site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
लिवर्टीमा ढुक्क भएर लगानी गर्नोस्, निराश बनाउने छैनौँ 

भदौ ३ गतेदेखि लिबर्टी इनर्जी कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी हुँदैछ । कम्पनीमा सर्वसाधारणले ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर आवेदन दिन सक्छन् । लिबर्टीले हाल लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना टेस्टिङका लागि तयारी अवस्था छ ।

आयोजनाको कुल लागत ४ अर्ब ६३ करोड रहेको छ । जसअनुसार प्रतिमेगावाट लागत साढे १८ करोड रुपैयाँ छ । अपर दोर्दी ‘ए’ले वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन गर्ने छ । कम्पनीले बिजुली बाल्ने समयमा आईपीओ जारी गर्न लागेको हो । कम्पनीका ५ सञ्चालकमध्ये एक हुन्, राम पाण्डे । पाण्डे प्रभु लाइफ इन्स्योरेन्स र आशा लघुवित्तका संस्थापक अध्यक्ष हुन् । प्रभु विकास बैंकका सञ्चालकसमेत रहिसकेका पाण्डेको ठमेलमा यात्री सुट्स एन्डा स्पा नामको होटल पनि छ । उनी चिनारी कृषि फर्मका अध्यक्ष पनि हुन् ।

जलविद्युत्सँग पाण्डेको विशेष लगाव छ । लोडसेडिङको चरम उत्कर्षमा साथीभाइसँग हाइड्रोमा लगानी गर्ने अभिलाशा राखेका पाण्डे आज सपनामा बाँचेको सुनाउँछन् । लिबर्टी इनर्जी कम्पनी अरु जलविद्युत् कम्पनी जस्तो नभएको उनी बताउँछन् । यसमा लगानी गरेको दोस्रो वर्षदेखि नै सर्वसाधारणले प्रतिफल पाउने ग्यारेन्टि उनको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रस्तुत छ, उनै पाण्डेसँग बाह्रखरीका रोविन पौडेलले गरेको कुराकानीको अंशः

जलविद्यूत् कम्पनीको “आयोजना सुरू नहुँदै आईपीओ जारी गर्ने” चलन चिर्दै लिबर्टीले आयोजना सकिने बेलामात्र आईपीओ जारी गर्न लाग्यो नि ! पहिल्यै किन गर्नु भएन ?

सबै कम्पनीको एउटै पोलिसी हुँदैन । धितोपत्र निष्काशनको नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनी स्थापना गरेको १ वर्षभित्र पब्लिक कम्पनी बनाएर आईपीओ जारी गर्ने अनुमति दिन्छ । जलविद्युत् निर्माण गर्ने कम्पनीमध्ये कुनैले कामै सुरु नगरी आईपीओ जारी गर्छन्, कसैले काम थालेपछि गर्छन् । हामीले चाहिँ बत्ती बाल्न सक्ने अवस्थामा पुगेपछि मात्र जारी गरेका हौं ।

आईपीओलाई सुरक्षित लगानी मानिन्छ । आम लगानीकर्ताको बुझाइ पनि यही रहेका कारण बत्ती बलिसकेपछि मात्र आईपीओ जारी गर्दा सबैको लगानी सुरक्षित भयो भन्ने प्रत्याभुति हुन्छ । आईपीओ जारी गर्नुपूर्व रेटिङ गर्नुपर्ने, धितोपत्र बोर्डबाट स्वीकृत गराउनुपर्ने भन्नुको अर्थ लगानी नडुबोस् भन्ने राज्यको चाहना हो । हामीले सोही बुझाइलाई साथ दिन बत्ती बल्ने बेलामात्र आईपीओ जारी गर्न लागेका हौं ।

निर्माण लागत र लगानी कसरी जुटाउनु भयो त ?

हामीले बैंकसँग गरेको सम्झौताअनुसार निर्माण गरिरहेको आयोजनामा ३० प्रतिशत इक्विटी संस्थापक लगानीकर्ताबाट जुटेको हो भने बाँकी बैंकबाट कर्जा लिएका छौं । आज पनि ३७ करोड रुपैयाँ बराबर कर्जा प्राप्त हुन बाँकी छ । आईपीओ जारी भएपछि त्यो प्राप्त हुन्छ ।

गत फागुनमै लिबर्टीले बनाइरहेको अपर दोर्दी ‘ए’को काम अन्तिम चरणमा पुगेको देखिन्थ्यो । चैतमै बत्ती बाल्ने तयारी पनि थियो । कोभिड–१९ ले लक्ष्य नराम्ररी प्रभावित भयो है ?

जलविद्युत् आयोजनामा मेसिनरी सामग्री र जडान गर्ने जनशक्ति नेपालमा उपलब्ध छैनन् । कोभिड–१९ को जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनका कारण निर्माणस्थलमा उपकरण र इन्जिनियरहरु पुग्न समस्या भयो । त्यसको बाबजुद हामी निर्माण कार्य करिब सकाएर बसेका छौं । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन निर्माण तथा प्रशारण लाइनको काम सकिदिए, हामी टेस्टिङ गरिहाल्नेछौं ।

प्राधिकरणको सबस्टेसन निर्माण पनि अन्तिम चरणमा काम भइरहेको जानकारी प्राप्त भएको छ ।

आयोजनाले त्यसअघि पनि समस्याको सामना गर्नु नपरेको होइन । जलविद्युत् भनेकै अति कठीन भुगोलमा बन्ने, त्यसमाथि थप चुनौती नै चुनौती । भुकम्प, नाकाबन्दी र बाढी, अहिले कोभिड–१९ । पानीमा लगानी गरेर बिजुली निकाल्ने कामको अनुभव कस्तो हुँदैछ ?

अरु क्षेत्र र जलविद्युत् फरक कुरा हुन् । बैंक तथा वित्तीय संस्थाहरुको ब्यालेन्ससिट प्रकासित हुँदै गर्दा उनीहरु गत आर्थिक वर्षको भन्दा निकै कमजोर बनेका देखिन्छन् । कारण हो, कोभिड–१९ । अरु व्यवसाय स्थापना भएपछि पनि समस्या आउन सक्छ । जलविद्युत् भनेको त्यस्तो होइन, बत्ती बलिसकेपछि ‘स्मुथ’ रुपमा अघि बढ्छ ।

विद्यत् खरिद सम्झौता (पीपीए) दर पहिले नै तय भइसकेको हुन्छ । ३५ वर्षमा कति आम्दानी हुन्छ भन्ने हिसाब आजको दिनमै तय छ । समस्या निर्माण चरणमा मात्र हो । स्थानीयसँगको समन्वय, लगानी जुटाउने समस्या नभएका होइनन् । भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी राज्यका हरेक क्षेत्रलाई परेको समस्या हो । हाम्रो समस्या थोरै लागत बढ्नुमात्र हो । किनकि बैंकबाट लिएको कर्जाको ब्याज तिर्नैपर्‍यो । व्यवस्थापन खर्च उल्लेख्य बढ्छ ।

आयोजनाको लागत प्रतियुनिट कति पुग्यो त ?

आयोजना सुरु गर्दा प्रतिमेगावाट १५ देखि १६ करोड रुपैयाँमा बन्ने आँकलन गरिएको थियो । अहिले २–३ करोड बढ्ने देखिएको छ । कारण हो, लागत समय बढ्नु । निर्माण सामग्री महंगो बन्नु । बैंकको ब्याज तिर्नैपर्‍यो । स्टाफलाई तलब खुवाउनै पर्‍यो । थोरै महंगो त भइहाल्छ ।

यसको अर्थ प्रतिमेगावाट १८–१९ करोड रुपैयाँ पर्‍यो । यो त सरकारले निर्माण गरेका जलविद्युत्भन्दा सस्तै त हो नि, होइन र ?

राज्यले निर्माण गरेका जलविद्युत् ३० देखि ६० करोड रुपैयाँ प्रतिमेगावाट लागतमा सम्पन्न भएका छन् । त्यसको आधा लागतमा हामी निर्माण गरिरहेका छौं । हामीबाट उत्पादन हुने विद्युत् र सरकारले बनाएको आयोजनाको विजुलीको मूल्य त उत्ति नै हो । हामीले प्रयोग गर्ने जनशक्ति, निर्माण सामग्री उस्तै हुन् । के फरक छ र ?

यसो भनिरहँदा सरकार र निजी क्षेत्रले बनाएको जलविद्युत् आयोजनाको गुणस्तर फरक त हुँदैन ?

राज्यले बनाउने जलविद्युत् आयोजनाले आयोजनाको पूर्वाधारभन्दा बढी खर्च आधारभुत पूर्वाधारमा खर्च हुन्छ । हामी माइक्रो म्यानेजमेन्टको अधिकतम उपयोग गरी मितव्ययिता अपनाउँछौं । हामी कमसेकम खर्च गरेर उच्चतम गुणस्तरको पूर्वाधार तयार पार्छौं । मितव्ययिता अपनाउँदा पनि न्युनतम पूर्वाधार गुणस्तर त कायम भएकै हुन्छ । अनावश्यक खर्च गर्दैनौं । हामी र उहाँहरुमा फरक छ । विषम परिस्थितिका कारण हाम्रा आयोजना १–२ वर्ष ढिलो गरी सम्पन्न होलान् । राज्यले बनाउने जलविद्युत् आयोजना १०–१२ वर्षपछि सम्पन्न हुन्छन् ।

लिबर्टीले निर्माण गर्दै गरेको अपर दोर्दी ‘ए’बाट बिजुली बल्नै लागिसक्यो । यसको अर्थ लिबर्टीका लगानीकर्ताले अरुको भन्दा चाँडै राम्रो प्रतिफल पाउने हुन् ?

हामी अरुसँग तुलना गर्दैनौं । यतिमात्र भन्छौं कि हाम्रा लगानीकर्ताले अर्को आर्थिक वर्षबाट नै प्रतिफल पाउन थाल्छन् । म फेरि पनि दोहोर्‍याउन चाहन्छु कि यो वर्षबाट लाभांश बाँड्न सक्ने अवस्था हुँदैन । आगामी आर्थिक वर्षको उत्पादनबाट लाभांश वितरण गर्छौं । यो वर्ष त ६–८ महिनामात्र उत्पादन होला । अर्को वर्षको कमाइबाट चाहीँ लगानीकर्ताले आफ्नो हिस्सा पाउने म विश्वास दिलाउँछु ।

आयोजनामा अहिलेसम्मको प्रगति कति भएको छ ? कहिलेबाट उत्पादन सुरू हुन्छ ?

नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन निर्माण गरिदिए उत्पादन गर्न तयार छौं । प्राधिकरणले १–२ महिनामा काम सक्ने प्रतिवद्धता गरेको छ । १७ किलोमिटर प्रसारण लाइन निर्माण विभिन्न सिफ्टमा भइरहेको छ । सबस्टेसन बनिसक्यो ।

निष्काशन भएका हाइड्रोमा आवेदन परेको छैन । यसमा पनि त्यस्तै हुने त होइन ?

सबैले के बुझ्न जरुरी छ भने राम्रा राम्रा इन्स्योरेन्स कम्पनी, बैंकमा पनि त हकप्रद सेयर माग भएको छैन । लिलामी हुने गरेको छ । जलविद्युत्मा पनि यसरी नै नपर्न सक्छ । लगानीकर्ताले विश्वास नगर्न सक्छन् । दोस्रो बजारमा प्रतिकित्ता ३ हजार रुपैयाँ मूल्य छँदा वाणिज्य बैंककै सेयरमा हकप्रद माग भएको थिएन । यस्ता कुरा अपवाद हुन् । सबैलाई त्यसरी हेर्नु हुँदैन ।

जलविद्युत् कम्पनीमध्ये अधिकांशको सेयर मूल्य सयभन्दा कम छ । लगानीकर्ता स्वयम्को जलविद्युत् कम्पनीप्रति हेर्ने दृष्टिकोण किन यस्तो भयो ?

नेपालमा कुनै पनि व्यवसाय सिजनेबल हुन्छ । कुनै समय वाणिज्य बैंकको थियो, कुनैबेला विकास बैंकको थियो । कुनै बेला लघुवित्तको पनि थियो । हिले जलविद्युत् व्यवसायमा राम्रो प्रतिफल पाउने समय हुन लागेको छ । तर, जलविद्युत् प्रति लगानीकर्ताले हेर्ने दृष्टिकोण समारात्मक छैन । जलविद्युत्मा नियमसंगत काम नहुने बुझाइ छ । त्यो बुझाइ नै गलत छ । जलविद्युत्मा लगानी गर्ने कम्पनी पनि पब्लिक कम्पनी हुन् । यसका पनि सीमा छन् । निमय यस्ता कम्पनीमा पनि लागु हुन्छन् । खर्च गर्ने नियम हुन्छ । लेखापरीक्षण हुन्छ ।

मान्छेको बुझाइ हेर्नुस् त, विदेशी सहयोगमा बनेका जलविद्युत् आयोजना, राज्यले बनाएका आयोजना र हामीले बनाएका आयोजनालाई एउटै दृष्टिकोणमा हेरिएको छ । त्यसो नगर्ने चेतना हुन जरुरी छ । हिजो राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको तुलनामा अरु बैंकलाई हेर्ने नजर फरक थियो । आज त्यो करेक्सन भएको छ ।
जलविद्युत्प्रतिको बुझाइमा पनि करेक्सन हुन जरुरी छ ।

जलविद्युत् आयोजनालाई नियमन गर्ने विद्युत् नियमन आयोग बनिसकेको छ । हामीलाई नियमन गर्ने निकायले प्रबद्र्धन गर्नुपर्छ ।

स्थानीयको नाममा यसअघि जारी सेयरमा कस्तो प्रतिक्रिया आयो ?

स्थानीयका नाममा जारी भएको सेयर बिक्री भइरहेकै छन् । त्यहाँ समस्या छ । कोभिड–१९ का कारण बैंकसम्म जान नसक्ने, सबैको डिम्याट नहुने, सेयर किनेपछि बेच्ने प्रक्रिया झन्झटिलो हुने, ब्रोकरबाट एकाउन्ट पेयी चेक प्राप्त हुने । यस्ता कारण स्थानीय उत्साहित भए पनि सेयरमा आवेदन दिनेको संख्या कम हुने गरेको देखिन्छ ।

नेपालमा जलविद्युत्को स्कोप के छ जुन देखेर तपाईंहरु यस क्षेत्रमा लगानी गर्न आकर्षित हुनुभयो ?

नेपालमा जलविद्युत्को आवश्यकता छ । र, विकासको एउटा सारथी जलविद्युत् नै बनेको छ । हिजो हामी टुकी बालेर, नाकमा कालो दल्दै पढ्थ्यौं । ताउकी तताएर आइरन गर्थ्यौं । कोषौं टाढा पैदलमा पुग्थ्यौँ । आज त्यो दिन छैन । स्विच थिचे बत्ती बल्छ । विद्युतीय गाडी चढेर सरर जान्छौं । कुनै देशको आर्थिक वृद्धिसँग जलविद्युत्को अपरिहार्यता बढेको छ । तर, हाम्रो जीवनशैली परिवर्तन हुन नसक्दा विद्युत्को खपत बढ्न सकेको छैन ।

आज ग्यासभन्दा सस्तो इन्डक्सनमा खाना बनाउनु हुन्छ । पेट्रोलभन्दा सस्तो विद्युतीय सवारी चलाउनु पर्छ । ठूलो आयोजना बनाउने, उद्योग चलाउन बिजुली नभइ सम्भव छैन । डिजेल आयात गरेर बिजुली उत्पादन गर्नुभन्दा स्वेदशमा उत्पादित जलविद्युत् प्रयोग गरेर सस्तो पनि हुने राज्यलाई विदेशी मुद्रा सञ्चितिमा चाप पनि नपर्ने ।

३ दिन लाग्ने काम ३ घन्टा सक्ने अवस्था आएको छ । बिजुलीको देन होइन र ? नेपाल जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भएको देश हो भन्ने त सबैलाई थाहै छ । स्वदेशकै उत्पादनशील क्षेत्रमा लगानी गरौं भनेर यतातिर हात हालेका हौं ।

जलविद्युत् क्षेत्रप्रति राज्यको दृष्टिकोण कस्तो पाउनु हुन्छ ?

राज्य जलविद्युत् क्षेत्रप्रति निकै सकारात्मक देखिन्छ । निजीक्षेत्रलाई प्रबद्र्धन नगरेको भए आज हामी लगानीकर्ता भएर आउनै सक्दैन थियौं । राज्यको नजर ठीक भए पनि स्थानीय समस्या तथा प्रशारणलाइनसम्बन्धी समयमा सम्बोधन गर्नुपर्छ । ती समस्या सम्बोधन नभइदिँदा धेरै आयोजना रुग्ण हुँदै गएका छन् ।
पीपीए गर्नुभन्दा पहिल्यै मैले त्यहाँ प्रशारण लाइन बनाउन सक्छु कि सक्दिनँ । उसको बत्ती मैले किन्न सक्छु कि सक्दिनँ भनेर राज्य संवेदनशील भइदिनुपर्छ ।

भाग्यवस हामीले निर्माण गरेको ठाउँमा धेरै समस्या छैन । तर, अधिकांश ठाउँमा जग्गासम्बन्धी समस्या हुन्छ । त्यस्ता समस्या त स्थानीय तहले सहजीकरण गरिदिनुपर्छ । यसबाहेक राज्य गर्नुपर्ने काममा एकद्वार प्रणाली ल्याइदिनुपर्छ । जलविद्युत् आयोजना बनाउँदा आउन सक्ने समस्या एउटै निकायले हेर्नुपर्छ । कतिपय नीतिगत समस्या समयअनुसार सम्बोधन हुँदै पनि गएको छ ।

तपाईं बैंक, वित्तीय संस्था, पर्यटन तथा कृषि क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो । जलविद्युत् क्षेत्रमा काम गरिरहँदा कस्तो अनुभव भइरहेको छ ?

कुनै पनि कामसँग आफू खुसी हुनुपर्छ । मैले गरेको कामप्रति म जुन दिन सन्तुष्ट हुन्न, त्यही दिन छाडे हिँड्छु । आजको दिनसम्म यहाँ रहीरहनुको अर्थ पनि म यस क्षेत्रमा काम गर्दा आफू सन्तुष्ट नै छु भन्नुको प्रमाण हो । म हाइड्रोमा आउनुको कारण यसको लगानीनिश्चित समयसम्म निरन्तर हुन्छ र प्रतिफल पनि निश्चित हुन्छ । हिजो हामी केही काम गर्दै गर्दा देशमा १८ घन्टासम्म लोडसेडिङ थियो । हामीमध्ये कसैले ‘लौ न हाइड्रोमा लगानी गरौं’ भन्नु भएको थियो । आज सोही सपना साकार भएको छ । आज म सपना बाँचिरहेको छु ।

एउटा साधारण नेपालीको छोरोले जलविद्युत् उत्पादन गरेर राष्ट्रिय प्रशारणलाइनमा जोड्दा कुल अंशको २.५ प्रतिशत हुन आउँछ । हेर्नुस् त, राज्यलाई कति देन हुन्छ । व्यवसायीक फाइदा छ र राज्यलाई योगदान पनि छ । दोहोरो फाइदा छ ।

तपाईंहरूको टिम कस्तो छ ? कुन कुन हाइड्रोमा लगानी छ ?

हाम्रो जति राम्रो र डाइनामिक टिम कतै छैन । नेपालमा ग्रुप कल्चरबाट माथि उठेर हामी एकै सोच भएका व्यक्ति मिलेर लगानी गरेका छौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष आत्माराम घिमिरे, युवा व्यवसायी सुशील थापा, स्थानीय व्यवसायी राजेन्द्र वस्ती र म यस संस्थाको निर्देशक छौं ।

अहिले तत्कालका लागि लमजुङको दोर्दी खोलामा अपर दोर्दी ए जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रममा छ । त्यसबाहेक २४.६ मेगावाटको बडिगाड खोला जलविद्युत् आयोजना डीपीआरको अन्तिम चरणमा छ । उत्तरगंगा जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढिसक्दा हामी बडिगाड खोलाबाट हिउँदमा पनि २४.६ मेगावाट उत्पादन गर्न सक्छौं । त्यही राम्रो आयोजना हामीसँग छ ।

दोर्दी खोला नजिकै अर्को १.६ मेगावाटको लोदोखोला साना जलविद्युत् आयोजना केही अवधीमै सुरु हुन्छ । जसका लागि थप इक्विटी उठाउनु पर्दैन ।

यसको अर्थ, लिबर्टी इनर्जी कम्पनीमा लगानी गर्दा तत्कालमै प्रतिफल आइहाल्छ, लामो समयसम्म पनि चिन्ता गर्नु पर्दैन भन्ने हो ?

लिबर्टीमा लगानी गर्दा ढुक्क हुनुभए हुन्छ । अब हामी प्राधिकरणले सबस्टेसन नबनाएको, प्रशारणलाइन नभएको स्थानमा लगानी गर्दैनौं ।

अपर दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको विशेषताबारे केही थप प्रकाश पारिदिनोस् न !

अपर दोर्दी एका केही विषेशता छन्, जसले अरु जलविद्युत् आयोजनाभन्दा पृथक र सुरक्षित लगानी बनाउँछ । प्राधिकरणसँग गरेको सम्झौताबमोजिम ऊर्जा हामी उत्पादन गर्न सक्छौं । र, प्राधिरकणबाट सोहीअनुसारको रेभिन्यु प्राप्त हुन्छ । लगानी खेर नजाओस् भनेर हामीले निर्माण सामाग्रीमा कन्जुस्याईं गरेका छैनौं । विद्युत् उत्पादन गर्ने मेसिन युरोपियन प्रविधिको छ । नेपालमा पाइने सबैभन्दा उत्कृष्ट गुणस्तरका निर्माण सामाग्री प्रयोग गरेका छौं ।

हाम्रो आय वार्षिक ७६ देखि ८४ करोडसम्म हुने छ । त्यसका लागि राम्रो सामाग्री प्रयोग नगर्दा ३ महिनामात्र उत्पादन बन्द भयो भने वार्षिक २५ प्रतिशत आय गुम्नेछ । यस्ता कुरामा हामी सचेत छौं । यिनै कारण प्रतिफल राम्रो आउने छ र हाम्रा लगानीकर्ताले पनि सोहीअनुसारको लाभ पाउनसक्नुहुनेछ ।

भदौ ३ गतेदेखि लिबर्टी इनर्जी कम्पनी लि. को प्राथमिक सेयर निष्काशन (आईपीओ)मा सर्वसाधारणले लगानी गर्न पाउँदै हुनुहुन्छ । उहाँहरुलाई आवेदन दिन कसरी आह्वान गर्नुहुन्छ ?

आदरणीय लगानीकर्ता, तपाईंहरु ढुक्क भएका लगानी गर्नुस् । लिबर्टीका आयोजना र संस्थापकले कोहीलाई पनि निरास बनाउने छैनौं । किनभने हाम्रो जलविद्युत्बाट २–३ महिनामै उत्पादन सुरु हुन्छ । र, आगामी आर्थिक वर्षको उत्पादनबाटै लगानीकर्तालाई लाभांश दिन्छौं । आउने ३० वर्षमा केही हुने छैन । हामीले सम्भावित जोखिम कम गर्न इनर्जी इन्स्योरेन्स गरेका छौं । केही भएको खण्डमा सोहीबाट बेहोरिने छ ।

भोलि हाइड्रोपावर नै बन्दैन कि ? पैसा खाएर भाग्ने हुन् कि ? भन्ने चिन्ता नलिएपनि हुन्छ । हामी त बत्ति बाल्ने बेला भएपछि ‘लौ है, लगानी गर्न आउनुस्’ भन्दै छौं । आत्तिनै पर्दैन ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १५:५६
प्रतिक्रिया दिनुहोस्