site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरभाडा तिर्न नसकेपछि विस्थापित हुँदैछन् व्यवसायी
Tiktok banner adTiktok banner ad

काठमाडौं । कोभिड १९ र त्यसबाट बच्न सरकारले गरेको लकडाउनका कारण व्यापार व्यवसाय चौपट भएको छ ।  तीनमहिनासम्म पूर्ण रुपमा व्यापार व्यवसाय बन्द भएको र लकडाउन केही खुकुलो भए पनि व्यापार नभएपछि व्यवसायी पलायन हुने स्थिति सिर्जना भएको छ ।  काठमाडौं उपत्यकाका कतिपय स्थानका व्यवसायी त पलायन नै भइसकेका छन् ।

विशेषगरी ठमेल, न्यूरोड, दरबारमार्गलगायतका स्थानमा महङ्गो घरभाडा तिर्दै आएका व्यवसायी बढी समस्यामा छन् । यस क्षेत्रमा घरभाडा नै निकै महङ्गो छ । पर्यटकीय क्षेत्र ठमेलमा ५० हजारदेखि २५ लाखसम्म घरभाडा रहेको व्यवसायी बताउँछन् ।  यस्तै न्यूरोड, दरबारमार्ग क्षेत्रमा पनि भाडादर निकै महङ्गो भएको र महङ्गो भाडा तिरेरै व्यापार व्यवसाय गर्दै आएको भए पनि अहिले कोभिड १९ का कारण पलायनको अवस्था आएको व्यवसायी बताउँछन् । 

लकडाउनले व्यापार ठप्प भएपछि समस्यामा परेका व्यावसायीले ५० प्रतिशत पनि भाडा तिर्न नसकेपछि धमाधम सटर र घर खाली गर्न थालेका छन् । ठमेल क्षेत्रमा मात्रै २ सय हाराहारी व्यवसायीले व्यवसाय बन्द नै गरिसकेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले बताए । 
विशेषगरी ट्रेकिङ्ग, ट्राभल, होटल बन्द भएको उनले बताए । 

“कतिपय घरभेटीले घर भाडा छुट दिने भनेकाले बसेका छन्, कतिपय व्यवसायी व्यापार हुने अवस्था नदेखेकाले बन्दै गरिसकेका छन्,” उनले भने ।  सोही कारण ठमेल क्षेत्रमा घर वा सटर भाडामा छ भन्ने सूचना प्रशस्त देखिन्छन् ।
 ठमेलका व्यापार व्यवसाय पूर्ण रुपमा पर्यटकमै निर्भर हुन्छ । तर, चैत ११ भन्दा अगाडिदेखि नै पर्यटक आगमनमा आएको गिरावटले यस क्षेत्रका व्यवसायी मारमा परे ।  चीनलगायतका मुलुकमा कोरोनाको प्रभाव बढ्दै गएपछि नयाँ पर्यटक नेपाल आउन छाडे भने नेपालमा रहेका पर्यटक पनि बसाइ छोट्याएर फर्किएको संख्या ह्वात्तै बढ्दाको असर ठमेलको व्यवसायमा देखियो । 

आम्दानी नभएको र महंगो सटर भाडा तिर्न नसकेपछि व्यावसायी व्यवसायबाटै पलायन हुन बाध्य भएका हुन् । पछिल्ला दिनमा लकडाउन केही खुकुलो भएसँगै व्यवसायीले पसल, व्यवसाय खोल्न थाले तर ग्राहक आएनन् । ठमेलको जस्तै अवस्था न्यूरोड, खिचापोखरी क्षेत्रमा पनि देखिएको छ ।  “घर भाडा महङ्गो छ, केही दिनदेखि व्यापार खुला गरे पनि व्यापार छैन, त्यसैले व्यापार बन्द गर्ने क्रम सुरु भएको छ”, न्यूरोड खिचापोखरी व्यापार संघका संस्थापक अध्यक्ष राजेन्द्र शेरचनले भने ।

उनले सार्वजनिक यातायातका साधन नचल्दा पसल खोलेर पनि व्यापार नभएको बताए । 

“२५ हजारदेखि ३ लाखसम्म घर भाडा छ, तर व्यापार छैन,” उनले भने, “घर भाडा तिर्न नसक्दा व्यापार व्यवसाय बन्द गर्ने क्रम सुरु भएको छ ।” सामान बिक्री भएको पैसा बजारबाट उठ्न नसकेको र भएका वस्तु पनि बिक्री नभए पनि व्यवसायी निकै समस्यामा परेको व्यवसायीको गुनासो छ । 

व्यवसायीले भइरहेको व्यापार व्यवसायलाई बचाउन सुन धितो राखेर बैंकबाट पैसा लिन खोज्दा त्यो पनि नपाएको समेत गुनासो गरेका छन् । उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले साना व्यवसायीले बैंकमा सुन धितो राखेर ऋण लिन खोज्दासमेत पाउन नसकेको बताए ।

“बजारमा सुनको भाउ तोलाको ९० हजार माथि पुगे पनि बैंकले ३० हजार मात्रै दिने भनेपछि व्यापारीले पैसा जुटाउन सकेका छैनन्,” उनले भने, “त्यसैले राष्ट्र बैंकलाई सुन धितो राखेर सहज र सुनको भाउ वरिपरी ऋण दिने व्यवस्थाका लागि आग्रह गरेका छौं ।” व्यवसायीले लकडाउन खुकुलो भए पनि सार्वजनिक यातायातको साधन र हवाइ सेवा सूचारु नभएसम्म व्यापार नहुने निष्कर्षमा पुगेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro