नुन खानालाई स्वादिलो पार्नमात्रै हैन मानिसको स्वास्थ्यका लागि पनि आवश्यक मानिन्छ । नुन रासायनिक यौगिक हो र यसलाई सोडियम क्लोराइड भनिन्छ । शरीरमा आवश्यकताअनुसार नुनको आपूर्ति हुनसकेन भने मिर्गौलाले हाम्रो शरीरमा पानीको मात्रालाई नियन्त्रण गर्न सक्दैन र अनेकौं रोग देखा पर्न थाल्छन् । त्यसैले नुन सबैको पँहुचमा हुनैपर्छ । नुन भने अनिवार्य आवश्यकतामा पर्छ । पोषणविद्हरुका अनुसार नुन वयस्क मानिसको खानामा दैनिक ३ देखि ८ ग्रामसम्म हुनुपर्छ ।
अचेल बजारमा सुनको भाउ आकासिएको छ । तर, सुनको भाउ बढ्दैमा दैनिक जीवनमा भने कुनै असर पर्दैन । सुनले जनसाधारणका लागि अनिवार्य वस्तु होइन । सुन त देखवटीका लागि लगाउने वस्तुमात्रै हो । सुनले त बाहिरी सुन्दरताको रहर केही समय पूरा गर्ला तर भोक, तिर्खा मेटाउन सक्दैन । स्वास्थ्यको दृष्टिले पनि कुनै काम गर्दैन । सुन विलासी वस्तु हो । यो नभए कुनै आपत हुँदैन ।
सुन लगाउँदैमा कोही ठूलो हुँदैन र नलगाउँदैमा कोही सानो पनि हुँदैन । हाम्रो समाजमा निम्न आय वर्गका व्यक्तिले जोरजाम गरेर सुन लगाए पनि पित्तल देख्ने र धनीमानी भनेर चिनिएकाले पित्तल लगाए पनि सुन देख्ने चलन छ । समाजको यस्तो सोच्ने मन पिन फेरिन जरुरी छ ।
सुनविना जीवन चल्छ नुनविना चल्दैन । मानिसले घुमन्ते जीवन त्यागेपछि नुनको प्रयोग गर्न थालेको पाइन्छ । विशेष गरेर खेतीपातीको युगमा प्रवेश गरेपछि मानव जीवनमा नुन अभिन्न अंग बन्न पुगेको देखिन्छ । प्राचीनकालमा रोमनकालमा सैनिकलाई तलबको साटोमा नुन नै दिने गरिन्थ्यो । त्यसकारण पनि नुनको महत्त्व धेरै नै भएको हो । अंग्रेजी स्यालरी शब्द ल्याटिन सल्टबाट बनेको हो । त्यसैले नुनको अत्यन्तै महत्व छ ।
सुन जसरी नुनको भाउ नबढोस् । हामीले पनि सुनलाई हैन नुनलाई महत्त्व दिनुपर्छ ।