सुमन थापा ‘सङ्गम’
प्रेमले
विश्वासको गमलामा हुर्काएको
फूलको ओँठबाट हामीले लाली चोर्यौं
त्यही फूल निचोरेर माया पौडने पानी बनायौं
किताबको पानाबीच राखेको फूल
हाम्रो सम्झनाको पत्र बन्यो
प्रेम हावासँग मिसिएर सुगन्ध बन्यो
प्रेम घामको न्यानो ओढ्ने मुस्कान बन्यो
प्रेम जूनमा हृदय हेर्ने ऐना बन्यो
समयले प्रेमको थुँगा थमाइदिएको हो हत्केलामा
अपसोच
बिदाइमा खुसी भएर
हार्दिकता साट्ने बुकी बन्न सकिएन
हृदयको मन्दिरमा चढाउने
प्रेमको फूल बन्न सकिएन
आकाश बेरेर इन्द्रेणी धुनमा
कुनै मन छुने गीत गुनगुनाउन सकिएन
प्रेम पोखिएर मनको क्षितिजमा
अमर गोधूली बन्न सकिएन
सपनाभरि आँखा ओच्छ्याएर
हेर्ने चाह
पानीको बुँद भएर झर्यो
बाँकी नै थियो जीवन हाँस्ने फूल बन्न
प्रेम सम्मोहन तर केवल सपनाको फूल बन्यो ।