site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बँधुवा
Sarbottam CementSarbottam Cement

नन्दलाल आचार्य


“चुप रही न बौवा, भात पाइक रहल छै । पहिने तोरै खाइल देबै ।” 

गोसैया तेली आफ्नो जेठो छोरा बिजुवालाई खाना पाक्दै छ, तँलाई नै पहिले खान दिउँला भनेर फकाउँदै रहेछन् । म एबी महलबाट सामान किनेर फर्केको थिएँ । गहिरो साँझ परिसकेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्मरमा हात लगाएर गोसैयाको घरतिर हेर्न थालें । बिजुवाको बालसुलभ कचकचले रोकिने नाम लिइरहेकै थिएन । बच्चा रोएको सुन्नै सकिनँ र हिँडिसकेको मान्छे टक्क अडिएँ । मेरा गोडा अनायासै उनको दलानतिर लम्केछन् ।

“नमस्कार, नमस्कार मास्टर साहेब,” गोसैया मेरा सामु हात जोडेर खडा हुँदा पो म झसङ्ग भएँ । उनले टाउकामा गम्छा बेरेका थिए । लामो, मैलो कमिज र पाइजामाको परिधानमा थिए । उनको शरीरबाट पसिनाको गन्ध आइरहेको थियो ।

Global Ime bank

मैले हात जोडिरहें । तर मुखबाट एक शब्द पनि निकालिनँ । किन म उनका सामु बोल्न सकिनँ, मलाई नै थाहा भएन । 

“सानो छँदा उनी नै ममाथि शासन गर्थे । अहिले बुढेसकाल चढेपछि उनी नै अघिअघि हात जोड्न आइपुग्छन्,” मनमा जे कुरा खेले पनि मेरा आँखा वरपरको दृश्य पढ्न व्यस्त भइरहे ।

वरिपरि बाँसका घँसिटाको टाटीले बारेको सानो आँगन थियो । सामुन्नेमा साना दुइटा झुपडी खडा थिए । एउटाको चाहिँ बाँसकै ढोका थियो । त्यो बन्द थियो । झुपडीकै सामुन्ने बाँसकै घनो गाडेको थियो । घनोको टुप्पामा त्रिशूल थियो । त्रिशूलको फेदमा रातो ध्वजा बाँधिएको थियो । त्यस घरलाई उनीहरू ‘गोसाइँ घर’ भन्थे । हामीहरू भने उनीहरूका कुलदेउता रहने घर भनेर बुझ्थ्यौं ।

घनोलाई चामलको पीठो र सिन्दूर–अबिरले पोतेर सजाइएको थियो । त्यस घरका भित्ताहरूमा समेत कलात्मक मिथिला चित्र कुँदिएका थिए । तिनको रङ भने उडिसकेको थियो । आँगन सफा थियो । लिपपोतको कमी र भर्खरै पानी पर्नाले बिरुप भएको थियो । 

पारोदेवी तेलिनीले मेरो छेवैमा काठको पिरा ल्याएर राखिसकेकी थिइन् । हामीहरू जस्ता दुःखी–दरिद्रीहरूको घरमा आएर खडा नहुनुस्, हजुर बस्नुभयो भने हाम्रो दिल प्रसन्न हुन्छ भन्दै आग्र्रहस्वरुप भनेकी थिइन्, “हमसभ जकाँ दुःखी–दलिदरकें आङनामे आइबक खडा नई होऊ । अहाँ बइसबे त हमसभके दिल खुस भजेतै ।”    

जति आग्रह गरे पनि म बसिनँ । बरू बिजुवा रूनुको कारण पत्ता लगाउन चाहें । आँगनको पूर्वी कुनामा चुलो थियो । त्यसमाथि सिलेबरको ठूलो भाँडो बसाइएको थियो । उनीहरू चुलो वरपर बसेर हात सेक्दै थिए । राम्ररी नियालेर हेरें । भाँडामा पानी मात्र थियो । त्यसमा कुनै अन्नको गेडोसमेत थिएन ।

पारोदेवीले लुकाएर भाँडामा छुसुक्क केही हालिन् । मैले घाँटी तन्काएर हेरें । भाँडाको पानीमाथि खरानी तैरिरहेको थियो । बिजुवाका आँखा मेरो अनुहार टुलुटुलु हेर्न व्यस्त थिए । म भएकाले होला, ऊ चुपचाप थियो । घरीघरी पानी उम्लन लागेको भाँडातिर पनि नजर दौडाउँथ्यो । परतिर झुन्डिएको कोक्रामा सानो छोरो गोपिया उठ्ने तरखरमा कन्दै थियो ।

“भाँडोमा के पाक्तै छ, गोसैयाजी ?” मेरो मुखबाट निस्केको प्रश्नको जवाफ दिनुको साटो उनले आफ्नो अनुहार झन् कालो बनाए । पारोदेवीले अर्कातिर मुन्टो बटारिन् र सारीको फेरोले आँखा पुछिन् ।

म झन् बिलखबन्दमा परें । पहिलेकै प्रश्न दोहोर्‍याई तेहेर्‍याई सोधें । बिजुवा नजिकै बसेर हाम्रा कुरा सुनिरहेको थियो । जवाफ दिनुको साटो गोसैयाले चुप लाग्न सङ्केत गरे । म झन् आश्चर्यचकित भएँ । बेकारमा उनका घरमा पसेछु जस्तो लाग्यो । 

गाउँघरमा कारिचरण मगर मास्टरजी भई सम्मान कमाएको मान्छेलाई आफ्नै गाउँको तेली दाइले चुप लाग्न पो भने है भनेर मन दुःखी बनाएँ । अर्को मनमा भिन्नै कुरा पनि आयो– होलान्, उनका पनि कुरा । उनी अपमान गर्दै हिँड्ने मान्छे त होइनन् । म पनि काम न काजको यतातिर पसें । नजाने गाउँको बाटै नसोध्नू भनेको ठीकै हो । सरासर घर जान छाडेर अर्काको पारिवारिक मामिलाबारे सोधखोज गर्दै हिँडेपछि म जस्तालाई चुप लाग्न सङ्केत गर्नु ठीकै त हो । 

यस्तै सोचेर मनको रिस त्यहीँ मिल्काइदिएँ । घरतिर पाइलो बढाउनुपूर्व बिजुवाको निर्दोष अनुहार सम्झिएँ । उसको नजर मतिरै थियो । इसाराले उसलाई बोलाएँ । ऊ दगुर्दै आयो । 

मैले आफूले बोकेको झोला खोलें र दुइटा बिस्कुट उसको हातमा राखिदिएँ । ऊ खुसीले फुरूङ्ग पर्यो । आँसु पुछ्यो । तैपनि अरु केही दिन्छ कि भनेर मतिर हेरिरहे झैं लाग्यो । 

सायद खेलौना पो खोजेको हो कि भन्ने लाग्यो । पैसै दिएर सन्तुष्ट पार्नुप¥यो भनेर गोजी छामी हेरें । खुद्रा पैसा रहेनछ । सानो पैसो भनेको पचासको नोट रहेछ । बच्चाको मन खुसी पार्न सके मलाई अपूर्व आनन्द आउँथ्यो । त्यसैले म त्यहाँ रोकिएको थिएँ ।

“ल, बिजुवा बाबु, अब खुसी हुनू । यसले पिँपीँ बाजा आउँछ, आकाशमा उडाउने बेलुन पनि आउँछ । मुख मिठ्याउने वस्तु पनि पाइन्छ । अब त खुस !” मैले उसको गाला मुसार्दै भनें । उसले के बुझ्यो, बुझेन । तर खुर्र दगुरेर पारोदेवीको काखमा बस्न पुग्यो । 

मेरा गोडाले आँगन छाडिसकेका थिए । गोसैया मेरो पछिपछि निकै वरसम्म आएका थिए । मैले एक पटक पनि फर्केर हेरिनँ । उनी आफ्नै धुनमा बर्बराउँदै थिए । मैले केही पनि बुझिनँ र बुझ्न पनि चाहिनँ । 

मात्र यत्ति कुरा मेरो कानमा ठोक्किन पुग्यो, “मास्टर साहेब, गल्ती भए माफ पाऊँ हजुर ! मेरो छोरा हजुरदेखिन् साह्रै खुस भयो हजुर ! हजुरको जय होस् । प्रभुले हजुरको कल्याण गरुन् ।”

मैले निर्दयी मन सच्याउन कोसिस गरें । फर्केर उनको मुहार हेर्ने मन थियो । तर मभित्रको अहम्ले दिएन । आफू नफर्की हात मात्र पछाडितिर फर्काएर “ठीकै छ” भनेर उनलाई साङ्केतिक जवाफ फर्काएँ । र सरासर आफ्नो घरतिर बाटो तताएँ । 

०००

भोलिपल्ट शुक्रबारको दिन थियो । डेढ बजे नै विद्यालय छुट्टी भयो । बजारतिर कतै नअलमलिई म सरासर टुर्कियातिर जाँदै थिएँ । आँप फुले, नफुलेको हेर्ने मन भयो । सैनिक चोक पुगेपछि गोबिन साहूको चारबिघे फूलबारी हुँदै जाने बाटो थियो । त्यहीँ बाटो नजिकै मेरो पनि दुईकठ्ठे सानो फूलबारी थियो ।

चर्को घाम लागेको थियो । खेतमा कोही घाँस काट्दै थिए । कोही भने खेत छेउछाउ भैंसी चराउँदै थिए । कोही गोडमेलमा व्यस्त देखिन्थे । कोहीकोही भने मेलाबाट घरतिर फर्कंदै थिए । 

परैबाट मैले गोसैयालाई खेत जोतिरहेको देखें । बडाबडा गोरू थिए । उनले जोतेको खेत गोबिन साहूको थियो । 

“ए, गोसैया पनि गोबिनकहाँ हली बसेका रहेछन्,” मेरो मुखबाट अनायासै बोली फुट्यो । मेरो कुरा सुन्ने त्यहाँ कोही थिएन । मैले बेकारमा बोलेर यस बाँझो खेतलाई के गन्थन सुनाएको हुँला ! मनमा जे कुरा खेले पनि चुपचाप चुपचाप म अघि बढ्दै थिएँ ।

म धेरै वर्ष गोर्खामा बसेर काम गरें । चाडबाडमा मात्र घर आउँथें । त्यसैले छिमेकका मानिसलाई समेत राम्ररी चिन्दैनथें । गाउँका पुराना मानिसलाई चाहिँ चिन्थें । तर को के गर्छ त्यो भने ठम्याउने अवस्थामा आइपुगेको थिइनँ । कारण म भर्खरै जिल्लान्तर सरूवा भएर जमदह स्कुल आएको थिएँ ।

“ए, कारिचरण सर, यता आउनुस्, यता ! एकछिन सुस्ताएर जानुस्,” बोली आएतिर म फर्किएँ । परको आँपको बोटमुनि कालो छाता टेकेर गोबिन साहू खडा थियो । ऊ हातले मलाई नै इसारा गरिरहेको थियो । म उत्तै लागें ।

गोसैयाको नजिक पुगेपछि उनले मतिर पुलुक्क हेरेर जमिनतिर नजर गाडिहाले । उनको एउटा हातमा अनौ थियो, अर्को हातमा लौरो । उनी सक्दो छिटो गोरू धपाइरहेका थिए ।

म नजिकै पुगेपछि “नमस्कार मास्टर साहेब !” उनले यत्ति मात्र भन्न भ्याए । मेरो मुखबाट जवाफ फर्कला कि भनेर प्रतीक्षा गर्न पनि सकेनन् । मैले टाउको उठाएर उनीतिर हेर्दा गोरू जोत्दै निकै टाढा पुगिसकेका थिए ।

मैले केही पनि जवाफ फर्काइनँ । फर्काउनुको कुनै औचित्य पनि थिएन । फर्काउने मन भए पनि मुख खुल्दै खुलेन । अघिल्लो दिनको दुखेसो मनको एक कुनामा जिउँदै थियो । अर्कातिर मालिकका अगाडि नै उसको हलीलाई गफमा भुल्याएर काममा बाधा दिन पनि गाह्रो थियो । उता गोबिन हातले इसारा गरिरहेको थियो ।

केही बेरमै म हात जोड्दै गोबिनसामु खडा हुन पुगें । उसले बस्न भन्यो । मैले उठेरै केही कुरा भए भन्न आग्रह गरें । 

उसले नजिकैको बाँसको पटाहामा लागेको धूलो टकटक्यायो र म नजिक राख्दै भन्यो, “सर, बसौं न ! उठेर गर्ने गफै छैन । यस्तैमा बसौं र बात मारौं, हुन्न र ?”

उसको पुच्छे« प्रश्नको जवाफ टाउको हल्लाएर दिँदै म पटाहाको एक छेउमा बसें । अर्को छेउमा छाता ओछ्याएर ऊ बस्यो । 

“सर, तपैंलाई बोलाउनुको खास कारण चाहिँ हली खोज्न हो । तपाईंको टुर्किया गाउँमा कामको खोजी गर्ने त्यस्ता इमानदार मान्छे पाइँदैनन् र ?” उसले सुस्तरी कुरा बुझ्न खोज्यो ।

“गोसैया छँदाछँदै अर्को किन चाहियो र ?” मैले उल्टै प्रतिप्रश्न गरें ।

“त्यो बूढो भयो । कामचोर हुँदै गयो । बेइमानी पनि गर्न थाल्यो,” उसले गोसैयाको भेद खोल्न खोज्यो ।

“चित्तबुझ्दो काम नभए, यहाँ यसकारण मलाई मन परेन । यसरी सुधार र सुध्रिहाल भनेर मौका दिनुपर्छ । सप्रे ठीकै मान्नुपर्छ । नसुध्रे मात्र विकल्प सोच्नुपर्छ, महाजनजी !” मैले मेरो मन खोलेर देखाइदिएँ ।

ऊ त अझ रौद्र रुपमा पो आयो । आँखा ठुल्ठूला पार्यो । कालो मान्छे रिसले झन् रातोपिरो भयो । पटाहाबाट जुरूक्क उठ्यो । मेरो अनुहारमा भयका रेखा दौडिएको देखेर होला, ताउरमाउर गर्न थाल्यो ।

“म सल्लाह बाँड्दै हिँडेको हैन । मागेपछि दिएको मात्र हो । नराम्रो लागे, अस्वीकार गर्दा भइगयो नि ! किन हाउभाउ देखाएर मलाई नै भयभीत पार्न खोज्नु !” मेरा मनमा यस्तै कुरा आए । तर मुखबाट निस्कन भने सकेनन् ।

“तपैं मास्टर जस्तो मान्छे ! ससाना केटाकेटीहरूलाई हप्काउने, तर्साउने र अह्राउने मान्छे भएर म जस्तो पाको र गाउँकै गन्यमान्य मान्छेलाई उपदेश दिँदै हिँड्नुहुन्छ ? तपैंको बकवास तपैंसँगै राख्नुस् । चाहिँदैन मलाई कसैको अर्ती–उपदेश !” उसले आफ्नो कालो मन प्रस्ट देखाइदियो । म भने पटाहामाथि नै बसेको बस्यै भएँ ।

“यो गोबिने साहू ननिको मान्छे नै हो । लिनुदिनु केही नभएको म जस्तो मान्छेसँग त यसरी रिसाउँछ । यसका अधीनस्थ नोकरचाकरसँग झन् कस्तो व्यवहार गर्ला !” यस पटक पनि मेरो मन मडारियो । तर ओठ भने खुलेन । मात्र टुलुटुलु त्यसैलाई हेरिरहें । म शब्द हराएको अवस्थामा थिएँ । के भनूँ, के नभनूँ भइरहेको थियो ।

“तपैं के बुझ्नुहुन्छ, त्यस गोसैयाको बारेमा ?” उसले प्रश्नसूचक नेत्रले मलाई हेरिरह्यो । म अझै चुप थिएँ । ऊ छाता टेकेर मेरै सामुन्नेमै खडा थियो । र मबाट जवाफ आउला कि भनेर पर्खिरहेको थियो ।

म प्रतिक्रियाविहीन भएको देखेर आफैं भट्याउँदै गयो, “सुन्नुस्, त्यस गोसैयाका कर्तुतहरूको कहिरन । खाजाका लागि जति रोटी दिए पनि कहिल्यै प्रशस्त भयो भनेन । सात–आठ ओटा दिँदा पनि पुग्यो भनेन । कारण धेरै पछि मात्रै खुल्यो । उसलाई खान दिएको आधा रोटी गोजीमा पो हाल्दो रहेछ ।”

म छक्क परेर सुनिरहेको थिएँ । गोसैया हलो जोत्दाजोत्दै घरीघरी हामीतिर पुलुक्क हेर्थे । म पनि उसैगरी उनीतिर हेर्थें र तुरून्तै गोबिनको अनुहार नियाल्नतिर फर्किहाल्थें । 

“खाना खाँदा पनि धेरै माग्थ्यो । रूचेसम्म खान्थ्यो । बचेको जुठो भात प्लास्टिकमा हालेर घर लग्थ्यो । बन्देज गरेपछि भात रहनै दिएन । सबै खाएर सक्न थाल्यो । मानादुएक चामलको भात एकै छाकमा तुर्‍याउँछ ।” गोसैयाको खानपिनबारे असन्तोष बताएर सकिएकै थिएन, मैले हाई काढें । ऊ सचेत भयो । 

प्रसङ्ग बदल्दै अलिक सहज हुँदै उसले भन्यो, “म यसलाई बदल्न चाहन्छु । भाइ कलुवाकहाँ यसलाई पठाइदिन्छु । र यसको ठाउँमा बरू तलब दिएरै नयाँ हली राख्छु । यो गोसैया मेरो अंशमा परेको थियो । अब यो रोगी पनि भयो । यसमा बुढ्यौलीपन पनि चढ्दै गयो । अब यसको मूल्य सिद्धिँदै गयो ।”

मैले केही भनिनँ । गोसैयाविरूद्धका लामा गन्थन सुन्दासुन्दा कान पाके । मन थाक्यो । बोल्न मन लागेका कुरा मनमै थन्क्याएर सकारात्मक जवाफको सङ्केत दिएर उठें । र बिस्तारै टुर्कियातिर पाइला बढाउँदै गएँ ।

“ल है सर, टुर्कियाको सोझोसीधा र बलियोबाङ्गो एक जना हली मेरो कामतमा चाँडै पठाउनुस् है !” उसले जे भने पनि म रोकिइनँ र फर्केर हेरिनँ पनि । “हुन्छ” भन्नका लागि मात्र टाउको हल्लाउँदै हिँड्दै गएँ ।

नजिकैको आफ्नो बारीका रुख नियालें । आँप फुल्न थालेछन् । वरिपरि घुमीघुमी हेरें । गोबिनको एकलकाटे कुराले मेरो मनको दियो निभेको थियो, मञ्जरी लागेको र फुलेको आँप देखेर दियो पुनः बल्यो । रुखमुनिको शीतलता र वरपरको सुवासिलो वातावरण पाएर त्यहीँ बसिरहूँ झैं लाग्यो । केहीबेर अलमलिएर म अघि बढें । 

०००

मेरो मनमा गोसैयाप्रति माया जागेर आयो । घर पुग्नासाथ फर्केर उनकहाँ पुगूँपुगूँ लाग्यो । यद्यपि उनी दिनभर गोबिनकहाँ हलो जोत्दै थिए । घरमा भेटिने कुरा आएन । काममा बाधा पुर्याउन खेतमै जान मिलेन । त्यस्तो नभेटी नहुने खासै काम पनि होइन । उनको दिनचर्या बुझ्ने मन मात्र हो । म चुपचाप घरमै थच्चिएँ ।

गोसैयाको घरमा भएको घटना झलझली याद आयो । खाना पकाउने बेला खरानी पानी पकाउनुको कारण के होला ? किन उनका घरका बाख्रापाठा मरन्च्याँसे भएका होलान् ? कोक्रामा सुतेको उनको छोरो गोपिया पनि पिलन्धरे देखिन्थ्यो । अर्को बिजुवा पनि उस्तै थियो । उनी आफू मात्रै नभएर पारोदेवीसमेत दुब्लीपातली थिइन् । कारण के होला ?
मनमा प्रश्न मात्र थिए । उत्तर पाउन गोसैयाकहाँ नै पुग्नुपथ्र्यो । त्यो दिन त्यत्तिकै बित्यो । भोलि शनिबार सबेरै जाउँला र मौका मिले कुरा बुझूँला भनेर रात पनि बिताएँ ।

मनमा एउटा कुरा आएपछि त्यसको जरोसम्म नपुगी मेरो चित्तै बुझ्दैनथ्यो । चित्त नबुझ्ने बानी अहिलेको होइन, पहिलेदेखिकै हो । अरुभन्दा बेग्लै अपूर्व काममा हात हाल्ने र नमिलेको काम कुरा मिलाउने, मिल्न नचाहनेलाई चाहिँ चट्टै छाडिदिने बानी अझैसम्म थियो ।

शनिबारको दिन आयो । मैले स्कुल जान परेन । एकाबिहानै म गोसैयाकहाँ पुगें । बाहिरको गोरेटो बाटोबाट अनुमान लगाउँदा उनी उठेकै रहेनछन् । एकाबिहानैदेखि बिजुवा र गोेपियाले खाने कुरा मागेर पारोदेवीलाई वाक्कदिक्क लगाउँदै रहेछन् । कसैले थाहा नपाईकनै म बाटोबाटै फरक्कै घुमें । बाटो मास्तिरको पञ्चदेव यादवको किराना पसलमा केही खाने कुरा र खेलौना किनेर फर्किएँ ।

मैले आँगन टेक्नासाथ गोसैया हात जोड्दै मेरा सामु खडा भए । पारोदेवी चाहिँ गोपियालाई दूध चुसाउँदै रहिछन् । कोल्टे फर्केर मजेत्रोले बच्चालाई ढाकेर घोसे मुन्टो लगाइन् । गोसैयाले नै बस्ने मुढा दिए । बिजुवा टुलुटुलु मलाई नै हेर्न थाल्यो । उसको हातमा प्लास्टिकको झोला थम्याइदिएँ । ऊ खुसी हुँदै पारोदेवीसँग टाँस्सिन गयो ।

“बिजुवा बौवा, गोपियाके खातिर कनिमनी खाइल राइख दिअ,” गोपियालाई समेत थोरै खाने कुरा राखिदिन गोसैयाले भने । 
बिजुवा केही नबोलीकन खान थाल्यो । पारोदेवीले केही खाने कुरा गोपियाका लागि भनेर छुट्याएर राखिन् । गोसैया बाँसको दतिउनले दाँत सफा गर्न थाले । मैले एक लोटा चिसो पानी मागें । 

गोपियालाई कोक्रामा सुताएर उनी पानी लिन गइन् । गोसैया पनि सरसफाइबाट निवृत्त भएर आए । मैले तनतनी पानी पिएर रित्याएँ । पानी र दुवै दम्पतीको आदरसद्भावले मेरो मन तृप्त भयो । मेरो मुहार अझ हँसिलो भयो । गोसैयाको मुहार भने अँध्याराको अँध्यारै थियो ।  

“गोसैया दाइ, आज तपाईंलाई फुर्सद छ कि ?” मेरो अप्रत्याशित प्रश्नको जवाफ दिन उनी हच्किए । अनुहार अरु भयभीत पारे । मैले नै उनको जीवनमा ठूलै सङ्कट थप्दै छु जस्तो गरे ।

“अरे, तपाईं र हामी त यही माटोमा लडिबुडी गर्दै हुर्केका मान्छे न हौं । सबैको दुःखदर्द सबैलाई थाहा छ । मलाई तपाईंले नै डोर्‍याईडोर्‍याई ‘आलिघुरी’ खेल भन्दै खेतको गराभित्र यताउता छलिएर अरुले छुनबाट जोगिन सिकाउनुहुन्थ्यो । आसपास खेल्न भन्दै लुक्न लगाउनुहुन्थ्यो,” मैले पुराना कुरा उप्काउन खोजें ।

उनले गहभरि आँसु पारे र यत्ति भने, “हो, सर । त्यो समयमा हामी सबै एक समान थियौं । यो कुमालेको चक्रले मेरो जीवन यहाँ ल्याएर फ्याँकिदियो । मसँगै यी लालाबालालाई नरकवासी बनाइदियो ।” 

“तपाईं त्यही पाँच–सात वर्ष जेठो न हुनुहुन्छ । हामी एउटै ड्याङका मूला हौं । मनको व्यथा मकहाँ पनि बिसाउन सक्नुहुन्छ । म पनि तपाईंको भाइ नै हुँ । सके सहयोग गर्छु, नसके पनि जानेबुझेको बाटो देखाउँछु,” मैले आफ्नोपन दर्साउन खोजें । 

“भन्छु सर, भन्छु । आज म सबै कुरा भन्छु । तपाईं जस्तो समाजको भद्रभलादमीलाई नभनेर कसलाई भन्नु त !” उनले थपे, “अब मेरो बाँच्ने आधार गुम्दै आएको छ । शरीर रोगाएपछि दुई सन्तान भए । तिनलाई हुर्काउन धौधौ परेको छ ।”

“समस्या एक्लै आउँदैन दाइ, समाधानसमेत बोकेर आउँछ । भन्दै जानुस्, समाधान निस्कँदै जान्छ,” मैले गहिरो कुरा सरल तवरले राख्ने प्रयत्न गरें ।

उनले पारोदेवीलाई बोलाए र नजिकै बसाए । बिजुवातिर हेरे, उसलाई बालसुलभ क्रीडामा मक्ख र मस्त भेटे । गोपियालाई भने गहिरो निद्रामा घुर्दै गरेको पाए । र उनी मेरै सामुन्ने टुक्रुक्क बसे ।

“सर, मेरा पितापुर्खा पनि धनी थिए । टुर्किया मगरटोलीको मान्छे, तपाईंलाई पनि थाहा छ । मेरो शैशवकाल र युवावस्था मोजमस्तीमै बित्यो । पछि बानी बिग्रियो । जाँडरक्सीमा ध्यान गयो, गाँजाचरेसमा लत बस्यो । पैसा छउन्जेल खाइयो । मोजमस्ती गरियो । गोजी रित्तिएपछि लहान बजारतिर दिउँसै लुटपाट र चोरीडकैती गर्न थालियो । मति बिग्रेपछि अनेक थरी हुन्छ । एक दिन प्रहरीको फन्दामा परियो । र जेलको वास भयो,” उनले पश्चात्तापका आँसु पुछे ।

रिसले गर्दा बाबु चाहिँले उनलाई मरिसकेको घोषणा गरेछन् । 

काजकिरियासमेत गरेछन् । र असनपुर गाउँ पञ्चायतमा गई मृत्युदर्ता प्रमाणपत्रसमेत बनाएछन् । पत्नी बितेपछि बाँकी तीन भाइ छोराको नाममा जग्गा र जायजेथा बाँडफाँट गरेर आफू जोगी बनेर हिँडेछन् । पुराना दौतरीसँग— गोसैयाले खान्दानकै नाक काट्यो, त्यसलाई मुहार नदेखाईकन मर्छु भन्थे रे । 

सात वर्ष जेल भुक्तान गरी घर आउँदा गोसैयालाई कसैले पनि घरभित्र छिर्न दिएनछन् । किरियाकर्म गरिसकेको मान्छे भनेर गाउँलेहरूले पनि आँगन टेक्नसम्म दिएनछन् । यसरी उनी पूरै सडकछाप बनेछन् ।

“त्यसपछि म रोबिन साहूकहाँ काम गर्न थालें । निकै वर्ष सेवा गरें । यी पारो पनि उनकै घरमा भाँडा माझ्दी रहिछन् । मालिकहरूकै रोहबरमा हामीले बिहे गर्‍यौं । पछि दाजुभाइमा अंशबन्डा हुँदा गोबिनले हामीलाई आफ्नो भागमा पार्‍यो । छोरो जन्मेपछि भने हामीलाई बस्न यो जमिन देखाइदियो । हात जोड्दाजोड्दा बल्लतल्ल पारोलाई मुक्त गरिदियो । मलाई भने काममा जोताको जोतायै छ,” उनका लामा कुरा अझै सिद्धिएका थिएनन् ।

“अनि तपाईंलाई किन काममा जोताएको त ?” मैले जिज्ञासु आँखाले उनीतिर हेरें ।

“मन खुसी भएका बखत कहिलेकाहीँ दुईचार पसरी धान दिइहाल्थ्यो । नत्र रित्तै घर फिर्नुपथ्र्यो । रोबिन ज्युँदो छँदा छोरो जस्तो व्यवहार गथ्र्यो । उसको शेषपछि पूरै भतुवा बनियो । अझ गोबिनको शासनमा बस्न परेपछि मान्छे हैन, जनावर नै सम्झन थाल्यो,” उनका आँखा आँसुले फेरि भरिए । यद्यपि मेरो प्रश्नले भने जवाफ पाएको थिएन ।

“छोरो सानो भएकाले पारो अर्काको काममा जान पाउँदिनन् । अनि आधा रोटी बचाएर ल्याएर खुवाउँथें । त्यसमा पनि रोक लगायो । उब्रेको भात पनि ल्याउन दिएन । घरमा अन्नको गेडो नभएको बखत खरानी पानी पिएर सुत्छौं । बिजुवा र गोपियाको चित्त बुझाउन नसक्ता मन खिन्न पार्छौं,” उनले आफ्नो दुःखको नालीबेली प्रस्ट्याउन खोजे । 

अझै मेरो मन भरिएको थिएन । मैले त्यस्ता विवश प्राणीहरू पनि हुन्छन् भन्ने सोचेकै थिइनँ । शौचकर्मका लागि म चुपचाप उठेर घरपछाडिको एकान्त स्थलतिर लागें । उनीहरू दुवै मलाई हेरिरहेकै थिए ।

. . . 

म फर्केर यथास्थानमा बसें । मात्र जिज्ञासु नेत्रले उनीहरूलाई नियालिरहें । उनीहरूले मलाई रिसाएर उठेर गएको भन्ठानेका रहेछन् । मेरो पुनरागमनले खुसी देखिए । गोसैयाले हिजोको गोबिनसँगको बातचितबारे सोधे । मैले पनि रिठ्ठो नबिराई एकएक केस्रा छोडाइदिएँ । मेरा कुरा सुनेर उनी आत्तिए । मैले न्याय दिन भरमग्दुर प्रयास गर्ने आश्वासन दिएँ । उनी केही आश्वस्त भए ।

उनले भ्याङ्ले कमिजको ठूलो गोजी देखाउँदै भने, “के गर्नु सर ! पहिले अर्काको लहैलहैमा लागेर असत्यको बाटामा लागियो । र बाबुको नजरमा जिउँदै मरियो । अहिले आफ्नै परिवारको मायामोह र सामाजिक बन्धनले घुमाउरो बाटो भएर असत्य काम गर्नुपरेको छ । यसले के परिणाम ल्याउने हो, थाहा छैन !”

म अझै रनभुल्लमा थिएँ । कमिजको त्यो गोजी कपडाको नभई बलियो खालको प्लास्टिकको थियो । म छक्क परेर हेरेको हेर्यै भएँ । 

“गोबिनका आँखा छल्न आफैंले बनाएको यही प्लास्टिकको गोजीमा अटेसम्म भात हाल्छु । धेरथोर सुक्खा तरकारीसमेत कोच्छु । बिदाबारी भएर सरक्क घर आउँछु । थालमा खन्याउँछु । र गोजी धोएर सुकाउँछु । यिनीहरूका लागि बेलुकाकोे खाना त्यही हुन्छ । काममा जान नसकेको दिन चामल नहुँदा प्रायः खरानीपानी नै हाम्रो खाना बन्छ,” गोसैयाका कुरा सुनेर म हैरान भएँ । बाँच्न र बचाउन कतिसम्म विवश हुनुपरेको होला भन्ठानें !

उनले बिजुवाले खरानीपानीको भेद थाहा नपाओस् भनेर पहिले नबोल्न सङ्केत गरेको खुलासा गरे । खाट्टी कुरा थाहा पाएपछि मेरो मनको खटपट पनि मेटिएर गयो । म उनीप्रति अझै आकर्षित भएँ ।

शिक्षण पेसा अपनाएर पनि सङ्केत बुझ्न नसकेकोमा आफैं लज्जित हुनुपर्‍यो । म जति पढेको भए पनि कमै पढेका उनले मलाई एउटा पाठ पढाए भनेर चित्त शान्त पार्न खोजें । 

उनी भन्दै गए, “पोसिलो खाने कुरा नपाएकाले दुवै सन्तान कुपोषण भए जस्ता छन् । स्याहार नपुगेर बाख्रापाठा पनि सप्रेका छैनन् । सानो छोरा च्यापेर र ठूलोलाई डोर्याएर पारो पनि जुठा भाँडा माझ्न घरघर चहार्छिन् । बासी खाने कुरा भेटे छोराहरूलाई खुवाउँछिन् । आफ्नो पेटमा पनि चारो पार्छिन् । यसरी हामी सूर्योदयदेखि सूर्यास्तसम्म अर्काकै घरमा जोतिन्छौं । र पनि सधैं पेटभरि खान पाउँदैनौं ।”

उनका वेदना र व्यथा अनगन्ती थिए । म धैर्यपूर्वक सुनिरहेको थिएँ । मैले सोध्ने प्रश्न सोधिसकेको थिएँ । स्पष्ट उत्तर नपाए पनि अड्कलबाजी लगाइरहेको थिएँ ।

“अब मलाई गोबिनले कलुवाकहाँ सार्छ जस्तो छ । गोबिन निर्दयी भए पनि उसकी श्रीमती चाहिँ दयालु थिइन् । कहिले सागपात, कहिले पीठोकनिका त कहिले पचास–सय रूपियाँ लुकाएर भए पनि दिन्थिन् । कलुवा त दयालु छ । तर उसकी श्रीमती खराब छे । खानपानमा उसकै खटनपटन हुँदो हो । खै, कसरी गुजारा चलाउनु, कुन्नि !” उनले सम्भावित अप्ठ्यारो क्षणबारे खुलस्त पारे । 

उनी मसँग छोराहरूको भविष्य सपारिदिन अनुनयविनय गरिरहेका थिए । उनको मनमा छोराहरूले आफ्नो जस्तै कसैको निगाहाको जीवन बाँच्नुपर्ला भन्ने त्रास थियो । 

“दाइ, अब तपाईंले चिन्ताको हैन, चिन्तनको बाटो समात्नुपर्छ । अब कसैको हली बस्ने हैन, आफैंले उद्यम गर्नुपर्छ । इमानदार प्रयास गर्ने हो भने सफल भइन्छ । एक्लै हैन, समूहमा मिलेर नयाँ काम थाल्नुपर्छ,” मैले एकोहोरो भट्याइरहेको सुनेर उनी छक्क परे ।

“मैले यस जुनीमा आफैंले उद्यम गर्ने सोचेको छैन । बिजुवा र गोपियालाई यही समाजको मान्छे बनाउने रहर छ । आफूलाई त पशुकै जीवन स्वीकार्य छ,” उनका उँधोगति उन्मुख गन्थन सुनेर म वाक्क भएँ । 

“छोराहरू सपार्ने र उचित वातावरण दिने जिम्मा मेरो भयो । किनभने म यही गाउँकै मास्टर हुँ । मास्टरले जिम्मा लिएपछि नसप्रने कुरै छैन,” मैले आश्वस्त पार्न खोजें । मेरा कुराले उनको मुहार उज्यालियो । 

“तर म तपाईंलाई उकालो चढाउन खोज्छु, तपार्इं किन ओरालो झर्न खोज्नुहुन्छ ?”

“किनभने म उठ्नै नसक्ने गरी ऋणले भासिएको छु,” उनले भने । 

“उखानै छ नि ! घोडा चढ्ने नै लड्छ भनेर, त्यसै भनेको होइन । काम गर्नेले नै झमेला पनि बेहोर्नुपर्छ,” मैले प्रस्ट्याउँदै भनें, “सहृदयी साथीहरू खोज्नुपर्छ । समाजलाई गुहार्नुपर्छ । ऐँचोपैंचो गरेर रिनसिन तिर्नुपर्छ । आफू भलो हुनुपर्छ, जगतै भलो हुन्छ ।”

बडो सकस् मान्दै उनले भनेका थिए, “गोबिनको ऋण हो । मान्छे त त्यो बेइमान हो । तर ऋण चाहिँ इमानकै हो । रोबिन चाहिँ मान्छे इमानदार हो ।”

“को रोबिन ?”

“गोबिन र कलुवाको बुबा क्या !” उनले सहजै उत्तर दिएका थिए ।

रोबिनको नाम सुन्नासाथ म बाल्यकालतिर फर्किएँ । हामी चौरमा खेलिरहेका केटाकेटीलाई भेला पारेर ऊ कामतमा लैजान्थ्यो । दूध, दही खुवाउँथ्यो । हामी जस्ता ससाना बालबच्चाले खाइदिए, घरदलान कुल्चिदिए सह बस्छ भन्थ्यो । बेलाबेला गाउँभरका बालबालिका भेला पारेर खीर, पुरी, तरकारीको भोज खुवाउँथ्यो । तिमीहरू सबै कृष्ण र राधाका रुप हौ भनेर हौसला दिन्थ्यो ।
“ए, त्यो रोबिनको ऋण हो भने कुरा गरौंला नि त ! यिनै बिजुवा र गोपियाको नाममा पनि त्यसले भाका दिन्छ नि,” मैले सहजै भनेको थिएँ ।
 
त्यसपछि उनी चुप लागेका मान्छे निकै बेरसम्म बोलेनन् । अनर्गल कुरा पो गरें कि भनेर म सोचमा परें । जति सोचे पनि खराब कुरा गरे जस्तो लागेन । वाल्ल परेर हेरेको हेर्यै भएँ ।

“अब यत्ति कुरा सुनाइसकेपछि कुरोको चुरो नसुनाई मनले मानेन । तपाईंले पनि मलाई त्यत्तिकै नछाड्ने हुनुभयो । म सविस्तार भन्छु । तर एउटा सर्तमा मात्र भन्छु ।”

गोसैयाले भनी नसक्दै मेरो मुखबाट निस्किहाल्यो, “कस्तो सर्त ? भन्नुस् न । म मान्न तयार छु ।”

उनलाई रोबिन साहूले कसैलाई नभन्न कसम खुवाएको रहेछ । रोबिनको स्वर्गवास भइसकेको यत्तिका वर्षपछि कसम तोड्दा फरक नपर्ला भन्ठानेर उनी सुनाउन तयार भएका रहेछन् । 

“ठीक छ, जेसुकै होस् । मैले अहिले बोलेका कुरा हजुर र पारोले मात्र सुन्नुभएको छ । अरु कसैलाई नभन्नुहोला । म उसको घरमा निःशुल्क नोकर किन भएको भनेर !” 

मैले टाउको हल्लाएरै स्वीकृति जनाएँ । पारो पनि रहस्यमय कुरो सुन्न चनाखो भएर अघि सरिन् ।

उनलाई अनेक थरीको मुद्दा रहेछ । अदालतले तोकेको आर्थिक दण्ड तिर्न नसक्दा उनी जेल परेका रहेछन् । उनी जेलमा छँदा जालसाजीको मुद्दामा रोबिन पनि परेको रहेछ । एकै गाउँका भएकाले उनीहरू दुवैको हिमचिम बढेछ । रोबिनले आफू मुक्त भएपछि आर्थिक दण्ड तिरिदिने र मुक्त पार्ने वचन दिएको रहेछ । धनी बाबुको छोरो भएकाले गोसैयाले ऋण तिर्छन् भन्ने ठानेको रहेछ । नतिरे उनको अंशबाट असुलउपर गर्ने सोचेको रहेछ । छ महिनाभित्र चुक्ता नगरे मासिक सयकडा पाँचका दरले ब्याज तिर्नुपर्ने सर्त रहेछ । सोहीबमोजिम रोबिनले पाँच लाख रूपैयाँ बुझाएर गोसैयालाई जेलमुक्त गरिदिएछ । पछि कानुनी रुपले मृत्यु भएको प्रमाणित भएपछि र बाबुको अंश पनि नपाउने भएपछि उनी बिलखबन्दमा परेछन् । ऋण चुक्ता गर्न नसक्दा उनी रूपैयाँको ब्याजस्वरुप हली बन्न बाध्य भएछन् ।

मैले बिस्तारै पो थाहा पाएँ– सैनिक चोक, टुर्किया, लालपुर, जमदह गाउँतिर उनको नयाँ नाम प्रचलित रहेछ— बँधुवा ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement