बताएका हुन् ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विदेशी पर्यटकलाई नेपालमा आउन अनावश्यक झन्झटिलो प्रक्रिया बनाउन नहुने बताए । 

उनले कुनै पनि विदेशी नागरिकलाई पोखरा सहजरुपमा आउन दिन तयार रहेको स्पष्ट पारे । 

 

 

“कोभिडसँग लड्ने हो । कोठाभित्र थुनिएर मात्रै कोभिडसँग लडाईँ हुँदैन, बाहिर आउनुपर्छ । हामी पोखरामा कुनै पनि विदेशी पर्यटकलाई सहजरुपमा आउन दिन तयार छौँ,” उनले भने ।  

संघीय सरकारले विदेशी पर्यटकलाई जस्तो मापदण्ड स्थानीय सरकारले पनि बनाउन आवश्यक नभएको स्पष्ट पारे । “बिरामी मान्छे कोही पनि हिँड्दैनन् । स्वस्थ मान्छे नै हिँड्ने हुन, घुम्ने हुन् । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर पर्यटन उद्योगलाई गतिशील बनाउन सबै खुला गर्नुपर्छ । पोखरा महानगरपालिका खुला रुपमा विदेशी पर्यटकलाई पनि आउन दिन तयार छ,” उनले भने ।

कोही पनि पर्यटक पोखरामा स्वास्थ्य प्रोटोकल अपनाएर आउन सक्ने उनले बताए । 

“स्वास्थ्य प्रोटोकल आपनाएर अपनाउनुस् अरु आवश्यक छैन,” उनले भने ।

पर्यटन प्रवर्द्धनमा सरकार गम्भीर भएर लागे स्थानीय तहलाई पनि सहज हुने उनले बताए ।  उनले व्यावसायीहरु पनि नयाँ तरिकाले व्यवसाय गर्न रुचि देखाउनुपर्नेमा पनि जोड दिए । 

आन्तरिक पर्यटन अहिलेको आवश्यकता भएको भन्दै महानगरपालिका सुरुवातदेखि नै व्यापार व्यवसाय खोलेर अगाडि बढ्नुपर्ने मान्यताका साथ अगाडि बढेको मेयर जिसीको भनाई थियो ।

यस्तै गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले कोभिडका कारण प्रभावित पर्यटन तथा अन्य व्यवसायीलाई तीन वर्षसम्म ब्याज छुटको व्यवस्था लागु बिहीबारबाट हुने बताए । 

उनले ठूला उद्योगी व्यवसायीलाई केन्द्रीय सरकार, राष्ट्र बैंकबाट व्यवस्था भएको तर साना तथा मझौला व्यवसायीका लागि प्रदेश सरकारको क्षमताअनुसार ब्याज छुटको व्यवस्था गरिएको बताए । 

उनले पोखराको मात्रै नभइ समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनका लागि योजना बनिरहेको भन्दै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यहरुको आवश्यकता रहेको पनि बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पछिल्लो समयमा ८ हजार विदेशी पर्यटक नेपाल भित्रिएको भन्दै आउन सहज बनाइए विदेशी पर्यटक पनि नेपाल आउने बताए । 

त्यसका लागि स्वास्थ्य प्रोटोकल अपनाएर आउने विदेशी पर्यटकलाई १० दिन क्वारेन्टिनको व्यवस्था सही नभएको बताए । 

 

उनले सरकारले पर्यटन क्षेत्रसँग सम्बन्धित विषयमा बोर्डसँग सुझाव लिन नखोज्ने र दिएको सुझाव पनि कार्यान्वयन नगर्ने गरेको दुखेसो पोखे ।

उनले दुईदिन सार्वजनिक बिदा दिँदा आन्तरिक पर्यटन प्रवर्द्धनमा निकै सहयोग पु¥याउने जिकिर गरे । 

 

 

“अध्ययन गरेर नै दुईदिन सार्वजनिक बिदाको प्रस्ताव मन्त्रालयमा गएको हो । दुईदिन सार्वजनिक बिदा गर्ने विषयमा पर्यटन मन्त्री पनि सकारात्मक हुनुुहुन्छ,” उनले भने ।

लक्ष्मी गु्रपका कार्यकारी निर्देशक एवम् युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष निरञ्जन श्रेष्ठले कोभिडसँग जुधेर नै सबै क्षेत्र अगाडि बढ्न सक्ने बताए । 

 

उनले निजी क्षेत्रले सरकारको ढाडस खोजेको बताए । 

“अहिले उद्योगी व्यवसायीले सरकारबाट सरकार तिमीहरुको साथमा छ, यस्तो यस्तो काम गर्दैछौँ, तिमीहरु नआत्तिनु भनेर ढाडस मात्रै खोजेका छौँ,” उनले भने । 

धेरै युवा उद्यमीले लगानी गरिरहेको भन्दै केही गर्न सकिन्छ भन्ने युवाहरुमा आशा रहेको भन्दै त्यो आशा मार्न नहुनेमा उनले जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोख्रेलले स्थानीय सरकार, प्रदेश सरकारले केही पनि नगरेको अवस्था नभए पनि अझै धेरै काम हुन नसकेको बताए । 

उनले बजेटले निराश बनाएको निजी क्षेत्रलाई मौद्रिक नीतिले हौसला दिएको भए पनि कार्यान्वयन नहुँदा झन् दुुःखी बनाएको बताए । 

 

“हामीले सरकारबाट धेरै अपेक्षा गरेका छैनौँ । मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर मात्रै भनेका हौँ,” उनले भने ।

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरेको हो । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले शनिबार पोखरामा आमन्त्रण गल्फ आयोजना गर्न लागेको छ ।

 

 

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।

उनीहरुसँग बुधबार गरिएको अन्तरक्रियाको भिडियो : 

 

 
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १८:०८