site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहमति हुने सम्भावना कमजोर, प्रयास जारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी रौनक बढेको छ । साधारणसभा हुने मिति नजिकिएसँगै महासंघभित्र चुनावी माहौल ह्वात्तै बढेको हो । महासंघको ५४ औं वार्षिक साधारणसभा आगामी साउन २६ र २७ गते तय गरिएको छ ।

साधारण सभाका लागि ललितपुर सानेपास्थित हेरिटेज गार्डेन बुकिङ भइसकेको छ । महासंघले साधारण सभामा छलफल हुने विषय र निर्वाचनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । साउन २७ गते वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु तथा कार्यकारिणी समिति सदस्यहरुको निर्वाचन हुनेछ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः आगामी अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षमा तीब्र प्रतिस्पर्धा हुनेछ । महासंघको आगामी अध्यक्ष शेखर गोल्छा हुन् । उनी यसअघि वरिष्ठ उपाध्यक्षमा नै चुनाव लडेर जितेका थिए ।

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उमेद्वारी घोषणा गरिसकेका छन् । प्रधान यसअघि पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । उनलाई शेखर गोल्छाले पराजित गरेका थिए । ढकाल एसोसिएटतर्फको उपाध्यक्षमा निर्विरोध चयन भएका थिए ।

लकडाउन अगाडि प्रचारप्रसारमा व्यस्त दुवै आकांक्षी लकडाउन खुकुलो बन्दै गएपछि पुनः प्रचारप्रसारमा लागेका छन् । प्रचारप्रसारका लागि उपत्यकाबाहिर निस्कने वातावरण नबनिसके पनि उमेदवारले फोन गरिरहेको एक जिल्ला अध्यक्षले बताए ।

सहमतिको प्रयास जारी, सम्भावना न्यून

राजनीतिक चलखेलबाट महासंघलाई जोगाउनुपर्ने र सहमतिका आधारमा वरिष्ठ उपाध्यक्ष छान्नुपर्ने माग पनि जोडतोडले उठेको छ । पूर्व अध्यक्षहरुको भेलाले पूर्व अध्यक्ष रविभक्त श्रेष्ठलाई सहमतिका लागि छलफल अगाडि बढाउन जिम्मेवारी पनि दिएको छ ।

उनले वरिष्ठ उपाध्यक्षका दुवै  प्रत्यासीलाई सँगै राखेर सहमतिका आधारमा अगाडि बढ्न आग्रह पनि गरे । तर, कुनै निश्कर्ष निस्कन सकेको छैन । सहमतिको प्रयास गरिए पनि परिणाम आउने सम्भावना निकै कमजोर रहेको एक पूर्व अध्यक्षले बताए । “सहमतिका लागि एकले अर्कोलाई छोड्नुपर्ने हुन्छ, तर दुवै जना छोड्न तयार छैनन्” उनले भने ।

पूर्व अध्यक्षको भेलाले सहमतिमा ल्याउन जिम्मा पाएका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले सहमतिको प्रयास जारी रहेको बताए । “सहमतिका लागि प्रयास भइरहेको छ, तर सम्भावना कमजोर बनेर गएको छ,” उनले भने, “दुवै साथीहरुले अब ढिला भइसक्यो भन्नुभएको छ ।”   

ढकाल र प्रधान भने सहमतिका लागि अझै पनि ढोका खुलै रहेको बताउँछन् । सहमतिका प्रयासहरु भइरहेका छन्, अहिले पनि सहमतिको सम्भावनाको अन्त्य भइसकेको छैन, दुवै उम्मेदवारले बाह्रखरीसँग भने । “सहमति अन्तिम समयसम्म पनि हुन सक्छ” ढकालले भने । “सहमतिको पक्षमा छु, तर समयमै हुनुपर्छ, पछि ढिलो नहोस्” प्रधानले भने ।

‘वेटिङ प्रेडिसेन्ट’ शेखर गोल्छाले पनि सहमतिका लागि प्रयास जारी राखेको बताए । “महासंघमा सहमति आवश्यक छ, त्यसका लागि मैले पनि प्रयास जारी रोखेको छु” उनले भने ।  

ढकाल र प्रधानको यात्रा

उद्योग वाणिज्य महासंघमा ढकाल र प्रधानको यात्रा लामै छ । कार्यसमिति सदस्य हुँदै दुवै जना उपाध्यक्षमा पुगेका हुन् । वर्तमान कार्यसमितिमा ढकाल सर्वसम्मत उपाध्यक्ष भएका हुन् भने प्रधान महासंघको उपनिर्वाचनबाट निर्वाचित भएका हुन् ।

महासंघको पछिल्लो निर्वाचनमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित प्रधानलाई जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा विजयी प्रमोद श्रेष्ठ स्थानीय तहको उम्मेदवार बनेपछि उनलाई हटाइएको थियो । र, उक्त पदमा उपनिर्वाचन गर्दा प्रधान विजयी भएका हुन् । ढकाल भने एसोसिएटतर्फबाट सर्वसम्मत उपाध्यक्ष छानिएका हुन् ।

कसको प्यानलमा को ?

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रधानको प्यानलमा वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्षमा शौरभ ज्योती र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ छन् ।

यसैगरी ढकालको प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल प्रधान, जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro