
काठमाडौं । काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ ।
महानगरपालिकाले आज वडा २६ लगायत १० वटा वडाबाट सेवा सुरु गरेको हो । महानगरपालिकाको सातौ नगरसभाको निर्णयअनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एकनारायण अर्यालले बताए । सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको उनले बताए ।
वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले संघीय राजधानीमा रहेको स्थानीय तहले सुरु गरेको रचनात्मक कामले देशभरीका स्थानीय तहलाई सेवा सुरु गर्न सहज हुने बताए । कागजी कामले विभिन्न समस्या हुने गरेकोमा अव त्यस्तो अवस्थाको अन्त्य हुने उनले बताए ।
अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने छ । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाले लिएको छ ।