विभाजित मनमा समस्या हुन्छ, अविभाजित मनमा कुनै समस्या हुँदैन– स्वामी आनन्द अरुणको ‘जीवन दर्शन’ पढेदेखि यो उद्धरण मनमा झुन्डिरहेको छ, हमेसा । र त, मैले मन विभाजित हुनबाट कैयौँपटक जोगाएको छु ।
जिन्दगीको मानक सफलता–असफलता हो । यसैमा जीवन धकेलिरहेको छु, निर्निमेष । समय सधैँ एक जनाको मात्र अधीनमा रहँदैन । आफूले चाहेको कुरा पूरा भए समयले साथ दियो, नभए समयले गलहत्यायो भनेर कोरा आरोप लगाउनु न्यायसंगत पनि हुँदैन ।
तथापि मेरो मन विभाजनबाट विभक्त रहन सकेन ! एक भाग मैले लिएँ, अर्को भाग घर–परिवारलाई दिएँ । जुन भाग कोमल हुन्छ, प्रायः त्यही भागले दुखाइको ठेक्का लिँदो रहेछ । र, दुखाइको हिस्सा पूर्णतः मेरो भागमा पर्यो ।
० ० ०
सोचेजस्तो, खोजेजस्तो र रोजेजस्तो विदेश हुँदैन । र त, सुरुवाती दिनहरू निकै कष्टकर बने । मनमा गाँठो परे । फुकाउन धेरै समय लाग्यो पनि । धेरैले भन्थे मनको बह भरिन दिनुहुँदैन पोखिरहनुपर्छ । तर, मलाई कहिल्यै विश्वास लागेन !
जब धरामा अँध्यारो चढ्न थाल्थ्यो, तब म सम्झनाका फिलामेन्ट बाल्थें आँखाअगाडि उज्यालो बनाउँदै । फिलामेन्ट तताउने तारहरू थिए– घर, परिवार र देशको सम्झना ।
जसरी रात अनिँदै सुत्छ, त्यसैगरी परदेशीहरू पनि अनिँदै रहन्छन् । अझ भन्छु, घर परिवारको याद आँखामा नआउला भनेर परदेशीहरू आँखा झिम्मसमेत पार्दैनन् । कदाचित् ढकनी बन्द भए पनि भोलिपल्ट सम्झनाहरू आँखावरिपरि झुत्ती खेल्न थाल्छन्– फिल्डमा सैनिकहरूले बुट बजारेझैं !
जब परिवार र देशको मायाले मन भरिन थाल्थ्यो, खाँदै गरेको खाना बेस्वादे लाग्थ्यो । अथवा भनुँ मेरो जिब्रोले स्वादको आँकलन गर्दैनथ्यो, बिर्सन्थ्यो नै । स्वदेशी गुन्द्रुक ढिँडोका अघिल्तिर विदेशका परिकारहरू फिक्का लाग्थ्यो मलाई ।
काठमाडौंको तापक्रम २४ डिग्री भनिरहँदा म काठमाडौंको छानामाथि बतासिइरहेको थिएँ । झन्डै पाँच घण्टा उडेपछि तापक्रम ४४ डिग्री भनिरहँदा मेरा पाइला जमिनतर्फ सोझिइरहेका थिए । काठमाडौंको २६ डिग्री तापक्रमलाई मैले ४४ डिग्रीमा कतिबेला साटेँ, मलाई कुनै अन्दाज छैन ।
यो सटहीमा मैले कति भावनात्मक घाटा बेहोरेँ भन्ने कुराको कुनै लेखाजोखा छैन । जब हवाई जहाजबाट बाहिरिएँ अनि मेरो मनको क्याल्कुलेटरमा यी कुराहरूको हिसाबकिताब हुन थाल्यो । मनभित्रको क्याल्कुलेटरले भावनात्मक घाटा यति धेरै निकाल्यो कि, जस्को लागत राख्न निश्चित रूपमा असम्भव थियो ।
० ० ०
हरियाली हेर्दै झन्डै बाईस वसन्त व्यतीत गरेको मेरो आँखामा अबुधाबी झर्नेबित्तिकै खैरो पर्दा लाग्यो । जता हेरे पनि बलौटे रङहरू मात्र ठोकिइरहे मेरा आँखामा । कहिल्यै नसुनेका, नबोलिएका भाषाहरू कानमा चट्याङ्गजसरी बज्रन थाले । भाषा होइन, हाउभाउमा काम गर्नुपर्ने बाध्यता आइलाग्यो । मैले भाषा नबुझे पनि इसारा बुझेँ र मलाई बोलाउने अध्यागमनको कर्मचारीको नजिक गएँ । उसले क्रमशः हात, आँखा स्क्यान गर्यो । गैरीखेत बन्धकी राख्दा साहूले औँठा छाप लगाएजसरी । मन चसक्क भयो ।
‘हेलो !’
अपरिचित आवाज वायुवेगमा कानमा ठोक्कियो । अध्यागमनबाट बाहिरिँदै थिएँ, कसैले मेरो नाम उच्चारण गर्यो । मेरो तस्बिर देखाउँदै ऊ हात हल्लाउँदै थियो । नजिक गएँ । कम्पनीको ड्राइभर रहेछ । दक्षिणी भारत, केरलाको । उसले मेरो नाम सोध्यो । सम्भवतः मेरो नाम र फोटो हेरेर उसले झन्डै एक चौथाइ चिनिसकेको थियो होला ।
‘लिनुहोस्,’ उसको हातमा एउटा कागज थियो । कागज अरू केही थिएन, ओरिजिनल भिसा थियो ।
करिब २० मिनेटको यात्रापछि उसले गाडी किनारा लगायो । र, मेरो पासपोर्ट माग्यो । सोचेँ– केही बेरपछि फिर्ता देला । अहँ दिएन ।
‘कम्पनीमा सब्मिट गर्नुपर्छ, म दिन्नँ,’ माग्न खोज्दा उसले आफ्नै भाषामा हप्काएझैँ गर्यो । मानौँ, म उसको घरमा बाँधा बस्न गएको छु ।
घरबाट बिदा भएर हिँडेको पीडा निको नहुँदै अर्को पीडा महसुस गरेँ । आँखाले त खैरो देखेकै थिए, अब मनले पनि सङ्लो देख्न छाड्यो । मन आत्तिइरहेको थियो । झल्याँस्स बुबाले भनेको याद आयो– बाबु, आत्तिनुहुँदैन, हतास मानिसलाई बतासले समेत उडाउने भय हुन्छ !
झन्डै ४० मिनेटको यात्रापछि एउटा क्याम्पमा पु¥याइयो । र, कोठा नं. १०८ मा बस्न लगाइयो । केही सामानहरू र घरबाट ल्याएको दुब्लो झोला कोठामा राखेर म बाथरूम पसेँ । सावरबाट होइन, आँखाबाट पानी बर्सियो । ठाउँ तातो, मन तातो । मन झनै हल्का भएर घरतिर पो दौडन थाल्यो ।
साँझ खाना खान मन लागेन । ओच्छ्यानमा पल्टिरहेँ । निद्रा घरमै छोडेर आएजस्तो भान भयो । उड्ने बेलामा त्रिभुवन विमानस्थलमै बिर्सिएजस्तो पनि । मनमा आगो दन्किरहेको छ । र, आँसुले म छातीको भुंग्रो निभाउन खोज्छु ।
“ल यो लगाउनू,” अर्को दिन अफिस पुग्दा–नपुग्दै कार्यालय पोसाक थमाइदिए । अहँ मन रमाएन । दसैँका बेला बाले एकजोर नयाँ लुगा ल्याइदिँदा कति फुरुंग हुन्थेँ म ! पुलकित हुन्थ्यो मन । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ लुगाफाटोले तान्न सकेन मलाई । अबुधाबी सहरको समुद्रमा के छाल आउँछ र मनको तलाउमा त्योभन्दा भीमकाय उछालहरू पैदा हुन थाले– घरपरिवार, नरनाता, फूलजस्ती श्रीमती, जूनजस्ती छोरी, ती सबै सम्झनाका तरंग थिए ।
स्कुलमा ड्युटी सुरु भयो । चारैतिर अग्ला–अग्ला नाङ्गा पहाडहरूको फेंदमा । किनकिन मलाई त्यो निर्जन बस्तीजस्तो लाग्थ्यो । गर्मीले यति धेरै प्रेम गथ्र्यो कि रगत निख्रिएला कि जसरी पसिना बग्थ्यो । गर्मीको एकोहोरो झिनाझप्टी र सम्झनाको अविश्रान्त ठुँगाइले मन विदीर्ण बन्न पुगेको थियो । सोच्थेँ– ज्यान दुखेको पो औषधि हुन्छ, मन दुखेको इलाज के त ?
एक–दुई हुँदै छ दिन बित्यो । अहँ चालचुल छैन । गर्मी बिदामा विद्यार्थीहरू बिदा बसेका रहेछन् । त्यसपछि विद्यार्थीहरू आउन थाले । अझ भनौँ नियास्रो दूर हुँदै गयो । ती छ दिनहरू छ वर्षभन्दा निकै लामा भएका थिए । अहिले सम्झन्छु ।
उपहारमा पसिना निरन्तर झरिरहेछ पूरै शरीरबाट । पसिना सँगसँगै घरको यादले पनि ठुँगिरहेछ शरीरमा । चोट लाग्दा बरु सहन सकिन्छ तर मनमा लागेको चोट सहन निकै अप्ठ्यारो हुँदो रहेछ । एकदिन स्कुलको गेटैमा उभिइरहेको थिएँ । गहुँगोरो वर्ण । उस्तै आँखा । लवाइखवाइ । हेर्दा लाग्थ्यो– नेपाली हो ।
मनमनै विचार गरेँ– नमस्कार गर्छु । नेपाली भए फर्काउँछ । नभए के नै पो बिग्रन्छ र ? हात जोड्न नपाई उसले दुई हात जोड्यो । मेरो अनुहारमा अकल्पनीय खुसी छायो । ओठबाट शब्द खस्नुअघि आँखाबाट आँसु खस्न हतारिए ।
‘म क्यारिफोर जान लागेको भाइ, तपाईंलाई केही चाहिन्छ भने भन्नुस् म ल्याइदिन्छु’ । उनको यो आवाज सुन्दा मलाई सिंगो देश भेटेजस्तो भयो । प्रत्युत्तरमा मैले भनेँ, ‘क्यै चाहिँदैन दाइ ।’
० ० ०
आँखाको परिधिवरपर नाङ्गा पहाडहरू मात्र देखिन्छन् । कहाँ होला क्यारीफोर ? मनले सोचिरहेँ र पर्खिरहेँ । कतिबेला आउलान् ती दाइ ? –मन अत्ताल्लिइरह्यो । ती दाइलाई भेटेपछि घरको याद झन् घना भएर आयो । यादहरू मैनबत्तीजस्तै हुँदा रहेछन् । सम्झनाको तातोमा परेपछि आँखाबाट चुहिइरहने !
झन्डै १ घन्टा मेरा आँखाले दायाँबायाँ हेरिरहे । उनी आउने बाटोमा । लुगा नलगाएका नाङ्गा पहाडहरूका छानाहरूमा घामले लुकामारी खेल्न थालिसकेको थियो । हेर्दाहेर्दै क्षितिज पहेँलो, रातो कालो धब्बामा परिणत पो भयो ।
एक घन्टापछि उनी आइपुगे । उस्तै हँसमुख लिएर । आउँदा मलाई दुई कोसा केरा ल्याइदिएका रहेछन् । तर, केराभन्दा उनको अनुहारको मोह थियो, नेपालीत्वको माया थियो । सँगै बसेर केरा खानभन्दा मनका पीडा ओकल्न पो समय खर्चेंछु मैले !
उनी बिदा भएर गएपछि मेरो मुटु घर छोडेर आउँदाजस्तै गरी चुडिएझैं भयो । एक्लोपन फेरि हृदयमा गढेर बस्यो । हुन त म घरबाट आएदेखि नै सधैं एक्लै थिएँ ! मनले अनेक बहाना बनाउँछ, चित्त बुझाउने उपाय रच्छ । तर, सम्झनाहरू सेती गहिरिँदै जान्छन् । मनभित्रै सुसाइरहन्छन् ।
० ० ०
वियोगको भारी बोकेर खाडीमा पसेको पनि १२ दिन भैसकेछ । मलाई भने १२ वर्षभन्दा कम लागेकै छैन । मनमा घरको सम्झनाले नायग्रा फल्सको पानी सबै मेरो मुटुमा वज्रिरहेझैं लाग्छ । कहिले सम्झनाको आँधिहुरी आइदिन्छ । म भगवान्सँग प्रार्थना गरिरहन्छु– मनमा जेजे आए पनि आओस् तर मन नभत्कियोस् । मन भत्किएन भने आँट र साहस पलाउन सक्छ । आफूले आफैँलाई सम्हाल्न सक्छु ।
सोच्दै थिएँ– तीन जना मानिस म भएको ठाउँमा आए । साथमा क्यारिफोर गएर फर्कने दाइ पनि थिए ।
‘‘भाइ हामी तपाईंलाई लिन आएका हौं । नरबहादुरले तपाईंका बारेमा सबै कुरा सक्नुभो,’’ तीमध्ये एकजनाले यसो भने । त्यति धेरै बेर कुरा गरेको दाइको नाम र ठेगाना सोध्नै बिर्सेंछु । मसँग कुरा गर्ने नुवाकोटका नरबहादुर तामाङ रहेछन् । बल्ल पो थाहा भयो ।
उनीहरू सँगै बसेर खाना खाऔँ भनेर निम्तो लिएर आएका रहेछन् । खबर सुनेपछि मेरो आँखाबाट माछापुच्छ्रे पग्लिन थाल्यो । ड्युटीमा थिएँ । जिम्मेवारी चटक्क छोडेर जान मिल्दैनथ्यो । तर, रामनारायण चौधरी दाइले चिन्ता नलिन अनुरोध गर्दै भने, ‘‘मलाई अरबी आउँछ, केही परे म भन्छु ।’’
म खोरबाट उम्केको बाख्रोजस्तो भएँ ।
मेरा पाइला उनीहरूले बाटो देखाएतिर मोडिन थाले । जम्मा सात जना नेपालीहरू बस्दा रहेछन् एउटा कोठामा । ४ जना मलाई लिन आएका थिए भने बाँकी खानेकुरा तयार पार्न बसेछन् ।
तीन कोठाको घर । एउटा कोठामा पाकिस्तानीहरूले अड्डा जमाएका रहेछन् । अर्कोमा बङ्लादेशीहरू र तेस्रो नेपालीको कोठा थियो । एउटै घरमा तीन देशका तीनथरि मान्छेहरू बसे पनि भान्छाकोठा भने साझा थियो ।
मलाई लिन आउनेहरू कन्स्ट्रक्सन कम्पनीमा कार्यरत रहेछन् । ४५–५० डिग्रीको एकतमासको गर्मीमा इट्टा बोकेर घर बनाउने जिम्मा थियो उनीहरूको । हात पटपटी फुटेका, कलेंटी परेका ओठ । विदेशको जीवन कहाँ सजिलो हुन्थ्यो र ! जस्तै आपतमा पनि मुस्कुराउन नबिर्सने नेपालीको बानी देखेर कहिलेकहीँ त कहालिन्थ्यो मेरो मन !
खाना खाने बेला त भयो तर मुखमा गाँस हाल्नभन्दा उनीहरूका कुरा सुन्न हतार हुन्थ्यो मलाई । वास्तवमा दाजुभाइहरू भेट्दा र माया पाउँदा नै म अघाइसकेको थिएँ ।
अन्तिममा उनीहरूले मलाई म कार्यरत स्थानसम्म पुर्याउन आए र अमिलो अनुहार बनाएर फर्किए ।
परदेशमा पसिना बगाउन म मात्रै आएको छैन । झन्डै आधा करोड जनसंख्या विदेशमै छ । यो जनशक्ति सबै स्वदेशमा भइदिएको भए मुलुक स्वर्गै बन्थ्यो होला । आधा रातसम्म मन कुँडिइरह्यो । सोच्दाासोच्दै थाहै नपाई निदाएँछु । भोलिपल्ट ब्युँझदा उस्तै टीठलाग्दो दिन थियो ।