site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
जोडी नेकपा हर्षपछिको विस्मात

सरकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जोडाइको परिणाम परीक्षण भएको छ । नेकपा (एकीकृत माक्र्सवादी र लेनिनवादी) र अर्को नेकपा (माओवादी) फुटेर दुई तीन टुक्रापछि बाँकी पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वमा ‘केन्द्र’ थपेर बनाइएको नेकपा (माओवादी केन्द्र)को विलयपछि नेकपा र यसको सरकार बनेको हो ।

जोडाइ उनीहरुका लागि फलदायी रह्यो । संसदीय निर्वाचनमा झन्डै दुई तिहाइ स्थान दिएर नेकपालाई बलियो सरकार बनाउने सौभाग्य मतदाताले दिए । राजनीतिक स्थिरता र विकासको नारा दिएर बनेको नेकपाले केही नयाँ र राम्रो गर्ला भन्ने नागरिकको अपेक्षा थियो । आठ, दस महिनामा सरकार परिर्वतन भइरहने कारण हुने अस्थिरताले विकास र जनआवश्यकता पूर्ति गर्न नसकेको नाराको प्रभाव मतदातामा पर्यो । 

नागरिक समाजमा पनि सरकारको अस्थिरता नै राजनीतिक अस्थिरता भन्ने बुझाइ बनेको थियो । सरकारको अस्थिरता र प्रणालीको स्थिरताबीचको भेदमा विमर्श नै हुन छाडेको थियो । सरकारको अस्थिरतालाई राजनीतिक व्यवस्थाकै कमजोरी भन्ने अर्थ दिने कोसिसले प्रजातान्त्रिक पद्धतिमाथि नै अविश्वास जगाउन खोजिएको पनि हो । दलहरुले नै यस्तो प्रभाव ‘क्वाइन’ गरेका थिए र नागरिक समाज पनि प्रभावित भएको थियो । यही कारण विकास अवरुद्ध भएको मानिन्थ्यो ।

Dabur Nepal
NIC Asia

राजनीतिक दलहरुको उद्देश्य तय गरिन्छन् । उद्देश्यअनुरुप नारा पनि तय हुन्छन् । खासगरी निर्वाचन ताका जनमतलाई आकर्षित गर्न दलहरुले विभिन्न आकर्षक नारा, घोषणापत्र सार्वजनिक गर्छन् । तिनको इमानदारी भने समयक्रममा देखिन्छ । नेकपाको सरकार र पार्टी आफ्ना पूर्व घोषित कार्यक्रम वा नारालाई क्रियान्वित गर्न असफल भएबाट उसको क्षमतासाथै इमानको परीक्षण यतिबेला पूरा भएको छ । 

नेकपाको जोडाइमा दुई प्रमुख रसायन थिए, छन् — पहिलो राज्यको साधन, स्रोतको हिस्सेदारीमा रजाइँ गर्ने लालच । दोस्रो विदेशको प्रेरणा । जोडाइमा सिद्धान्त शून्य थियो । यिनले व्यक्त गरेको सैद्धान्तिक पूर्वप्रतिबद्धता थाती राखेर नै जोडाइ सम्भव भएको हो । सिद्धान्त च्युत भएपछि राजनीतिको नाममा हिस्सेदारी नै प्रबल हुन्छ । यही कारण नेकपा विवादको विग्रहमा छ । वाह्य प्रेरणा वा दबाबी रसायनले कति थेग्छ र नागरिकका लागि त्यस्तो जोडाइ कति फलदायी हुन्छ त्यसको पनि परिणाम आइसकेको छ ।   

जुट्न पनि नसक्ने र फुट्न पनि डराउने अहिलेको नेकपा जुटेको नाटक होस् कि फुटेको यथार्थ दुवै प्रत्युत्पादक हुने प्रमाणित भएको छ । यिनको जोडाइको अनर्थ र अन्ततः देशका लागि बोझ हुने विचार यसै अनलाइन पत्रिकामा यो पंक्तिकारले सुरुतिरै व्यक्त गरेको हो । यी विचारमा आग्रह वा पूर्वाग्रह थिएनन् । राजनीतिमा विनासिद्धान्त गरिने हिस्सेदारीको जोडाइले दिने परिणामको विश्लेषण थियो । सँगै सुखद भविष्य निर्माण गरे नेकपालाई स्याबासी दिने मनसुवा पनि थियो । 

एमाले, माओवादी केन्द्रको जोडाइ अहिले नै अनर्थ वा बोझ साबित भएको छ । भारी भरकम मत प्राप्त सरकार राजनीतिक स्थिरता हो भन्ने नेपाली भाष्य अराजनीतिक पुष्टि भएको छ । प्रजातान्त्रिक राजनीति वा प्रणाली स्थिरताको लागि चाहिने मुख्य दुई सम्बल रहेछन् — राजनीतिक दल र प्रजातान्त्रिक संरचना, संगठनहरु ।

यहीँभित्र व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका पर्ने हुन् र कर्मचारी संयन्त्र पनि । दोस्रो, बहुलता स्वीकार गर्ने सहिष्णु नैतिक चरित्र । यी दुईको अभावमा स्थिर स्थितिको कामना व्यर्थ हुने रहेछ । नेकपाले दुवै प्रजातान्त्रिक सम्बलमाथि अवैध र अनपेक्षित हमला गरेकोले नै दुईतिहाइ सरकार पनि अस्थिर भएको हो ।

उदाहरण, हालै सम्पन्न अमेरिकी चुनाव परिणाम र राष्ट्रपति डोनाल्ड ट्रम्पको एकलकाँटे जिद्दी हो । राष्ट्रपति ट्रम्प आफैँले चुनावमा धाँधली भएको आरोप लगाए । अदालतहरुमा उजुरी दिए । कतिपय केन्द्रको पुनः मतगणना गराए तर उनको दाबी कतैबाट पुष्टि भएन । अन्ततः उनको दल रिपब्लिकनले पनि ट्र्म्पको जिद्दीमा उभिनु उचित ठहराएन । पर्यवेक्षकहरुले पनि ट्रम्पको दाबालाई असत्य घोषित गरे । आखिरमा ट्रम्प गले । यस्ता संस्थागत प्रयत्न हुन्थेनन् भने विजेता जो बाइडेनलाई सत्ता बाहिरै राखेर आफैँ स्थापित हुने ट्रम्पको सन्देश थियो । यहाँ नैतिकताको सम्बल भाँचिदै थियो तर बलिया संयन्त्रले जोगाए, जनमतको इज्जत बचाए ।

नेकपा र यसको सरकारले प्रजातान्त्रिक सम्बलमाथि जसरी अवैध वा अनपेक्षित हमला गरेको छ त्यसले प्रत्यक्ष निर्वाचित कार्यकारी माग्ने नेपालीहरुलाई पनि दीक्षासमेत मिलेको हुनुपर्छ । त्यसो त प्रत्यक्ष राजशाही र राणाशाही भोग गरेका नेपाली केही नेतामा प्रत्यक्ष कार्यकारीको मोह जाग्नु त्यस्तै बाटोको रोजाइ र खोजाइ हो ।

अहिलेका प्रधानमन्त्री केपी ओली प्रत्यक्ष निर्वाचित कार्यकारी (प्रधानमन्त्री वा राष्ट्रपति) थिए भने दाहाल र नेपालको (अधिनायकवादी ओली भन्ने) आरोप अनुसारै यिनीहरुको आफ्नै हबिगत तन्नम हुनेथियो । साथै राजनीति थप स्वेच्छाचारी हुने त कार्यशैलीले बताएकै छ ।

संसदीय व्यवस्थामा दलहरुको विभाजन अपेक्षित होइन तर केही सन्दर्भ यस्ता हुन्छन् जसले विभाजनलाई सही र अकाट्य पुष्टि गर्छन् । नेकपा यही विन्दुमा छ । विभाजन हुन्छ भन्ठानेर जनताले यति ठूलो मत नेकपालाई दिएका होइनन् । अविभाज्य एकता शक्ति मानेर दिएका थिए तर यिनले थेग्न सकेनन् । किनभने, यो एकता थिएन वा होइन बरु स्वार्थको गठबन्धन र जोडाइ हो । यो जुटाइ र फुटाइ सँगसँगै घुलित अन्तरङ्ग बेमेल रसायन छुट्टिनु नै श्रेयश्कर हुन्छ । छुट्टिने दुई शक्तिबीच नैतिक र श्रेष्ठ बन्ने स्पर्धाले असल सम्भावना उद्घाटित गर्नसक्छ र जनताले रोज्न विकल्पसमते पाउनेछन् । 

सिद्धान्तहीन गठजोडमा बाँधिएका सरकारी नेताहरुबीच  पहुँचमा हिसाबकिताब नमिल्दा उत्पन्न ताउरमाउरले देश र जनताको सर्वाङ्ग नोक्सान गर्दैछ र गर्नेछ । यस्तो अत्यास लाग्दो अवस्था ल्याउने नेकपाको एकता (?) को अपेक्षा केका खातिर गर्ने ? यस्तोभन्दा त बरु अलगअलग बाटो नै सफा होला, बनाउन पनि सक्लान् । भागबन्डाको झगडालाई अहिले आएर सिद्धान्तको जलप दिने प्रयत्न जोडाइ अघि गरेको भए एकता मानिन्थ्यो । लाज छोप्ने त्यो टालो उहिल्यै फुस्किएको हो । 

नेकपा सरकारको अकर्मण्यता र ‘कथित’ गणतन्त्र पक्षधर दलहरुको असफलताकै परिणाम यतिबेला ‘राजा आऊ देश बचाऊ नारा’ सहर बजारमा घन्किन प्रोत्साहित भएको छ । गाउँघरमा पनि यसको रन्को पुगेको साथीहरु सुनाउँछन् । आफैँलाई बचाउन नसकेका राजाले देशलाई बचाउन सक्ने हुन् वा होइनन् नारा लगाउनेलाई के थाहा ? तर राजावादीहरु (राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत) उत्साहित भएका छन् । 

नेकपाको झगडा राजावादीका लागि परोक्ष मलजल हो कि नेपाली कांग्रेसको अकर्मण्यता बीउबिजन ? सीमान्त जनता सुविधासम्पन्न, सुरक्षा र स्वतन्त्रताभन्दा अन्य आग्रहसँग प्रायः निरपेक्ष नै हुन्छन् । राजनीति (दल)ले जनताको यही भावलाई नाफामा बदल्ने हो ।  

यहाँनिर राष्ट्रपति महोदयाले पनि आफ्नो भूमिकाको समीक्षा गर्नुपर्ने सन्देश छ । गणतन्त्रको महत्वपूर्ण ‘सिम्बोल’ राष्ट्रपति हो । जुनसुकै पार्टीबाट आए पनि राष्ट्रपति साझा धरोहर बन्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्यक्ष दलीय भूमिका निर्वाह गर्दा गणतन्त्रप्रति अविश्वास प्रकट गर्ने वा राजतन्त्रप्रति मोह जगाउने हिम्मतले सडकमा मार्ग पाएको हो ।             

अर्को एउटा संयोग छ । हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षबद्र्धन शृंगलाको मन्तव्यको सन्देश । उनले एक प्रवचनमा भने –‘पृथ्वीनाराण शाहले एकीकृत गरेको नेपालको भ्रमणमा आउन पाउँदा म हर्षित छु ।’ शब्द उनका तर तात्पर्य यही हो । यस्तो भनाइको कुनै राजनीतिक गुढार्थ सन्देश पनि छ कि ? 

राजावादीको जुलुसको अर्को नारा २०४७ सालको संविधान बिउँताउने सुनिन्छ । यसको सन्देश नेपालको चुच्चे नक्सा बोकेको वर्तमान संविधानमाथि थप भारी थपिएकै बुझ्न सकिन्छ । यसैबीच दक्षिण, उत्तर छिमेकको ‘देखा अनदेखा’ स्पर्धामा यहाँको उँट कुन कोल्टो बस्छ कुन्नि ?  

नेपाली वर्तमान राजनीतिमा प्रकट छायाछवि यस्तै छन् तर परिणाम अन्तरगर्भमा । नेकपा र यसको सरकारको अकर्मण्य असफलता नै अहिलेको परिदृश्यको मुख्य कारक हो । अनिष्टको कारक जुटेको भनिने नेकपाको रामरमिता हो ।  फुटे भने आउने निकट घर्षणको उत्पादन चाँडै नै राम्रो देखिनेछैन । रमिताभन्दा फुटेपछि क्रमशः बस्ने स्वच्छस्पर्धाको अपेक्षाले नयाँ सम्भावना खुल्छ कि भन्ने चाहिँ हो । नेकपा अहिले फुटभित्रको जोडाइमा रहनु वा पृथक दुई दल बन्नुमा तत्काललाई प्रत्युत्पादक रगडाइ हुने अनुमान गर्नसकिन्छ । भविष्य वर्तमानकै भोगाइ बनेर आउने नै छ ।    
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro