site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राजा वीरेन्द्रलाई मन परेको डिजाइनमै बनेको थियो श्री सदन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आम जनमानसमा राजा र दरबार भन्नेबितिक्कै भव्य र आलिसान महलको चित्रण हुन्छ । प्रायः हामी सबैलाई लाग्छ, दरबार भनेको झकिझकाउ नै हुनुपर्छ । तर, जरुरी छैन, दरबार भव्य रंगीचंगी होस् ! तत्कालीन राजा वीरेन्द्रको निवासको हकमा पनि यही अपवाद लागू हुन्छ । अहिले पनि मानिसअनुसार उनलाई हेर्ने नजर पृथक छ । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाका रुपमा परिचित भए, वीरेन्द्र ।

तर, उनलाई गृहयुद्धकालमा माओवादी विद्रोह र सरकारी शक्तिहरूबीचको विवाद हल गर्न नसकेका असफल राजाका रुपमा चित्रण गर्नेहरु पनि छन् । आफ्नै दरबार र परिवारको समेत सुरक्षा गर्न नसकेको भनी आलोचना गर्नेहरूको जमात पनि बाक्लै छ । वीरेन्द्रको शासन इतिहास महेन्द्रको मृत्युबाट सुरु हुन्छ । तर, शासनसत्ताको यात्राभन्दा अगाडि नै उनको यात्रा सुरु हुन्छ, श्री सदनको ।

उमेर पुगेका युवराज आफ्नो बाबु (राजा)सँग एउटै घरमा बस्न नमिल्ने राजकीय परम्पराअनुसार वीरेन्द्रकै लागि यो सदन बनेको थियो । उनी जनतालाई केन्द्रबिन्दु मान्दै जनअपेक्षाबमोजिम शासन सञ्चालन गर्न तत्पर थिए । वीरेन्द्र परिवारको रहस्यमयी ढङ्गबाट २०५८ जेठ १९ गते हत्या गरियो । दरबार हत्याकान्डपछि श्री सदन बन्द थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

 

Global Ime bank

 

श्री सदनबारे बुझ्नुभन्दा पहिले यसको विगतका बारेमा थोरै जान्नुपर्ने हुन्छ । नारायणहिटी दरबार नेपालका राजाहरुले १३५ वर्षसम्म निवासस्थानको रुपमा प्रयोग गरे । यही दरबार नै नेपालका राजाहरुको अन्तिम दरबारसमेत बन्न पुग्यो । नेपाल गणतन्त्रात्मक राज्य घोषणा भएपछि वि.सं. २०६५ असार १ गते राजदरबारलाई राष्ट्रिय संग्रहालय बनाउने निधो भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलन गरी नारायणहिटी संग्रहालयको घोषणा गरे ।

 

नारायणहिटी संग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यही संग्रहालयभित्र छ, श्री सदन । तत्कालीन राजा महेन्द्रले आफ्नो छोराको लागि बनाइएको श्री सदन केही समयअगाडिमात्रै सर्वसाधारणले हेर्न पाउने गरी खोलिएको छ । वीरेन्द्र १८ वर्ष पुगेपछि टुँडिखेलमा भव्य कार्यक्रम गरेर युवराजधिराज घोषणा भएको दरबारमा लामो समय काम गरेका पूर्वसचिव शम्भु अधिकारी बताउँछन् ।

सोही परम्पराअनुसार राजा महेन्द्रको निवास महेन्द्र मञ्जिलबाट वीरेन्द्रलाई श्री सदन सारिएको उनी सम्झन्छन् । वि.सं. २०१६ सालमा निर्माण थालिएको नारायणहिटी दरबार पूरा बनिसक्न १० वर्ष लागेको थियो । श्री सदन पनि यहीबीचमा बनेको थियो । श्री सदन वीरेन्द्रले आफूलाई मन परेको डिजाइनमा बनाउन लगाएका दरबारबारे जानकारहरु बताउँछन् ।

वीरेन्द्रको विवाह नारायणहिटीबाट भएको थियो । दुलही ऐश्वर्यालाई भने श्री सदनमा नै भित्र्याएको अधिकारी बताउँछन् । पछि उनैबाट जन्मिएका तीन सन्तान दीपेन्द्र, श्रुति र निराजन गरी पाँचजनाको परिवार श्री सदनमा नै बस्यो ।

के छ श्री सदनमा 

श्री सदनमा १२ वटा कोठा रहेका छन् । मूलढोकाबाट भित्र प्रवेश गर्नासाथ देब्रेतर्फ तत्कालीन राजा र रानीको कार्यालय छ । त्यसको दाहिनेतर्फ ‘डाइनिङ रुम’ रहेको छ । सोही तलामा नै पारिवारिक जमघट गर्ने कोठाको व्यवस्था छ । पहिलो तलामा स्व. राजा वीरेन्द्रको शयनकक्ष रहेको छ । उक्त तलामा वीरेन्द्रका पोसाक राख्ने कक्ष छ । त्यही तलामा स्व. बडामहारानीको शृंगारकोठा, पूजाकोठा रहेको छ ।

 

 

सबैभन्दा माथिल्लो तलामा तत्कालीन अधिराजकुमारी श्रुतिको कक्ष र अधिराजकुमार निराजनको शयन, अध्ययनकक्ष रहेको छ । त्यही तलाको आधा भाग भने कौसी बनेको छ । श्री सदनको बाहिरी भागमा रङ लगाइएको छैन । यो वीरेन्द्रको सादापनको नमुना भएको बताउँछन्, अधिकारी । “रङबिनाको वीरेन्द्रको त्यस निवास हेरेर पनि आकलन गर्न सकिन्छ, स्व. राजा वीरेन्द्रको सादगीपनको । उनी सामान्य जीवन जिउन रुचाउँथे ।” यसो भनिरहँदा चार दशक दरबारमा बिताएका पूर्वसचिव अधिकारीको आखाँमा वीरेन्द्रप्रतिको अगाध श्रद्धा झल्किन्थ्यो ।

दार्जिलिङको सेन्ट जोसेफ कलेज, बेलायतको इटन कलेज, जापान तथा अमेरिकाजस्ता देशहरुमा समेत अध्ययन गरेका वीरेन्द्र निकै साधारण जीवन जिउन चाहने राजा भएको अधिकारीको भनाइ छ । तर त्यसपछि राजा बनेका ज्ञानेन्द्र शाहमा भने त्यस्तो नदेखिएको दरबारमा त्यसबेला काम गरेकाहरू बताउँछन् ।
ज्ञानेन्द्र दाइजस्तो देखिनेमात्रै राजा बन्न नचाहेको उनकै सार्वजनिक टिप्पणीबाट पनि सुनिथ्यो । 

नेपाललाई हिटलरको अनुपम चिनो !

श्री सदन वीरेद्रले जसरी छाडेका थिए, त्यही अवस्थामा नै सर्वसाधारणलाई हेर्नको लागि तयार गरिएको संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए । श्री सदनमा स्व. अधिराजकुमारी श्रुतिले बनाएको पेन्टिङहरु रहेका छन् । त्यस समयमा अरु नामुद पेन्टरहरुले बनाएका चित्रहरुसमेत सजाइएको छ । 

०००

धेरै मानिसले सोचेका हुनसक्छन्, ‘राजाले त आफू बसेकै ठाउँबाट राजकाज गर्छन् ।’ तर, वास्तवमा भने त्यस्तो नहुने अधिकारी बताउँछन् ।

“राजाको अफिस अहिले नारायणहिटीको परराष्ट्र बसेको भवनको दुई तलामाथि थियो ।” वीरेन्द्र १ बजे खाना खाएर करिब २ बजे कार्यालय जाने सुनाउँदै पूर्वसचिव अधिकारी भन्छन्, “राजाहरुले आफूलाई बस्नको लागिमात्र आफ्नो सदन प्रयोग गर्ने चलन छ । आफू बस्ने सदनमा परिवारका सदस्यले भन्दा बाहिरका कोही पाहुनालेसमेत प्रवेश नपाउने नियम थियो ।”

 

राजा वीरेन्द्रले दरबारभन्दा बाहिरका पाहुना, नेताहरुलाई भेट्न भने मंगल सदन प्रयोग गर्ने गरेका थिए । तर, आज भने त्यो सदन अस्तित्वमा छैन । अहिले मंंगल सदन भत्काएर शौचालय बनाइएको छ । स्व. राजा वीरेन्द्र आफ्नो सदनबाट कार्यालय जाँदा आफ्नो झोला आफैं बोक्ने गरेको अधिकारी सुनाउँछन् । महेन्द्रको यो बानी उनमा पनि सरेको थियो ।

वीरेन्द्र आफ्नो सदनबाट हातमा झोला बोकेर लुरु–लुरु अफिस आउने गरेको सम्झन्छन् दरबारका त्यसबेलाका कर्मचारी । उनको पछि–पछि एकजना ‘एडीसी’ हुन्थे ।

“राजा महेन्द्रले त प्रधानपञ्चले चढाएको पत्रसमेत सचिवालयका सचिवले नखोलेर आफैं खोल्ने गरेका थिए,” राजाहरुको दैनिकीसँग भलिभाँती जानकार अधिकारी भन्छन्, “त्यतिबेला पाँचवटा सचिवालय थिए । प्रत्येक सचिवालयमा आएका पत्र संकलन गरेर आफू बस्ने ठाउँमा लगेर हेर्नुहुन्थ्यो र प्रत्येक पत्रमा के गर्ने भन्ने लेखेर सचिवालयमा दिनुहुन्थ्यो ।”

वि.सं. २०२० सालमा दरबारको कामको लागि दरबार प्रवेश गरेका अधिकारीले २०६३ मा मात्र अवकाश पाएका थिए । त्यसपछि उनी दरबार हेर्न नै भनेर पुगेका छैनन् ।

 

“हामीहरु राजाको पछाडि बसेर विभिन्न कार्यक्रममा सहभागी हुने गथ्र्यौँ” दरबारको पहिलेजस्तो रौनक कहाँ छ र ?” त्यसैले श्री सदन खुलेपछि पनि हेर्न जान मन नबनाएको उनी बताउँछन्, “राजाको समयमा पोसाकमा सजिएर रौनक देखेको मान्छे अहिले बनेको भूतबंगलाजस्तो दरबारको चोटाकोठा हेर्न के जाने ?”
हुन त उनी हिजोआज पनि महेन्द्र मञ्जिल भने जाने गरेका छन् । त्यहाँ उनी तत्कालीन मुमाबडामहारानी रत्न शाहको हेरचाहमा पुग्ने गरेका छन् ।

 

 

राजतन्त्रको अन्त्यपछि राजपरिवारका सबै सदस्यहरुले नारायणहिटी दरबार छोड्नुपर्‍यो । तर, रत्नलाई महेन्द्र मञ्जिलमा रहन अनुमति दिइएको छ ।

००० 

श्री सदनमात्र हैन, वीरेन्द्रको जीवनशैली पनि सादा थियो । वीरेन्द्रको सादा जीवन थियो भनेर बुझाउन उनले दिएको एउटै उदाहरण काफी हुन्छ । कुरा हो, वीरेन्द्रको राज्याभिषेक गर्नुभन्दा केहीअगाडिको । जतिबेला राजा वीरेन्द्रले अधिकारीलाई १२ जोर दौरा–सुरुवाल मर्मत गर्न दिएका थिए ।

“उहाँले दिनुभएको दौरामध्ये धेरैको त कठालो नै फाटेको थियो,” उनी भन्छन्, “मैले दौराको भित्री फेर काटेर मर्मत गर्न लगाएर उहाँलाई नै बुझाएको थिएँ ।” वीरेन्द्रले धेरैपटक ‘यो मलाई असाध्यै मनपरेको जुत्ता हो’ भन्दै जुत्तासमेत मर्मत गरेर लगाउने गरेको अधिकारी बताउँछन् । त्यतिबेलाको कुरा सम्झेर ‘नोस्टाल्जिक’ मुद्रामा अधिकारी थप्छन्, “मानिसहरुले सोच्छन्, राजाले त धेरै नै मोजमस्तीको जीवन बाँचेका छन् । तर, वीरेन्द्रले त टालेको जुत्ता लगाएको मैले देखेको छु ।”

 

 

ठूलो पानी परे डुबान हुन्थ्यो 

टुकुचामा ठूलो भल आउँदा श्री सदनअगाडिको चौरमा पानी जम्मा हुने गर्दछ । उनी भन्छन्, “श्री सदनको अगाडि घुँडासम्म पानी आउने भएर दक्षिणढोकाबाट पानीभित्र गएकोसमेत देखेको छु ।” त्यसरी पानी पर्दा दरबारमा ठूलै हल्लाखल्ला हुन्थ्यो । दरबारभित्रकै प्रयोगको लागि भनेर पालिएका ५००–६०० कुखुरा पानीमा डुबेर मरेको आफ्नै आँखाले देखेको उनी बताउँछन् ।

नेताहरुको व्यक्तिगत द्वेष र अदूरदर्शीताको कारण यस्ता ऐतिहासिक ठाउँहरु मासिँदै गएको अधिकारीको बुझाइ छ ।

उनी दरबारलाई संग्रहालय बनाउने राज्यको निर्णयलाई बेठिक भन्दैनन् । तर, भारतलगायतका देशहरुमा भएका दरबारलाई संग्रहालय, होटल बनाएर त्यसको केही रोयल्टी राजपरिवारले पाउने नियम छ भन्ने सुनेका छन् । त्यसैले उनी नेपालमा पनि संग्रहालयबाट उठ्ने रोयल्टीको केही प्रतिशत पूर्वराजपरिवारका सन्ततिहरुले पाउनुपर्ने बताउँछन् ।

 

 

तत्कालीन राजा वीरेन्द्रको सादा निवास अहिले २०० रुपैयाँको रंगिन टिकट काटेर अवलोकन गर्न सकिन्छ । श्री सदनसँगै वीरेन्द्रले प्रयोग गर्ने गाडी, हेलिकोप्टरसमेत सर्वसाधारणले अवलोकन गर्न पाउने गरी राखिएको छ ।

तस्बिर : सुनिल प्रधान र हरिश क्षेत्री

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement