प्रजातन्त्र भन्न जति सजिलो छ यसलाई जीवन पद्धति बनाउन त्यत्तिकै गाह्रो । भनिन्छ – प्रजातन्त्र राजनीतिक दर्शन वा शासकीय प्रणालीमात्रैमा सीमित हुँदैन बरु उच्च आदर्श र जीवन पद्धति पनि हो प्रजातन्त्र । प्रजातान्त्रिक सोचको विशद विकास क्रमले मानिससँगको सम्बन्धमा मात्रै सीमित नभएर समग्र जीव र प्रकृतिसँग समेत न्यायपूर्ण व्यवहारको अपेक्षा आत्मसात गरेको हुन्छ ।
प्रजातन्त्र स्वतन्त्रतासँग अविच्छिन्न मानिन्छ त्यत्तिकै लचिलो राजनीतिक प्रणाली पनि । प्रत्येकको अस्तित्वको सम्मान र बहुल विचारहरुको समावेशी संयोजन हुने कारण प्रजातन्त्र सर्वोत्कृष्ट राजनीतिक दर्शन मानिएको हो । अरुको कुरा सम्मानसाथ सुन्ने, आलोचनाप्रति पनि सहिष्णु र क्षमाशील संस्कारलाई जीवन पद्धति बनाउन सक्नेहरुलाई नै प्रजातन्त्रको अनुशरण गर्ने राजनीतिज्ञ मानिने हो । यो काम चाहिँ बडो गाह्रो रहेछ ।
भन्छौँ प्रजातन्त्र तर जीवन बोधमा यसका मान्यतालाई कति अपनाएका छौँ ? स्वयंसँग पनि गरिनुपर्ने प्रश्न हो । स्वयंलाई उत्तर दिनुपर्ने पनि हो । प्रश्न ज्ञान भनियोस् कि जानकारी दिने यस्तो स्रोत हो जसको अभावमा मानिस र अन्य जीवबीच भेद बाँकी रहँदैन । प्रजातन्त्र प्रश्न सोध्न सक्ने र उत्तर पाउने हैसियतसँग सम्बन्धित छ । व्यक्ति र नागरिक समाजको प्रश्न सुन्ने वा मनासिब उत्तर दिने धैर्य वा क्षमता नहुनेलाई प्रजातन्त्रवादी मान्न सकिँदैन ।
यस्ता केही वैशिष्ट्यमा आधारित रहने लोकतान्त्रिक वा प्रजातान्त्रिक मानिएको नेपालको राजनीतिलाई मूल्यांकन गर्दा उल्टो गति,मति फेला पर्छ । प्रणाली प्रजातान्त्रिक, कार्यशैली अप्रजातान्त्रिक । बोलीमा प्रजातन्त्र व्यवहार चाहिँ ठीक प्रतिकूल !
संगठित स्वतन्त्र राजनीतिक दलहरु प्रजातन्त्रको बहुल मान्यताका आधार मानिन्छन् । अहिले कुनै एक होइन नेपालका सबै दलहरुको कार्यशैली प्रजातन्त्रअनुकूल देखिएको छैन । बुझ्न पनि नसक्ने, बुझाउन पनि नसक्ने, आफ्नै धुनमात्र फलाक्ने तरिका यहाँ छ । कुनै दलको प्रशिक्षित अवधारणा नै स्वयंमा प्रजातन्त्रविपरीत छ जस्तै कम्युनिस्ट ।
प्रजातान्त्रिक आदर्शलाई राजनीतिक दर्शन बनाएको नेपाली कांग्रेसको आचरणसमेत प्रजातान्त्रिक विधि अनुकूल छैन । हुकुम र स्वेच्छाचारिताले ग्रस्त पार्न खोजिएको देखिन्छ कांग्रेसलाई । उदाहरणका लागि स्थानीय वा केन्द्रीय निर्वाचनमा अन्य दलका केही उम्मेदवारलाई मत दिन पार्टी कार्यकर्तालाई विगतमा बाध्य पारिँदा पार्टी विधि र पद्धति अपनाइएन । नेतृत्वले एउटा पत्र दिएर यस्तो निर्देशन दियो । कार्यकर्ताको सुनुवाइ भएन । चुनावको मुखमा यस्ता निर्देशनको प्रतिवाद गर्दा आफँैलाई अप्ठ्यारो पर्छ कि भन्ने ठानेर कसैले प्रतिवाद पनि गरेन । पत्रले आफ्ना कार्यकर्ताको टिकट खोसेर मत अरु दलकालाई दिइएको के उपलब्धि भयो ? परिणाम मूल्यांकन पनि गरिएन ।
लिखित त छोडौँ, पराजयको मौखिक जिम्मा पनि कसैले लिएन । दायित्वको हैसियतले जिम्मा धेरथोर सबैको थियो होला तर नेतृत्व सबैभन्दा बढी जिम्मेवार मानिनुपर्ने हो । स्वयंको नेतृत्वमा सम्पन्न चुनावको परिणामप्रति सभापतिले जिम्मा लिनुपर्ने थियो । नेपालको सन्दर्भमा यस्तो जिम्मा सहज स्वीकार्दा पद छोड्नुपर्ने पनि होइन । सामान्य प्रजातान्त्रिक चरित्र पनि देखाइएन । दोषजति अरु वा सबैको टाउकोमा थोपरेर नेतृत्व चाहिँ पानीमाथि ओभाने हुने शैलीमा प्रजातान्त्रिक चरित्रको खोजी सिउँडीमा कमल फूलको अपेक्षाजस्तै हुने भयो ।
म्याद गुज्रिएपछि पार्टी विभागहरुको एकतर्फी गठन, लामो समयसम्म भातृ संस्थाहरुमा तदर्थवादी नियुक्ति, घोषित महाधिवेशन अन्योलजस्ता नेतृत्व सिर्जित समस्याले कांग्रेसको प्रभावशाली भविष्यको कल्पनासमेत दुरुह भएको छ । भन्दा जहाँ वा जसलाई लाग्छ त्यहाँ विरोधीको आरोप लगाइदिने सहज उत्तर नेतृत्वसँग छ । मर्मप्रति संवेदना देखिँदैन, असहिष्णु प्रहार आइलाग्छ । यही कारण धेरैले विवेकमा बिर्को लगाउन थालेका छन् ।
प्रजातान्त्रिक भनिने नेपाली कांण्ग्रेसको हबिगत यस्तो निराशाजनक छ भने अरुको के कुरा गर्नु ? सरकारधारी कम्युनिस्टलाई प्रजातान्त्रिक सन्दर्भसँग जोडी हेर्नु दार्शनिकरुपले पनि गलत हुन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार र दलको हबिगत जगजाहेर भइसकेको छ । दार्शनिकरुपले कम्युनिस्टहरु प्रजातन्त्र विरुद्ध हुन्छन् वा हुन सक्छन् । अनौठो भएन ।
फरक त नेपालको संविधानले निर्धारण गरेको प्रणाली प्रजातान्त्रिक हो । निर्वाचित संविधान सभाबाट बनाइएको संविधानमा जनभावना प्रतिविम्बित मानिन्छ । यही संविधानले निश्चित गरेको प्रणाली अनुसार नै नेपालमा कम्युनिस्ट सरकार बनेको हो । संविधानले बनेको वा जन्मिएको सरकारले त्यही अनुकूल काम गर्नुपर्ने विश्वास हो तर प्रजातन्त्रको दोहन, दमन सुरु गरेको छ ।
प्रजातन्त्र लचिलो राजनीतिक व्यवस्था हो जसमा झुक्याउने र झुक्किने दुवैलाई अवसर मिल्ने रहेछ । नेपालमा यही भयो । नेपालमा मात्रै किन ? अहिले हेर्दा अमेरिका पनि लचिलो प्रणालीको कठोर फसादमा देखिन्छ । विश्वको पुरानो र सबल मानिएको अमेरिकाको प्रजातान्त्रिक प्रणालीको लचिलो धरातलमा फसाद सिर्जना गर्ने डोनाल्ड ट्रम्पको राष्ट्रपतिमा उदय यही पद्धतिबाटै भएको थियो ।
हालै त्यहाँ सम्पन्न निर्वाचनमा राष्ट्रपति ट्रम्प पराजित भए तर उनी पराजय स्वीकार्न तयार छैनन्, जनमत स्वीकार गर्न तयार देखिँदैनन् । यही हो, शक्ति सम्पन्न मुलुकको प्रजातान्त्रिक प्रणालीमा पनि अप्रजातान्त्रिक चरित्र । लचिलो प्रणालीमा डोनाल्ड ट्रम्प हठी नमुना उदाहरण बन्दैछन् ।
राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका प्रतिस्पर्धी उम्मेदवार जो बाइडेनले रिपब्लिकनका ट्रम्पलाई पराजित गरेका हुन् । पपुलर (लोकप्रिय) मत र इलेक्टोरल (प्रतिनिधि) दुवैतर्फको मतमा बाइडेन धेरै अगाडि छन् । निर्वाचन पर्यवेक्षकहरुले धाँधलीको कुनै घटना नदेखिएको बताइरहेका छन् । ट्रम्पले चाहिँ स्पष्ट जनमतलाई धाँधलीको आरोपमा कानुनी चुनौती दिने अड्डी कसेका छन् ।
ट्रम्पले त स्वीकार गरेनन् रे तर लामो प्रजातान्त्रिक अभ्यास गरेको उनी सम्बद्ध पार्टी रिपब्लिकनको लाचारी पनि अमेरिकी प्रजातन्त्रको लज्जा भएको छ । विश्वको निर्वाचन प्रक्रियामा सबैभन्दा जटिल अमेरिकी प्रक्रिया मानिन्छ । यही प्रक्रिया पार गरेर स्पष्ट जनमतले बाइडेनलाई जिताएको रिपब्लिकन पार्टीले सहर्ष स्वीकार गरेको भए विश्वमा अमेरिकी प्रजातन्त्रको लाज पनि जोगिने थियो र ट्रम्पको दम्भ पनि हार्ने थियो । रिपब्लिकनको प्रतिबद्धतामा समेत प्रश्न उठ्ने थिएन ।
स्वाभाविक प्रजातान्त्रिक अभ्यास निर्वाह गर्न पनि त्यहाँको रिपब्लिकन पार्टी चुकेको छ । परिणाम ट्रम्पले विभाजित गरेको अमेरिकी समाजलाई थप असभ्य ध्रुवीकरणमा धकेल्नेछ । प्रजातन्त्र मात्र भन्ने तर यसको मर्मलाई राजनीतिक जीवन पद्धति नबनाएको दुष्परिणाम अहिले अमेरिकामा देखिएको छ ।
ट्रम्पको फसादबाट अमेरिका कहिले कसरी मुक्त हुन्छ प्रतीक्षाकै विषय बन्यो । सामयिक प्रजातान्त्रिक विश्वमा प्रजातन्त्रको दोहनको सबैभन्दा ‘कुरीकुरी’ उदाहरण अमेरिकामा बनेको छ । भनिन्छ, मानिस राजनीतिक प्राणी हो । ट्रम्प राजनीतिक प्राणी हुन्थे भने यस्तो लाजमर्दो अड्डी पक्कै लिने थिएनन् । अड्डी लिन त्यहाँको प्रजातान्त्रिक नियम कानुनले देला तर कुनै राजनीतिक प्राणीले प्रजातन्त्र निःसृत जनमतको ठाडै उपेक्षा गर्ने कल्पनासम्म पनि हुन सक्दैन ।
यस्ता केही उदाहरण छन् जसले प्रजातन्त्र भन्नमात्रै सजिलो काम प्रतिकूल देखिने । सुन्दा पनि राम्रो लाग्ने तर जीवन दर्शन बनाउन गाह्रो प्रजातन्त्रलाई अप्रजातान्त्रिक चरित्रको सिकार बनाइँदै छ, नेपाल पनि यही बाटोमा छ । सावधान !