
काठमाडौं । कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतको आफ्नो भूमि समेटेर नेपालले नक्सा जारी गरेपछि पहिलो पटक नेपाल-भारतका प्रतिनिधिबीच छलफल हुने भएको छ ।
लामो समयदेखि नक्साको विषयलाई लिएर दुई मुलुकबीचको सम्बन्धमा समस्या सिर्जना भएको थियो । तर, स्थितिलाई सहज बनाउँदै लैजाने उद्देश्य अनुरुप नेपालका लागि भारतीय राजदूत वियन मोहन क्वात्रा र परराष्ट्र सचिव शंकरदास बैरागीबीच छलफल हुने भएको हो । उक्त छलफल परराष्ट्र मन्त्रालयमा हुने भएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, "नेपाल-भारतबीचमा भारतको सहयोगमा सञ्चालित परियोजनाहरुको प्रगति समीक्षा गर्ने 'ओभर-साइट मेगानिज्म' छ । त्यो दुबै मुलुकको प्रतिनिधिहरु हुनुहुन्छ । त्यो संयन्त्रको छलफल गर्ने भन्ने कुराकानी भइरहेको छ । कहिले के हुन्छ भनेर मिति तय भइसकेको छैन ।"
नेपालका लागि भारतीय दूतावास स्रोतले भने अगस्त १७ का लागि तय भएको जनाएको छ । स्रोतले भन्यो, "अगस्त १७ मा भिडियो कन्फरेन्समार्फत उक्त बैठक हुँदैछ । बैठकमा भारतको लगानीमा सञ्चालनमा रहेका विभिन्न परियोजनाको मूल्यांकन र समीक्षा हुनेछ ।"
कोरोना भाइरसको महामारीका कारण सो बैठक भिडियो कन्फ्रेन्समार्फत हुने तय गरिएको जनाइएको छ । परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त समितिको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाईमा भएको थियो ।
यसअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेपछिको अवस्था र नेपालको विमति रहेको जानकारी गराउन परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय राजदूत क्वात्राबीच छलफल भएको थियो ।