
काठमाडौं । गत वर्ष निर्माण सम्पन्न भएको त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो ।
त्रिपुरेश्वरदेखि कलंकीसम्मको मर्मत भइसकेकाले कलंकीदेखि नागढुंगा खण्डमा मर्मत भइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरु अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछिको १३ महिनासम्ममा जुनजुन कम्पनीले सडक निर्माण गरेको हो, समस्या आउँदा उसैले मर्मत गर्नुपर्छ । “यस खण्डमा देखिएको त्रुटि सच्याउने काम भइरहेको छ,” प्रमुख अधिकारीले भने, “यो खण्डमा काम भएपछि नै डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गरिनेछ ।”
उपत्यकाको विस्तारित सडकमध्ये यो सबैभन्दा पहिले निर्माण सकिएको हो । पाँच वर्षपहिले नै सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि सडकसँगै घर भएका स्थानीय बासिन्दाको अवरोधका कारण दुई वर्षसम्म निर्माण ठप्प थियो । स्थानीय बासिन्दाले घर भत्काउन नमानेपछि सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा चाबहिल-साँखु सडकसँगै यो सडकको निर्माण भएको थियो ।
उपलब्ध चौडाइमा मात्रै सडक निर्माण गर्दा झन्डै आधा लम्बाइमा मापदण्डनुसार चौडाइ कायम भएको छ । मापदण्डअनुसार २२ मिटर चौडाइ कायम भएका स्थानमा मात्रै आयोजनाले दुवैतर्फ ह्युमपाइप र पैदलयात्रु मार्ग निर्माण गरेको छ । चौडाइ कम भएका स्थानमा सडक उपलब्ध भएपछि नै पैदलयात्रु मार्ग निर्माण गरिनेछ ।