काठमाडौं । नुवाकोटकी सिवानी तामाङ इराकबाट पाँच वर्षपछि नेपाल फर्किएकी छन् । यो पाँच वर्ष उनको लागि कम्ती सकसपूर्ण भएन । नेपाल आउनुभन्दा पहिले नौ महिना बढी जेल जीवन बिताइन् । नेपालबाट इराक पुग्ने बेलासम्म पनि सिवानीले सोचेकी थिइनन् कि त्यहाँ त्यति धेरै गाह्रो हुन्छ । उनी दैनिक १६ देखि १८ घण्टासम्म काम गर्थिन् । काम गरेअनुसार उनीसँग फर्कंदा कुनै सम्पत्ति थिएन ।
‘‘विदेश जान कसलाई पो रहर हुन्छ, त्यो पनि दुईवटी कलिला छोरीहरु माइतमा छोडेर,’’ सोमबार सिवानीले आफ्नो दुःख यसरी सुनाइन् ।
०००
सिवानीको बल्यकाल नुवाकोटको म्यागम गाउँपालिकामा जसोतसो बितेको थियो । उनका बाबुले सौतेनी आमा ल्याएपछि भने उनको वास्तविक दुःख सुरु भयो । बुवा–आमा छुट्टिएर बसे । दाजु–भाइ नभएकोले सानैदेखि आमाको हेरचाहको जिम्मा सिवानी र उनकी दिदीको भागमा पर्यो । सिवानी पढाइसँगै घरखेतको काममा आमालाई सघाउँथिन् । उनको पढाइ खासै राम्रो थिएन । १० कक्षामा पढ्दा नै प्रेमविवाह गरिन् ।
बिहे गरेको छ वर्षमा उनीहरुका दुईओटी छोरी जन्मिए । तर, योबीचमा श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो त्यति राम्रो भएन । श्रीमान्ले उनलाई कुट्न थाले । उनीहरुको झगडा घरमा मात्र सीमित भएन, गाउँ हुँदै प्रहरीसम्म पुग्यो । त्यो पनि एकदिन हैन, धेरैपटक ।
‘‘श्रीमान् सधैँ रक्सी खाएर झगडा गर्थे । कुट्न आउँथे,’’ सिवानी भन्छिन्, ‘‘सधैँ झगडा गरेर अरुको रमिते बन्नुभन्दा त छुट्टिनु नै ठिक ठानेर छुट्टिएँ ।’’
त्यसपछि उनी दुई छोरी लिएर काठमाडौं आइन् । यहाँ सानो खाजा पसल खोलेर चलाउन थालिन् । काठमाडौंमै रहँदा उनले अर्को विवाह गरिन् । विवाहको केही समयपछि श्रीमान् मलेसिया गए । तर, उनीसँग पनि सिवानीको राम्रो सम्बन्ध हुनसकेन । त्यसपछि सिवानीले आफैँ विदेश जाने सोच बनाइन् ।
“अरुको भरमा जीवन बाँच्नुभन्दा आफैँले कमाएर दुई छोरी पाल्छु भनेर विदेशिएँ,’’ उनले भनिन् । नुवाकोट घर बताउने सन्तोष तामाङमार्फत् विदेश गएकी हुन् । उनै एजेन्टमार्फत् ०७३ वैशाख २७ गते उनी भारत हुँदै इराक पुगिन् । उनीसँगै नेपालबाट अरु तीनजना पनि गएका थिए । तर, त्यहाँ पुगेपछि भने उनीहरुको भेट कहिल्यै भएन ।
सिवानी घरेलु श्रमिकको रुपमा दैनिक १६ देखि १८ घण्टा काम गर्न लागिन् । तर, २१ महिना एउटा घरमा काम गरेपछि राम्रो व्यवहार भएन । त्यो समय उनको लागि एकदमै कठिन भयो । “त्यहीँ भएका साथीहरुलाई पनि वर्षमा एकपटक भेट्न मुस्किल पथ्र्यो । काम पनि धेरै नै गर्नुपर्ने ।” काम गरेको जस नपाएपछि नेपाल वा कीर्गिस्तान जाने सोच बनाएको सुनाउँदै उनी भन्छिन्, “केही विकल्प नपाएपछि म भागेँ ।”
घरबाट त भागिन् । तर, भागेको केही समयमा नै उनलाई प्रहरीले समातेर जेल हाल्यो र काम गर्ने ठाउँको मानिसलाई फोन गर्यो । घरधनी आएर सिवानीलाई काममै फर्कायो । ‘‘म यहाँ काम गर्न सक्दिनँ, नेपाल नै फर्काइदेऊ’’ भनेर उनले पटक–पटक बिन्ती नबिसाएकी पनि हैन । त्यहाँको कमाइले घरमा छोरीहरुको लालनपालनको लागि नपुगेको गुनासो पनि उनले बारम्बार गरिन् ।
काम लगाइदिने एजेन्टलाई पनि यसबारेमा भनिन् । ‘‘काम गर्न भनेर गएको मान्छेले किन फर्कनुपर्यो ? गए पनि अलिकति कमाएर जानु,’’ त्यतिबेला धनभन्दा ज्यानको माया भएको सुनाउँदै उनले थपिन्, “दुःख त भोग्नेले पाउँछ नि !”
उनको चार वर्ष त्यहीँ बित्यो । एकाएक बिरामी परिन् । अस्पताल पुगेपछि एपेन्डिक्स भएको थाहा भयो । उपचार खर्च र दुई महिना काम नगरी बस्दा थोरबहुत जोगाएको पैसासमेत सकियो । शरीर तङ्गँदै गए पनि उनलाई कामभन्दा नेपालमा छाडेर गएका छोरीहरुको मायाले तान्यो ।
सिवानीले आफूले काम गरेको ठाउँमा नेपाल फर्कनको लागि पासपोर्ट र टिकट खर्च मागिन् । साहुले नदिएपछि इराकमा नै काममा लगाउने एजेन्टलाई पनि भनिन् । तर, कुनै सुनुवाइ भएन । पटक–पटक घर फर्काइदेऊ भनेर गुहार गर्दा पनि नमानेपछि उनीसँग भाग्नुको विकल्प थिएन । र, एकदिन आफूले काम गरेको ठाउँबाट भागिन् ।
‘‘बग्दादमा बस्ने एकजना पाकिस्तानी साथीलाई ट्याक्सी लिएर मलाई लिन आउन भनेकी थिएँ,’’ भाडाको ट्याक्सी लिएर आएका उनका साथीलाई समेत प्रहरीले समातेको सिवानीले बताइन्, ‘‘उनले आफ्नोे परिचय खुल्ने केही डकुमेन्ट नै बोकेका रहेनछन् । त्यसैले हामीलाई प्रहरीले जेल हाल्यो ।’’
प्रहरीले उनीसँगै समातेको मान्छेलाई आठ माहिना जेलमा राखेर छोडेको उनले जेलमा रहँदा नै थाहा पाइन् । उनलाई थप एक महिना जेल राखेर छोड्यो । तर, जेलबाट निस्किएको चार महिनाभित्र नेपाल फर्कने सर्तमा । उनी भन्छिन्, “जेल बस्ने बेलामा नै मैले कि त नेपाल फर्कन दिनुस् कि त काम गर्न दिनुस् भनेर भनेकी थिएँ ।”
जेलबाट निस्कने बेला एकजना प्रहरीले नै उनलाई काम लगाइदिने बताएका थिए । त्योअनुरुप नै काम पनि पाइन् । त्यही पैसाले नेपाल फर्किएको उनी सुनाउँछिन् ।
०००
सिवानी नेपाल आएको दुई हप्ता हुँदै छ ।
अहिले उनकी सानो छोरी ११ वर्षकी भइन् । तर, छोरीको प्रष्ट आवाज आउँदैन । त्यसैले पढाइ पनि राम्रो नभएको उनी बताउँछिन् । ‘‘सधैँ एउटै कक्षामा भर्ना गर्नुभन्दा फरक क्षमता भएका बालबालिका पढाउने ठाउँमा नै लगेर पढाउनुहोला,’’ केही दिनपहिले स्कुलमा भर्न गर्न जाँदा शिक्षकले भनेको उनले सुनाइन् । सिवानी कान्छी छोरी पढाउनको लागि विद्यालयको खोजीमा छिन् ।
जेठी छोरीको पनि पढाइ राम्रो नभएको उनले बताइन् । “जेठी छोरी पाँच कक्षामा पढ्दा–पढ्दै पढाइ छाडेर बसेकी छ । आफूले छोरीहरुकै लागि भनेर विदेशमा जेलनेल परेको दुःख उनीहरुले बुझे पो,” उनले पीडा पोखिन् ।