site stats
बाह्रखरी :: Baahrakhari
देश
तीनै तहका सरकार मिलेर कोभिड-१९ नियन्त्रण गर्नुपर्नेमा स्वास्थ्यमन्त्रीको जोड

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड १९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । 

बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै मन्त्री ढकालले कोभिड १९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले कोभिड १९ को अहिलेसम्म कुनै खोपको विकास नभैसकेका कारण सावधानी अपनाउनुको विकल्प नभएकाले त्यसका लागि प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । 

मन्त्री ढकालले संघीय सरकारले आवश्यक सबै खालका सहायोग गर्न तयार रहेको भन्दै समस्या समाधानका लागि व्यवहारिक रुपमै प्रभावकारी काम हुनुपर्ने बताए । 

उनले कोभिड अवस्था रहेसम्म जोखिम भत्ता र बिमाको कुरा जारी रहने बताए । प्राविधिकारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भएपनि कोभिड १९ को लडाइँमा काम गरेका मान्छेले भत्ताबाट बिमुख हुननपर्ने बताए ।

मन्त्री ढकालले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८, ५०० जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारणभन्दा बाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवास्था मिलाइने बताए । 

उनले अहिलेको परिस्थितिमा समय तोकेर नै नमुना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको पनि बताए । आइसोलेसन निर्माणका लागि मात्र सरकारले ३८ करोड बजेट प्रदेश सरकार मार्फत स्थानीय तहमा पठाएको स्मरण गर्दै उनले केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनका लागि गृहकार्य भइरहेको बताए । 

मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकासमन्त्रीसँग बैठक गर्ने जानकारी पनि दिए । भर्चुअल बैठकमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र बागमती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाल सहभागी रहेका थिए । 
 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १९:२८
प्रतिक्रिया दिनुहोस्