site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आफ्नो किताब आफैसँग राखौँ 
Sarbottam CementSarbottam Cement

शरद तैलंग


मेरो घरको दराजमा सजिएको किताबहरू देखेर जो–कोही पनि भ्रममा पर्न सक्छन् कि मलाई किताबहरूसँग अतिसय प्रेम छ । अध्ययन गर्नु मेरो रुचि हो अथवा म साहित्यकार हुँ । तिनका दृष्टिकोणमा दराज वा किताब राख्ने आलमारीमा सजिएका किताबहरूको संख्याले नै साहित्यकारको स्तर निर्धारण गर्दछ । जोसँग किताबहरूको जति ठूलो दराज वा र्‍याक छ ऊ त्यतिनै ठूलो साहित्यकार ! 

तिनीहरूले यो पनि सोच्न सक्दछन्, मलाई किताब किन्ने खुबै रहर छ । सबै गरेर मेरो यस क्रियाकलापका कारण केही मानिसले मलाई विद्वान् किसिमको व्यक्ति सम्झिन्छन् ! यो मसँग मात्रै होइन, मेरा धेरैजसो मित्रहरूलाई पनि मानिसले तिनको घरको दराजमा सजिएको किताबहरू देखेरै एउटा सम्झिनुपर्नेमा अर्कै सम्झिदिन्छन् । वास्तविकतामा भने त्यो हुँदैन !

Prabhu Bank
Agni Group
NIC Asia

किताबहरूको घर–घरमा लागेको यो प्रदर्शनी, मित्रहरूको त्यो उदार नीतिको परिणाम हो जसअन्तर्गत तिनले आफ्ना प्रकाशित पुस्तकहरू अरूलाई सप्रेम उपहार दिँदै आएका छन् । तिनले विभिन्न विषयवस्तुका पुस्तक यसकारण प्रकाशित गराउँदै आएका छन्, जसले गर्दा तिनको परिचयमा यो उल्लेख होस्, तिनको एउटा गजलसंग्रह, या काव्यसंग्रह, कथासंग्रह, वा व्यग्यसंग्रह प्रकाशित भइसकेको छ । बस्, यही एउटा कारण हो जसलाई लाभको श्रेणीमा राख्न सकिन्छ । बाँकी त सबै हानि नै हानि भएको हुन्छ । 

कुनै पनि संग्रह प्रकाशित हुँदा साहित्यजगतमा तपाईँको अलिकति नाम त हुन्छ, भलै यस कामका पछाडि तपाईंको तन, मन र धन बर्बाद भइरहेको होस् ! यो बुद्धिमत्तापूर्ण विषय होइन । यदाकदा यो पनि सुन्नमा आउँछ कि, यिनका आठवटा संग्रह प्रकाशित भएका छन्, यिनका १० भएका छन्, वा कसैको तीन भएका छन् । कसैले पनि यो भन्दैनन् कि यिनको ३० हजार सिद्धिएको छ वा यिनको ५० हजारमा चुना लागेको छ ! 

Global Ime bank

दराजहरूमा कुनै सैनिक टुकडीजस्तो उभिएका यी किताबहरूलाई घरमा राख्न पनि सकिँदैन र फ्याँक्न पनि सकिन्न । त्यसो त रद्दीको कारोबार गर्ने पसल यिनका लागि श्रेष्ठ स्थान हो तर फेरि पनि मनले भन्छ कि पुस्तक उपहार दिने मानिसले तपाईँलाई किताब रद्दीमा बेच्न दिएका हुन् र ? यो काम त किताब दिने परिवारजनले पनि सजिलै सम्पन्न गरेर केही लाभ कमाउन सक्छन् । तिनले त तपाईंलाई यस कारण दिएका हुन् कि तपाईँले त्यसलाई पढेर त्यसको झुटो प्रसंशामा केही शब्द भन्न सक्नुहोस् । अनि लेखकलाई श्रेष्ठ साहित्यकारको दर्जामा ल्याएर उभ्याउनुहोस् । 

रद्दीको पसलमा तिनको त्यो मिहिनेतको फल पुर्याउनुमा सबैभन्दा ठूलो खतरा यो छ कि यदि तिनले पनि कुनै समय तपाईंको पुस्तक त्यही पसलमा दिन आए भने र उनको नजर तपाईंलाई उपहार दिइएको पुस्तकमा पर्यो भने मित्रता खतरामा पर्न सक्छ ।

केही दिनअघि मेरो घरमा एकजना विद्यार्थीको आगमन भयो जो हाम्रै अञ्चलका कविहरूको रचनाहरू माथि शोधकार्य गरिरहेका थिए । उसलाई त्यहाँका रचनाकारहरूका प्रकाशित कृतिको आवश्यकता थियो । जसले उसको शोध कार्यमा सहयोग गथ्र्यो । उसलाई देखेपछि मलाई यस्तो लाग्यो मानौं स्वयम् साक्षात् भगवान् मेरा कष्टहरूको निवारण गर्न मकहाँ आएका छन् । मैले मसँग भएका जति पनि कविताका किताबहरू थियो, सबै उसका अगाडि राखिदिएँ । ऊ भन्दैथियो ‘म चार–पाँच दिनमा यसमा रहेका केही आफूलाईं चाहिने कुराहरू सारेर तपाईंलाई किताब फर्काइदिन्छु ।’ 

सकिएर जाने समस्या फेरि चार–पाँच दिनपछि मै कहाँ आउने छ, यो सोचेर म उद्वेलित भइरहेको थिएँ । मैले उसलाई भनेँ– ‘हैन हैन । हतार नगर । तिम्रो शोधकार्य पूरा नभएसम्म तिमीले यसलाई आफैंसँग राखे हुन्छ । मलाई कुनै हतार छैन ।’ तर पनि ऊ चार–पाँच दिनपछि नै किताब फर्काउने कुरा गरिरहेको थियो । सायद उसको घरमा पनि दराजहरूको कमी थियो ! 

त्यसैबेला मेरी पत्नी घरमा प्रवेश गरिन्, जो बजार गएकी थिइन् । एक अपरिचित व्यक्तिका अगाडि किताबहरूको चाङ लागेको देखेर तिनले सम्झिन्, त्यो रद्दी पसले हो । ‘कुन भाउमा लिइरहेका छौ ?’ पत्नीले अचानक ऊसँग सोधिन् । ‘कुनै भाउमा लिन लागेको होइन । म त यसबाट कविताहरूको भाव मात्रै लिन्छु । म त यी कविका कविताहरूमा शोधकार्य गरिरहेको छु, त्यसैले यसको आवश्यकता थियो मलाई’, उसले जवाफ फर्कायो । 

पत्नीले किताबको दराजतिर ध्यान दिइन् । त्यहाँ अझै पनि धेरै किताबहरू कब्जा जमाएर बसेका थिए । जसमा धेरैजसो किताब कथाका थिए । ‘तिमी कथाहरूमा पनि शोध गर्दैनौ ? त्यो पनि त राम्रो नै हुन्छ’, पत्नीले भनिन् । ‘हजुर । एकपटकमा एउटा विषयमै गरिन्छ । यसैमा धेरै समय लाग्छ,’ उसले जवाफ दियो । ‘तिम्रा अरू साथीहरू छैनन्, जसले कथामाथि शोध गरिरहेका हुन् । यदि छन् भने भन्नु है । हामी कहाँ त्यसका लागि धेरै मसला भेटिन्छ ।’ यति भनेर उनी भित्र गइन् ।

कम्प्युटरको प्रचलन बढेर गएपछि सबैभन्दा धेरै नोक्सान यही नै भयो, कि अब जो कोही रचनाकारले कम्प्युटरमा टाइप गराएर किताब छपाउन थालेका छन् ! कुनै पनि रचनाकारको पुस्तकको विमोचनको आमन्त्रण आयो कि यो आशंका बढेर जान्छ, त्यो रचनाकारले आफ्नो किताब उपहार दिनेछ र दराजमा एउटा किताब जबरजस्ती छिराउनका लागि स्थान बनाउनु पर्नेछ !ं 

सबैजना साहित्यको प्रचार–प्रसारमा आफ्नो योगदान दिन आतुर रहेका हुन्छन् । र यो उत्ताउलोपना केवल साहित्यकारहरूमा मात्र छैन, अपितु रेलवे स्टेसन र बसपार्कमा पनि तपाईंलाई पुस्तकप्रेमी बनाउनमा ती लागेका छन् । यसको प्रमाण हो, ती स्थानमा पनि किताबको पसल खडा रहन्छ । तिनको मान्यता छ, यात्रामा समय बिताउन किताब नै सर्वोत्तम साधन हो । त्यसैले आउ र किताब किन अनि पढ पनि । अरे ! हामी सित्तैमा उपहार आएको किताब त पढ्दैनौं भने किनेर पढ्ने त प्रश्नै उठ्दैन ।

रेल्वे स्टेनसनमा जब कुनै रेलगाडी आएर रोकिन्छ, त्यसबेला पाँच–सात मिनेट विश्रामको समयमा मानिस चिया, पानी, पुरी–तरकारीका लागि ओर्लिन्छन् कि किताब किन्न ! र किताबको स्टल (पसल) का सामुन्ने त एउटा डिब्बा मात्रै त हुन्छ– पूरा ट्रेनका मानिस दौडादौड गरेर त्यहाँ आउँदैनन् । किताबको चक्करमा तिनले ट्रेन छुटाउनु छ र ? 

फेरि ती किताबका स्टलमा को आउँछन् ? त्यहाँ तिनै मानिस आउँछन् जो आफ्ना नातेदारलाई लिन वा पु¥याउन स्टेसन पुगेका हुन्छन् । या स्वयम् कतै यात्रामा गइरहेका हुन्छन् । त्यसबेला ट्रेन आएको छैन र उभिएर दिक्क भएका छन् भने त्यस्तो अवस्थामा पुस्तकको पसल वा स्टल काम लाग्नसक्छ । 

तपाईं त्यहाँ यस्तरी जानु हुन्छ कि मानौ त्यहाँबाट एकैचोटि धेरै किताब किन्नुहुनेछ । तपाईंले सुरुमा अंग्रेजीका केही महँगा किताबका पाना पल्टाउनु हुन्छ । पसलेले बुझिसकेको हुन्छ– तपाईंलाई लिनुदिनु केही छैन, बस् तपार्ईंलाई अंग्रेजी पनि आउँछ भन्ने प्रदर्शन मात्रै गरिरहनु भएको छ ! तपाईँ त यत्तिकै टाइमपास गर्न आउनु भएको हो । 

अंग्रेजीबाट तपाईं हिन्दी पत्रिकामा ओर्लिनु हुन्छ । र त्यसपछि सत्यकथा शैलीका किताबमा । प्रेमचन्द र स्वेट मार्डेनलाई लोभी नजरले हेरिरहनु हुन्छ, त्यसमा पनि दृष्टि दिन सकियोस् भन्दै । आचार्य चतुरसेनजी लाग्छ सुतिरहेका छन् । वेदप्रकाश कम्बोज तथा गुलशन नन्दाले सन्यास ग्रहण गरिसकेका छन् । राम्रो भयो कि तपाईंका साथमा कोही केटाकेटी आएनन् । हैनभने चाचा चौधरी, साबू र पिंकी जबरजस्ती तपाईंका साथमा लाग्थे । तपाईंको दृष्टि पुस्तकहरूका साथै दायाँतिर पनि लगातार गइरहेको छ, ट्रेनको लाइट देखिएको छ कि छैन । पसले तपाईंका सारा योजना बुझ्छ । उसको पत्रिका स्टलमा यस्ता ग्राहक दैनिक आउँछन् जसलाई किन्नु केही पनि हुँदैन, बस् तिनलाई आफू किताबको प्रेमी भएको सिद्ध गर्दै ट्रेन पर्खिनु छ । 

यसैबेला तपार्इंले पसलेको कुदृष्टि बुझ्नु हुन्छ र दुकानदारका अगाडि प्रश्न तेस्र्याउनुहुन्छ, ‘आजको समाचारपत्र छ ?’ ऊ पनि जान्दछ कि त्यो समाचारपत्रका समाचारहरूमा तपाईको मन जाने छैन । समाचार त तपाईंले घरबाटै पढेर वा टीभीमा हेरेर आउनु भएको छ । तपाईँ त त्यो समाचारपत्र यस कारण लिन खोज्दै हुनुहुन्छ कि यात्राका समयमा खाना खाँदा त्यसलाई सिटमा ओछ्याउन सकियोस् । सीटमा फोहोर लागे त्यसलाई पुछ्न सकियोस् । ठाउँ नपाएको बेलामा त्यसलाई भुईँमा ओछ्याएर त्यसमा पल्टन सकियोस् । र गर्मी लागेको बेला त्यस पत्रिकालाई पंखाजस्तै प्रयोग गर्न सकियोस् । तीन रुपैयाँमा यस किसिमको बहुउद्देशीय साधन अरू कहाँ पाइन्छ । बसपार्कको बुक स्टलमा त जेजति साहित्य उपलब्ध हुन्छ, त्यसमा दृष्टि दिँदा मानिसले तपार्इंलाई पुस्तकप्रेमी होइन, बरु अरू कुनै टाइपको प्रेमी सम्झिन सक्छ ।

मेरो त यही इच्छा–अभिलाषा छ कि मानिसले कविता या कथा नलेखुन् । यदि लेखे भने त्यसलाई नछपाउन्, छपाए पनि त्यो साथीहरूलाई उपहार नदिऊन्, उपहार दिए पनि त्यसबारे राय नमागुन्, राय मागे पनि कहिल्यै कबाडीको पसलमा नजाऊन्, तपाईंको पुस्तकका प्रति तिनको सक्कली अभिमत त तपाईंले त्यहीँ नै पाउन सक्नुहुन्छ !

(टीकमगढ, मध्यप्रदेशमा सन् १९५० मा जन्मिएका शरद तैलंगका कविता, गजल, व्यङ्ग्य प्रकाशित छन् ।) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement