
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७-७८ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने भएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले केही विषयलाई थाती राखेर शुक्रबार बिहान ८ बजे पुन: बैठक गरी पास गरेपछि शुक्रबार दिउँसो ३ बजेतिर सार्वजनिक गरिने बोर्ड स्रोतले जानकारी दिएको हो ।
"आजै करिब-करिब मौद्रिक नीतिलाई अन्तिम प्रारूप बोर्ड बैठकले दिएको छ । केही विषयमा भोलि बिहान बस्ने बोर्ड बैठकले निर्णय गर्छ र भोलि नै सार्वजनिक गर्छौ," उनले भने ।
उनका अनुसार भोलि बिहान ८ बजे पुन: बोर्ड बैठक बस्नेछ । भोलिको बैठकले मौद्रिक नीति पारित गरेपछि करिब ११ बजे छपाईंको काम गर्ने र २-३ बजे सार्वजनिक हुने उनले बताए । "बोर्ड बैठकले आजै मौद्रिक नीति पास गरिसकेको छैन, भोली बिहान गर्छ," उनले भने ।
राष्ट्र बैंक सञ्चालक समितिले पारित गरिसकेपछि मात्रै मौद्रिक नीति सार्वजनिक गर्ने कानुनी व्यवस्था छ ।
कोभिड–१९ का कारण संकटपुर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई मौद्रिक नीतिले उकास्ने अपेक्षा गरिएको छ । बजेटबाट निराश बनेको निजी क्षेत्रले मौद्रिक नीतिमा धेरै भर गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले ल्याउन लागेको पहिलो मौद्रिक नीति र विशेष परिस्थितिमा ल्याउन लागिएकाले पनि मौद्रिक नीतिलाई निकै चासोका साथ हेरिएको छ । गभर्नर अधिकारीले मौद्रिक नीतिले मर्कामा परेका उद्योगी व्यवसायीको साथ नछाड्ने प्रतिबद्दता सार्वजनिक रूपमै भनेकाले पनि उनीहरू निकै आशमा बसेका छन् ।
मौद्रिक नीति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।