काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत चैत ४ गते एक साताका लागि सम्पूर्ण खेल गतिविधि रोक्न निर्देशन दिएसँगै स्थगित भएको नेपालको खेलकुद गतिविधि पूर्ण ठप्प छन् । विश्वभर ठूला खेल प्रतियोगिता स्थगित भएपछि नेपालमा पनि सोहीअनुरूप खेलकुद गतिविधि स्थगित गरिएका थिए । अहिले भने विभिन्न राष्ट्रले लकडाउनबीच पनि खेल र खेलाडीलाई खेलकुदमा फर्किन अनुमति दिएपछि नेपालमा पनि त्यसको आरम्भ गरिएको छ ।
राखेपले एक साताका लागि सबै खेल गतिविधि रोक्न निर्देशन दिनुअघि नेपालका अधिकांश प्रतियोगिता स्थगित भए पनि एन्फामा भने ‘बी’ डिभिजन लिग जारी थियो । तर, राखेप सदस्य–सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले एक साताका लागि सबै खेल गतिविधि रोक्न निर्देशन दिएपछि ‘बी’ डिभिजन पनि रोकिएको थियो । अब भने बीचैमा रोकिएको ‘बी’ डिभिजन पुनः सुरु हुन्छ–हुँदैन भन्ने धेरैको चासो छ ।
सदस्य–सचिव सिलवालले आइतबारदेखि खेलकुद गतिविधि सुरु भएको जानकारी दिएका छन् । उनले खेलको प्रकार हेरेर गतिविधि सुरु गरेको जानकारी दिए । उनले खेलाडीहरूलाई प्रशिक्षणमा फर्काउन सुरु गरेको बाह्रखरीलाई बताए । “आइतबार पाँच संघका प्रशिक्षकलाई डाकेरै प्रशिक्षण सुरु गर्न आग्रह गरेको छु । त्यस्तै विभागीय टोलीका खेलाडीलाई पनि छुट्टाछुट्टै प्रशिक्षण गराउन भनेको छु,” सिलवालले भने, “यतिबेला हामी व्यक्तिगत खेलमा केन्द्रित छौ । व्यक्तिगत खेलका संघ र खेलाडीलाई एक कदमअघि बढ्न भनेका छौँ ।” उनले संघ र सम्बन्धित प्रशिक्षकलाई कुन खेलाडी कहाँ छ र कस्तो अवस्थामा छ भन्ने विषय बुझ्न लगाएको पनि जानकारी दिए ।
नजिकको प्रशिक्षण केन्द्रमा खेलाडीलाई प्रशिक्षण गराउन सुरु गरे पनि रंगशालामै प्रशिक्षण गराउन गाह्रो भएको उनको तर्क छ । “हामीले नजिकको प्रशिक्षण केन्द्र हेरेर प्रशिक्षण गराइरहेका छौं । रंगशालामै प्रशिक्षण गर्न भने गाह्रो छ । लकडाउनको समयमा प्रशिक्षकलाई रंगशाला पुग्न गाह्रो हुन्छ,” सिलवालले भने, “तर, एक–दुईजना रंगशालामा आएर हामी ट्र्याकमा दौडिन्छौंभन्दा फरक पर्दैन । हामी पनि दिनभर आएर काम गरिहेका छौं । तर नामै तोकेर बोलाउन सक्ने अवस्था त छैन । तैपनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।”
कराते, जुडो, तेक्वान्दोजस्ता खेलका लागि जुम (एप) बाटै भए पनि प्रशिक्षण थाल्न आग्रह गरिएको उनले बताए । व्यक्तिगत विधाका खेलाडीले घरमै पनि प्रशिक्षण गर्दा एपबाट प्रशिक्षकले उनीहरूको कमी–कमजोरी केलाउन सकिने सिलवालले बताए । व्यक्तिगत विधाका खेलाडीलाई प्रशिक्षणमा फर्किन अनुमति दिए पनि टिममा प्रशिक्षण गर्न भने अनुमति नदिएको उनको भनाइ छ ।
“थोेरै भए पनि हामीले आइतबारदेखि व्यक्तिगत खेल आरम्भको तयारी गरेका छौं । क्रमशः पहिला व्यक्तिगत विधाका खेललाई सुरु गर्छौं । त्यसको परिणाम कस्तो आउँछ, त्यसपछि हामी समूहका खेलहरूमा जानेछौं,” उनले भने, “राज्यले पनि शारीरिक दूरी कायम गर्दै प्रशिक्षण गर्न भनेको छ । त्यसैले अहिले हामीले एकल विधाका खेललाई प्राथमिकता दियौं । किनकि दुईपट्टि खेलाडी राखेर टेनिस, टेबल–टेनिसजस्ता खेल खेल्दा कुनै असर पर्दैन । तर, फुटबल, भलिबलजस्ता खेललाई समूहमा प्रशिक्षणमा फर्काउन सकिँदैन ।”
एन्फाले ‘बी’ डिभिजन लिग सुरु गर्न एन्फासँग अनुमति मागेको जनाएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले लिखित रूपमा नभए पनि मौखिक रूपमा राखेप सदस्य–सचिवलाई लिग गर्न प्रस्ताव गरेको जानकारी दिए । अध्यक्ष कर्माले राखेपले लिग गर्ने अनुमति दिए दर्शकविना पनि प्रतियोगिता सञ्चालन गर्न तयार रहेको बताए ।
“म आफै परिषद् पुगेर सदस्य–सचिवसँग लिग सुरु गर्न प्रस्ताव गरेको छु । उहाँले सरकारसमक्ष आग्रह गरेको बताउनुभयो,” शेर्पाले भने, “राखेपले अनुमति दिए हामी लिग गर्न तयार छौं । त्यसका लागि क्लबसँग पनि छलफल गर्नेछौ र अनुमति पाएको दुई साताभित्रै लिग सुरु गर्नेछौं ।”
शेर्पाका अनुसार अन्य लिग दर्शकविना सञ्चालन गरे पनि राष्ट्रिय लिग भने गर्न सकिँदैन । प्रदेशस्तरीय लिग गर्नुपर्ने भएकाले राष्ट्रिय लिग भने तत्काल गर्न नसकिने उनको भनाइ छ ।
सदस्यसचिव सिलवालले समूहका खेल गतिविधिका लागि सरकारसँग आग्रह गर्दा अस्वीकार गरेको बाह्रखरीलाई बताए । “दशरथ रंगशालाबाहेक अन्य मैदान पनि हामीले तयारी अवस्थामा राखेका छौं । तयारी अवस्थाका रंगशालामा खेलाडीको स्वास्थ जाँच गर्दै फुटबल खेलाउँ भनेर सरकारलाई प्रस्ताव गरेका थियौं,” उनले भने, “प्रतियोगिता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्न दिन्छौं । दर्शकविना प्रतियोगिता गर्दा त्यस्तो खासै असर नपर्ने भन्दै सरकारलाई आग्रह गरेका थियौं । तर, स्वीकृति दिएन । स्वीकृति नपाएपछि मैले के गर्न सक्छु ?”
सरकारले स्वीकृति दिए ‘बी’ डिभिजन लिग भए पनि गर्न सकिने सिलवालको तर्क छ । “दर्शक हुँदा पनि बी डिभिजनमा त्यस्तो ठूलो भिड थिएन । सय दर्शक हुँदा पनि प्यारापिटमा छरेर राख्दा त्यस्तो ठूलो असर पर्दैन,” सदस्य–सचिव सिलवालले भने, “त्यसो भए संसद्को बैठक पनि नचलाउनुपर्ने । तर, हाम्रो प्रस्तावमा केही दिन पर्खनुस्, हामी सकारात्मक छौं भन्ने प्रतिक्रिया आएको छ ।”
लकडाउन खुले सबै खेललाई प्रशिक्षणमा फर्किन अनुमति दिने उनले बताए । “लकडाउन खुल्यो भने हामी सबै खेललाई समेट्छौं । तर, लम्बियो भने त्यहीअनुसार क्षेत्र हेरेर विस्तारै खेलमा फर्किने वातावरण सिर्जना गर्छौं,” उनले भने, “लकडाउनपछि अन्य खेलको प्रशिक्षण सुरु गरिए पनि पौडीलाई भने थप केही समय लाग्नेछ । किन भने पानीमा प्रशिक्षण गर्नुपर्ने भएकाले यसबाट संक्रमणको जोखिम धेरै हुन सक्छ ।”