काठमाडौं । नेपालको पछिल्लो जनआन्दोलन २०६२–०६३ सालमा भएको थियो ।
त्यसै आन्दोलनको उपलब्धिका रुपमा २०७२ सालको संविधान आयो । विसं २०६२ सालमा भर्खरै जन्मिएको एउटा बच्चा अहिले १५ वर्षका युवा भइसकेका छन् ।
अहिलेको सामाजिक सञ्जालमा सक्रिय रहेको र देशमा कसैले पनि राम्रो गरेन भनेर चेतना विकसित गर्दै गरेका धेरै युवा २०५८ साल पछि जन्मिएका छन् ।
यिनले कुनै प्रकारको आन्दोलन भोग्न र देख्न पाएका छैनन् । यिनले २००७, २०३६ साल, २०४६–०४७ साल देखि २०६२–०६३ सम्मका आन्दोलनमा होमिएका पुस्तामा को राम्रो र को नराम्रो भन्ने स्पष्ट सोच बसाउन नसकेकै कारण राजनीति, कर्मचारीतन्त्र र सामाजिक नेतृत्वमा कुनै पनि व्यक्तिका विषयमा जस्तोसुकै टिप्पणी गर्दा यिनलाई दुख्दैन, कसैप्रति अन्याय भयोजस्तो लाग्दैन ।
समाजका विद्वान, सामाजिक प्रतिष्ठा कमाएका, आर्थिक रुपमा सक्षम समूह जब कुनै पनि विषयमा केही पनि बोल्दैनन् तब सहीलाई सही र गलतलाई सही भन्ने दुई समूहका बीचमा कुनै भिन्नता देखिँदैन । अनि धमिलो पानीमा माछा मार्नेहरूले गलत काम गर्दा पनि जनताले दुधको दुध र पानीको पानी छुट्याउन सक्दैनन् ।
डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, अर्जुन पराजुली, सिके लाल, खगेन्द्र संग्रौला, नारायण वाग्ले जस्ता नागरिक अभियन्ताले अहिले देशमा देखिएको लोकतन्त्रमाथिको हमलाका विषयमा आफ्ना विचार राख्न पाएका हुन्नन् हुँडार, अरिंगाल, साइबर सेनाका झुन्डले एकदमै गलत तरिकाले आक्रमण गर्छन् । यी गोयबल्स्का अनुयायीले कसैलाई पनि विदेशी दलाल, राष्ट्रघाती आदी अनेकौं यहाँ भन्न पनि नसकिने विशेषणले गाली गर्छन् ।
तर हाम्रो विचारमा प्रतिवाद गरिनुपर्ने तत्व यस्ता गैर जिम्मेवार र केही लाभका लागि आफ्नो आत्माको पुकार सुन्न नचाहने, नसुन्नेहरू हैनन् । हामी त्यस्ता व्यक्तिको प्रतिवाद गर्दैछौं जो देश र जनताको भविष्यको बारेमा चिन्तित त छ तर बोल्न चाहँदैन ।
प्रस्तुत छ, आज त्यही विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद