
गाउँको नेट कछुवा गतिमा चल्दै थियो । फनफन्ती घुम्दै गरेको नेटमा बडो धैर्यका साथ अनुजले आफ्नो फेसबुकको भित्तोमा टाँस्यो– ‘सम्झनाहरूको उर्वर भूमि हो मन । केवल अनावश्यक झारजङ्गल गोड्न जान्नु पर्छ । कसरमसर फाल्न जान्नु पर्छ । साँच्चै झारजङ्गलको अन्त्येष्टि गरिदिने हो भने मनले स्वर्णिम क्षण महसुस गर्नेछ । मान्छेको मनभित्र राम्रानराम्रा हर कुरा टुसाउँछन् । केही स्मरणयोग्य सम्झना हुन्छन् यसमा । प्रायः बिर्सन लायक सम्झना हुन्छन्, तर यो मान्छेको मन स्मरणीय कुरा बिर्सन्छ र बिर्सन लायक कुरा झनै सम्झन्छ र त पलपल बत्तीको पुतली झैं घाइते हुन्छ मान्छे । अनि बाँकी रहेको रहलपहल जिन्दगी आफंैसँग तड्पिएर जिउँछ ।’
पोस्ट भएको केहीक्षणमै पुराना सहपाठी जगन्नाथले प्रतिक्रिया दियो । मानौं, कतिखेर अनुजको स्टाटस आउला भनेर पर्खिबसेको थियो ऊ । कमेन्ट बक्समा जगन्नाथको प्रतिक्रिया यसरी आयो– ‘आफ्नै मन बेस्मारी गोड्नू मित्रवर ! झारजङ्गल फ्याँक्नू र स्वर्णिम जीवनयापन गर्नू ! अर्को कुरा, कोही पुतली असली फूलमा झुम्मिन्छन् । कोही भ्रान्तिमा अल्मलिन्छन् । र त, बत्तीलाई फूल भनेर आफ्नो सुन्दर जिन्दगी डढाउँछन् । कल्पनालोकमा उड्नेहरू बढी भ्रान्तिमा बाँचेका हुन्छन् जस्तो मलाई लाग्छ । कुनै बेला हामी दुई लार्भा थियौं । छिपछिपे ¥याल छाड्दै हिँड्ने । प्यूपा बन्यौं । जीवन यतिले पुग्दैनथ्यो । हामी मेटामोर्फोसिस प्रक्रिया अर्थात् जीवनको कायाकल्पमा पुग्यौं र हामी पुतली बन्यौं । अब हामी हिजोका झुसिलकीरा रहेनौं । बाँच्नुछ भने उड्नुपर्छ । तर भ्रान्तिदेखि जरुर बच्नुपर्छ । होइन भने हामी साँच्चिकै बत्तीका पुतली न हौं !’
जवाफमा अनुजले यतिमात्र लेख्यो– ‘प्रतिक्रियाका लागि धन्यवाद मित्र ! सायद तिम्रो कुरा अकाट्य छ ।’
‘कल्पनालोकमा उड्नेहरू बढी भ्रान्तिमा बाँचेका हुन्छन्...।’ जगन्नाथको व्यङ्ग्यबाण आफूतिर सोझिएको अनुजले महसुस ग¥यो । उनी जहिले पनि अनुजलाई जीवन कल्पना गरे जस्तो हुँदैन भन्थे । आफूलाई हेर्न आग्रह गर्थे ।
असोचनीय रूपमा जगन्नाथको जीवनले कायाकल्प गर्यो । अनुज भने वंशज मात्र थामिरह्यो । यसैले गर्दा पनि जगन्नाथको दृष्टिकोणमा अनुज जीवन जिउने मामिलामा पुरातनवादी थियो । जगन्नाथ अनुजलाई बारबार भनिरहे– युगनुसार बदलाव आएन भने जीवन जिउनुको कुनै अर्थ छैन ।
पुरातन जीवनशैलीको धारावाहिक शृङ्खलाको भ्रमित यात्रा त्याग्न अनुरोध गर्दै जगन्नाथ थप्थे– नदी थुन्नू भनेको अवश्य होइन ! तर नदीको बहाव परिवर्तन गर्न पनि त सकिन्छ नि !
अनुजलाई जगन्नाथको कुरा ठीकै लाग्यो । अब आफू पुतली हो । झुसिलकीरा हैन । तर पुतलीमय जीवन साँच्चिकै भ्रान्तिमा अम्मलिएर दुःख पाएको यथार्थ स्वीकार्यो ।
मनका कुरा फेसबुकमा पोख्नु मन हलुका पार्नु जस्तै हो । मनको बह पोख्ने काइदाको ठाउँ भन्नु नै फेसबुकको भित्तो भएको छ । यहाँ कुनै सेन्सर लागू हुँदैन । यहाँ कुनै सिन्डिकेटले छुँदैन ।
अनुजका प्रायः स्टाटसहरूमा जगन्नाथको प्रतिक्रिया अनिवार्य जस्तै भएको थियो । हरेक पोस्टमा उस्तै प्रतिक्रिया ।
एकदिन अनुजले मुक्तक पोस्ट्यायो–
म लेख्न बसेर पनि लेख्न सकिनँ कविता !
म सोच्न बसेर पनि सोच्न सकिनँ कविता !
खै ! यो कविता कतिखेर फुर्छ थाहा हुँदैन
मनको बह पन्नामा पोख्नँ सकिन कविता !!
अनुजलाई यो मुक्तक भयो या भएन थाहा भएन । किनकि ऊ कविता कोथ्र्यो । मुक्तकको आचारसंहिता थाहा थिएन उसलाई । जब मुक्तकको नाममा फेसबुकको वालमा प्रकाशित भयो, थुप्रैले प्रतिक्रिया दिए । कतिले ‘आहा !’ र ‘गजब’ लेखे । जगन्नाथ अछुतो रहेन । लेख्यो– ‘कवितामै जबर्जस्त बह पोख्नु पनि त राम्रो होइन । कविजी, नफुरेको बेला अर्काको सिर्जना पढौं । आनन्दानुभूति लिऔं । पाठकीय अनुभूति लिनु पनि श्रेष्ठतम् हुनेछ । कति लेख्न मात्र खोजेको ? लेख्नु मात्र ठूलो हैन होला ! यद्यपि, लेख्न बस्दा कविता नफुरे पनि मुक्तक त फुरेछ नि ! बधाई छ !’
जगन्नाथ प्रतिक्रिया दिन माहिर थियो । विगतदेखि सँगैका साथी । समय र परिवेशले कहाँकहाँ पु¥याए पनि सञ्जालले दूरि घटाएको थियो । कुनै बेला छेडछाड भए पनि त्यो बाहेक मनमुटाव कहिले भएको थिएन । प्लस टू सँगै पढेका साथीहरू हराए पनि यी दुईमा आत्मीयताको दूरि लम्बिएन । बेलाबेला आफ्ना दुखेसो सुनाउँथे एकअर्कालाई । सञ्जालमार्फत् ।
चिसोले मुटु ताछ्दै थियो । लामो समयपश्चात् जगन्नाथ स्वदेश फर्कियो । गाउँमा आउँदा अनुजलाई बोलायो । भेटे ।
चिसोको आयतन असोचनीय रूपमा सर्वत्र झाङ्गिएको थियो । कतिपयको जिउ ढाक्न लालायित नर्थ फेसको ज्याकेटले जाडो सिजन लागेको सूचना दिइरहेको थियो ।
श्रीसूर्य अस्ताएपछि साँझको नूतन समय । नौला मानिसहरुको जमघट छ । होटेल न हो यतिबेला डाइनिङ हल भरिभराउ थियो । यहाँ चिनजानको कुनै अर्थ थिएन । सोमरसको तलतलमा कोही बहकिँदै थिए । कोही मोबाइलमा उटपट्याङ म्यासेन्जर गफ गर्दै हाँसिरहेका थिए । हुनेनहुने कमेन्ट गर्दै झुम्मिएर । कसैलाई कसैको पर्वाह थिएन । सञ्चार र प्रविधिको उत्तरआधुनिकताले सबैलाई गाँजेको यथार्थ होला सायद यो ।
लामो अन्तरालपछि भेट भएका दुई प्राणी पनि यहीँ थिए । सञ्जालले त बारम्बार नजिक जस्तै थिए । परन्तु ज्यानको हाजिर भने आज बल्ल गरेका हुन्, एकअर्कामा ।
मैकोटको सानो बजार । फाट्टफुट्ट होटल । यो चाहिँ परम्परागत घरहरू भन्दा बेग्लै । सिमेन्टको पक्की घर । विज्ञहरू भन्थे– ‘यो घर बनाउँदाको पैसाले सहरमा जग्गा हुने हो भने तीन वटा घर बन्थ्यो ।’ हुन पनि यातायातका साधन भन्नु नै खच्चडमा दुवानी गर्नु थियो । त्यसैले यो राज्यको नजरमा नपरेको विकट ठाउँमा पक्की घर बन्नु असम्भवजस्तै हो ।
वातावरणलाई ओझेलमा पार्दै गफका चाङ बढ्दै गए । जगन्नाथ भन्दै थियो– ‘यो फेसबुके साहित्यमा तिम्रो रचना पनि खुब पढ्छु म । दमदार लाग्छ यार !’
अनुज फिस्स मुस्कायो । बेवास्ताको नजर मोडिएर प्यालातिर पोखियो ।
प्यालाहरू भरिए । प्यालाहरू रित्तिए । एक घुट्कोमै रक्सी सिनित्त पार्दै रित्तो गिलास टेबुलमा बजा¥यो जगन्नाथले र नशाले लोलाएका नजर अनुजतिर दौडाउँदै भन्यो– ‘तिम्रा कविता छन् नि... बडो मार्मिक ! था’छ ...?’ झन्डै अनुजलाई खाउँला नजरमा कुराको बुट्टा भर्दै उसले भन्यो– ‘मैले तिम्रा कविता मन पराउनु भनेको सामान्य हो त ? किनकि म सितिमिति अरुको रचना नपढ्ने मान्छे हुँ । तर यार... वाह ! तिम्रो कविता !’ अनियन्त्रित हातले रित्तो गिलास भर्दै ऊ बोल्यो । बोलीमा आधा नशा र आधा हैकमवादी पाइन भरिएको थियो । नशाले शिखर नाघ्दै बोल्दै थिए जगन्नाथ । अनुजलाई लाग्यो, जगन्नाथ पहिलेको भन्दा बेसी बोलक्कड भएछ । त्यसमाथि नशाको आयतन बढिरहेको थियो ।
अनुज भने जगन्नाथको फूलबुट्टे कुरामा खासै अल्झिएनन् । जगन्नाथको गफाडीपनामा बाधा नपारी सहमतिको टाउको हल्लाएझैं गर्यो उसले । चिकेन चिल्लीको एउटा चोक्टा मुखमा घुसार्दै औंला चाट्यो र मासु चपाउनमा मस्त भयो ।
अधिकांश मानिस नशाको रमरममा आफ्नै लय बिर्सिरहेका थिए । सबैको चेतनाको आलाप बेसुरबेसुर हुँदै थियो । साँच्चै, नशाले मान्छेभित्रको असलिपना हराउँदो रहेछ । मातेको मान्छे छेपारो हुँदो रहेछ । छिनमै रङ बदल्ने ।
अर्को एक प्लेट मासु मगाउँदै एउटा अद्भूत हेयको नजर लाउँदै जगन्नाथले आवाजमा पाइन भर्दै भन्यो– ‘तिमी केका लागि लेख्छौ कविजी ? लेख्नुको कुनै उद्देश्य बताउन मिल्छ भने भन क्यारे !’
होटलकी एउटी कामदार मासुको प्लेट राखेर गई ।
जगन्नाथको कुरामा उतिसारो ध्यान नदिएका अनुजले भनूँ कि नभनूको जबाफमा भन्यो– ‘महोदय, प्रथमतः स्वान्तःसुखाय र दोस्रो, विकृति विरुद्ध !’
जगन्नाथले चुरोटको लामो सर्काे तानेर टेबल ढाकिनेगरी धुवाँ उडायो । बाँकी नजलेको चुरोटलाई जबर्जस्ती एस्ट्रेमा किचिमिचि पा¥यो । गिलास रित्तिए र चिकेन चिल्लीको स्वादमा फेरि भरिए । थोरैथोरै जोस र मदहोसमा वार्ता लम्बिँदै थियो । रङ्गहीन वातावरणमा जगन्नाथले अनुजतिर हेर्दै भन्यो– ‘कविता लेखेर के पायौ त कविज्यू ?’
अनुजले अर्को धुवाँको आविष्कार गर्दै जबाफ दियो– ‘स्वान्तःसुखाय । अन्य विकल्प सोचिनँ कहिल्यै । बाँच्नको लागि त आफ्नै परम्परागत कामकार्य काफी छ । सृजना अमरत्वको लागि लेखिन्छ । लेख्ने प्रयास गर्दैछु ।’
जगन्नाथले आँखा फारेर अनुजतिर लगायो लाललाल आँखा नझिम्क्याइकन भन्यो– ‘अमरत्वको लागि ? कति मजाको कुरा...!’ प्लेटको चोक्टा मासु मुखमा घुसार्दै उसले लरबरिएको स्वरमा सोध्यो– ‘कविता कतिको बिक्री हुन्छ साहित्यिक बजारमा ?’
जगन्नाथको प्रस्तुति अस्वाभाविक जस्तै भइरहेको महसुस गर्यो अनुजले । उनको जीवनमा निकै नै कायाकल्प भएको अनुमान गर्यो । कुनै बेलाको निरीह जगन्नाथ आज निकै बलवान् ठानिरहेको थियो आफूलाई । उनको प्रस्तुति अनुजलाई फिटिक्कै मन परेको थिएन । बिलकुलै सुहाउँदो थिएन । उनको स्मृतिमा अतीतको जगन्नाथ बौरियो ।
विद्यार्थी जीवन । निकै चासो र उत्सुकताको युवा मन । वसन्त ऋतुको मौसम । गर्मीको उखरमाउलो बैंस ह्वात्तै बढेको थियो । शुक्रबारको दिन । भर्खर विद्यालय जान हतारिरहेको बेला जगन्नाथ आयो । उसको स्वास अस्वाभाविक थियो । यी दुईमा जगन्नाथ निजी विद्यालयमा पढ्थ्यो भने अनुज सरकारीमा ।
‘हैन, चालामाला त ठीक छैन नि हौ ! स्वास नाकमुखमा अटाइरा’छैन त !’ अनुजले भन्यो ।
कपाल कन्याउँदै उसले भन्यो– ‘अनुज, सानो दुःख दिऊँ कि भनेर आएको छु !’
‘के काम हो त्यस्तो ? सानो, मध्यम र ठूलो दुःख कस्तो हुँदोरहेछ सुनूँ त !’
संयुक्त हाँसो कोठाको भित्तोमा बजारियो ।
‘एउटा कविता प्रतियोगिता छ । भाग लिँदा कस्तो हुन्छ होला ?’ भनूँ कि नभनूँको अन्योलबीच बोल्यो जगन्नाथ ।
‘ह्या ! यस्तो कुरा सोध्नलाई पनि यतिविघ्न बेचैनी ? कविता प्रतियोगितामा भाग लिनु धेरै राम्रो होला । सोधिरहनु पर्छ र !’ अनुजले सर्टको कलर मिलाउँदै भन्यो– ‘मज्जाले लिनू न भाग ! कस्तो कविता लेखेका छौ बरु ?’
‘कविताको विज्ञ त तिमी हो नि ! त्यही भएर...’ जगन्नाथ बोल्यो ।
‘म विज्ञ हैन । म सिकारु हुँ ! तै पनि भन ! मबाट हुने सरसहयोग अपुग छ भने...।’
‘कविता त लेखेको छैन । कस्तो लेखूँ ?’
‘लेखेको छैन पो अझसम्म ?’ अनुजले अचम्मित भएर सोध्यो ।
‘त्यही भएर तिम्रो राय सल्लाह र सहयोग माग्न आएको छु...!’ जगन्नाथ अनुनयको भावमा प्रस्तुत भइरहेको थियो ।
‘सवा नौ भयो त !’ अनुज बोल्यो ।
‘एक पटक खुबी देखाइदिऊँ भनेको...’ जगन्नाथ रोकियो ।
‘कविता जस्तो चीज यसरी हुन्छ त ! भन के गरूँ त म ?’
‘एउटा कविता खेस्रा कोर्दे न !’
‘ए, मैले लेखिदिने पो !’
‘हो ।’
साथी हो ठीकै छ भनेर निकै हतारमा अनुजले झ्याउरे लयमा लेख्यो । २० मिनेटमा दुई पल्ट काँटछाँट गरेपछि कविताको अन्तिम बनोट यस्तो बन्यो–
जन्मन्छ रुँदै मानिस यहाँ प्रकृति धरामा
लिएर बाँच्छ उधारो आशा प्रकृति धरामा ।
दुःखी भै बाँच्छ मानिस यहाँ पीडितै बाँच्दछ
एकदिन फेरि निराश भई आफू नि मर्दछ ।
आखिर मर्नु छँदैछ भने यो चिन्ता किन नि ?
बाँचुञ्जेल फेरि तेरो र मेरो झगडा किन नि ?
दाजु र भाइ मिलेर कैल्यै फरक पर्छ र ?
एक बित्ता अंश पाउन यहाँ मर्नु नै पर्छ र ?
विश्वको चित्त आफैंको हित राख्नु नै पर्छ है !
ज्ञान र दान यो चारैधाम बाँड्नु नै पर्छ है !!
कविता जगन्नाथको हातमा थमाइदिँदै अनुजले भन्यो– ‘हतारको मानसिकतामा लेखिएको कविता भने जस्तो जरुर भएन ! पुरस्कार आशा नगर्दा हुन्छ । भाग लिनू ! अलिकति आत्मगौरव मिल्छ भने देखाउनू !’
‘धन्यवाद यार !’
जगन्नाथ फटाफट आफ्नो बाटो लाग्यो ।
दिन ढल्यो । साँझपख अनुजको घरमा आयो जगन्नाथ । अनुजलाई अँगालो हालेर भन्यो– ‘धन्यवाद छ मित्र ! यति धेरै गुण लगाएकोमा !’
‘ह्या, के को धन्यवाद नि ! मैले सकेको सहयोग गरेको त हुँ ।’ अनुजले भन्यो, ‘परिणाम के भयो ?’
‘म तेस्रो भएँ !’ जगन्नाथ निर्धक्क बोल्यो ।
अनुज पनि फिस्स हाँस्यो ।
गृहकार्य सकेपश्चात् अनुज पढ्थ्यो । खाली समयमा कविता मुक्तक लेख्थ्यो । एकदिन अनुजको डायरी जगन्नाथले हेर्दै थियो । अनुज भने गृहकार्यमा व्यस्त । डायरीमा निकैबेर घोत्लिए जगन्नाथ । केहीक्षण पश्चात् अनुजसँग विदा हुँदै जगन्नाथ आफ्नो घरतिर लाग्यो ।
करिब तीन सातापछि रेडियो नेपालको एउटा कार्यक्रममा अनुज कविता–मुक्तक वाचन सुन्दै थियो । अचानक रुकुम जिल्ला मैकोट...भनि सक्दा अनुज छक्क प¥यो । अनुजले कान ठाडा बनाएर सुन्यो । रेडियो भन्दै थियो– रुकुम जिल्ला मैकोट निवासी जगन्नाथजीको मीठो कविता यसप्रकार छ–
मान्छेभित्रको मानवता
मान्छेभित्रको महानता
उचाइ हेरेर थाहा हुँदैन रहेछ
रङ्ग हेरेर थाहा हुँदैन रहेछ
थाहा नहुने रहेछ मुहार हेरेर !
अघि मैकोटको नाम सुन्नेबित्तिकै छक्क परेको अनुज अहिले आफ्नो डायरीको कविता जगन्नाथले कतिखेर सारेर आफ्नै नाममा पठाइभ्याएछ । आफ्नो सृजना अर्काको नाममा दरिएपछि अनुज छक्क मात्र होइन महाछक्क प¥यो ।
अनुज निरुपायजस्तै भयो । आफ्नै मनचिन्ते ऐनामा आफंैलाई सान्त्वना दिँदै रह्यो । मन भुलाउन हिजो भर्खर आफ्नो बाबुले ल्याइदिएको युवामञ्च पत्रिका पल्टायो । छोराको चासो पत्रपत्रिकामा छ भनेर बेलाबेला बाबु नयाँ पत्रिका ल्याइदिन्थे ।
मानसिक तनाव घटाउन युवामञ्चको पन्ना पल्टाउँदै गयो । आधाउधि शीर्षक हेर्दै गयो । अकस्मात एउटा अर्धरङ्गीन पासपोर्ट साइजमा जगन्नाथको तस्बिर देख्यो । छेउमै आफैंले लेखेको लघु कविता जगन्नाथको नाममा यसरी आएको थियो–
जाँडरक्सी नपिउनू भन्थे
अस्पतालका डाक्टरले !
चुरोट बिँडी नपिउनू भन्थे
पढ्ने बेला मास्टरले !!
आफूले लेखेको सृजना अरूले चोरिदिएपछि आकस्मिक रूपमा भएको मानसिक विक्षिप्तता अन्त्यहीन जस्तै भयो ।
मन बुझाउन एउटा कविता श्लोक लेख्यो । गलत सङ्गतले आफ्ना सृजनाहरू हरण भएकोमा क्रुद्ध भयो । जगन्नाथलाई सुनाउनको लागि मात्र पनि अनुजले व्यङ्ग्यात्मक भावमा कविता लेख्यो–
माखाको जब नित्य सङ्गत भए बिष्टातिरै फस्नु छ
बाह्रैमास लपेटिएर तन यो बिष्टातिरै खस्नु छ ।
मौरी झुम्दछ फूलको त रसमा गर्दैछ है पौरख
हौला योग्य सबै सधैं भुवनमा जोडौं नयाँ आदत ।।
यो कविता लेखेको दुई महिनापछि रङ्गमञ्च पत्रिकामा जगन्नाथकै नाममा छापिएर आयो । अनुजको मानसिकतामा अर्को ग्रहण लाग्यो । उनको धर्ती हेर्दाहेर्दै कालो भयो । नजिकको साथी भएर अनुजले जगन्नाथको यी सबै हर्कत सही बस्यो ।
बैंशले मदमस्त जवानी धपक्क बलेका नवयौवनाहरूको लस्करै लाग्थ्यो । युवावयको चञ्चलता छताछुल्ल पोखिन्थ्यो सर्वत्र । प्लस टू को पढाइ एकै स्कुलमा सुरू गरे यी दुवैले ।
कक्षामा कौशिला, पूजा र अनुशा उनीहरूका मिल्ने केटी साथी थिए । कौशिला अनुजसँग नजिकिन्थी । जगन्नाथ पनि कौशिला आउनासाथ खुब फूर्तिसाथ कुरा गथ्र्यो । यसै गरी पूजा र अनुशा पनि खुबै झ्याम्मिएका थिए ।
निकै हिमचिम बढेको थियो । एकदिन आँट गरेर अनुजले एउटा चिठी लेख्यो । आशातीत भविष्यको रङ्गीन कल्पनाको वायुपङ्खी घोडामा सवार हुँदै अनुजले खाली पन्नामा अक्षरहरू वमन गर्यो । अक्षरहरूको जुलुस इमानदारीपूर्वक पङ्क्तिबद्ध भएर कौशिलाको करकमलमा लीन हुन खुबै लालायित भएझैं थिए ।
चिठी यस्तो थियो–
प्रिय कौशिला,
अन्तरात्मादेखिको प्यार !
प्रिय भनेर सम्बोधन गर्दा मलाई नै कताकता अप्ठेरो लागेको छ । अप्ठेरो लाग्दा लाग्दै किन लेखेको होला भनौली । नलेखिरहन मन मानेन । जीवनको यो अभ्यस्त यात्रामा एक्लै हिँड्न जो कसैलाई पनि हमेशा कठिन लाग्ने गर्छ । मलाई पनि भयो त्यस्तै । आखिर एक न एक जीवनसाथी सबैले एकदिन त रोज्नै पर्छ, यस संसारमा । यस दुनियाँमा ।
‘प्यार’ शब्दलाई अतिरञ्जित नसम्झिनू । प्यार भन्ने बित्तिकै आफ्नै हुनु पर्छ भन्नु छैन । सर्वप्रथम तिमीले ‘प्रिय’ र ‘प्यार’ शब्दमा उतिसारो विमति नराख । पहिलो किस्तामा तिमीलाई मेरो सविनय अनुरोध यही छ ।
मेरो पत्रले तिमी सशङ्कित हुनु नपरोस् । अथवा मेरो वैयक्तिक कुराले तिम्रो मन्दिर जस्तो जीवनमा कुनै दखल नपुगोस् भनेर याचनामय अनुरोध गरेँ है त ! गल्ती भएछ भने माफी पाऊँ ! आखिर गल्ती मानिसबाटै हुने न हो ।
मैले तिमीलाई रोजेँ । यो मेरो निजी कुरा भयो । तिमीले स्वीकार्नै पर्छ भन्ने छैन । स्वीकार्ने–नकार्ने कुरा तिम्रो इच्छामा भर पर्नेछ । तिम्रो आफ्नो विवेकले जे निर्णय गर्छ तिमी त्यही गर्नेछौ । कि ‘हुन्छ’ भन कि ‘हुन्न’ भन ! यस मामलामा तिमीलाई कुनै दबाब दिइने छैन । मलाई थाहा छ ! यो पुरातन समाज होइन । यो आदिम समाज पनि होइन । यो आधुनिक जमाना हो । यो जमानामा कसैलाई कसैको दबाब मञ्जुरी हुँदैन । दबाबमा जीवन व्यतीत गर्नु पनि त भएन ।
यो पत्रमा जवानीको उच्छ्वास छचल्किनु भन्दा पनि जीवनको अभीप्सा लुकेको छ । क्षणिक आकर्षण भन्दा पनि दीर्घ जीवन प्रज्वलित भएको छ । मलाई लाग्छ, यदि तिमी मेरो जीवनको सहारा भयौ भने दुई दिने चोला साँच्चिकै देदीप्यमान हुनेछ । साँच्चै ! एउटा अर्को सत्य पनि यो छ कि, यदि तिमी जस्ती सुकुमारी, सहनशिला र अगम्य मुटु भएकीलाई मैले गुमाएँ भने, मेरो जीवन बञ्जरभूमि बन्नेछ । मेरो जीवन अर्थहीन, निरुपाय र मरुभूमि बन्नेछ । जहाँ जीवन रहने छैन । बरु जीवनको अन्त्य हुनेछ ।
जुन दिनदेखि तिमीलाई यी जोर आँखाले पछ्याइरह्यो, अथवा भनौं यी चोर आँखाले तिम्रो सुराकी गर्दै रह्यो, साँच्चिकै त्यही दिनदेखि आँखाहरू बेचैन भएका हुन् । मन दावानल भएको छ । कसम ! जीवनमा यति सारो बेचैनी र हैरानी कहिले पो थियो र !
कुनै दिन तिमीलाई देखिनँ भने उराठ लाग्छ । एक तमासको उदास हुन्छ मन । आफ्नै मन आफैंसँग बिरानो लाग्छ । जुन दिन तिम्रो दर्शन गर्न पाउँछ यो ज्यानले, त्यो दिन मन त्यसै त्यसै उखरमाउलो हुन्छ । आनन्दित हुन्छ । त्यसैले त भन्छु, कहिलेदेखि तिमी मेरो दर्शन ढुङ्गा भइछौ ? कहिलेदेखि तपोभूमि भइछौ ? म आफैंलाई थाहा छैन । कहिलेदेखि तिमीलाई बुझ्न थालेछु । कहिलेदेखि तिमीलाई पुज्न थालेछु । कहिलेदेखि तिमीलाई आफ्नो सोच्न थालेछु ।
प्रत्येक साँझ मेरो मन गायक योगेश्वर अमात्यको गीतझैं घबराउँछ । त्यतिबेला मलाई ‘क्या ! बोर...’ लाग्छ ।
अब म दौडिरहेको कलम रोक्छु । यो मनको कुरा जति लेखे पनि थोरै लाग्छ । सारांशमा भन्नु पर्दा भावी जीवनसाथीको रूपमा तिमीले मलाई स्वीकार्न राजी छौ कि छैनौ ? कृपया ! यति कुरा मलाई भन्यौ भने म ढुक्क हुनेछु ।
तिमीलाई माया गर्ने मान्छे
अनुज मगर ।
अनुज ट्वइलेटबाट फर्किंदा कौशिलाहरूकै समुह झोला छेउमा बसेर खुबै हाँस्दै थिए । झोला खोलेर हेरे कि ! अनुजको मुटु हुँडलियो । ऊ हतारमा झोला भिरेर कोठा बाहिर निस्कियो । उसको चिठी झोलामा थिएन । अर्थात् चिठी हरायो । अनुजको पसिना छुट्न लाग्यो । बेचैनी भयो । छटपटी भयो ।
यो बीचमा अनुजको त्यो दिनको पिरियड खाली थियो । ऊ बेहोस बन्दै कोठातिर हान्नियो ।
एउटा अज्ञात अतिरिक्त महाआश्चर्यले स्वप्नदर्शी जीवन भताभुङ्ग हुने हुण्डरी आयो । जीवनको बुँदबुँदमा जम्मा भएका अतिरिक्त आशाहरू जम्मै ढले । उत्सुकताले टुसाएका मुना जम्मै खल्बलिए । एउटा अज्ञात प्रेमिल उत्सुकताले लेखिएको चिठी डायरीबाट हराएपछि अनुजको मनमा भर्खरै पलाएको तीनपाते प्रेमको कैफियत मुर्झायो । एउटा शङ्कास्पद क्षण पलभरमा प्रकटित भयो । अथाह बेचैनीले बशमा रहेन मन । कौशिलाप्रतिको निर्दिष्ट ऐच्छिक एकाग्रता तोडिएको थियो यतिबेला । एउटा आश्चर्यजनक लज्जाबोधले उसको मगज खाइरहेको थियो अघिदेखि ।
ढोका ढ्याम्मै लगायो । झोला टेबलमा पछारियो । मूर्छित अवस्थामा झैं आफ्नै बेडमा लम्पसार पर्यो ।
आफ्नै हातले कौशिलालाई चिठी दिनुमा कुनै आश्चर्य हुने थिएन । परन्तु झोलाभित्रको डायरीबाट चिठी हराउनु सामान्य थिएन । त्यसमाथि स्वयम् कौशिलाहरूकै समुह झोला छेउमा शङ्कास्पद हाँसो वमन गरिरहेका थिए । अनुजको मन चिठी हराउनुको पीडाले भन्दा चिठी कसको हातमा परेर एक टुक्रा इज्जत पलभरमा ध्वस्त हुने हो भन्नेमा थियो ।
मन हुँडलिन थाल्यो । ऊ आफ्नै बेडमा उत्तानो परेर एकालापमा निर्लिप्त भयो ।
एकदिन पूजा र अनुशा अनुजको नजिक आए । पढाइका कुरा भए । फर्सदका कुरा भए । जगन्नाथको कुरा भए । कौशिलाको कुरा भए ।
‘कौशिला र जगन्नाथबीच प्रेम झ्याँगिएछ नि अनुज, थाहा पाइस् ?’ पूजाले भनिन् ।
‘त्यस्तो बबाल चिठी लेखेपछि कौशिलाको मन पग्लियो होला नि !’ अनुशा खित्खित गरी ।
‘अँ, साँच्ची ! आज मैले मागेको अङ्ग्रेजी कापीमा जगन्नाथले पठाएको चिठी परेछ । बबाल छ नि ! ओई अनुज पढ्छस् ?’ पूजाले आँखाको भाखासँगै सोधिन् ।
‘लेऊ न त पढूँ !’
‘तैंले यस्तो बबाल लेख्न सक्ने होइन !’ पूजाले व्यङ्ग्य कसिन् ।
अनुज छिटोछिटो चिठी पढ्न थाल्यो–
प्रिय कौशिला,
अन्तरात्मादेखिको प्यार !
प्रिय भनेर सम्बोधन गर्दा मलाई नै कता कता अप्ठेरो लागेको छ । अप्ठेरो लाग्दा लाग्दै किन लेखेको होला भनौली । नलेखिरहन मन मानेन । जीवनको यो अभ्यस्त यात्रामा एक्लै हिँड्न जो कसैलाई पनि हमेशा कठिन लाग्ने गर्छ । मलाई पनि भयो त्यस्तै । आखिर एक न एक जीवनसाथी सबैले एकदिन त रोज्नै पर्छ, यस संसारमा । यस दुनियाँमा ।
...
...
प्रत्येक साँझ मेरो मन गायक योगेश्वर अमात्यको गीतझैं घबराउँछ । त्यतिबेला मलाई ‘क्या ! भोर..’ लाग्छ ।
अब म दौडिरहेको कलम रोक्छु । यो मनको कुरा जति लेखे पनि थोरै लाग्छ । सारांशमा भन्नु पर्दा भावी जीवनसाथीको रूपमा तिमीले मलाई स्वीकार्न राजी छौ कि छैनौ ? कृपया ! यति कुरा मलाई भन्यौ भने म ढुक्क हुनेछु ।
तिमीलाई माया गर्ने मान्छे
जगन्नाथ ।
अनुजलाई ढलुँला जस्तै भयो । चिटचिट पसिना आयो ।
‘मलाई अलि सञ्चो भएन । म गएँ ।’ यति भनेर अनुज हिँड्यो ।
‘के भो ओई ?’ अनुशाले कराई ।
‘सञ्चो भएन रे !’ पूजाले भनिन् ।
अनुज विगत्को भुमरीबाट वर्तमानमा ओर्लियो । जगन्नाथ टेबलमाथि टाउको जोतेर फुस्स निदाएछ । रिङटोन बज्यो ।
‘पख् न बूढी ! साथीसँग छु । ऊ क्या... अनुज । हाम्रो क्लासमेट ! कौशिला ! केरा’टी सुते ? ए तिमी पनि सुत न त ! हवस् म आएँ !’ लर्बरिएको स्वरमा फोन राखे । मातिएर लोलाएका नजर अनुजतिर फिराउँदै भन्यो– ‘तिमी के को लागि लेख्छौ अरे ?’
‘जति लेखेँ, तेरो लागि लेखेँ ! चोरेर जीवन सपारिस् !’ भन्न यसै भन्न मन लागेको हो, तर सम्हालिएर भन्यो अनुजले– ‘आफ्नै लागि लेख्छु यार ! केवल स्वान्तःसुखाय ।’