
काठमाडौं । देशैभर कोभिड १९ को संक्रमण बढ्दै जाँदा जनजीवन फेरि प्रभावित भएको छ । चैतदेखिको करिब तीन महिना पूर्ण लकडाउनका कारण निकै प्रभावित उद्योग व्यवसाय केही साता सञ्चालनमा आए पनि पुनः बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । देशको प्रमुख औद्योगिक करिडोर बन्द भएका छन् भने सञ्चालनमा रहेका उद्योगहरु पनि क्षमताभन्दा निकै कममा चलिरहेका छन् । केही चलेका उद्योग व्यवसायले पनि बजार पाएका छैनन् त केही कच्चा पदार्थको अभाव सञ्चालनमा आउन सकेका छैनन् ।
पछिल्लोपटक कोरोनाबाट निकै प्रभावित प्रदेश १ को विराटनगर, झापालगायतका क्षेत्रमा रहेका उद्योग व्यवसाय पूर्ण रुपमा बन्द भएको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्का प्रदेशमा रहेका ७० प्रतिशत उद्योग व्यवसाय बन्द भएको बताउँछन् । यस प्रदेशमा साना ठूला गरी करिब एक हजारको हाराहारीमा उद्योग रहेकोमा कोरोनाका कारण अधिकांश बन्द गर्नुपरेको उनले बताए ।
उद्योग व्यवसाय बन्द हुँदा श्रमिक पनि प्रभावित भएका छन् । उनका अनुसार यस प्रदेशमा करिब ४ लाख श्रमिक छन् ।
यस्तै कोरोना संक्रमण बढ्दै गएपछि पूर्ण लकडाउनमा रहेको प्रदेश २ मा रहेका उद्योग व्यवसाय पनि पूर्ण रुपमा बन्द रहेको उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकार साह हीरा बताउँछन् । “देशकै ठूलो वीरगन्ज औद्योगिक क्षेत्र पनि बन्द छ,” उनले भने, “अत्यावश्यकका थोरै संख्यामा उद्योग व्यवसाय चले पनि अन्य सबै बन्द छन् ।” यसभन्दा अगाडिको लकडाउन खुकुलो भएपछि सञ्चालनमा आएका उद्योग पनि पछिल्लोपटक प्रदेशमा लगाइएको लकडाउनले ध्वस्त भएको उनले बताए । यस प्रदेशका ग्रामीण क्षेत्रमा पनि नगरपालिकाहरुले बन्द गर्न थालेको उनले जानकारी दिए । “वीरगन्ज, पथलैया करिडोर ठूलै करिडोर हो, अहिले यस्ता ठूला करिडोर पनि पूरा बन्द भइसके,” उनले भने ।
यता, उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ कोरोनाका कारण धेरै उद्योग व्यवसाय सञ्चालन गर्ने अवस्थामा नरहेको बताउँछन् । उद्योग व्यवसाय खुले पनि माग नभएको र उत्पादन पनि निकै कम रहेको उनले बताए । “अत्यावश्यक खाद्य उद्योगलगायत केही खुलेका छन्,” उनले भने, “तर, खुलेका उद्योग व्यवसाय पनि ४० प्रतिशत क्षमतामा मात्रै चलेका छन् ।” यस प्रदेशमा कति जनाले रोजगारी गुमाए यकिन तथ्यांक नभए पनि करिब १० प्रतिशतको रोजगारी गुमेको हुन सक्ने उनले बताए ।
गण्डकी प्रदेशमा पनि अवस्था उस्तै छ । महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाका अनुसार यस प्रदेशमा करिब ४० प्रतिशतले रोजगारी गुमाइसकेका छन् । निर्माण क्षेत्रलाई समेत जोड्दा ६० प्रतिशत बढीले रोजगारी गुमाएको उनले बताए ।
“सञ्चालनमा रहेका उद्योग पनि ४० देखि ६० प्रतिशत क्षमतामा सञ्चालित छन्,” उनले भने, “केही उद्योग चले पनि माग छैन ।” उनले रोजगारी गुमाएका धेरै व्यक्ति रोजगारीको खोजीमा भौंतारिएको बताए । “खान, बस्नको समेत समस्या भएको भन्दै दैनिक १५/२० जना त मसँग रोजगारीका लागि आउने गरेका छन्,” उनले भने, “तर, रोजगारी दिन सक्ने अवस्था छैन ।”
यता, कर्णाली प्रदेशमा रहेका साना तथा मझौला उद्योग व्यवसाय कोरोनाको चपेटामा परेको महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही बताउँछन् । “यस प्रदेशमा धेरै साना तथा मझौला उद्योग व्यवसाय छन्, तर अहिले सबै पूर्ण रुपमा बन्द छन्,” उनले भने, “सोही कारण धेरैको रोजगारीसमेत गुमेको छ ।” उनका अनुसार होटेल क्षेत्रमा काम गर्ने ७५ प्रतिशत बढीले रोजगारी गुमाएका छन् । बजार, जनशक्ति, कच्चा पदार्थको अभावमा भएका साना तथा मझौला उद्योग बन्द भएको उनले बताए ।