
काठमाडौं । कलाकारहरूले सम्बन्धित संस्था जिम्मेवार नहुँदा आफूहरूले थप समस्या भोग्नु परिरहेको बताएका छन् । लामो समय चलचित्र क्षेत्र ठप्प हुँदा कतिपय कलाकारलाई दैनिक गुजारा चलाउनै समस्या भएको भन्दै यसमा सरोकारवाला संस्थाहरू जिम्मेवार रहेको उनीहरूको भनाइ छ ।
६ महिना चलचित्र क्षेत्र बन्द हुँदा कलाकारहरू पाँच हजार राहत लिनुपर्ने अवस्थामा पुग्दासमेत सरोकारवाला संघ–संस्थाको आँखा नखुलेको कलाकारहरूको दुखेसो छ । वैकल्पिक पेसा वा व्यवसाय नहुनेहरूका लागि कला क्षेत्रबाट आम्दानी नै नभएपछि बाँच्ने आधारै नहुने उनीहरूको भनाइ छ ।
“जो कलाकारिताबाहेक मेरो अरू केही पनि छैन भनेर बसिरहेको छ । काम गर्दा पनि श्रमको भ्यालु कम छ भने लामो समय काम नहुँदा गाह्रो हुन्छ । अन्ततः टिक्नका चाहिने पैसा नै हो । पैसा नै नभएपछि कसरी यसी पेसामा रहिरहने भन्ने हुन्छ,” अभिनेता प्रमोद अग्रहरि भन्छन्, “कलाकारितासँगै अरू पेसा वा व्यवसाय हुनेलाई त ठीकै हो । तर कलाकारिताबाहेक केही नजानेका हामीलाई चाहिँ कठिन हुन्छ ।”
नेपाली चलचित्रको भित्री पाटो कहिले पनि उजागर नभएको भन्दै अग्रहरि यसबारे बहस, छलफल तथा विमर्श कहिल्यै पनि नभएको बताउँछन् । “सिनेमा होस्, पारिश्रमिक होस् अथवा कलाकारको सेवा सुविधालाई लिएर खोई बहस भएको,” प्रमोद भन्छन्, “कलाकार संघमा हामी छौं तर सामान्य इन्स्योरेन्स पनि छैन । भोलि काम गर्दागर्दै केही भयो भने कसले उपचार गरिदिन्छ त्यो पनि निश्चित छैन ।”
“लामो समय चलचित्र बनेनन् । यो समय धेरै दर्शकले वल्र्ड सिनेमा हेरेर सिनेमाको फरक टेस्ट लिन थाले । अब हामी यथावस्थामा चलचित्र बनाउने कि परिमार्जन आवश्यक छ ? कसरी अगाडि बढ्ने भन्नेबारेको बहस हुुनु पर्दैन ?” प्रमोद प्रश्न गर्छन्, “अबको अवस्थामा कलाकारहरूलाई कसरी टिकाउने, निर्माताहरूले कस्तो कन्टेन्टमा लगानी गर्ने, लगानी कसरी सुरक्षित गर्ने, मेकिङ कस्तो हुने भन्नेबारे बहसको आवश्यकता छ । तर भइरहेको छैन ।”
अन्तर्वार्ता र सामाजिक सञ्जालमा आफूलाई सही देखाउने तर अन्तरनिहित अँध्यारा पाटाहरूलाई छोप्ने परिपाटीका कारण चलचित्र क्षेत्र माथि उठ्न नसकेको उनी बताउँछन् ।
अभिनेत्री सुरक्षा पन्त दैनिक ज्याला मजदुरी गर्ने श्रमिककै अवस्था कलाकारको पनि रहेको बताउँछिन् । “बरु दैनिक ज्याला मजदुरी गर्नेहरूले त दैनिक काम गर्नुुहुन्छ । कलाकाहरूलाई त काम आउँदा मात्रै गर्ने हो,” सुरक्षा भन्छिन्, “लामो समय काम नपाउँदा आर्थिक अभाव झेल्नुपर्ने अवस्था आउनु स्वाभाविक हो ।”
देश तथा कलाकारलाई समस्या पर्दा दुवैलाई फाइदा हुने काम गर्नुपर्ने र यसको नेतृत्व सरकारी निकायले गर्नुपर्नेमा उनको जोड छ । कलाकार व्यवस्थापन समूह गठन गरेर चलचित्र विकास बोर्डले काम गर्नुपर्नेमा उनको जोड छ ।
“आर्टिस्ट व्यवस्थापन टिम बनाएर सरकारी संस्थाले काम गर्न सक्थ्यो । अरू देशमा यस्तो हुन्छ । जनचेतना जगाउने, तथा यस्तै अन्य काममा सरकारले कलाकारलाई उपयोग गर्ने र त्यसबापत हुने खर्च कलाकारलाई दिन सकिन्छ,” उनी भन्छिन्, “सरकारले आफ्नो उद्देश्य प्राप्तिका लागि पनि सहज हुने । काम गरेबापत आएको पैसाले कलाकारलाई पनि आर्थिक रूपमा सहयोग हुने ।”
योजना बनाएर बोर्ड तथा कलाकार संघले काम गरेको खण्डमा यस्तो असहज अवस्थामा सरकार र कलाकार दुवै लाभान्वित हुन सक्ने सुरक्षा बताउँछिन् ।
हलहरू बन्द भएको अवस्थामा डिजिटल प्लेटमर्फ बलियो भएको अवस्थामा कलाकारहरूले काम पाउने र दर्शकमा कन्टेन्ट पनि पुग्ने उनको धारणा छ । विकल्पहरूमा धेरै काम गर्न सकिने तर यसका लागि दूरदर्शी सरोकारवाला संस्था चाहिने उनी बताउँछिन् । राहत प्याकेज पनि काममार्फत ल्याउँदा त्यसको छुट्टै महत्त्व हुने र आत्मसम्मान पनि बढाउने भन्दै यसतर्फ बोर्डलगायत सम्बन्धित संघ–संस्थाको ध्यान खिचिनुपर्नेमा उनको जोड छ ।
निर्देशक केपी पाठक चलचित्र बोर्ड तथा कलाकार संघको योजना अभावमा कलाकारले पाउन सक्ने सहयोग नपाएको बताउँछन् । “सरकारसँग रहेको राहत कोषको रकम बोर्ड तथा पेसागत संघ–संगठन गएर माग्न सकिन्थ्यो । तर त्यो पहल हुन सकेन,” केपी भन्छन्, “कलाकारहरूसँग पैसा उठाएर प्राविधिक संघले प्राविधिकलाई राहत बाँडिरहेको छ । तर कलाकार नै अभावमा परेका बेला यो काम चलचित्र संघले गर्नुपर्दैन ?”
दैनिक पारिश्रमिक लिएर काम गर्ने कलाकारहरू अहिले प्राविधिकभन्दा पनि समस्यामा रहेका उनी बताउँछन् । सपोर्टिङ क्यारेक्टरमा तीन–चार सिनमा काम गर्ने कलाकारहरूलाई ठूलो समस्या रहेको भन्दै केपी भन्छन्, “पेसागत संगठन चाहिने यस्तै बेला हो । राजनीतिक दलसँग निकट रहने संगठन चाहिने यस्तै कठिन परिस्थितिमा हो । सरकारसँग नजिक रहेका संगठनहरूले सहयोग लिन सक्नु नेतृत्वको क्षमता हो । प्राविधिक संघबाहेक पेसागत संगठनहरू निकम्मा हुँदा त्यसको असर चलचित्रकर्मीहरूले भोगिरहनु परेको छ ।”
फागुन अन्तिमबाट चलचित्रको सम्पूर्ण काम ठप्प हुँदा कतिपय कलाकारलाई आर्थिक अभाव भएपछि विकास बोर्डबाट राहत लिएर चलचित्र कलाकार संघले प्रतिव्यक्ति पाँच हजारका दरले राहत वितरण गरिरहेको छ । संघका अनुसार राम्रै चलेकै कलाकार पनि पाँच हजार राहतका लागि आइरहेका छन् ।
नायिका करिष्मा मानन्धर महँगो पारिश्रमिक लिएर काम गर्ने चलचित्रकर्मीबाहेक धेरैलाई समस्या भइसकेको बताउँछिन् । लामो समय काम नपाउँदा कलाकार, प्राविधिक, मेकअप आर्टिस्ट, कोरसलगायत धेरैलाई समस्या भइसकेको उनको भनाइ छ ।
“हामी चलचित्रकर्मी भन्नेबित्तिकै पर्दामा देखिने महँगो पारिश्रमिक लिने कलाकार मात्रै हुन् भन्ने सोच्छौं । तर त्यो होइन । महँगो पारिश्रमिक लिने त दुई–चारजना मात्रै हो,” करिष्मा भन्छिन्, “लामो समय काम नपाउँदा धेरैलाई समस्या भइसकेको छ । अब राहत र सहयोगले मात्रै पुग्दैन ।”
करिष्मा अब पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाएर काम सुरु गर्नुको विकल्प नभएको बताउँछिन् । चलचित्र निर्माणको काम सुरु गर्नुपर्नेमा उनको जोड छ । “अरूले दिएको राहत र अरूले गरेको सहयोगले लामो समय धान्दैन । विश्वका हरेक क्षेत्र र हरेक व्यक्ति प्रभावित भएकाले कसले कति र कहिलेसम्म सहायोग गर्ने ?” उनी प्रश्न गर्छिन्, “अब आफैं सचेत भएर पर्याप्त सावधानी अपनाएर सबैले आ–आफ्नै काम सुरु गर्नुपर्छ । अब आ–आफ्नो क्षेत्रलाई चलायमान बनाएर अगाडि बढ्नुको विकल्प छैन ।”
चलचित्र विकास बोर्डले चलचित्र प्राविधिक संघ, चलचित्र कलाकार संघ, चलचित्र नृत्य संघलाई राहत दिइसकेको छ । चलचित्रसँग सम्बन्धित अन्य पेसागत संगठनले पनि आवश्यक कागजी प्रक्रिया पूरा गरेको अवस्थामा राहत दिइने बोर्डले बताएको छ । बोर्डले दिएको पेसाप्रति व्यक्ति पाँच हजार रुपैयाँका दरले पेसागत संगठनहरूले वितरण गर्दै आएका छन् ।