काठमाडौं । सरकारले लक्षण नभएका विदेशबाट आएका नागरिकहरुलाई आरडीटी विधिबाट मात्र परीक्षण गरेर पठाउने निर्देशिका बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘कोभिड परीक्षण राष्ट्रिय निर्देशिका-२०१९’ अनुसार क्वारेन्टिन र होल्डिङ् सेन्टरमा रहेका लक्षणविहीन व्यक्तिको कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट मात्र गर्ने उल्लेख छ ।
जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणी दिक्षितले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न पीसीआरको दायरा बढाउँनु पर्नेमा आरडीटीको दायरा बढाउनु नै सरकार असक्षमता पुष्टस भएको बताए । उनले सरकारले कोरोना भाइरसको परीक्षणमा दायरा साँघुरो बनाउँदै लगेको बताए ।
“स्रोतसाधन बचाउने नाममा पीसीआर कम गर्दा भोलि झन् भयावह स्थिति आउने हुन्छ,” उनले भने “सरकारले लक्षण नदेखिएकालाई परीक्षणबिना घर पठाउने निर्णय नै गलत रहेको छ ।”
उनले आरडीटी परीक्षणको मात्र भर पर्न नहुने र पीसीआर नै गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, "विश्वमा नै अभ्यास यही छ । यसले रोग नियन्त्रण गर्न सघाउँदैन, संक्रमण रोक्न पीसीआर परीक्षण गरी संक्रमित पहिचान गरेर उपचारको दायरामा ल्याउनुको विकल्प छैन । ‘कोभिड परीक्षण राष्ट्रिय निर्देशिका २०१९’संशोधन गरेर मात्र कार्यन्वयनमा ल्याउनुपर्ने बताए ।
भारतबाट आएर दैलेखको नारायण नगरपालिकास्थित नारायणी क्याम्पसको क्वारेन्टिनमा बसेको ५ दिनअघि ८ सय २२ जनालाई आरडीटी परीक्षण मात्रै गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको थियो । उनीहरुमध्ये ८७ जनामा पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । जसले आरडीटीबाट परीक्षण बढाएर पीसीआर कम गर्दा संक्रमण फैलिने जोखिम बढी रहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
सरकारले लक्षणविहीनलाई घरमै राख्ने र लक्षण भएका कोरोना संक्रमितलाई १४ दिनपछि ३ दिन हेरर विना परीक्षण घर पठाउने निर्देशिका उल्लेख छ । सरकारले हालसम्म एक लाख ५६ हजार ९९१ जनामा कोरोना परीक्षण गरिसकेको छ ।
त्यसैगरी, जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले संक्रमण फैलिएको समयमा आरडीटी विधिबाट मात्र कोरोना भाइरसको संक्रमण परीक्षण बन्द गर्नुपर्ने बताउँछन् । उनका अनुसार कोरोना संक्रमण नदेखिएका जिल्ला जुन ६ वटा छन्,ती जिल्लाहरुमा आरडीटी परीक्षणबाट सर्वेक्षण गर्न सकिन्छ, यदि ति जिल्लामा कोरोना संक्रमण देखिएको रहेछ भने पीसीआर परीक्षण गर्न सकिने भयो तर संक्रमण फैलिएको स्थानमा पनि आरडीटी परीक्षण गर्दा संक्रमित पत्ता नलाग्ने तर उल्छै अझ फैलिने हुन्छ ।
सरकारले आरडीटी परीक्षणको दायरा बढाउनु भनेको कोरोना फैलिन सहयोग गर्नु रहेको उनले तर्क गरे ।
“लक्षण नदेखिएका मानिसहरु १४ दिन आइसोलेसनमा बसे भने उनीहरुको परीक्षण गर्नु नपर्ने र लक्षण देखिएर १४ दिन आइसोलेसनमा बसेकाहरुको पछिल्लो तीन दिनसम्म कुनै लक्षण देखिएन भने पनि टेस्ट आवश्यक छैन्,” निर्देशिकामा भनिएको छ ।
जनस्वास्थ्य विज्ञ डा. पाण्डेका अनुसार ८० प्रतिशत संक्रमितहरुमा कोरोना भाइरसको लक्षण छैन । कतिपयलाई सुरुमा लक्षण नदेखिएर एकैपटक गम्भीर समस्या देखिएपछि मात्रै लक्षण देखिन सक्छ, त्यो समयमा कोरोना परीक्षण गरेर कुनै अर्थ नहुने उनले जानकारी दिए । उनले भने, “गम्भीर अवस्था भएको समयमा कोरोना परीक्षण गर्दा निकै ढिलो हुने हुन्छ ।”
अन्य देशबाट आएका प्रत्येक व्यक्तिको पीसीआर नै परीक्षण गर्नुपर्ने उनले बताए ।
डिस्चार्ज गर्दा आरडीटी परीक्षण गरिने भनिएको छ, यदि आरडीटी पोजेटिभ देखिएमा संक्रमण भएको ८ देखि १० दिनमा शरीरले एन्टिबडी बनाएको समयमा देखिने हो । संक्रमणकै अवस्था छ कि निको भएको अवस्थामा देखिएको हो त्यो थाहा पाउन पीसीआर परीक्षण नै गर्नुपर्ने हुन्छ ।
उनले एक उदारण दिँदै भने, "मानौं सुरुमा पीसीआर पोजेटिभ देखिएको मानिसको घर पठाउनने समयमा आरडीटी नेगेटिभ आयो, भनेको संक्रमण सुरु भएको तर शरिरले एन्टिबडी उत्पन्न नगरेको समयमा नेगेटिभ देखिने हुन्छ । नेपालमा कोरोना बढ्ने पिक टाइम भनेको साउनमा हो, त्यो समयमा कसरी कोरोनाबाट कम क्षति गर्ने भनेर लाग्नुपर्नेमा अहिलेसम्म केही तयारी गरेको देखिएन् ।”
क्वारेन्टिनमा रहेका व्यक्तिमा कोभिड-१९ का लक्षण देखिएकालाई पीसीआर गनुपर्ने निर्देशिकामा उल्लेख छ । मन्त्रालय स्रोतका अनुसार सरकार थप ३ लाख थान आरडीटी खरिद गर्ने प्रक्रियामा छ ।