site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
कांग्रेस सच्चिए देश सुध्रिने सम्भावना

‘देश बिग्रदै छ ।’ यो कुनै आग्रही वा पूर्वाग्रही भनाइ होइन । लाभ प्राप्त राजनीतिक कार्यकर्ताबाहेक गाउँघरका सामान्य व्यक्तिदेखि देश बुझ्ने सबैले व्यक्त गर्नथालेको चिन्ता हो । देश भनेको मूलतः जनता हुन् । देश बिग्रनु जनताको अवस्था बिग्रनु हो । जनजीवन अहिले र आगामी दिनको समेत कुनै उज्यालोप्रति विश्वस्त हुन नसक्नु नै देश बिग्रनु हो, स्थिति बिथोलिनु हो । किन देश बिग्रियो, स्थिति बिथोलियो ? 

जनता नभएको देश हँुदैन । देश नहुने जनता हुन्छन् । हिटलरी नाजी व्यवस्थाले मारेर बचेका यहुदी ‘इजरायली’ले  इजरायल देश बनाए । जनतापछि बल्ल माटो हो, भूखण्ड हो । जनता बिग्रिए असुरक्षित हुन्छन् र असुरक्षित नागरिकमा भूखण्डप्रतिको देशभक्ति बेवास्तामा पर्न थाल्छ । राष्ट्रवादको चर्को नाराले पनि बिथोलिएको देश समाल्न सकिँदैन ।

अहिलेको चिन्ता देश बिग्रदै छ । केही भौतिक संरचना र कथित गौरवका आयोजना बखानेर बिग्रिएको छोपिँदैन । यस्ता संरचना विकासको ‘पूर्णाद् पूर्णमिदम्’ पनि होइनन् । समयक्रममा क्रमशः हुने काम हुन् । जहानियाँ भनिने राणा शासकले पनि अहिलेको देश बचाए । चन्द्र ज्योति (फर्पिड्.मा चन्द्र शम्शेरले बनाएको विद्युत् गृह ) निकाले । जुद्ध सडक बनेकै हो । त्रिचन्द्र कलेज वा भानु (दरबार) स्कूल बनेकै हुन् । राणाको नाम जोडिएर कैयन् स्कुल, पुस्तकालय बनाइएका थिए । तनहुँ बन्दीपुरको पद्म पुस्तकालयजस्ता । 

Dabur Nepal
NIC Asia

नब्बे सालको विध्वंशक भुइँचालोको बेला उद्धार, सहायता र पुनर्निर्माणमा राणा शासकले देखाएको कौशल अहिले पनि स्मरणीय छ । प्रजातन्त्र मासेर राजा महेन्द्रले ल्याएको निर्विकल्प भनिएको पञ्चायती व्यवस्थामा पनि केही भौतिक पूर्वाधारको काम भए । नेपाली जनता के यिनै पूर्वाधारलाई देखेर सन्तुष्ट भए वा यसलाई नै विकास ठाने ? त्यसो ठान्थे भने सम्भवतः अहिलेसम्म राणा नै शासक रहन्थे वा पञ्चायत फालिने थिएन । 

विकास नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो । नागरिक आफ्नो जीवनको प्रभावसँग विकास जाँच्छ । विकास राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक न्यायसँग अविच्छिन्न छ । प्रत्येकको भौतिक र बौद्धिक उन्नयनसँग विकास जोडिन्छ । स्वतन्त्रता र सम्मान नागरिकको हक हो । 
केही भौतिक बनावटले नेपालीको चौतर्फी विकासको तीव्र मागलाई परिपूर्ति गर्न सम्भव छैन । विकासले यतिबेला कुनै छलाङ् मारेको पनि छैन, नयाँ चिन्तन पाएको पनि छैन । बिग्रिएको यस्तो बेला ‘आकाशको फल आँखा तरी मर’ भन्ने खालको विकासे गफको गुड्डी हाँकले कि मर्ममा चोट पार्छ कि हाँसो फुट्छ तर विकासको मूल फुट्दैन । नेपालको अहिलेको परिदृश्य यस्तै यस्तै छ । 

यस दुरवस्थाका लागि दोषी नेपाली कांग्रेस हो । यसको नेतृत्व हो । कांग्रेसले बाटो बिराउँथेन भने देश यति धेरै बिग्रने थिएन । चुनावको मुखमा आईजीपी (प्रहरी महानिरीक्षक) नियुक्ति विवाद । प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव दर्ताजस्ता ‘आवेगपूर्ण’ निर्णयले कांग्रेस समर्थक स्वतन्त्र जनमत निराश भयो र  ‘बिगारुहरु’लाई समर्थन गर्न पुगे, झुक्किए । बिगारुहरुको गठजोड मात्रै कांग्रेसको पराजयको कारण होइन । 

अहिलेको कम्युनिस्ट सरकार बिगारुहरुको झुन्ड साबित भएको छ । कथित युद्धको नाममा सत्ता लालसाले मच्चाइएको निहत्थाहरुको हत्या । राजनीतिक स्वतन्त्रतापेक्षीको हत्या वा नयाँसडकका रेलिङ र टेलिफोन बुथले बेहोरेको विध्वंशक व्यथा, बहत्तर सालको भुइँचालो भन्दापनि भयावह थियो । वर्षौं वा पुस्तौँपुस्तासम्म क्षतिपूर्ति हुन असम्भव मानवीय र भौतिक ध्वंश हो यो ।         

अहिलेको सरकारलाई बिगारुको झुन्ड भन्दा साम्यवादको गीतमा लोभिएर कम्युनिस्ट समर्थक बनेका इमानदार कार्यकर्तालाई भनिएको होइन । उनीहरुको इमानप्रति कुनै गुनासो गर्नु छैन, सिबाय दुःख व्यक्तमात्र । विवेक बन्धक नभएका इमानदार कम्युनिस्ट कार्यकर्ताले सोचून् के तिनीहरुले देखेको साम्यवादको सपना यस्तै यात्रा थियो त ? 

देशमा अहिलेको बेथिति । एकपछि अर्को नागरिक स्वतन्त्रता र गोपनीयता हरण गर्ने कानुन, विधेयक बनाउने सरकारी जमर्को । त्यसमाथि संस्थागत भ्रष्टाचार । कठिनाइमा अभिभावकीय दायित्व निर्वाह नगर्ने सरकार । गरिब, दुःखी, निमुखा र पहुँच बाहिरका असहाय नागरिकलाई बाँचे बाँच, मरे मर भन्ने सन्देश दिने सरकार के इमानी कम्युनिस्ट कार्यकर्ताको चाहनाअनुकूल हो ? 

नेपालको कूटनीति पहिले भूक नीतिमा गज्र्यो र अन्ततः झुकनीतिमा रुपान्तरण गरियो । असंलग्नता शब्दमा छ, व्यवहारमा ‘पेन्डुलम’जस्तो कहिले यता कहिले उता । न जातीय, क्षेत्रीय न्यायका लागि काम भयो न महिला अधिकार सुरक्षित गरियो, न हिंसा रोक्ने तदारुकता देखियो । न्यायमा समान पहुँच पनि छैन । जनता दुःखेको समयमा समेत सत्ताधारी कम्युनिस्टहरुको भागबन्डे झगडा, तँछाडमछाड, संवेदनहीन अमानवीय निर्लज्जता । के यस्तै सरकार रोजेका हुन् नेपालीले ? यस्तैका लागि इमानी  कम्युनिस्ट कार्यकर्ताले भोट मागेका हुन् ?

देश बिग्रिएको छ, स्थिति बिथोलिएको छ । बिग्रनुको परिणाम हुन्छ के ? सरकारीले त बिग्रिएको स्वीकार गर्नेछैनन् । सबैतिर सत्ताको चस्माले हरियै देख्छन् । प्रशंसित पहिरनमा कपडा होइन,सम्राट नाङ्गै छन् भन्ने सत्यबोध दिने बाल विवेक चाहिएको छ । दमितको विवेक निमोठिन्छ तर बाल विवेकले दमित हुने समय भोगेकै थिएन र सत्य बोल्यो । कम्युनिस्ट कार्यकर्ताले नै अहिलेको कम्युनिस्ट सरकार नाङ्गै भएको बोल्दा बढी प्रभावदायी हुनसक्ला ।    

यसपछि रह्यो नेपाली कांग्रेस । कांग्रेस नेतृत्वले बाटो बिराउँदा ठूला नारा दिने कम्युनिस्टले राम्रो गर्छन् कि भन्ने शंकाको सुविधाको समेत मृत्यु भइसकेको छ । अन्ततः नेपाली कांग्रेस सच्चिए देश सुध्रिन्छ कि भन्ने भाव अहिले बलियो हुँदैछ । दलीय प्रयोगशालामा केही दुकान खुले पनि ती चल्ने लक्षण छैन । प्रश्न कांग्रेस सच्चिने कसरी ? कांग्रेसको नेतृत्व सरकारजस्तै नाङ्गिएको भन्न नमिल्ने अहिले कुनै कारण छैन । निःसृत विचार वा लेखहरुको सारांश टिप्पणी र बोल यही हो । 

कोरोना महामारीले रोकिएको वा नेतृत्वको इच्छाशक्तिहीन कारण अनिश्चित भएपनि कांग्रेस चौधौं महाधिवेशनको सम्मुख चाहिँ छ । भातृ सस्थामात्रै होइनन् कांग्रेस केन्द्रीय समितिदेखि नेतृत्व सबै म्याद थप गरिएको तदर्थ अवस्थामा छन् । तोकिएको आगामी फागुनमा हुन नसके पनि पार्टी बचाउन विधि निर्धारित अवधिभित्र कांग्रेसको महाधिवेशन हुनैपर्नेछ । 

चारपटक प्रधानमन्त्री र नेपाली कांग्रेसबाट चोइटिएर बनाइएको कांग्रेस प्रजातान्त्रिकको र अहिले गरी दुईपटक सभापति पदमा आसीन शेरबहादुर देउवाले परीक्षण हुन बाँकी इच्छुक पुस्तालाई सभापति वा नेतृत्वको मैदान खाली गरिदिए सम्मानित निर्णय मानिनेछ । चोइटिएको यस कारण भनियो कांग्रेस प्रजातान्त्रिक अन्ततः नेपाली कांग्रेसमै मिसियो र यसैको तेह्रौं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भए  । 

चौधौं महाधिवेशनपछि सभापति देउवा सम्मानित वरिष्ठ नेताको अभिभावकीय दायित्वमा बस्दा हुन्छ । आगामी नेतृत्वले पनि नेता देउवालाई सम्मान र सुनुवाइ गर्न कंजुस्याँइ गर्नु हुँदैन । उहाँको अनुभव देश र जनताको लागि उपयोगी हुनसक्छ, उपयोग गर्नुपर्छ । अहिले हेर्दा नेपाली कांग्रेस सच्चिने आशा यही उपायमा छ । सभापति देउवाले आफ्नो नेतृत्वको भरपूर परीक्षण भएकोले बाँकी आकर्षण समाजले ग्रहण गर्न नमानेको बुझ्दा भलो हुन्छ । 

आगामी कांग्रेस नेतृत्व पनि कति सच्चिन्छ  ? कसैले ‘ग्यारेन्टी’ दिन सक्दैन । परीक्षणको कसीमा सक्कली सुन निस्कन्छ कि भन्ने अपेक्षा वा आउने नेतृत्वलाई शंकाको सुविधा चाहिँ छ । पार्टी संगठन प्रयोगशाला पनि त हो । नेपाली कांग्रेसले सच्चिने नेतृत्व पायो भने आगामी दिनमा देश यतिविघ्न बिग्रने शृंखला रोकिने थियो कि ? यतिमात्रै होइन, कांग्रेस नेतृत्वले सच्चिने प्रतिज्ञा गर्नैपर्छ र देशलाई बिग्रनुको जोखिमबाट बचाउनै पर्छ । अन्यथा स्वरुप जस्तो वा जत्रो होस्, अथवा राजनीतिक होस् वा अरू प्रकारको राष्ट्रिय दुर्घटना अवश्यंभावी देखिन्छ । 
    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro