अमेरिकाको राष्ट्रपति चुनावका लागि अब एकसाता भन्दा पनि कम समय बाँकी रहँदासम्म पनि कुनै उमेदवारका पक्षमा लहर आएको छैन । रिपव्लिकन पार्टीका उमेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुनका लागि जोडतोडले लागिरहेका छन् । उनी आफ्नो परम्परागत समर्थक अनुदारवादीलाई यसपटक पनि आफ्नो पक्षमा जोगाइराख्न सफल भएका छन् ।
अधिकांश चुनावी मत सर्वेक्षणले भने डेमोक्र्याटिक पार्टीका उमेदवार जो वाइडेनले यसपटक जित्ने देखाएका छन् । तर, यसपटक यस्ता मत सर्वेक्षणलाई महत्व दिइएको छैन । यसअघि २०१६ को निर्वाचनका क्रममा भएका यस्ता मत सर्वेक्षणमा ट्रम्पले हार्ने नतिजा प्राप्त भएका थिए । तर, ति सत्य भएनन् । त्यसले अहिले मत सर्वेक्षणलाई कमैले ध्यान दिएका छन् ।
यो चुनावमा आर्थिक, स्वास्थ्य बिमा, रोजगारलगायतका सधैँ चुनावमा उठ्ने मुद्दाबाहेक कोभिड १९, अमेरिकाको सुप्रिम कोर्टमा न्यायाधीशको नियुक्ती चर्चाको विषय बने । कोभिड १९ को संक्रमण हुनेको संख्या अमेरिकामा अझै उच्च छ । २ लाखभन्दा बढी अमेरिकीले यसबाट ज्यान गुमाए । बाइडेन र डेमोक्र्याटिक पार्टीले यसै विषयमा ट्रम्प र रिपब्लिकनको चर्को आलोचना गरिरहेका छन् । ट्रम्पले कोभिड १९ को संक्रमणलाई बेलैमा रोक्ने प्रयास नगरेको आरोप लगाइएको छ ।
यो केही हदसम्म सही पनि हो । विश्वकै आर्थिकलगायत विज्ञान, स्वास्थ्यजस्ता क्षेत्रमा अग्रणी देश भए पनि अमेरिकामा संक्रमण र मृत्यु हुनेको संख्या सबैभन्दा बढी हुनु आलोचनाको विषय बनेको छ । मिडियामा पनि दैनिक कोभिड १९ विषय आइरहेका छन् । यो विषय अन्ततः ह्वाइटहाउसमै ठोकिने गरेको छ । एकातिर निर्वाचन अर्कोतिर कोभिड १९ को समस्या नघट्नु ट्रम्पको टाउको दुखाइ बनेको छ ।
निर्वाचन र्यालीमा ट्रम्पले मिडियाले कोभिड १९ लाई समाचार बनाइरहेकामा आक्रोस पनि व्यक्त गरेका छन् । यसले पनि कोभिड १९ ले ट्रम्पलाई दवावमा पारेको देखिन्छ ।
ट्रम्पको कार्यकालमा अर्थतन्त्र मजबुद भयो । बेरोजगारी दर ५० वर्ष यताकै न्यून विन्दुमा झर्यो । चीनको दवदवालाई प्रायः अमेरिकीले रुचाएका थिएनन् । यसलाई साइजमा ल्याउने प्रयास पनि ट्रम्पले गरे । व्यवसायी र टेलिभिजन कार्यक्रम पूर्वप्रस्तोता ट्रम्पले चीनका बारेमा लिएको नीतिप्रति अधिकांश अमेरिकीको समर्थन देखिन्छ ।
विश्वका अन्य देशसँगको सम्बन्धमा पनि ट्रम्पले व्यवसायिकरुपमा हेर्ने गरेका छन् । ३ वर्ष ९ महिनाको कार्यसञ्चालनमा उनको व्यवसायीक चरित्र पनि देखिएको थियो । चीनका सस्ता सामानका कारण अमेरिकी उपभोक्ता फाइदामा छन् । चीन र अमेरिकाबीचको सम्बन्ध जस्तोसुकै भए पनि दुवै देश एक अर्कामा आर्थिक रुपमा निर्भर छन् ।
अमेरिकालाई चीनका सस्ता सामान चाहिएको छ । चीनलाई बजार । राजनीतिक स्वार्थले केही खिचातानि भए पनि दुवै देश सधैँ यो निर्भरता कम गर्न सक्ने अवस्थामा छैनन् । तर, चीनको बढ्दो हस्तक्षेप अमेरिकीलाई मन परेको छैन । सेयर बजारमा उछाल, कोभिड १९ को संकट हुँदाहुँदै पनि अर्थतन्त्रमा समस्या आउन नदिनु ट्रम्पका सफलता हुन् । कोभिड १९ को संकटलाई आर्थिक रुपमा अमेरिकाले राम्रोसँग व्यवस्थापन गरिरहेको छ ।
यत्रो ठुलो संकटमा पनि आर्थिक मन्दी आउन दिएन । यो विश्वकै लागि फाइदाको विषय बन्यो । इमिग्रेशनलगायत कयौं मुद्दामा ट्रम्पले दिने सार्वजनिक अभिव्यक्ति अनुदार हुने गरे पनि आम अमेरिकीलाई भने नोक्सान हुने कुनै पनि काम ट्रम्पले गरेका छैनन् । त्यही भएर ट्रम्पले पराम्परागत मत टिकाउन सफल भएको विश्लेषण गरिएको छ ।
तर, अमेरिकाको निर्वाचन संख्याको खेल पनि हो । चुनावमा धेरै भोट ल्याएर मात्र हुँदैन । राष्ट्रपतिमा २७० इलेक्ट्रोल मत ल्याउनेले जित्छ । यसमा सात राज्यहरु महत्वपूर्ण मानिन्छन् । करिब ७० इलेक्ट्रोल संख्या रहेका यि सात राज्यले केहिले डेमोक्र्याट त कहिले रिपब्लिकन उमेदवारलाई जिताएका छन् । यसपटक पनि यही सात राज्यवाट आउने नतिजाले वाइडेन र ट्रम्पको जित हार निर्भर गर्नेछ ।
अमेरिकामा अहिले राष्ट्रपतिको मात्र निर्वाचन हुँदै छैन । यससँगै कांग्रेस (नेपालको प्रतिनिधिसभा जस्तै ) र सिनेट (नेपालमा राष्ट्रियसभा जस्तै ) एक तिहाई सिटका लागि पनि निर्वाचन हुँदैछ । स्थानीय तहका कयौं पद र नीतिका लागि पनि कयौं स्थानमा चुनाव हुन्छ । अहिले सिनेटमा रिपब्लिकनको बहुमत छ भने कांग्रेसमा डेमोक्र्याटिक पार्टीको संख्या वढी छ । त्यसले गर्दा नोभेम्बर ३ साँझको नतिजा अमेरिकाको राजनीतिका लागि महत्वपूर्ण हुनेछ ।
डेमोक्र्याटिक पार्टीलाई इमिग्रेशन, न्यून आम्दानी हुने वर्गका लागि उदार मानिन्छ । यो पार्टी सस्तो स्वास्थ्य बिमा, शिक्षामा सहुलियत, वातावरणलगायतका नीतिको पक्षधर हो । इमिग्रेशन मुद्दामा पनि डेमोक्र्याटिक पार्टी उदार छ । त्यसैले न्यून आम्दानी हुने वर्ग, समुदाय र आप्रावासीहरु डेमोक्र्याटिक पार्टीका उमेदवारका पक्षमा छन् ।
क्यालिफोर्निया, न्यूयोर्कजस्ता राज्यमा डेमोक्र्याटिक पार्टीको पकड हुनु यही कारण हो । त्यसले ट्रम्पले डोमोक्र्याटिक पार्टीका उमेदवारलाई सोसलिष्ट भन्ने आरोप पनि लगाएका छन् । उदारीकरण नीतिमा रमाइरहेका कयौं अमेरिकीलाई वाइडेनले बन्देजहरु लगाउँछन् भन्ने भ्रम पनि परेको छ ।
यो चुनावमा मिडिया पनि निकै विभाजित छ । उदार पक्षधर मानिने मिडिया वाइडेनको पक्षमा देखिन्छ । द न्यूयोर्क टाइम्सले वाइडेनलाई समर्थन गरेको छ । सीएनएन पनि वाइडेनको पक्षमा उभिएको छ । कयौं टेलिभिजन च्यानल वाइडेन र डेमोक्र्याटिक पार्टीको पक्षमा खुलेर लागेका छन् । फक्स न्यूज ट्रम्पको पक्षमा खुलेर लागेको देखिन्छ ।
मिडियाले एक पक्ष समातेकाले पनि आम मतदातालाई सही सूचना पाउन कठिन भएको छ । वाइडेन पक्षको कुरा बुझ्न सीएनएन हेर्नुपर्ने बाध्यता छ भने रिपब्लिकनको बारेमा बुझ्न फक्स न्यूज हेर्नुपर्छ । मिडियामा देखिएको यो विभाजन अलि बिझाउने खालको नै छ । ट्रम्प पुर्व टेलिभिजन कार्यक्रम प्रस्तोता भएकाले पनि मिडियालाई कुनै महत्व दिएका छैनन् । हेपिरहेका छन् । उनी व्यवसायी पनि हुन् त्यसले पनि मिडियालाई हेप्ने गरेको पाइन्छ । अहिले पनि ट्रम्पले जितेभने यो अमेरिकी उदार मिडियाका लागि आफ्नो नीति र शैलीमा सोच्न बाध्य पार्ने विषय भने हुने छ ।
नेपालीहरु पनि पहिलेभन्दा अहिले अमेरिकाको राजनीतिमा बढी चासो राख्दै आएका छन् । आफ्ना उमेदवारका पक्षमा मत माग्दै हिँडेका पनि छन् । टेक्ससको यूलिस, अर्भिङ्ग सिटीमा नेपालीले सकृय रुपमा आफ्ना उमेदवारका पक्षमा मत मागे । स्थानीय उमेदवार समेतको उपस्थितिमा सडकमा चुनावी प्रचारप्रसार कार्यक्रम पनि गरे ।
अमेरिकामा करिब ७०–७५ हजार नेपालीले यहाँको नागरिकता लिएको अनुमान छ । उनीहरु यहाँका मतदाता हुन् । यसमध्ये अधिकांश नेपाली डेमोक्र्याटिक पार्टीको पक्षमा रहेको देखिन्छ । तर, रिपब्लिकन पार्टी र ट्रम्पलाई समर्थन गर्नेको संख्या पनि कम छैन । शेयर बजारमा लगानी गर्ने, उद्योग व्यवसायमा संलग्न नेपालीले ट्रम्पलाई समर्थन गरेको देखिन्छ । अमेरिकी शेयर बजार र यहाँ व्यवसायमा लगानी गर्ने नेपालीको संख्या पनि कम छैन । बढ्दो छ ।
चुनाव हुन एक साता बाँकी रहँदा ६ करोड भन्दा बढीले अग्रिम मतदान गरिसकेका छन् । यो भनेको सन् २०१६ मा जति भोट खसेको थियो त्यसमध्ये ५० प्रतिशतले एकसाता पहिलेनै मतदान गरिसके भन्ने हो । हुलाकमार्फत मत पठाउनेको संख्या पनि उल्लेख्य भएकाले यो चुनावको नतिजा आउन केही लामो समय लाग्ने अनुमान पनि गरिएको छ ।
अग्रिम मत दिनेको संख्या बढे पनि आम अमेरिकीका लागि ट्रम्प र वाइडेन दुवै ठिकठिकैका उमेदवार हुन् । बरु सिनेट र कांग्रेसमा कसको बहुमत आउला यो पनि चासोको विषय छ ।