
काठमाडौं । कोरोना संक्रमतिको संख्या बढ्दै जाँदा सरकारले लकडाउन के गर्ने भनेर स्वास्थ्य विज्ञहरुसँग छलफल गरिरहँदा निजी क्षेत्रले भने लकडाउन नगर्न आग्रह गरेको छ । मुलुकको अर्थतन्त्रले आगामी लकडाउनलाई थेग्न नसक्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अब अर्को लकडाउनले अर्थतन्त्रले धान्न नसक्ने बताउँछन् । पहिलो चरणको लकडाउनले नै मुलुकको अर्थतन्त्रलाई नाजुक अवस्थामा पुर्याइसकेको अवस्थामा फेरि लकडाउन सहनै नसक्ने उनले बताए । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण र परीक्षणको दायरा बढाउँदै लैजानुपर्नेमा उनले जोड दिए । “अर्थतन्त्रले अर्को लकडाउन धान्न सक्दैन, हाम्रो अर्थतन्त्र क्रिटिकल अवस्थामा पुगेको छ,” उनले भने, “कोरोना संक्रमण बढेको छ र मृत्युको संख्या पनि बढेको छ । त्यसैले पीसीआर परीक्षण बढाउनुपर्छ ।”
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि फेरि लकडाउन गर्नपर्ने अर्थतन्त्रका लागि घातक हुने बताउँछन् । उनले सीमा क्षेत्रसहित काठमाडौं उपत्यका प्रवेशका नाकाहरुमा थप कडाइ गर्न सरकारलाई आग्रह गरे । विदेशबाट अहिलेको अवस्थामा पनि कामदार आइरहेको प्रति निजी क्षेत्रले गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । एक व्यवसायीले भने, “सरकारले भारतबाट कामदार आउनुअघि श्रम स्वीकृति चाहिने व्यवस्था तत्काल गर्नुपर्छ । भारतबाट आएकाबाट संक्रमण बढेको भन्दै उनले यसो गरिए मात्र भारतबाट जथाभावी मान्छेहरु नेपाल प्रवेश गर्न रोकिन्छन् ।”
स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाबाट मात्रै कोरोना संक्रमणबाट बच्न सकिने भन्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले कोरोनाको परीक्षण पनि बढाउनुपर्ने बताउँछन् । “सही निर्णय भनेको नै प्रिकसन नै हो । जनतालाई सचेत गराऔं र जनता आफैं पनि सचेत बनौं,” उनले भने । सभा, सम्मेलन, भोज भतेर नगर्न सुझाउँदै उनले भिडमा नजान र सुरक्षाको उपाय सबैले अपनाउनुपर्ने बताए ।
चेम्बर अध्यक्ष श्रेष्ठ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए । “जति कडा भयो त्यति नै मान्छे सचेत हुनेभए, त्यसैले सुरक्षाका मापदण्ड पालना गर्न कडाई गरौं, लकडाउन नगरौं,” उनले भने ।
सुरुदेखि नै देशको अर्थतन्त्रले लामो समयसम्मको लकडाउन थेग्न नसक्ने आफूले भन्दै आएको गोल्छाको भनाइ । “मैले पहिलेदेखि नै लामो लकडाउन अर्थतन्त्रले धान्न नसक्ने बताउँदै आएको छु,” उनले भने, “अहिले पनि भन्छु अर्थतन्त्रले अर्को लकडाउन थेग्नै सक्दैन ।” अब कोरोनासँग लड्नुको विकल्प नरहेको उनको भनाइ छ । “लकडाउन भनेको लक्जरी हो । लक्जरी हामीले अफोर्ट गर्न सक्छौं ?” उनले प्रश्न गरे । अब तुलनात्मक जोखिम के छ, त्यो हेर्नुपर्ने, उनको सुझाव छ । “जोखिम भएको ठाउँमा बढी ध्यान दिनुपर्यो, परीक्षण बढाउनुपर्यो । अब पुनः लकडाउन देशको अर्थतन्त्रले थेग्न सक्दैन,” उनले भने ।
फेरि १५ दिन लकडाउन गर्दैमा कोरोना नसकिने भन्दै सरकारले लकडाउन गर्ने विषयमा सोच्च पनि आवश्यक नरहेको श्रेष्ठको भनाइ छ । “अब फेरि १५ दिन लकडाउन गरेर के कोरोना हट्छ ?” उनले भने, “बरु सरकारले कडा रुपमा अनुगमन गर्नुपर्यो । कोरोनाविरुद्ध सुरक्षाको उपाय अबलम्बन नगर्नेलाई कडा सजाय हुनुपर्यो र सबै सचेत बन्नुपर्यो ।”
तीन महिना बढीको पूर्ण लकडाउनले संकटग्रस्त बनेको अर्थतन्त्र विस्तारै उठ्न मात्रै प्रयास गरेको भन्दै निजी क्षेत्रले लकडाउनले मात्रै कोरोना नियन्त्रण नहुने जनाएको छ । पीसीआर परीक्षण बढाउनुपर्ने र स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण पालना गराउन प्रशासन लाग्नुपर्ने निजी क्षेत्रको सुझाव छ । परीक्षणको दायरा बढाउनेसहित अन्य पूर्वतयारी र जनसचेतना नबढाई लकडाउन गरिए आर्थिक रुपमा देश ठूलो समस्यामा पर्ने चेतावनी निजी क्षेत्रले दिएको छ ।