
काठमाडौं । नियमित हवाई सेवाबाट नेपाल घुम्न आउने विदेशी पर्यटक पनि क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । यस्तै नेपाल आउँदा ७२ घण्टाभित्रको कोभिड नेगेटिभ भएको प्रमाणपत्र पनि ल्याउनुपर्नेछ । पर्यटक १४ दिन क्वारेन्टिनमा बस्नु नपर्ने भए पनि पीसीआर रिपोर्ट नआउँदासम्म भने बुकिङ गरेको होटलमै क्वारेन्टिन बस्नुपर्नेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १४ दिनै नभने पनि पीसीआर परीक्षणको रिपोर्ट नआएसम्म होटलमै बस्नुपर्ने बताए । रिपोर्ट आउन कम्तिमा ६ दिन लाग्ने उनले बताए । “घुम्न आउने पर्यटक होटल बुकिङ गरेर आएका हुन्छन्, आउनुपर्छ, नेपाल आइसकेपछि उनीहरूको पीसीआर परिक्षण गर्छौं,” उनले भने, “परीक्षण नेगेटिभ आयो भने बाहिर निस्कन पाउँछन्, पोजेटिभ आए अस्पताल बस्नुपर्ने हुन्छ ।” पीसीआर गर्दा लाग्ने खर्च पर्यटक स्वयंले व्यहोर्नुपर्ने हुन्छ । यो नियम भदौ १ देखि लागु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अन–अराइभल भिसा दिइने
नेपाल आउने विदेशी पर्यटकलाई भदौ १ देखि अन–अराइभल भिसा दिइने भएको छ । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले अन–अराइभल भिसा दिने स्पष्ट पारे । तर त्यसका लागि पर्यटकले ७२ घण्टाभित्रको कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने र स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार क्वारेन्टिनमा बस्न तयार हुनुपर्ने उनले बताए ।
“अहिले पनि नेपालमा आइरहेका डिप्लोम्याटलगायत उच्च अधिकारीलाई सेल्फ क्वारेन्टिनमा बस्ने प्रतिबद्धता गरेपछि मात्रै अनअराइभल भिसा दिइएको छ,” उनले भने, “भदौ १ देखि पनि सोही व्यवस्था कायम रहन्छ । त्यो व्यवस्था पर्यटकको हकमा पनि लागु हुन्छ ।”
होटलहरूले तयारी तीव्र पार्दै
सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न दिने र होटल पनि सञ्चालन गर्न दिने निर्णय गरेसँगै होटलहरूले पनि सञ्चालनको तयारी गरिरहेका छन् । एयरपोर्ट होटलका सञ्चालकसमेत रहेका होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले सरकारले होटल सञ्चालन गर्न दिने निर्णय गरेसँगै सञ्चालनको तयारी गरेको बताए । “हामीले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र होटलको आफ्नै पनि प्रोटोकल बनाएर त्यसको पूर्ण पालना गर्नेछौं,” उनले भने, “कर्मचारीलाई तालिम, अभिमुखीकरण दिने काम पनि गरिरहेका छौं ।” होटल सञ्चालन गर्दा ग्राहक, कर्मचारीको स्वास्थ्यलाई विशेष ध्यान दिइने उनले बताए । “ग्राहक, कर्मचारीलाई कोरोना संक्रमण हुनबाट बचाउन हामीले सक्दो प्रयास गर्छौं,” उनले भने ।
उनले सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्न दिने भनेपछि नेपाल आउन चाहने पर्यटकले इन्क्वायरी पनि गरेको बताए । तर, अन–अराइभल भिसा पाउने वा नपाउने, क्वारेन्टिनमा बस्नुपर्ने वा नपर्ने ? बस्नुपर्ने भए कति दिन बस्नुपर्ने भन्नेबारे जानकारी मागिरहेको उनले बताए । “यी विषयलाई सरकारले स्पष्ट पारिदिनुपर्छ,” उनले भने ।
विमानस्थलमा तयारी हुँदै
सरकारको यो निर्णयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि तयारी गरिरहेको छ । स्वास्थ्य सुरक्षालाई ध्यान दिने गरी विमानस्थल कसरी चलाउने, कर्मचारीलाई तालिम, अभिमुखीकरण दिनेलगायत काम भइरहेको विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले बताए । सरकारको सुरक्षा प्रोटोकलअनुसारै विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
यसअघि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा कार्यरत कर्मचारी, विमान कम्पनीका कर्मचारी, ग्राउन्ड ह्यान्डलिङ कर्मचारीसहित यात्रुका लागि समेत प्रोटोकल सार्वजनिक गरिसकेको छ । उक्त प्रोटोकलको अक्षरशः पालना गर्ने गरी तयारी भइरहेको कार्यालयले जनाएको छ ।
फाइल तस्बिर ।