site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
डिश होम बाह्रखरी कथा प्रतियोगिता २०७७ को नतिजा सोमबार सार्वजनिक हुने

काठमाडौं । बाह्रखरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता, ‘डिश होम बाह्रखरी कथा प्रतियोगिता २०७७’को नतिजा घोषणा तथा डिजिटल बुक भोलि सोमबार अपराह्न सार्वजनिक गर्ने भएको छ ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण सिर्जित असहज परिस्थितिमा कथा प्रतियोगिताका विजेता तथा उत्कृष्ट २५ मा पर्न सफल कथाकारहरुको नाम घोषणा गर्न, डिजिटल तथा अडियो बुक सार्वजनिक गर्न इन्टरनेटको माध्यमबाट भर्चुअल कार्यक्रम आयोजना गर्ने तयारी बाह्रखरीले गरेको हो ।  कथा प्रतियोगिताको निर्णायक मण्डलमा आख्यानकार नारायण वाग्ले, अमर न्यौपाने र बिना थिङ तामाङ रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगितामा प्रथम हुनेले एकलाख, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले ४० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । बाह्रखरी कथा प्रतियोगिताको पहिलो संस्करणमा बिना थिङ तामाङको ‘ब्याड भाले’ पहिलो, लक्ष्मण वियोगीको ‘टाउको’ दोस्रो र सुमित्रा न्यौपानेको ‘बार्दली’ तेस्रो भएका थिए ।

कथा आफैंमा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय नेपालमा कथा लेखनप्रतिको आकर्षण केही कम हुँदै गएको महसुस भएका कारण १२खरी बुक्सले कथा प्रतियोगिताको आयोजनालाई महत्व दिएको जनाएको छ ।

यस प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्तासमेतको सहभागिता रहेको थियो । प्रतियोगिताले ‘ट्यालेन्ट हन्ट’को काम गर्नुका साथै लुकेर बसेका प्रतिभाको खोजी गरेको छ । यसले आगामी दिनमा नेपाली कथा लेखनमा नयाँ अध्याय थपिनुका साथै कालजयी कथाको खोजीसमेत गर्नेछ ।   

डिश होम बाह्रखरी कथा प्रतियोगिता २०७७को नतिजा भोलि सोमबार अपराह्न १२ बजेदेखि चन्द्रागिरिबाट सरोकार टीभी, बाह्रखरी युट्युब च्यानल, बाह्रखरी फेसबुक पेज र ट्विटरबाट प्रत्यक्ष प्रशारण गरिने छ । नतिजा घोषणापूर्व नेपाली कथा लेखनको वर्तमान स्वर, कथालेखनले लिएको बाटो तथा उत्कृष्ट २५ मा पर्न सफल कथाबारे परिचर्चा कार्यक्रम गरिनेछ । परिचर्चामा आख्यानकार वाग्ले, न्यौपाने र तामाङ सहभागी हुनेछन् भने सहजकर्ताका रुपमा साहित्यकार तथा बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुली रहने छन् ।

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १४:२५
प्रतिक्रिया दिनुहोस्