.jpg)
काठमाडौं । पछिल्लो सातामा मात्रै औसतमा दैनिक १५ वटा हवाइ उडान भइरहे पनि असार २१ गतेपछि नियमित हवाइ सेवा हुने वा नहुने भन्नेमा सरकारले निर्णय गरिसकेको छैन । तर सरकारी अधिकारीहरू भने आगामी एक महिनासम्म सेवा नियमित हुन गाह्रो रहेको बताउँछन् ।
यद्यपी सरकारले हवाइ सेवा सञ्चालनसम्बन्धि प्रोटोकल भने सार्वजनिक गरिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि नै असार २१ गतेसम्म नियमित आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । त्यसपछि के गर्ने भन्ने विषयमा कुनै निर्णय भइसकेको छैन । तर, हवाइ सेवा सञ्चालन गर्नुपर्ने माग र दबाब सरकारमाथि छ ।
नियमित हवाइ उडान नभए पनि उद्धारका लागि दैनिक औषत १५ वटा उडान भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मात्रै आन्तरिक तथा बाह्य गरेर २० वटा उडान भए । आन्तरिकतर्फ ६ वटा र अन्तर्राष्ट्रियतर्फ (उडान–अवतरण) १४ वटा भएको कार्यालयले जनाएको छ । बुधबार पनि २४ उडान भए ।
अन्तर्राष्ट्रियतर्फ १४ र आन्तरिकतर्फ १० वटा उडान भएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक देबेन्द्र केसीले जनाएका छन् ।
चार्टर्ड उडानका कारण अन्तर्राष्ट्रिय विमानस्थल केही व्यस्त भए पनि नियमित उडान भने आगामी भदौ अगाडि हुन सक्ने अवस्था नरहेको अधिकारी बताउँछन् । यद्यपी यसबारेमा उच्चस्तरीय समितिले नै निर्णय गर्न सक्छ । प्राधिकरणका एक अधिकारीले भने, “भदौअगाडि विमान सेवा नियमित हुन गाह्रो छ तर अगष्ट १ देखि सञ्चालन गर्ने तयारी पनि भइरहेको छ ।”
तर, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल नियमित हवाइ उडानबारे अहिले नै केही भन्न नसकिने बताउँछन् । नियमित उडान जहिलेदेखि सुरु भए पनि सुरुमा आन्तरिक उडान सुचारु गरेपछि मात्रै अन्तर्राष्ट्रियतर्फको नियमित गर्ने सोचमा रहेको उनले बताए ।
“असार २१ पछि के गर्ने भन्नेमा कुनै निर्णय भएको छैन,” उनले भने, “तर, उच्चस्तरीय समितिले खुला गर्ने निर्णय गर्यो भने केही दिन मात्रै तयारीका लागि राखेर विमानस्थल सञ्चालन गर्न सक्ने अवस्थामा छौं ।”
तर, हवाइ सेवा के गर्ने भन्ने विषयमा उच्चस्तरीय समिति नै निर्णय गर्नुपर्ने हुन्छ ।
व्यवसायीको प्रश्न– कहिलसम्म रोक्ने ?
देशमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा हवाइ सेवा खोल्दा अवस्था थप नाजुक हुन्छ कि भन्ने डरमा सरकारी अधिकारी छन् । तर, कोरोना प्रभावित अन्य मुलुकले पनि बाह्यतर्फको खुला नगरे पनि आन्तरिकतर्फको उडान सेवा खोलेकाले नेपालले पनि खोल्नुपर्छ भन्ने दबाब सरकारलाई छ । हवाइ सेवा प्रदायकहरु पनि आन्तरिक सेवा सुचारु गर्नुपर्ने बताउँछन् । नेपाल एयरलाइन्स सञ्चालक संघका प्रवक्ता योगराज कँडेल सुरक्षाका विधि अपनाएर सेवा सुचारु गर्न पुर्ण तयार भएर बसेको बताउँछन् ।
हवाइ सेवा सञ्चालन सम्बन्धि प्रोटोकल प्राधिकरणले पारित पनि गरिसकेकाले सोही प्रोटोकलअनुसार सुरक्षा विधि अपनाएर सेवा सञ्चालन गर्न दिनुपर्ने उनले बताए ।
“यूरोप, अमेरिका, भारतलेसमेत आन्तरिकतर्फका सेवा सुचारु गरिसके । हामी कहिलेसम्म बन्द गरेर बस्ने ?,” उनले भने, “सरकारबाट केही सहयोग आउँछ भन्ने आश पनि हराइसक्यो । अब सेवा सुचारु गर्न दिनुपर्छ” ।
नागरिक उड्डयन प्राधिकरणले विमान यात्रु, विमान कम्पनी, कर्मचारी, विमानस्थलका लागि सुरक्षाको मापदण्ड अपनाउन यसअघि नै निर्देशिका नै जारी गरिसकेको छ ।
जारी गरिएको प्रोटोकलअनुसार कोभिड–१९ संक्रमणबाट बच्न प्राधिकरणले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म भर्नुपर्नेलगायतका व्यवस्था गर्नुपर्ने छ । निर्देशिकाअनुसार आन्तरिक विमान सेवा सुचारु गर्नुपर्ने दबाब सरकारमाथि छ ।