site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशबाट फर्कने युवालाई निर्यातजन्य उद्यममा जोड दिन उद्योग वाणिज्य महासंघ प्रदेश १ को सुझाव

विराटनगर । कोरोना महामारीका कारण उत्पन्‍न परिस्थितिलाई आँकलन गर्दै अहिलेको आर्थिक संकटको सामाना गर्न र आर्थिक वृद्धि तथा विकासलाई अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले सरकारलाई सुझाव दिएको छ । 

महासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले मुख्यमन्त्री शेरधन राईलाई सहकार्यसम्बन्धी एक अवधारणा पत्र हस्तान्तरण गर्दै आर्थिक क्षेत्रको विषयमा गर्न सकिने सहकार्यका विषयमा सुझाव दिएका हुन ।

प्रदेशका मन्त्रालयहरु र अन्य विकास साझेदारहरुसँग विभन्‍न क्षेत्रहरुमा सहकार्य गर्ने र यसमा प्रदेश सरकारकातर्फबाट समेत आवश्यक सम्बोधन हुने विश्वासका लिएको राउतले बताएका छन् । उनले भने,‘‘सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम अनि बजेटलाई समेत मध्यनजर गर्दै निजी क्षेत्रको तर्फबाट हामीले संभावित सहकार्य र साझेदारीको विषयमा अवधारणा पेश गरेका हौं ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लामो लकडाउन तथा विश्वव्यापी आर्थिक मन्दीले संकटमा परेको कृषि तथा गैरकृषि उद्योगभन्दा कलकारखाना पूर्ववत् अवस्थामा फर्काउन चुनौती रहेको भन्दै उत्पादन र रोजगारीको क्षेत्रलाई सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको  छ । आर्थिक एवम् वित्तीय राहत, सहुलियत एवम् क्षमता विस्तारका लागि प्राविधिक, आर्थिक एवम् नीतिगत सहजीकरणका लागि आगामी वर्षको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्न महासंघले आग्रह गरेको छ । 

निजी क्षेत्रको अवधारणा पत्र ग्रहण गर्दै मुख्यमन्त्री शेरधन राईले अहिलेको संकटका रुपमा आएको कोरोना जोखिमबाट पार पाउँदै अर्थतन्त्रलाई समेत सही दिशामा लैजान चुनौती भएको बताए । उनले भने,‘‘महामारी नियन्त्रणसंगै प्रदेश सरकार निजी क्षेत्रसंग आर्थिक क्रियाकलापमा साझेदारी गर्न तत्पर छ ।’’

महासंघले कृषि, पर्यटन, रोजगार र उत्पादनमुलक क्षेत्रमा सरकारसंग सहकार्य गर्न सकिने भन्दै अवधारणा पेश गरेको छ । प्रदेशमा सञ्‍चालित कृषि तथा क्षेत्र-उपक्षेत्रहरुमा महासंघले यसअघि नै अध्ययन गरेको जनाइएको छ । लगानी प्रोत्साहन गर्दै निजी क्षेत्रका लगानीकर्ताहरुलाई सहजजीकरण गर्ने, सार्वजनिक निजी सहकारी साझेदारीका अवधारणामा आर्थिक वृद्धि लक्षित क्षेत्रहरुलाई नीतिगत, व्यवहारिक एवम् आर्थिक सहकार्यका प्याकेजहरु मार्फत अघि बढाउने महासंघको अवधारणा पत्रमा उल्लेख छ । 

व्यवासायिक कृषि तथा पशुपालन र कृषिजन्य क्षेत्रलाई प्राथमिकता राख्न सुझाव दिदैं महासंघले विदेशबाट फर्कने युवालाई उद्यम स्थापना, सञ्चालन तथा बजारीकरणमार्फत आर्थिक गतिविधिमा सहभागी गराउन सकिने भनेको  छ । विकास साझेदार निकायहरुसँग सहकार्य र साझेदारीबाट बजेट व्यवस्था गर्न सकिने महासंघको जोड छ । 

संकटमा परेको पर्यटन क्षेत्रलार्य उकास्न सार्वजनिक निजी साझेदारीमार्फत कार्यक्रमहरु अघि बढाउनु पर्ने,आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, राजस्व वृद्धि, लगायतका क्षेत्रमा महासंघ र प्रदेश सरकारबीच सहकार्य गरी व्यपार सन्तुलन एवम् आन्तरिक स्रोत वृद्धि र परिचालनका क्षेत्रमा सहकार्य गर्न आवश्यक व्यवस्था गर्ने । प्रदेशको समग्र आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई कृषि, पर्यटन, जडिबुटी, जलस्रोत, उद्योगधन्दा, बजार पूर्वाधार लगायतका क्षेत्रमा लगानी प्रोत्साहन, सहभागिता र  साझेदारीका लागि आवश्यक नीतिगत सुधार, सम्बोधन र व्यवस्था गर्न पहल गर्ने । 

कर छुटका प्रावधानसहित सार्वजनिक खर्चमा व्यापक वृद्धि गर्न पनि महासंघले सरकारलाई सुझाएको छ । विस्तारकारी मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई चलायमान गराउन सकिने भएकोले राष्ट्र बैंकले यो प्रतिकुल परिस्थितिलाई सम्बोधन गर्ने गरी उपयुक्त मौद्रिक नीति ल्याउनु पर्नेमा महासंघको जोड छ । प्रदेश १ शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत अग्रणी रहेकोले यसको विकासका लागि प्रदेश सरकारले नीति नियम बनाई विश्वविद्यालयको स्थापनादेखि रिसर्च सेन्टरको स्थापना गर्न सुझाव दिइएको छ । 

निर्यातजन्य कृषि उत्पादन बढाउन उन्नत जातको बीउविजन, मलखाद, सिंचाई आधुनिक प्रविधिहरुको व्यवस्था गर्नुपर्ने महासंले प्रदेश सरकारसमक्ष माग गरेको छ । उत्पादित वस्तुको भण्डारण र बजारसम्मको पहुँचलाई समेत व्यवस्थित गर्न भनिएको छ । 

प्रदेश कृषि, जलविद्युत, उद्योग व्यापार, स्वास्थ्य, पर्यटन , शिक्षा  आदि  प्राथमिकमा पारी यसको विकासका लागि मानव संसाधन विकास र पूर्वाधार निर्माण गर्न आवश्यक रहेको जनाइएको छ । उत्पादनबारे उपभोक्तालाई जानकराी गराउन अन्र्तर्राष्ट्रिस्तरको प्रदर्शन स्थल बनाउन प्रदेश सरकारबाट आवश्यक सहजीरण गर्न महासंघको अवधारणा पत्रमा उल्लेछ  छ । 

महासंघका उपाध्यक्ष राउतले सहकार्य र साझेदारीलाई प्रभावकारी, योजनाबद्ध र नतिजामुखी बनाउन महासंघ प्रदेश सरकारसंग सहकार्य गर्न तयार रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १७:३७
प्रतिक्रिया दिनुहोस्