काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्थगित वार्षिक साधारणसभा कहिले गर्ने भन्ने अझै अन्योल कायमै छ । साधारणसभा गत चैतमा तय गरिएको थियो । विधानअनुसार जाने हो भने महासंघको साधारणसभा त्यसको तीन महिनाभित्र गरिसक्नुपर्नेछ । तर, कोरोनाभाइरस न्यूनीकरणका लागि सरकारले गरेको लकडाउन कारण देखाउँदै कतिपय पदाधिकारी तथा सदस्यहरुले असारमा गर्न नहुने मत राखेका छन् ।
विधानअनुसार असारभित्रै महासंघको साधारणसभा भइसक्नुपर्नेछ । असारमा साधारणसभा गर्ने कि नगर्ने भन्नेमै महासंघमा विवाद देखिएको छ । साधारण सभा गर्नुहुँदैन भन्नेमा कोही छैन तर विधानअनुसार असारमा गर्ने कि पछि सार्ने भन्ने विषयमा बहस जारी छ । विधानअनुसार साधारण सभा असारमसान्तभित्र गर्नैपर्नै भन्ने एक पक्षको मत छ भने अर्को पक्षले अहिलेको बेलामा साधारणसभा मूख्य प्राथमिकता नभएको भन्दै केही पर धकेल्दा पनि फरक नपर्ने बताएको छ ।
महासंघका वर्तमान पदाधिकारीबीचमै फरक फरक धारणा छ । विधानले विशम् परिस्थितिमा ३ महिना मात्रै सार्न सक्ने भन्ने व्यवस्था गरेको र त्यसरी सारेको मिति पनि असारमा सकिने हुनाले त्यसको विकल्प के त भन्ने प्रश्न उठाएका छन् । सरकारले पनि लकडाउनलाई सामान्यीकरण गर्दै लगेको अवस्थामा नियम पालना गरेर महासंघलाई पछि पनि प्रश्न गर्न नमिल्ने गरी साधारणसभा असारभित्रै गर्नुपर्ने बलियो मत छ ।
“अहिले हामीले विधान लत्याउँदै साधारणसभा गरेनौं भने पछि फेरि पनि विधान लत्याउन सकिन्छ भन्ने नजिर बस्न सक्छ,” एकजना पदाधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “सरकारले लकडाउन पनि सहज बनाउँदै लगेको छ । अहिलेको समयमा हामीले अब लकडाउनमात्रै भनेर हुँदैन । यो लकडाउन दसैंपछिसम्म गयो भने के गर्ने त ? यस विषयमा त छलफल हुनुपर्दैन र ?”
सर्वाेच्च अदालतले लकडाउन अवधिलाई शून्य समय मान्ने भन्ने फैसला गरेकाले महासंघको विधानमा भएको तीनमहिने व्यवस्थालाई असर नपार्ने कतिपयको तर्क छ । सरकारले लकडाउनलाई निरन्तरता दिएसम्म महासंघको साधारणसभा हुन नसक्ने मत एकातिर छ भने अर्कोतर्फ लकडाउनको मोडालिटी परिवर्तन भइसकेकाले विधानलाई आधार मानेर अगाडि बढ्नुपर्ने भन्ने छ ।
महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ महासंघको विधानतः साधारणसभा असार मसान्तसम्म गर्नैपर्ने बताउँछन् ।
“महासंघको विधानले विशम् परिस्थितिमा तीन महिनासम्म मात्र समय थप्न दिएको छ, त्यो समय असार मसान्तमा सकिन्छ,” उनले भने “महासंघको विधानले विशम् परिस्थितिमा तीन महिनासम्म मात्र साधारणसभा सार्न सक्ने व्यवस्था गरेको छ । त्यो अवधि आगामी असार मसान्तसम्म मात्रै रहनेछ ।”
यता, महासंघका वरिष्ठ उपाध्यक्ष एवं वेटिङ्ग प्रेसिडेन्ट शेखर गोल्छा भने लकडाउनको अवधिलाई शून्य समय मान्ने सर्वाेच्च अदालतले फैसला गरेकाले लकडाउनको अवधिलाई गणना गर्न नपर्ने बताउँछन् । “सर्वाेच्च अदालतले लकडाउनको अवधिलाई शून्य मान्ने फैसला गरेको छ, साधारणसभा पछि गर्दा केही फरक पर्दैन,” उनले भने ।
उपाध्यक्ष चन्द्र ढकाल विधानअनुसार साधारणसभाको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउँछन् । “अहिलेलाई महासंघको विधानतः साधारण सभाको प्रक्रिया सुरु गर्नुपर्छ,” उनले भने, “त्यसपछि पनि अर्कै परिस्थिति आएछ भने पुनः अर्को निर्णय गर्न सकिन्छ ।” महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका भने अहिले महासंघ साधारणसभा भन्दा पनि उद्योगी व्यवसायीको पिरमर्काका लागि लड्नुपर्ने समय भएको बताउँछन् ।
“लकडाउनका कारण उद्योगी व्यवसायीलाई धेरै समस्या परेको छ । यो बेलामा उनीहरुका लागि लड्नुपर्छ । साधारणसभा हालको परिस्थिति अनुकूल बनेपछि गर्दा राम्रो हुन्छ,” उनले भने । महासंघ अध्यक्ष भवानी राणाका अनुसार यिनै विषयमा छलफल गर्न असार ७ गते कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।
“सरकारले सभा, सम्मेलन नगर्नु भनेको छ । आगामी दिनमा सरकारले कस्तो निर्णय गर्छ, सोहीअनुसार महासंघ अगाडि बढ्ने छ,” उनले भनिन् ।
८ गतेको कार्यकारिणी समितिको बैठकको एजेन्डा नै साधारणसभा भएकाले उक्त बैठकले मिति तय गर्ने उनले बताइन् । “हालको अवस्थाका कारण असारमसान्तभित्र गर्न सकिएन भने पनि साउनमा गर्न सकिन्छ,” उनले भनिन् । लकडाउनका कारण महासंघले वेबमार्फत कार्यकारी समितिको बैठक गर्न लागेको हो ।