'जहिले भेट होला है राजै यो जिन्दगानीमा...'
हाम्रा कविवर माधव प्रसाद घिमिरेको अध्ययन, दर्शन, चिन्तन, स्मरणशक्ति, संकल्प, वर्तमान विश्वमाथि अपडेट र व्यंग ठट्टा सुन्दा, लाग्दैन उनी ९९ वर्षका भइसके । अस्ति (९–६–०७४) सोमबार भएको भेटघाटमा उनी नेपाली साहित्य र नेपाली लोक साहित्यमा बढी केन्द्रित थिए, तर सवा दुई घन्टा लामो उनको धाराप्रवाहमा वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे पनि आफ्नो बिचार राख्न छुटाएनन्। साथीभाइमाझ उनैसँग भएको कुराकानीको केही अंश बुंदागत रुपमा सेयर नगरी बस्न सकिएन ।
गजबको मीठो पक्ष, उनका बोलीवाक्य सम्पादन गर्न थाले अनर्थ हुन्छ । बेलाबखत उनी भन्ने पनि गर्छन्, “मलाई राजनीति थाहा छैन । मैले साहित्यमा जीवन अर्पेँ । मैले दर्शन अध्ययन गरेको छु। तीनै कुराबारे म आफ्नो अनुभूति मात्र राख्न सक्छु । म नै सही हो भन्ने पनि होइन ।”
“हाम्रो साहित्य नौ रसको हुन्छ । रस भनेको आनन्द । आनन्द के को त ? त्यो भावनालाई लिइएर गरिएको छ । हृदयपक्षमा उठेको चीज हो हाम्रो साहित्य । त्यसको पक्ष नै सिंगो छ हाम्रो साहित्यमा । पश्चिमाले हेर्दा अध्ययन नदेख्लान् यसमा । तर पश्चिमाको नक्कल गर्ने हाम्रा प्राध्यापकले, उताको कुरा नभनिकन एताको कुरा पत्याउँदैनन् भनेर, नबुझे पनि उताको कुरा भन्दै गर्छन् । एतैको कुरा बुझाइदिए सजिलो हुन्थ्यो ।”
“अहिले त हृदयपक्षलाई मस्तिष्क पक्षले दवाएको छ । यो सही कुरो होइन । दुबैको सन्तुलन हुनुपर्छ ।”
“पहिले हाम्रो साहित्य थिएन भन्ने हो भने लोकभाषामा जाउँ न त । त्यो पनि त साहित्य हो । कालिदास त पहिले पनि थिए नि त । हाम्रो भाषामा पो कालिदास आउन बाँकी भो, त्यो चैं अलग कुरा हो । तर, मानव जातिमा पहिले पनि त थियो नि साहित्य ।”
“हाम्रो लोकभाषाको अभिव्यक्तिको सामर्थ्य बिस्तारै हराउँदै गयो । त्यो पनि ‘टेक्निकलै’ भइसक्यो, अब के भन्ने ? तीनलाई शब्दकोषमा व्याख्या गर्न सकिँदैन । साहित्यले प्रयोगबाटै जोगाउन पर्यो ।”
“हाम्रो कौडा नृत्यमा एउटै गीत गाइराख्या हुन्छ, संगीत परिवर्तन भएको छैन, त्यैपनि नयाँ नयाँ लागीराख्छ । कस्तो अचम्म हाम्रो साहित्यमा ? वास्तवमा त्यो लयले मुग्ध पारेको हो । लेखनाथले एकठाउँमा पकड्याछन्– कोइलीको कुहुकार सुन्यो राति जति जति, उति उति नयाँ लाग्छ यो सारा सृष्टि पद्धत्ति ।”
“परिवर्तनका सम्वाहक राजनीतिका मान्छेहरू हुन् । पहिले समाजवाद थिएन, व्यक्तिवाद मात्रै थियो । अहिलेको प्रजातन्त्रमा समाजवाद हावी छ । अहिले ६०–७० वटा त समाजवादै होला विश्वमा । जापानको समाजवाद अर्कै किसिमको, नेपालको समाजवाद अर्कै किसिमको । नेपालको समाजवाद कस्तो त ? समाजवाद भन्दैछ, भृकुटी कारखाना खत्तम, जनकपुरको चुरोट कारखान खत्तम, चिया कारखाना, जुत्ता कारखाना सबै खत्तम । मुखले चैं समाजवाद । कस्तो विडम्वना (हाँसो) । हामी मूर्ख भएपछि त्यस्तै हुन्छ ।”
“राजनीति समाज–विज्ञानको कुरा हो । दर्शनको एक भाग हो । समाज मात्रै होइन मान्छे, व्यक्ति पनि हो । परिवर्तन भन्दैमा उहिलेको कुरालाई बिल्कुलै छोडेर नयाँमा हाम्फाल्न सक्दैन । सत्य उद्घाटित गर्ने काम चिन्तनशील मान्छेले बढी गर्छन् ।”
“मेरो आग्रह हो विनाशकारी चीजको आविश्कारै नगरौं भन्ने । अहिलेका शक्तिशाली ट्रम्प, अनि उत्तर कोरियाको होड चल्दैछ । व्यक्तिको हातमा विनाशकारी आणविक हतियार छ । प्रयोग गरे अनर्थ हुन्छ ।”
“शताब्दी मनाउनु तिन महिनाअघि मेरो (पाँच बर्षदेखि लेखेको) महाकाव्य प्रकाशित हुन्छ । हतपतले सिर्जना नबिग्रियोस् भन्ने मेरो सोच हो ।”
कविवरसँगको गफले ‘क्रुज हाइट’ लिँदालिँदै बाहिर झमक्कै परिसकेछ। हरेक साल झैं यसपालि पनि कविवरसँग उनको जन्मदिन मनाएर फर्किंदा नारायण, अमृत, निर्मलाजी, आभाष, किरण र मैले प्रश्न गोजीमा राखेर फर्कियौं ‘अब यी तन्नेरीको शताब्दी जन्मदिन कसरी स्वर्णिम बनाउने त ?’
जहिले भेट होला है राजै यो जिन्दगानीमा