पोखरा । कात्तिक १७ गते मंगलबारको सूर्योदयले आफ्ना किरणको ताप बलियो नबनाउँदै शान्तिघाटमा सूर्यबहादुर केसी (सीताराम) को इहलीला समाप्त भयो । उनै सूर्यबहादुर, जो प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, पोखराबाट सुरु गरेर दक्षिण एसियामै पहिलोपटक चाउचाउ उद्योगको जग बसाल्ने व्यक्ति, समाजसेवी भनेर चिनिन्थे । सोमबार राति साढे १० बजे निवासमै उनले प्राण त्यागे र मंगलबार उनको भौतिक अस्तित्व शान्तिघाटमा विसर्जन भयो । निधन भयो ।”
नचिन्ने कोही थिएनन्, चिन्नेले आफ्नै तरिकाले उनलाई सम्झिए ।
उनका हरेक क्षेत्रका आफ्नै कथा बन्छन् । कसरी चाउचाउको उद्योग सुरु भयो, कसरी राजनीतिमा लागे, राजासँगको उठबस अनेक अनेक ।
इगोले राजनीतिमा
मंगलबार उनको अन्त्येष्टि हुँदासम्म उनी बहालवाला प्रतिनिधिसभा सदस्य थिए । नेपाली कांग्रेसको समानुपातिक कोटाबाट निर्वाचित । प्रतिनिधिसभा सदस्य हुनुपूर्व उनी पहिलो संविधासभा निर्वाचनबाट संविधानसभा सदस्य पनि भए । तर, राजनीतिमा चासो उनमा विद्यार्थीकालबाट भने थिएन । पिता निर्माण व्यवसायी भएको हुँदा उनी पनि सोही व्यवसायतर्फ ढल्किएका थिए ।
लामो समय केसीसँग संगत गरेका अधिवक्ता दुर्गाप्रसाद कोइराला (जो केसीका कानुनी सल्लाहकारसमेत थिए) सम्झिन्छन्, “प्रधानपञ्चदेखि प्रतिनिधिसभा सदस्यसम्मको राजनीतिक यात्रा ।” उनै कोइरालाले केसीको पञ्चायतकालीन राजनीतिक जीवनबारे बताए ।
“त्यतिबेलाका प्रधानपञ्चले केसीको हालको वडा नं. १५ मा पर्ने घरको नक्सापासको काम रोकिदिए । बाटोमा पर्छ भनेर । त्यसपछि केसीले जवाफ फर्काए, भोलि म यही पदमा आउन सक्छु । मेरो नक्सापास नगर्ने ?” यही इगोबाट उनी राजनीतिमा प्रवेश गरे । यो २०४१ सालको कुरा हो ।
वडा नं. १५ मा घर बनाउन लागेका थिए । प्रधानपञ्च उत्तम पुनले नक्सापास गरिदिएनन् ।
त्यतिबेलाका प्रधानपञ्च उत्तम पुनलाई दुइवटा मुद्दा प¥यो । स्याउलीबजारको बाटो र रामबजारको बाटोको केस । त्यही मुद्दाले गर्दा उपनिर्वाचन भयो । प्रतिष्पर्धीमा उनै उत्तम पुन उठे । प्रतिद्वन्द्वी थिए, सूर्यबहादुर केसी । उक्त निर्वाचन केसीले ४२ सय मतान्तरले जिते । पुन चाहिँ राष्ट्रिय पञ्चायत सदस्यतर्फ लागे ।
त्यसको दुइवर्षपछि फेरि पूर्ण कार्यकाल नगर पञ्चायतको चुनाव भयो । उनले २०४३ को चुनावमा काजीमानलाई भारी मतान्तरले पराजित गर्दै दुई कार्यकाल प्रधानपञ्च बने । त्यो पनि कम उमेरको इतिहासका सहित । २७ वर्षमा उनी नगरपञ्चायतको प्रधानपञ्च बन्ने कान्छो उमेदवार थिए । प्रधानपञ्च बनेपछि वडा कार्यालय, मुखिया राख्ने काम उनैले सुरु गरेका हुन् ।
उनै पूर्वनगर प्रमुखको सम्मानस्वरुप पोखरा महानगरपालिकाले एकदिन सार्वजनिक बिदा दिएको छ । २०४१ को उपनिर्वाचन र २०४३ मा गरि दुई कार्यकाल केसी प्रधानपञ्च भए । २०४६ सालमा पञ्चायत सकियो ।
यो त भयो– नगरपञ्चायतको चुनाव ।
त्यसपछि उनी लागे प्रतिनिधिसभा निर्वाचनतर्फ । बहुदलमा गइसकेपछि भने उनले प्रत्यक्षतर्फका चुनाव जितेनन् । २०५१ मा भने उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचनमा उठे । तत्कालीन कास्की २ बाट प्रत्यक्ष चुनाव लडेका केसी त्यतिबेला भने ११ हजार मतसहित तेस्रो बने । त्यसपछि भने उनले प्रत्यक्षतर्फको चुनाव लडेनन् । तर, दुई–दुईपटक समानुपातिक सांसद बने । राप्रपाकै तर्फबाट २०६४ सालमा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए ।
पछिल्लोपटक उनी २०७३ सालमा राप्रपाबाट बाहिरिएर कांग्रेस प्रवेश गरे । आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसी समानुपातिक सांसद समेत थिए । केसी वंशमा कसैलाई सुगरको रोग छैन । कानुनी सल्लाहकारसमेत रहेका कोइराला भन्छन्, “उहाँसँगै मैले पनि सुगरको औषधि सेवन गरिरहेको छु । उहाँलाई कोक र फ्यान्टाले नै सुगर भएको हो । २०४०–०४१ सालमा कोक आयो । उहाँ पहिलोपकट प्रधानपञ्च बन्नुभएको थियो । त्यतिबेला कोक र फ्यान्टा खाने मान्छे ठुलो हुन्थ्यो । क्रेटका क्रेट ल्याइयो ।”
२०५१ सालदेखि सुगरको औषधि खान थाले ।
कलाकार प्रजापती पराजुली केसीका स्वकीय सचिव थिए । उनले केसीका छोराहरुलाई सावाँ अक्षर चिनाए । उनी सम्झिन्छन्– मलाई पैसा कमाउने तीनवटा विकल्प दिनुभएको थियो ।”
“नेपालगञ्ज कोहलपुरको बाटो पिच गर्ने ठेक्का थियो । मैले सक्दिन भने गइनँ । त्यसपछि नगरपालिकामा नगर प्रहरी बनाउने र असइमा जागिर खुवाउने भन्नुभयो । मैले सलुट गर्न जानिनँ । त्यसपछि नगरपालिकाको अस्थायी टहरा बनाएर बस भन्नुभयो, मेरो आफ्नै घर थियो मानिन । उहाँहरु सबै मिलेर पछि साझा खाद्यमा काम गरेँ ।”
केसीलाई चुनावमा जिताउन करुवामा भोट हाल भन्दै गीत गाएको उनी सम्झिन्छन् ।
दोहोरी बचाउनुपर्छ भनेर अन्तरनगरपालिकास्तरीय दोहोरी गीत आयोजना गरियो । राजा वीरेन्द्रको जन्मोत्सवमा फाइनल गर्ने भनेर नगरपालिकाले निर्णय नै गरेर बजेट समेत छुट्याएको थियो ।
राजा वीरेन्द्रले भने–आफैँ उद्घाटन गर
चार वर्षअघि कांग्रेसमा प्रवेश नगर्दासम्म उनी राप्रपामा थिए । राप्रपाका केन्द्रीय कोषाध्यक्ष समेत रहेका केसीलाई राजावादी भन्थे । हुन पनि उनको राजासँगै पारिवारिक सम्बन्ध थियो । निकट सम्बन्धका कारण तत्कालीन राजा वीरेन्द्रले यतिसम्म भनेका थिए, “उद्घाटन कार्यक्रममा म आउँदिन मेरो तर्फबाट तिमीले नै गर ।”
झन्डै एमाले भइसकेका थिए ...
बहुदल आइसकेपछि राप्रपाबाट चुनाव लडेका केसीले पहिलो निर्वाचनमा पराजित भए । २०५१ को मध्यावधि निर्वाचनमा उनी तेस्रो भएका थिए । त्यसपछि २०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन भयो । उनलाई पार्टीमा भित्र्याउन सबैको कसरत थियो नै । २०५६ को निर्वाचनमा उनी एमालेबाट चुनावमा लड्ने व्यापक हल्ला थियो । केसी आफै पनि तत्कालीन एमालेमा प्रवेश गर्न तयार थिए । तर, पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाल आउन भ्याएनन् । झन्डै एमाले भइसकेका केसी राप्रपामै रहे ।
कोइराला भन्छन्, “२०५५–०५६ सालमा माधवकुमार नेपाल पोखरा आएको भए उनी उहिल्यै कम्युनिष्ट भइसक्थे । एमालेमा जाने निश्चित थियो । त्यतिबेला टिकट उनले पाउने भन्ने थियो । माधवकुमार नेपाल आएनन । निर्वाचनमा टिकट पाउने कुरा थियो ।”
माओवादीसँग उनको सँधै विपरीत सम्बन्ध रह्यो । त्यतिबेला क्षेत्रबहादुर केसीलाई माओवादीले गोली प्रहार गरेका थिए । २०६२–०६३ मा क्षेत्रबहादुरको निधन भएपछि उनलाई ज्यानको धम्की आयो । जेठा छोराको विवाहको पार्टी कार्यक्रममा उनी उपस्थित नै भएनन् ।
चाउचाउका पायोनियर
चिरानी व्यवसायीबाट अघि बढेका केसी परिवारको अहिले चाउचाउ, हाइड्रोलगायतमा लगानी छ ।
राजनीतिका यी पक्षबाहेक उनी एक सफल उद्योगी पनि हुन् । जसले पोखरामै उद्योग खोले, जुन दक्षिण एसियाकै पहिलो समेत हो । अहिले जसरी रारा चाउचाउ सबैको मुखमा झुन्डिएको छ, त्यसलाई स्थापना गर्न उनले फलामकै च्युरा चपाउनुपरेको थियो । पोखरामा चाउचाउ पाइँदैनथ्यो । ३० को दशकको कुरा हो ।
लाहुरेको सहर पोखरामा छुट्टीमा आएका लाहुरेहरुले विदेशबाट चाउचाउ बोकेर आउँथे । त्यसको स्वादमा केसी पनि लट्ठिए । सँधै नपाइने भएपछि पोखरामै किन उत्पादन नगर्ने भन्ने सोच आयो ।
पूँजी थिएन । उद्योग खोल्छु भन्दा पत्याउने पनि कोही भएनन । आफ्ना सहपाठीसँग कुरा गरे । कुरा मिल्यो व्यवसायी फणिन्द्रमान श्रेष्ठ, कृष्ण आचार्यले गण्डकी नूडल्समार्फत सिन्के चाउचाउ उत्पादन गर्ने भए । तर, उद्योग घाटामा गए । बुबा निर्माण व्यवसायी थिए । सोही व्यवसाय सिकेका केसीले २०३० मा केसी कन्स्ट्रक्सन स्थापना गरेर निर्माण व्यवसायलाई नयाँ गति दिएका थिए ।
केसीले सोही समूहसँग साझेदारीमा वि.सं. २०३४ असारमा उत्पादन भयो रारा चाउचाउ । यो बेला केसीको राइसमिल पनि सञ्चालनमा आएको थियो । गण्डकी नूडल्सबाट रारा चाउचाउ हिमश्री फुड्समार्फत उत्पादन हुन थाल्यो । चाउचाउ उत्पादनका लागि कम्पनीले नेपाल औद्योगिक विकास निगमबाट ३५ लाख रुपैयाँ ऋण लिएको थियो । १५ लाख रुपैयाँ केसीसहितको समुहले जुटाएको थियो ।
त्यतिखेर रारा चाउचाउमा ३० जनाको सेयर रहेको थियो । २०५८ सालसम्म आइपुग्दा उनीसँग रहेका अरु साझेदारहरु सबै बाहिरिए । ५० लाख रुपैयाँबाट सुरु भएको चाउचाउ उद्योगमा अहिले १ अर्ब रुपैयाँभन्दा बढि लगानी भैसकेको छ ।
रारा चाउचाउ स्थापित भैसकेपछि भारतको म्यागी चाउचाउले रारा चाउचाउ खरिदका लागि प्रस्ताव गरेको थियो । तर केसीले उद्योग बेच्न मानेनन् । त्यो बेला अरु साझेदारले बेच्न चाहिरहेका थिए । यहि विषयमा मतभिन्नता हुँदा त्यहि बेला केहि साझेदारले कम्पनी छाडिसकेका थिए । सूर्यबहादुरले भन्ने गर्थे विनोद चौधरीले पनि रारा चाउचाउ खरिद गर्न चाहेका थिए । उनले बिक्री नगरेपछि चौधरीले वाइ वाइ चाउचाउ नेपालमा भित्राए । केसीले चाउचाउ उद्योगलाई मात्र स्थापित गरेनन् । जलविद्युत्, निर्माण व्यवसाय, हाउजिङ्ग, बैंक, हस्पिटालिटी क्षेत्रलाई पनि स्थापित गराए ।
केसीले सन् २००५ मा हाइड्रोपावर क्षेत्रमा लगानी गरेका थिए । ४.८ मेगावाटको गण्डकी हाइड्रोपावरबाट सुरु गरेर १ मेगावाटको टास्क हाइड्रोपवार, १३ मेगावाटको सिकलेस हाइड्रोपावर, ४.५ मेगावाटको भगवती हाइड्रोपावरमा लगानी गरेका छन् । अप्पर मादी, अप्पर सेती, विजयपुर–२ जलविद्युत आयोजनामा समेत उनको लगानी छ ।
केसी ग्रुपअन्तर्गत हिमालयन गल्फ कोर्स, केसी हाउजिङ्ग, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ्ग कलेज, कालिका मल्टिप्रपोज कलेजमा लगानी छ ।
सूर्यबहादुरले पोखरालाई नै आधार मानेर राष्ट्रिय स्तरको बाणिज्य बैंक माछापुच्छ्रे बैंकलाई स्थापना गरेका थिए । माछापुच्छ्रे अहिले नेपालको बलियो बैंकमध्ये एक हो । केसी गु्रपको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेमा पनि लगानी रहेको छ ।
बैंक तथा वित्तीय संस्थाबाहेक केसी गु्रपअन्तर्गतका कम्पनी र उद्योगमा ९०० बढीले रोजगारी पाएका छन् ।
कृष्ण आचार्य स्मरण गर्दै भन्छन्, “पोखराको पहिलो निर्माण व्यवसायी । म त्यतिखेर यातायात व्यवसायलाई छोडेर पोखरामा होटेल व्यवसाय थालेको थिएँ । मैले होटेल बनाउन सुरु गरेदेखि नै उहाँको र मेरो कुरा मिल्थ्यो । उहाँको घरमा काठको मिल थियो । मैले घर निर्माण गर्ने बेलामा काठको मिलमा काठ चिराउन जाँदा आउँदा बुबाहरुले हामी पनि साथीहरु हौँ, तिमीहरु पनि मिलेर काम गर्नुपर्छ भन्नुभयो । त्यही क्रममा दोस्ती बढ्दै गयो ।”
सम्बन्धित समाचार
रारा चाउचाउसँग जोडिएको १८ वर्षको सम्बन्ध