काठमाडौं । ‘यिनीहरूलाई पनि भोक प्यास लाग्छ । आफ्नो नजिकका यस्ता बेसहाराहरूको साहारा बनौं ।’
लकडाउन सुरु भइसकेपछि एक दिन वरिष्ठ भेटेरिनरी डाक्टर श्रीराम अधिकारीले आफ्नो फेसबुक पेजमा यस्तो सन्देश पोस्ट गरे । र, त्योसँगै आफूले पशुपति गुह्येश्वरी क्षेत्र वरिपरिका बाँदर र कुकुरहरूलाई आहार दिँदै गरेको तस्बिर पनि राखे ।
आफू पशु चिकित्सक भएकाले मात्रै होइन, पशुपन्छीप्रति अथाह प्रेम भएकै कारण आफूले तिनको आहारबिहारप्रति ध्यान दिएको अधिकारी बताउँछन् ।
हुन त चाबहिल गौरीघाट क्षेत्रमा बसोबास गर्दै आएका अधिकारी बिहानको समय पाशुपत क्षेत्र वरपर प्रभातकालीन पैदल यात्रा गर्छन् । तर, कोरोना भाइरसको महामारीबाट बच्नका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेपछि मर्निङवाकसँगै उनको ध्यान पशुपन्छीको आहार–बिहारको व्यवस्थातर्फ मोडियो ।
प्रारम्भका दिनमा बिहानभरि त्यस क्षेत्रमा विचरण गर्ने बाँदर र कुकुरहरूका लागि आहाराको बन्दोबस्तमा अधिकारी एक्लै हिँडे । सक्दो खानेकुराको व्यवस्था गरे ।
सँगै, टोल छिमेकका साथीभाइहरूलाई पनि आग्रह गरे । उनले प्रदेश सांसद नरोत्तम वैद्यसँग पनि कुरा गरेर यस विषयमा पशुपति विकास कोषकोसमेत ध्यानाकर्षण गराएको सुनाए ।
टेलिफोन कुराकानीमा डा. अधिकारी भन्दै थिए, “पशुपतिनाथको मन्दिर खुला हुँदा र आम मानिसको ओहोर–दोहोर भइरहँदा पशुपति क्षेत्र वरपरका बाँदर र अरू पशुपन्छीले आहारा पाइरहेका हुन्थे । तर, लकडाउन भएपछि तिनका लागि आहारविहारको कमी स्वाभाविक रूपमा हुनगयो । ती पशुहरू भोकै हुँदा तिनीहरू पनि बिरामी हुन्छन् । तिनको स्वास्थ्य कमजोर हुन्छ । बिरामी पशुपन्छीबाट मानिसमा पनि रोग सर्न सक्छ । त्यसैले पनि यो काममा मैले हात हालेको हुँ ।”
काठमाडौं पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. श्रीराम अधिकारी सानै उमेरदेखि पशुपन्छीसँग निकट रहे । उनको रुची पशुपन्छीको स्याहार सुसारमा पनि रहेको बताउँछन् । दश वर्षको उमेरदेखि माछामासु खान छोडेका उनी आफूलाई प्रकृतिसँगै हुर्केको बताउँछन् ।
अधिकारीका अनुसार गाउँको घरमा पाडा, बाच्छा, गाई, गोरु थिए । उनी तिनका नजिक पुग्थे । त्यही निकटताले पशुले पनि तिनलाई औधि माया गर्थे ।
डा. अधिकारी भन्छन्, “चराका चल्लामा पनि सेन्स हुने रैछ भन्ने मैले सानैमा थाहा पाएँ । गाउँमा हुँदा एउटा चल्लालाई चिलले लान खोज्दा माउले ढाक्यो । केही समयपछि त्यो चल्ला आफैं एउटा कुनातिर लुक्न गयो । एक दुई दिनको चल्लामा पनि आफूलाई बँचाउनु पर्छ भन्ने सेन्स हुँदोरहेछ । त्यसपछि झनै पशुपन्छी र चराचुरुङगीप्रति मेरो मोह बढेर गयो ।”
पशु चिकित्सक भइसकेपछि उनले पाशुपत क्षेत्रका पशुपन्छीको उपचारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएका छन् । विभिन्न संघ संस्थाको स्थापनासँगै उनले त्यो संस्थाबाट पशु सेवा पनि गरे ।
पशुपति क्षेत्रमा धेरै पहिले एउटा अस्पताल पनि खोलिएको उनी बताउँछन् । त्यहाँ वरपरका पशुहरूको उपचार हुन्थ्यो । २०३८ सालमै डा. अधिकारीले वडा नम्बर ८ का वडाअध्यक्ष सुवर्ण वैद्यलाई पशु उपचारका लागि औषधिहरू दिएको सम्झिन्छन् ।
यसरी ३५ वर्ष अघिदेखि पशुसेवा गर्दै आएका अधिकारी लकडाउनसँगै झन् नजिक बन्न पुगे । ‘‘पशुपति इलाकामा मानिसको ओहोरदोहोर कम भएपछि त्यहाँका जनावरले खान पाउँदैनन् ।
त्यसैले तिनको आहाराको व्यवस्थाका लागि केही गर्नु नै पर्छ । हुन त, पशुपन्छीले खाने भनेको प्राकृतिक रूपमा नै हो । तिनलाई अरू कसैले खानेकुरा दिनु हुँदैन । तिनले वरपरका वन जंगलबाटै खानेकुरा खोजेर खानुपर्ने हो । तर, पशुपति क्षेत्रमा अब त्यो अवस्था छैन । तिनका लागि मानिसले नै व्यवस्था गरिदिनु पर्ने हुन्छ,” अधिकारी भन्छन् ।
सहरमा पशुपन्छीको आहाराका लागि चाहिने वस्तु पनि मानिसले छाडेका छैनन् । त्यसैले पनि पशुपति क्षेत्रका जनावरहरूमा मानिसले दिएको र तिनका हातबाट खोसेर खाने बानी भइसकेको छ । ती जनावर सहरतिर गए मानिसले त्यसलाई लखेट्छन् ।
गौरीघाट इलाका वरपर बस्दै आएका उनका छिमेकी र साथीहरूले पनि सहयोग गरेका छन् । पशुपति वरपरका बाँदर र कुकुरलगायतका अन्य जनावरहरूको आहारविहारमा कहिले बिहानै त कहिले बेलुका आफूहरू जुटिरहेको उनी बताउँछन् ।
अधिकारी भन्छन्, “हामीले एउटा कुरो बुझ्नु पर्छ, पशुपन्छीले पनि मानव स्वास्थ्यमा असर पार्छ । मानिसमा धेरै रोगको जड पशु नै हो । पशुपन्छीले खाना खान नपाउनु भनेको रोगी हुनु हो । पशुपन्छी रोगी भए तिनमा रहेको रोग मानिसमा पनि सर्न सक्छ । पशुपन्छीमा रहेको रोगमध्ये ७० प्रतिशत रोग मानिसमा सर्न सक्छ भनिन्छ । त्यसैले पशुपन्छीलाई निरोगी राख्नु पनि आजको आवश्यकता हो ।”
अधिकारीका अनुसार मानिसमा इम्युनिटी पावर बढाउन विभिन्न खानेकुरा खान भनिँदै आइएको छ । त्यस्तै शरीर स्वस्थ्य राख्न खानाको आवश्यकता पशुलाई पनि जरुरी छ । खाना नपाएर पशुहरू बिरामी भए ती बिरामी पशुपन्छीबाट मानिसले डराउनु पर्ने अवस्था पनि छ ।
त्यसैले पशुपन्छीमा रोग नलागोस् भनेरै आजको यो विषम परिस्थितिमा तिनको आहारविहारको व्यवस्था गरिनु जरुरी भएको डा. अधिकारी बताउँछन् ।